२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

अघिल्लो सरकारले सिर्जना गरेको निराशाको बोझ हामीले बोक्नुपर्‍यो : महत

काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अघिल्लो सरकारले सिर्जना गरेको निराशाको बोझ अहिले नेपाली कांग्रेसले समेत बोक्नुपरेको आरोप लगाएका छन् । उनले शक्तिशाली सरकारको प्रधानमन्त्री भएर पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले जनतामा डेलिभेरी गर्न नसक्दा स्थापित दलप्रति निराशा र आक्रोस बढेको र त्यही निराशा अहिलेको निर्वाचनमा व्यक्त भएको बताए ।

अघिल्लो सरकारले सिर्जना गरेको निराशाको बोझ हामीले बोक्नुपर्‍यो : महत

प्रवक्ता महतले सत्ता गठबन्धनको पक्षमा बहुमत भने आउने दाबी गरे । 'हाम्रो अपेक्षाकृत परिणाम आएन । तर पनि गठबन्धनको बहुमत आउँछ । अब गठबन्धनकै सरकार बन्छ,' इकान्तिपुरसँग कुरा गर्दै प्रवक्ता महतले भने, 'विगतमा स्थापित दलहरुप्रति जनताको जुन विश्वास थियो, त्यो अघिल्लो पटकको चुनावमा बहुमत पाएर पनि नेकपाको सरकारले डेलिभेरी गर्न नसक्दा अहिले झन् बढेर गएको हो । चार वर्षसम्म नेकपा सरकारले सिर्जना गरेको निराशाको बोझ अहिले हामी पनि बोक्नुपरेको छ ।'

महतले अहिले चुनावबाट स्थापित दलप्रतिको जनताको निराशाका कारण केही नयाँ दलहरु स्थापित भएको बताए । 'स्थापित दलप्रति जनताको धारणा यसरी नकारात्मक बन्यो कि हामीले जनतामा आसा भर्न सकेनौँ । हाम्रो पक्षमा ठूलो जनलहर सिर्जना हुन सकेन,' उनले भने, 'अहिलेका युवा मतदातामा जुन अपेक्षा छ, त्यसलाई हामीले तुरुन्तै पूरा गर्न सक्ने अवस्था पनि छैन ।'

उनले अब कांग्रेस नेतृत्वमा बन्ने गठबन्धन सरकारले जनताको चाहनालाई केन्द्रमा राखेर गम्भीरताका साथ अघि बढ्ने बताए ।

'जनताले हामीलाई सचेत गरेका छन् । हामीले यसलाई गम्भीर रुपमा लिएका छौँ । हामी सजग भएर अघि बढ्छौँ,' उनले भने । समानुपातिकतर्फ मतगणना चलिरहेकाले गठबन्धनको पक्षमा स्पष्ट बहुमत आउने उनको भनाइ छ ।

'हामीले एक्लै होइन, गठबन्धन सरकार आगामी पाँच वर्षसम्म चलाउँछौँ, मुलुकको आर्थिक समृद्धि विकास नेपाली कांग्रेसको नतृत्वमा मात्रै सम्भव छ भनेर नै भोट मागेका छौँ,' उनले भने, 'त्यसैले अहिले तत्कालै अरु गठबन्धनको सम्भावना छैन । यही गठबन्धनको सरकार बन्छ ।'

प्रकाशित : मंसिर ९, २०७९ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?