फेक आईडीको पछि लाग्दा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेक आईडीको पछि लाग्दा

किशोर अपहरित, २३ दिनपछि मुक्त
रूपा गहतराज

नेपालगन्ज — मोबाइलको लतमा परेका १३ वर्षीय छोरा घरबाट बाहिर मुस्किलले निस्कन्थे । मोबाइलमा ‘गेम’ खेल्दै समय कटाउँथे । बाहिर हतपत्त ननिस्कने छोरा एकाएक सम्पर्कविहीन भए । बिहानै घरबाट निस्किएका उनी रात परे पनि फर्किएनन् । अभिभावक अत्तालिए, खोजी सुरु भयो ।

समय कट्दै गयो । पत्तो लागेन । छोराको अत्तोपत्तो नलागेपछि अभिभावक र आफन्त पिरोलिए । नाता र आफन्तजनकहाँ खबर गरे । पत्ता नलागेपछि परिवारले अपहरणको आशंका गरे । कतैबाट केही खबर आएन । परिवारले प्रहरीको सहारा लिन उचित ठानेन ।

परिवार अनि आफन्त भनसुनमा व्यस्त भए । गाईगुईं फिँजियो ।

प्रहरीले घटनाको सुइँको पाएपछि अनुसन्धान बढायो । २३ दिनदेखि हराएका यहाँका १३ वर्षीय एक बालकको गत बुधबार रुपैडियाबाट उद्धार गरियो । ‘हामीले आशा नै मारेको छोरो प्रहरीले गर्दा भेटियो,’ बिहीबार छोरा भेटेपछि गहभरि आँसु पार्दै आमाले भनिन्, ‘उसलाई के–के भयो, हामीले केही सोध्न पनि सकेका छैनौं ।’ छोरा हराएपछि आमा निदाउन सकेकी थिइनन् । ‘आँखाभरि छोराको तस्बिर आइरहन्थ्यो । मन्दिरदेखि धामीझाँक्रीकहाँसम्म पुगें,’ छोरालाई लिन प्रहरी चौकी पुगेकी उनले भनिन्, ‘कसैले मुटु–कलेजो निकालिदिएजस्तै भएको थियो ।’

कान्छो छोरा हराएपछि आमाको मन शान्त हुने कुरो भएन । साथीभाइसँग धेरै नखेल्ने, धेरै नबोल्ने छोरा आफैं कसरी कहाँ गयो भन्ने परिवारलाई हेक्का थिएन । बुबाको मोबाइलमा आफ्नो फेसबुक चलाएका किशोर लामो समयदेखि एक किशोरीसँग कुराकानी गर्थे । कुराकानीका क्रममा प्रेममा परे । अश्लील चित्रहरू साटासाट गरे । किशोरीले आफूलाई भेट्न आउन आग्रह गरिन् । उनी राजी भए । किशोरीले आफ्नो दाइसँग आउन आग्रह गरेपछि उनी घरमा कसैलाई नभनी किशोरीलाई भेट्नका लागि उनका दाजुकहाँ कोहलपुर पुगे । कोहलपुरमा किशोरलाई लिन ३१ वर्षीय जितुलाल शर्मा आए । बहिनीसँग भेट गराइदिने बहानामा उनले सिमला पुर्‍याए । किशोरले त्यहाँ मानसिकदेखि शारीरिक यातना पाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

फेसबुकमा किशोरी बनेर कुराकानी गर्ने अनि ती किशोरलाई सिमला पुर्‍याउने पश्चिम रुकुमको चौरजहारी–१३ एकलैनीका जितुलाल शर्मा थिए । प्रहरीले शर्माका बारेमा पत्ता लगाएपछि उनको परिवारलाई भेट्यो । परिवारको माध्यमबाट शर्माको कर्तुत बाहिर आएको हो । परिवारका सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको थाहा पाएपछि शर्माले किशोरलाई अपहरणमुक्त गरेका हुन् ।

भारतको चण्डीगढ र हरिद्वार हुँदै सिमला पुर्‍याइएका ती किशोर २३ दिनपछि परिवारको सम्पर्कमा आएका छन् । प्रहरीले उनलाई नेपाल–भारत सीमाबाट उद्धार गर्न सफल भएको हो । ‘केटीको आवाज बनाएर कुरा गर्ने, केटीको नाममा फेसबुक बनाएर बालकलाई ट्रयापमा पार्ने क्रियाकलाप गरेको देखियो,’ इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले भने, ‘प्रहरीलाई गुमराहमा पारेर अपराध गरिए पनि बालकलाई उद्धार गर्न सफल भएका छौं ।’

पछिल्लो समय सामाजिक सञ्जालमा फेक आईडीबाट फिसिङ (ट्रयापिङ) गरी किशोरकिशोरीलाई फसाउने क्रियाकलाप बढेको मल्लले सुनाए । ‘आफ्ना छोराछोरीहरू मोबाइलमा के गरिरहेका छन्, कोसँग कुरा गरिरहेका छन् भन्नेबारे अभिभावकले पनि निगरानी राख्न जरुरी छ,’ उनले भने, ‘यो घटनामा बालकलाई दुर्घटनाबाट बचाउन सफल भयौं ।’

सामाजिक सञ्जाल फेसबुकबाट अपरिचित नाम नमुना भट्टराई, लुरे डन नामबाट रुकुम पश्चिम चौरजहारीका शर्माले १३ वर्षे किशोरलाई ललाइफकाई गरी २३ दिनसम्म बन्धक बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अहिले शर्माका परिवार प्रहरीको नियन्त्रणमा छन् । आफन्तलाई नियन्त्रणमा लिए पनि उनलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । ‘सुरुमा पीडित परिवारबाट पनि कुनै जानकारी पाएनौं । डरले परिवार खुल्नु भएन,’ डीएसपी मल्लले भने, ‘अझै अनुसन्धान चलेको छैन, अपराधीलाई ढिलोचाँडो पक्राउ गर्छौं ।’

प्रकाशित : मंसिर १०, २०७९ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्

फर्कियो टाँगा आकर्षण

रूपा गहतराज

नेपालगन्ज — चार/पाँच वर्षअघिसम्म नेपालगन्जमा ५०–६० वटा टाँगा चल्थे । सीमावर्ती नाकापारि रुपैडिया बजार पुग्न टाँगा नै उपयुक्त विकल्प थियो । बिस्तारै ई–रिक्साले बजार पायो । रिक्साले टाँगालाई विस्थापित गरिदिए । चाडपर्वयता भारतबाट घर फर्किने नेपालीलाई ओसार्न र टाढाबाट आएका आफन्तलाई भेट्न आएका र पर्यटकहरू फेरि टाँगा चढ्न थालेका छन् ।

यात्रुले टाँगामा चढ्न खोजेपछि फेरि चलाउन थालेको चालक बाबु खाँले बताए । दुई वर्षदेखि नचलाएका उनले माग बढेपछि आफ्नो टाँगा निकालेको बताए । ‘घोडालाई नुहाइदिएँ, सिंगारपटार गरें । अनि, आफ्नो टाँगाको गद्दी सम्हाले,’ उनले भने, ‘पछिल्लो समय नेपालगन्ज–रुपैडिया रुटमा दैनिक १२–१५ वटा टाँगा चल्ने गरेका छन् ।’ धेरै जना एकैपटक बस्न पाइने भएपछि सबैको रोजाइ अहिले फेरि टाँगा भएको उनले सुनाए ।

ई–रिक्सा आएपछि टाँगाप्रतिको आकर्षण घटेको थियो । नेपालगन्ज–रुपैडिया जाने यात्रुको रोजाइमा ई–रिक्सा भएपछि विगत पाँच वर्षदेखि टाँगा व्यवसाय बन्द थियो । कुनै बेला थियो, टाँगाको सहरका रूपमा नेपालगन्ज चिनिन्थ्यो । काठमाडौं, पोखराबाट आएकाहरू टाँगा चढेर रुपैडिया गएको अर्का टाँगा व्यवसायी रहमत खाँले सम्झिए । ‘टाँगा व्यवसाय बन्द भएपछि कतिपयले ई–रिक्सा किनेर चलाउँदै छन् । कसैले अर्कै व्यवसाय अँगालेर जीविका चलाउँदै छन्,’ उनले भने, ‘समय अनुसार चल्नै पर्‍यो, कतिले त टाँगा नै बेचिदिए ।’

नेपालगन्जका ई–रिक्सालाई भारतीय प्रहरीले रुपैडिया जान प्रतिबन्ध लगाएपछि टाँगाको माग बढेको सफिक वेहनाले बताए । किनमेल र भारतबाट फर्किने नेपालीलाई हिंडेर जमुनाह आउनुपर्ने भएपछि बाध्य भएर टाँगा चढ्न थालेको उनको भनाइ छ । भारतीय सीमावर्ती बजार रुपैडियामा परम्परागत (पाइडल घुमाएर चलाउने) रिक्सा भने चल्न दिइएको छ । ‘किनमेल गरेर फर्किने बेला पाइडल रिक्सा प्रयोग गरे महँगो पर्ने र हिंडेर आउन गाह्रो भएपछि नेपालीहरू टाँगा चढ्न थालेका हुन्,’ सफिकले भने, ‘जे भए पनि गरिबहरूको भलो भयो, टाँगा चलाउनेहरूले फेरि काम पाएका छन् ।’

ई–रिक्साले जमुनाहबाट धम्बोझीसम्मको १ सय रुपैयाँ भाडा लिने गरेका छन् । रुपैडियाबाट जमुनाह आउन थप ४० रुपैयाँ लाग्छ । टाँगाले रुपैडिया–धम्बोझी भाडा ९० रुपैयाँ लिने गरेको सफिकले बताए । टाँगाले एकपटकमा १० जनासम्म बोक्ने गरेको उनको भनाइ छ । ‘ई–रिक्सामा थोरै यात्रु अट्ने भएकाले भाडा महँगो पर्न जान्छ,’ उनले भने, ‘धेरै जनाको समूह भएकाहरू एउटा रिक्सामा नअटाउने भएकाले हामीलाई खोज्छन् ।’ नेपालगन्ज–रुपैडिया रुटमा दैनिक १५–२० वटा रिक्सा चल्ने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका सह–इन्चार्ज प्रहरी सहायक निरीक्षक कुलबहादुर विकले बताए । उनले तिज आसपासबाट टाँगा चल्न थालेको सुनाए ।

पूर्वप्राज्ञ सनत रेग्मीका अनुसार राणाकालीन समयमा वर्ग विशेष अनुकूल आकर्षक घोडा ल्याइन्थ्यो । बिस्तारै सडकको विकाससँगै एक्का र टाँगा संस्कृति लोप हुँदै छ । भेरी अस्पतालको छेउमा टाँगा स्टेसन नै छ । ‘त्यहाँ अचेल रिक्साकै भरिभराउ देखिन्छ,’ रेग्मीले भने, ‘नेपालगन्ज चिनाउने टाँगा संस्कृति पनि हो । यसलाई जोगाउन सके पर्यटक केन्द्र बन्ने सम्भावना कायमै छ ।’

प्रकाशित : कार्तिक २९, २०७९ १०:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×