ढुंगामुढा गरेको विरोधमा सिरहा माओवादीको प्रदर्शन- समाचार - कान्तिपुर समाचार

ढुंगामुढा गरेको विरोधमा सिरहा माओवादीको प्रदर्शन

भरत जर्घामगर

सिरहा — सिरहा निर्वाचन क्षेत्र नं ३ मा निर्वाचित भएपछि लिलानाथ श्रेष्ठसहितको विजय र्‍यालीमा सहभागी एमाले कार्यकर्ताहरूले शुक्रबार साँझ निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका विश्वनाथ साहका दाजुको घरमा ढुंगामुढा गरेपछि त्यसको विरोधमा माओवादी केन्द्रका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् ।


प्रदर्शनको क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार खण्ड सडक अवरुद्ध पारिएको छ । राजमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन पूर्वतर्फ कसहा र पश्चिमतर्फ चोहर्वामा रोकिएका छन् । विरोधमा संलग्नहरूले बजार, पसल बन्द गराएका छन् ।

गोलबजार नगरका पूर्व मेयर देवनाथ साहको गोलबजार नगरपालिका–४ स्थित घरमा ढुंगामुढा र एक जनालाई कुटपिट गरेको विरोधमा माओवादी केन्द्रका कार्यकर्ताहरूले शनिबार बिहानदेखि गोलबजार बन्द गरी सडक अवरुद्ध पारेका हुन् । देवनाथ पराजित उम्मेदवार विश्वनाथका दाजु हुन् ।

एमाले कार्यकर्ताहरुले ढुंगामुढा गर्दै झ्यालको सीसा फुटाउनुका साथै त्यसो नगर्न आग्रह गरेका स्थानीय ४३ वर्षीय श्रीचन साहलाई कुटपिट गरेको पनि स्थानीयहरूले बताए । टाउकोमा चोट लागेका साहको गोलबजारस्थित लाइफ लङ अस्पतालमा उपचार भइरहेको छ । घाइते साहको टाउकोमा चारवटा टाँका लगाइएको र उनको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।

एमालेका श्रेष्ठले सत्ता गठबन्धन अन्तर्गत माओवादी केन्द्रका साहलाई एक हजार एक सय ८२ मतान्तरले पछि पार्दै आफ्नो जित निकालेपछि उन्मादमा एमाले कार्यकर्ताहरुले ढुंगामुढा गरेको माओवादी केन्द्र गोलबजारले आरोप लगाएको छ ।

शनिबार भएको प्रदर्शन रोक्नका लागि भने सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पहल भइरहेको बताए । साथै सडक खुलाउने विषयमा वार्ता भइरहेको उनले बताए ।

माओवादी केन्द्र सिरहाका जिल्ला इञ्चार्ज अजयशंकर नायकले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै जितको उन्मादमा गरिएको गुण्डागर्दीको निन्दा र भर्त्सना गर्दै तत्काल घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको लागि स्थानीय प्रशासनसँग माग गरेका छन् ।

निर्वाचित उम्मेदवारको उपस्थितिमै उनका कार्यकार्ताले निजी घरमा ढुंगामुढा गर्दै रोक्न खोज्नेलाई कुटपिट गरिनु गुण्डागर्दी भएको औंल्याउँदै विज्ञप्तिमा अलोकतान्त्रिक र गुण्डागर्दी हर्कत बन्द गर्न आग्रहसहित लोकतान्त्रिक मूल्य मान्यता अनुसार चल्न सचेत गराइएको छ ।

प्रकाशित : मंसिर १०, २०७९ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्

हिउँचितुवाको तस्बिर फेक पुष्टि भएपछि कित्तियाले बन्द गरिन् सामाजिक सञ्जाल

एजेन्सी

काठमाडौँ — अमेरिकी फोटोग्राफर कित्तिया पाव्लोभ्स्कीले सगरमाथा र पुमोरी हिमालका आसपास पुगेर खिचेको भनिएको हिउँ चितुवाका केही अभूतपूर्व तस्बीरहरू सम्पादित वा फेक भएको कुरा बाहिरिएपछि कित्तिया सामाजिक सञ्जालबाट गायब भएकी छन् । इन्स्टाग्राम र फेसबुकमा उनका खाता बन्द भइसकेका छन् । उनको वेबसाइट भने उपलब्ध छ जहाँ उनले हिउँ चितुवाका तस्बीर खिच्दाको क्षण र यात्रा वर्णन गर्दै लेखेको 'घोस्ट अफ द हिमालयज' शीर्षकको अझै पनि छँदै छ ।

कित्तियाले खिचेको भनिएका तस्बीरहरू केही दिनअघि मात्रै सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा भाइरल भएका थिए । सबैको वाहवाही पाएका ती तस्बीरहरू सम्पादित तस्बीरहरूको मोन्टाज भएको एक तथ्य जाँच संस्थाको विस्तृत रिपोर्टले सार्वजनिक गरेको छ । फ्रान्सेली अनलाइन म्यागजिन अल्पाइन म्यागले सार्वजनिक गरेको रिपोर्ट अनुसार तस्बीरहरू अविश्वसनीय रूपमा सम्पादित, हेरफेर गरिएको र नमिलेको पाइएको छ । तथ्य जाँचका क्रममा लेखकहरूले हिउँ चितुवा विज्ञसँग कुराकानी गर्दा हिउँ चितुवा हिमनदीमा त्यसरी नबस्ने पनि खुलाशा भएको छ । उनीहरूले प्रष्ट लेखेका छन्, कित्तियाले विश्वलाई आश्चर्यचकित पार्ने गरी सार्वजनिक गरेको उक्त तस्वीरहरूमध्ये कम्तीमा तीनवटा फेक वा सम्पादित फोटोमोन्टाज हुन् ।

तथ्य जाँच गर्नेहरूमध्ये एक, फोटोग्राफर भिन्सेन्ट मुनियरले तस्बीरहरू फोटोसपजस्ता सफ्टवेयरहरूको प्रयोग गरेर बनाइएको सिर्जनात्मक प्रस्तुति भएको बताएका छन् । ‘मलाई यस्तो किसिमको सिर्जनासँग कुनै आपत्ती छैन,’ उनले भनेका छन्, ‘तर सत्यतथ्य लेखिनुपर्यो । कित्तियाले ती सिर्जनाहरूलाई आफैंले खिचेको वास्तविक तस्बीर भन्दै दाबी गर्नु गलत हो ।’ कित्तियाले चाहिँ आफूले तस्बीर सम्पादन गर्ने गरेको भए पनि हिउँ चितुवाका तस्बीर भने सम्पादन नगरिएको भन्दै शनिबार बिहान फेसबुक र इन्स्टाग्रामका पूराना पोस्ट सम्पादन गरेकी थिइन् । त्यसको केही बेरपछि उनका सामाजिक सञ्जाल खाता 'अनअभाइलेबल' देखिएका छन् ।

तथ्य जाँचमा संलघ्नहरूले तस्बीरहरूको प्रकृती, संयोजन, प्रकाश, स्थान र मुख्यतस् तस्बीरको सत्यतामा नै गम्भिर समस्या रहेको औंल्याएका छन् । अमेरिकी फोटोग्राफर भनिएकी कित्तियाकै बारेमा फोटोग्राफी अथवा हिमाली र वन्यजन्तु फोटोग्राफी क्षेत्रका कसैले पनि अहिलेसम्म नसुनेको उल्लेख गरिएको छ । आफ्नो करियर नै वन्यजन्तुरहिमाली फोटोग्राफी र हिउँ चितुवाको खोजीमा बिताएका वरिष्ठ फोटोग्राफरहरूले यी तस्बीरहरू प्राविधिक र प्राकृतिक रूपमै असत्य रहेको आधारहरू पेश गरेका छन् ।

नेपालस्थित अमेरिकी दूतावास, टाइम्स अफ लण्डन लगायत विश्वका विभिन्न प्रख्या संस्थाहरूले समेत प्रशंसा गर्दै प्रकाशित गरेको उक्त्त तस्वीरहरू कहाँबाट आए र तिनलाई आफ्नो भनेर दाबी गर्ने कित्तिया खासमा को हुन् भन्ने विषयमै लेखमा प्रश्न उठाइएको छ । तस्बीरहरूले नेपालको र विशेषगरी हिमाली पदयात्रा क्षेत्रको प्रवर्द्धन गरेका छन् र यो क्षेत्रको सुन्दरतालाई फोटोमार्फत देखाउने प्रयास गरेका छन् । यो नेपालको लागि राम्रो कुरा हो तर यी प्रयासहरू इमानदार र पारदर्शी हुनुपर्ने जोड यो तथ्य जाँचमा दिइएको छ ।

स्रोत: अल्पाइन म्यागजिन

प्रकाशित : मंसिर १०, २०७९ १४:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×