कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कलाकारलाई विश्वकप ज्वरो

संसारभर खेलप्रेमीहरु फुटबलमा रमाइरहेका बेला नेपाली कलाकर्मी पनि पछि छैनन्, आफूले मन पराएका टिमको जित हेर्न आतुर छन् 
रीना मोक्तान

काठमाडौँ — कतारमा विश्वकप–२०२२ फुटबल सुरु भएको शुक्रबार छैटौं दिन हो । खेल दोस्रो चरणमा पुग्यो तर सिनेकर्मी एवं राप्रपा नेता रेखा थापाका लागि अझै विश्वकप फुटबल सुरु भइसकेको छैन । रेखा पोर्चुगलकी समर्थक । पोर्चुगलले विश्वकप खेल्ने तयारी गरिरहँदा रेखा पनि मैदानमै व्यस्त भइन् । उनको मैदान भने चुनावको । 

कलाकारलाई विश्वकप ज्वरो

मोरङ–३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएकी रेखा चुनावी चटारोमा यति व्यस्त भइन् कि विश्वकपमा पोर्चुगलको खेलसमेत हेर्न भ्याइनन् । बिहीबार पोर्चुगलले घानालाई ३–२ ले पराजित गर्दैगर्दा बल्ल मोरङबाट काठमाडौं आइपुगिन् । जनमतका लागि निर्वाचन क्षेत्रमा घरदैलो गरिरहँदा उनका लागि विश्वकप ओझेलमै पर्‍यो । अब भने रेखा विश्वकपका खेलहरू हेर्दै रमाउने तयारीमा छिन् ।

‘अहिलेसम्म कुनै खेल हेर्नै पाएको छैन । खासमा मलाई अहिलेसम्म फुटबल लागेकै छैन । आज बेलुकीदेखि हेर्ने योजनामा छु, अब बल्ल फुर्सद पाएँ,’ रेखाले शुक्रबार भनिन् । विश्वकप कहिलेदेखि हेर्न थालिन्, उनलाई खासै सम्झना भने छैन । ‘फुटबल नबुझ्दा पनि हेर्थें, बुझ्दा पनि हेरिरहेकै छु । सायद १० वर्ष भयो पोर्चुगललाई समर्थन गर्न थालेको । पोर्चुगलको टिम नै राम्रो छ,’ उनले हाँस्दै भनिन् ।

त्यसो त गायिका एवं एमाले नेता कोमल वलीलाई पनि चुनावको ज्वरो उत्रिसकेको छैन । दाङ–३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएकी वलीलाई भर्खरै कांग्रेसका दीपक गिरीले ७ हजार ८ सय ९० मतान्तरले पराजित गरे । मतगणना समाप्त भए पनि उनी अझै साथीभाइसँग चुनावी समीक्षामै छिन् । त्यससँगै बाँकीका समय विश्वकपका खेल हेर्न छुट्याइसकेकी छन् । ‘जनमत विपक्षी पार्टीलाई आयो । २९ हजार मत पाउनु मेरा लागि राम्रो हो । मतदाताहरूलाई धेरै दुःख लागेको रहेछ, त्यस्तै प्रतिक्रिया पाइरहेकी छु । पश्चिम दाङको समृद्धिका लागि हो मैले चुनाव लडेको । अब यो अभिभारा प्रतिपक्षी पार्टीलाई परेको छ,’ वलीले भनिन्, ‘लोकतन्त्रको सुन्दर अभ्यास नै निर्वाचन हो । निर्वाचनमा उत्रिसकेपछि परिणाम जित हुन सक्छ, हार पनि हुन सक्छ । म मानसिक रूपले यी दुवैका लागि तयार भएरै मैदानमा उत्रेकी हुँ । एकपटक फेरि चुनावको अनुभवलाई नजिकैबाट अनुभव गरें । धेरै कुरा सिकें ।’

उनी अर्जेन्टिनाकी समर्थक । जापान र एसियाली देशका खेलहरूलाई पनि विश्वकपमा समर्थन जनाउँदै आएकी । यो पटकको विश्वकप एसियाली मुलुकले जितेको हेर्न चाहन्छिन् । ‘मलाई त जसले राम्रो खेलिरहेको हुन्छ ती टिम पनि मन पर्छ । अहिले नयाँ टिमहरू पनि आइपुगेका होलान्, नयाँ टेक्निकमा खेलिरहेका होलान् । तर, मैले अझै विश्वकप हेर्न पाएकी छैन,’ उनले भनिन्, ‘वर्ल्डकप त यसपटक एसियाली मुलुकले लैजाओस् । म खेलप्रेमी नै हुँ । राष्ट्रिय खेलकुद जहाँ हुन्छ, त्यता गएर हेर्ने गरेकी छु । फुटबल त भौतिक उपस्थितिमा हेर्न रुचाउँछु ।’

सन् २००० देखि नै विश्वकपमा रमाउन थालेकी हुन् वली । त्यतिबेला विश्वकप हेर्दाको माहोल नै रोचक लाग्ने गरेको उनी सम्झन्छिन् । ‘अहिले त पहिलाको जस्तो फुटबल हेर्ने मज्जा छैन । पहिला फुटबल हेर्दा साथी–साथी एकै ठाउँमा जम्मा भएर वर्ल्डकप हेरिन्थ्यो । खानेकुरा मिलेर खान्थ्यौं । फरक टिमलाई समर्थन गर्दै आइरहेकाहरू पनि एउटै ठाउँमा बसेर हेरिन्थ्यो । पहिला खेल हेर्दा छुट्टै रमाइलो हुन्थ्यो,’ वली सुनाउँछिन्, ‘अहिले त एक्लैले हेर्ने समय आयो । मोबाइलमै पनि विश्वकप हेरिन्छ अहिले त ।’ वलीका परिवारका सबै फुटबलप्रेमी । त्यसैले पनि परिवारसँगै बसेर फुटबल हेर्ने योजना बनाइसकेकी छन् ।

अभिनेत्री बेनिशा हमालले भने २००२ को विश्वकपदेखि ब्राजिललाई समर्थन गर्न थालेकी हुन् । बुबा ब्राजिलकै समर्थक । बुबाले ब्राजिललाई समर्थन गरेको देखेरै उनी पनि समर्थक भइन् । त्यतिबेला रोनाल्डो र रोबर्टो कार्लोसको खेल उनलाई असाध्यै मनपर्ने । खासमा ब्राजिलको खेलबाटै बेनिशाका लागि यसपटकको विश्वकप सुरु भएको हो । शुक्रबारको ब्राजिलको खेल हेर्न १२ः४५ सम्म जाग्राम बसिन् । सर्वियालाई २–० ले हराउँदै ब्राजिलले जित हासिल गर्‍यो । हुन त बेनिशाले ३–१ को आकलन गरेकी थिइन् । ब्राजिलका कप्तान नेयमारले पनि गोल गर्लान् भन्ने सोचेकी थिइन् । तर, उनको अपेक्षा पूरा भएन । रिचार्लिसनकै दोस्रो गोलमै चित्त बुझाइन् । ‘नेयमारले एक गोल हाने पनि हुन्थ्यो भन्ने भयो । तर, रिचार्लिसनको दोस्रो गोल अमेजिङ थियो,’ उनले भनिन्, ‘खासमा पहिलो हाफसम्म मैले सर्वियाले गोल हान्दैन भन्ने सोचिसकेको थिएँ । उनीहरूमा गोल हान्ने भन्दा पनि ब्राजिललाई रोक्नुपर्छ भन्ने मानसिकता देखिन्थ्यो । त्यसैले दोस्रो हाफ आक्रामक खेल्नुपर्छ भन्ने सोचेको थिएँ । त्यस्तै खेल्यो ब्राजिलले ।’

आफूले समर्थन गर्दै आइरहेको टिमले नै विश्वकप जितोस् भन्ने सबैको कामना हुन्छ । बेनिशाको कामना पनि ब्राजिलकै लागि छ । भन्छिन्, ‘फ्यान हुनुका हिसाबले विश्वकप ब्राजिलले नै जितोस् भन्ने त हुन्छ नै । तर, यो पहिलो खेल हेरेर भन्न सकिँदैन । अरू खेल पनि हेर्दै जाउँ भन्ने हो ।’ बेनिशा विश्वकपलाई यसपटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले छायामा पारिदिएको बताउँछिन् । ‘खासमा त अहिले विश्वकपको भन्दा चुनावकै चर्चा छ । अहिले युवाहरू नेतृत्वमा धेरै हुनुहुन्छ त्यसैले पनि गफिने बहाना मिलेको छ । जति पनि युवा नेतृत्व आएको छ, आशा पनि जगाइदिएको छ,’ उनले भनिन्, ‘यसअघिको निर्वाचनमा भोट हालिसकेपछि खासै कुरा हुन्थेन साथीबीच । तर, अहिले त संसद्मा युवाहरू पुगिसकेको दृश्य कस्तो हुन्छ होला भन्ने कुराले पनि खुल्दुली पैदा गराइदिएको छ ।’ यो पटकको विश्वकपले नयाँ टिमलाई कम आँक्न नहुने सन्देश देखाएको उनको विश्लेषण छ । ‘खासमा वर्ल्डकपमा मिल्ने साथीहरू पनि एकअर्कासँग लडिरहेका हुन्छन् । त्यसैले खेललाई खेलकै रूपमा लिन अनि साथीसँगको सुमधुर सम्बन्ध नबिगार्न अनुरोध गर्छु । साथै आफ्नो फ्रस्टेसन सामाजिक सञ्जालमा छरपस्ट नपारौं भन्न चाहन्छु,’ बेनिशाले भनिन् ।

तपाईंलाई चुनाव लागेको छ कि विश्वकप ? जवाफमा अभिनेता दीपकराज गिरी भन्छन्, ‘खासमा दुवै लागिरहेको छ । चुनाव लगभग सकियो । त्यसैले बिस्तारै फुटबलको ज्वरो लाग्दै छ ।’ सन् १९९० देखि नै दीपकराजले अर्जेन्टिनालाई समर्थन गर्दै आएका छन् । फुटबल टिमहरूप्रतिको समर्थनलाई उनी राजनीतिक पार्टीसँग दाँजेर हेर्छन् । भन्छन्, ‘खासमा एउटा पार्टीमा लागेपछि लागेको लाग्यै भनेजस्तै एउटा टिमलाई सपोर्ट गरेपछि सपोर्ट गरेको गर्‍यै हुने रहेछ । सायद त्यसैले होला, नेपालमा सबैभन्दा बढी अर्जेन्टिनाको फ्यान भएको । म पनि त्यही भीडमै पर्छु । एउटा टिम सपोर्ट गरिसकेपछि अर्को परिवर्तन गर्न सकिँदैन रहेछ ।’

जमाना थियो, टोलमा मुस्किलले एकाध घरमा टेलिभिजन सेट हुन्थ्यो । विश्वकप हेर्छु भन्ने विकल्प सहज थिएन । खेलहरू अधिकांश राति हुने । अर्काका घरमा डराई–डराई विश्वकप हेर्दाका क्षण दीपकराजको सम्झनामा ताजै छ । ‘अर्काको घरमा विश्वकप हेर्न जाँदा परिवारका सदस्यहरू सुतिसक्नुभएको हुन्थ्यो । त्यस्तो बेलामा चुपचाप हेर्नुपर्ने हुन्थ्यो । एकअर्कालाई चुप गराउनुपर्थ्यो । गोलको खुसीयाली पनि चाहेजसरी मनाउन पाउँथेनौं,’ उनले सम्झिए, ‘जसको घरमा फुटबल हेर्न गएका छौं, त्यहाँ सुतेकाहरूले लाठी लिएर

लखेट्लान् भन्ने डर । डराई–डराई हेर्न गएका क्षण पनि थिए ।’ यसपटक साउदी अरेबियासँगको अर्जेन्टिनाको हारले उनलाई खासै सुर्ता लागेको छैन । ‘यहाँसम्म आइपुग्दा हामीमा एउटा परिपक्वता भइसकेको हुन्छ । परिपक्वताले हारलाई स्विकार्न सक्ने र जितमा धेरै उत्तेजित नहुने बानी बस्छ । १९९० देखि हार्दै नै आइरहेको छ नि अर्जेन्टिनाले । सुरुको हार पीडादायी हुन सक्छ, त्यसपछिको असफलताले पनि परिपक्व बनाउँदै लान्छ,’ उनले भने । अर्जेन्टिनापछि दीपकराजलाई मनपर्ने टिम इटाली हो । तर, यो पटक इटाली छनोटमै परेन ।

अभिनेत्री केकी अधिकारी विश्वकप र चुनावलाई महाउत्सवका रूपमा व्याख्या गर्छिन् । ‘मलाई अहिले दुई वटा महाउत्सव चलिरहेको जस्तो लाग्छ । पाँच वर्षमा हुने चुनाव र चार वर्षमा एकपटक हुने विश्वकप महाउत्सवजस्तै हो । खेलकुदले स्वतन्त्रता र एकताको कुरा गर्छ । निर्वाचनले देशको अवस्था र भविष्यको अड्कलबाजी गर्ने समय दिन्छ,’ उनले भनिन् ।

केकी अर्जेन्टिनाकी समर्थक । जबदेखि विश्वकपबारे थाहा पाइन्, उनी अर्जेन्टिनाकी समर्थक भइन् । खासमा होस्टल जीवनमा विद्यार्थीहरूबीच टिम छनोट गर्ने गोला प्रथा हुँदा उनको हातमा अर्जेन्टिना पर्‍यो । बाबा पनि अर्जेन्टिनाकै समर्थक । उनी यो पटकको विश्वकप मेसी र रोनाल्डोको पक्षमा हुनुपर्ने बताउँछिन् । ‘यसपटक पहिलो म्याचमै नसोचेको नतिजा आयो । तर, म आशावादी छु । अब २ वटा खेल जितेर अगाडि बढ्छ भन्नेमा आशावादी छु । तर यसबीच चार वर्षमा आफूलाई तयार गरेका समूहहरू मैदानमा देखिँदै छ,’ उनले भनिन्, ‘मेसीकै लागि पनि यो विश्वकप अन्तिमजस्तै हो । मेसीका लागि अर्जेन्टिना या त पोर्चुगलका लागि रोनाल्डोले जितेको देख्न चाहन्छु ।’ होस्टेलमा त्यतिबेला विश्वकप दसैं आएजस्तै हुन्थ्यो । उनीहरू श्यामश्वेत टीभीमा विश्वकप हेर्थे ।

गायक प्रमोद खरेल पनि अर्जेन्टिनाकै फ्यान हुन् । उनी यति खेलकुदप्रेमी हुन् कि कुनै क्लब र लिगका गेम हेर्न छुटाउँदैनन् । अर्जेन्टिनाको पहिलो हार गायक प्रमोद खरेलका लागि पनि अनपेक्षित नै थियो । ‘मलाई आशा छ, अर्जेन्टिनाले अर्को खेल राम्रो खेल्छ । मेसी र रोनाल्डोबिनाको वर्ल्डकप खल्लो नै हुन्छ,’ उनले भने, ‘त्यसैले उनीहरूले कमब्याक गर्नुपर्छ ।’ सन् १९९४ देखि उनले विश्वकप हेर्न थालेका हुन् । उनी ब्राजिलका समर्थक थिए पहिले । तर, मेसीपछि अर्जेन्टिनालाई रोजे । धेरैलाई थाहा नहुन सक्छ, अभिनेता सुनील थापा पूर्वफुटबलरसमेत हुन् । फुटबल खेल्न छाडेको धेरै समय भए पनि फुटबल हेर्न भने उनले छाडेका छैनन् । उनी विश्वकपको समयमा सुटिङ सेड्युल मिलाएरसमेत इङ्ल्यान्डका खेल हेर्न छुटाउँदैनन् । २०१० तिर जब उनका पिताको निधन भयो, त्यो बेला १३ दिनको काममा बसेका बेला पनि फुटबल हेरेका छन् । पेलेको पालादेखि उनले विश्वकप हेर्न थालेका हुन् । ‘यसपटक अर्जेन्टिनाले झुर खेल्यो, त्यसैले हार्‍यो । जापान र जर्मनीले राम्रो खेल्यो । साउदी अरेबिया दोस्रो राउन्डमा नजान सक्छ,’ उनले विश्लेषण गरे, ‘इङ्ल्यान्डका लागि प्रतिस्पर्धा गर्ने टिम कमजोर थियो ।’ उनी आफ्नै टिमले विश्वकप जितेको हेर्न चाहन्छन् ।

प्रकाशित : मंसिर १०, २०७९ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?