२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘हेभिवेट’ को हार

एमालेका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव, माओवादीका महासचिव, कांग्रेसका पूर्वमहामन्त्री, पूर्वउपसभामुख, जसपा अध्यक्ष, एसका उपमहासचिव, सचिवसहितका नेता पराजित
कलेन्द्र सेजुवाल

काठमाडौँ — राष्ट्रिय राजनीतिमा उचाइ बनाएका विभिन्न दलका नेताहरू यसपटक पराजित भएका छन् । एमाले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, माओवादी महासचिव, कांग्रेसका पूर्वमहामन्त्री, पूर्वउपसभामुख, जसपा अध्यक्ष, एकीकृत समाजवादीका उपमहासचिव, सचिवसहित दुई जना बहालवाला मन्त्रीले हार बेहोरेका हुन् ।

‘हेभिवेट’ को हार

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कांग्रेसका प्रदीप पौडेलसँग पराजित भएका छन् । २०७४ को निर्वाचनमा तनहुँ २ (१) बाट प्रदेशसभामा पराजित पौडेलले पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेललाई हराएका हुन् । ०५४ मा पहिलोपटक राष्ट्रिय सभा सांसद बनेका पोखरेलले २०५६ मा राष्ट्रिय सभाबाट राजीनामा दिएर प्रतिनिधिसभामा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला उनले काठमाडौं–३ बाट जितेका थिए । त्यसपछि २०६४ र २०७० को संविधानसभा निर्वाचनमा काठमाडौं–५ मा उनी कांग्रेसका नरहरि आचार्यसँग पराजित भएका थिए । २०७४ मा सोही क्षेत्रमा कांग्रेसका प्रकाशशरण महतलाई पराजित गर्दै उनी उपप्रधानमन्त्री बनेका थिए । पोखरेलको प्रचार टिमले पौडेललाई ‘टुरिस्ट’ उम्मेदवारको आरोप लगाएको थियो । सत्ता गठबन्धनको बल र युवा र नयाँ अनुहारप्रति देखिएको मतदाताको आकर्षणका कारण पौडेलले सहजै जित निकाले । पोखरेल एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको वरीयतामा रहेका नेता हुन् ।

एमाले महासचिव शंकर पोखरेल दाङ–२ मा माओवादीकी रेखा शर्मासँग १ सय ९६ मतान्तरले पराजित भएका छन् । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएर पनि तेस्रोपटक संघीय संसद् पुग्ने चाहना पूरा गर्न सकेनन् । उनी पहिलोपटक २०५१ मा ३२ वर्षको उमेरमा कांग्रेसका दीपक गिरीलाई पराजित गर्दै दाङ–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०५६ मा कांग्रेसका कृष्णकिशोर घिमिरेसँग पराजित भएका उनी २०६४ मा समानुपातिकबाट संविधानसभामा पुगेका थिए । २०७० मा दाङ–४ बाट कांग्रेसका बुद्धिराम भण्डारीसँग पराजित भएका उनी २०७४ मा दाङ–२ (१) बाट प्रदेशसभा सदस्य हुँदै लुम्बिनीको मुख्यमन्त्री बनेका थिए ।

पार्टीभित्र वैचारिक नेताको छवि बनाएका पोखरेल अध्यक्ष ओलीका विश्वासपात्र मानिन्छन् । उनको हारमा एमालेभित्रको अन्तरसंघर्षलाई कारक मानिएको छ ।

पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग करिब ८ हजार मतान्तरले पराजित भएका छन् । राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर प्रतिस्पर्धा गरेका कांग्रेसका विश्वराज पौडेल पनि यही क्षेत्रमा पराजित भएका छन् । ढकालले ३४ हजार १ सय ८९ मत ल्याएर संसद्को बाटो तय गर्दा पाण्डे २६ हजार ६ सय ८ र पौडेल २४ हजार ९ सय ९० मतमा रोकिए ।

२०५४ मा पहिलोपटक राष्ट्रिय सभा सदस्य भएका पाण्डे २०६४ मा समानुपातिकतर्फ एमालेबाट संविधानसभा सदस्य भएका थिए । संविधानसभाको सोही कार्यकालमा अर्थमन्त्री भएका उनी २०७० र २०७४ मा प्रत्यक्षतर्फबाट निर्वाचित भएर चौथोपटक संघीय संसद्मा पुगेका थिए ।

माओवादी विद्रोहबाट राजनीतिमा उदाएका एमाले सचिव लेखराज भट्ट यसपटक एमालेबाट कैलाली–४ मा कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरसँग पराजित भएका छन् । भट्टले २०६४, २०७० र २०७४ को निर्वाचनमा माओवादीबाट जितेका थिए ।

युवा संघको अध्यक्ष हुँदा चर्चामा आएका एमाले नेता महेश बस्नेत भक्तपुर–२ मा कांग्रेस जिल्ला सभापति दुर्लभ थापासँग ९ सय ५७ मतान्तरले पराजित भएका छन् । थापाले २४ हजार २ सय ३९ ल्याएर पहिलोपटक संघीय संसद्को यात्रा तय गर्दा बस्नेत २३ हजार २ सय ८२ मा रोकिए । बस्नेत ०७० को संविधानसभा निर्वाचनमा भक्तपुर २ बाट पराजित भए पनि उनलाई एमाले अध्यक्ष ओलीले उद्योगमन्त्री बनाएका थिए । २०७४ मा भने उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा उदयपुर–२ मा एमालेका अम्बरबहादुर रायमाझीसँग पराजित भएका छन् । उनको पराजयमा सत्ता गठबन्धनभित्रको अन्तरसंघर्षलाई प्रमुख कारक मानिएको छ । उदयपुर–२ मा कांग्रेसका पूर्वक्षेत्रीय सभापति रामकुमार राई बागी उठेका थिए । इलाममा झैं उदयपुरमा पनि कांग्रेसले स्थानीय तह निर्वाचनमा खतिवडाले गठबन्धनलाई धोका दिएको आरोप लगाउँदै आएको थियो । गठबन्धन दलका स्थानीय नेताहरू कांग्रेसका बागी उम्मेदवार राईलाई सोही क्षेत्रबाट २०७४ मा निर्वाचित माओवादी सांसद सुरेशकुमार राईको सहयोग रहेकोआरोप लगाउँछन् ।

२०७४ मा प्रदेशसभा २ (२) मा टिकटका दाबेदार रहेका राई टिकट नपाएपछि कांग्रेस परित्याग गरी माओवादी प्रवेश गरेका थिए । ‘पार्टी प्रवेशको एकमात्र उद्देश्य सुरेशलाई चुनावमा सहयोग गर्नु थियो, उहाँकै सहयोगमा चुनाव पनि जित्नुभयो,’ कांग्रेसका एक स्थानीय नेताले भने, ‘अहिले बागी उठेका रामकुमारलाई उतिबेलाको गुन तिर्ने हल्ला भित्रभित्र सुनिन्थ्यो, परिणामले पुष्टि गरेको छ ।’ कांग्रेसका बागी राईले १० हजार ३ सय ७९ मत ल्याएर तेस्रो बन्दा खतिवडा एमालेका रायमाझीसँग २ हजार ३ सय ५८ मतान्तरले पराजित भएका छन् । खतिवडाले १२ हजार ८ सय ९३ मत ल्याएका छन् ।

एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री गुल्मी–२ मा एमालेका गोकर्ण विष्टसँग पराजित भएकी छन् । विद्यार्थी राजनीतिबाट उदाएकी झाँक्री पूर्वमन्त्रीसमेत हुन् । २०७४ को निर्वाचनमा एमालेबाट समानुपातिक सांसद भएकी उनी पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेकी थिइन् ।

कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग लगातार दोस्रोपटक पराजित भएका छन् । ०७४ मा पूर्वगृहमन्त्रीसमेत रहेका सिटौलालाई हराएपछि लोकप्रियता कमाएका लिङ्देन राप्रपाको अध्यक्ष चुनिएपछि थप शक्तिशाली बनेका थिए । लिङ्देन एमालेको समर्थनमा र सिटौला सत्ता गठबन्धनको समर्थनमा चुनावी मैदानमा थिए । लिङ्देन ४० हजार ६ सय ४८ मतसहित निर्वाचित हुँदा सिटौला ३७ हजार ३ सय ७२ मा रोकिए । सिटौला–लिङ्देनबीचको यो चौथो प्रतिस्पर्धा हो । ०५६ को मध्यावधि निर्वाचनमा दुई नेताले तत्कालीन झापा–१ बाट प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला सिटौलाले जित्दा लिङ्देन तेस्रो भएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा माओवादीका पूर्णसिंह राजवंशी निर्वाचित हुँदा सिटौला र लिङ्देन क्रमश: दोस्रो र तेस्रो भएका थिए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने सिटौलाले जित्दा लिङ्देन निकटतम प्रतिस्पर्धीबनेका थिए ।

बहालवाला राज्यमन्त्री कांग्रेसका उमेश श्रेष्ठ चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसँग ३४ हजार २ सय ८१ मतान्तरले पराजित भएका छन् । लामिछानेले ४९ हजार २ सय ६४ र श्रेष्ठले १४ हजार ९ सय ८३ मत ल्याएका छन् । पूर्वसञ्चारकर्मी लामिछाने असार पहिलो साता आफ्नै नेतृत्वमा पार्टी घोषणा गर्दै पहिलोपटक निर्वाचनमा होमिएका थिए । शैक्षिक क्षेत्रका व्यवसायी श्रेष्ठ ०७४ को निर्वाचनमा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य हुँदै राज्यमन्त्री बनेका थिए । खानेपानीमन्त्री उमाकान्त चौधरी बारा–१ मा एमालेका अच्युतप्रसाद मैनालीसँग फराकिलो मतान्तरमा पछाडि छन् । बिहीबार रातिसम्मको मत परिणामअनुसार मैनालीले ३३ हजार १ सय ७७ र चौधरीले २५ हजार ५ सय ४४ मत ल्याएका छन् ।

पूर्वमन्त्री सुनील थापा धनकुटामा एमालेका राजेन्द्रकुमार राईसँग पराजित भएका छन् । राप्रपाबाट कांग्रेस प्रवेश गरेका थापा पूर्वमन्त्रीसमेत हुन् । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) मकवानपुर–१ मा राप्रपाका दीपकबहादुर सिंहसँग पराजित भएकी छन् । सिंहसँग राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पराजित भएका छन् । पटक–पटक मन्त्री भएका थापा ०७४ मा मकवानपुर–२ मा एमालेका कृष्णप्रसाद दाहालसँग पराजित भएका थिए भने उपाध्याय विरोध खतिवडासँग पराजित भएकी थिइन् । थापा, उपाध्याय र सिंहबीच यसपटक त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । सिंहले २७ हजार ८ सय १६ मत ल्याउँदा उपाध्यायले २५ हजार ४ सय २३ र थापाले २५ हजार ४ सय २० मत ल्याएका छन् ।

पटक–पटक मन्त्री भएका कांग्रेस नेता बलबहादुर केसी सोलुखुम्बुमा एमालेका मानवीर राईसँग पराजित भएका छन् । राईले १९ हजार ३ सय २४ मत ल्याउँदा केसीले १६ हजार ५ सय ५५ मतमा चित्त बुझाए । निवर्तमान उपसभामुख कांग्रेसकी पुष्पा भुसाल अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीसँग पराजित भएकी छन् । पूर्वमाओवादी नेता रायमाझी नेकपा विभाजनपछि एमालेमा लागेका थिए । पूर्वमन्त्री कांग्रेसका भीमसेनदास प्रधान काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका छन् । तेस्रो भएका उनलाई एमालेका सर्वेन्द्र खनालले उछिनेका थिए ।

जसपा अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सिके राउतसँग फराकिलो मतान्तरमा पराजित भएका छन् । सप्तरी–२ मा राउतले ३५ हजार ४२ र यादवले १६ हजार ९ सय ७९ मत ल्याएका छन् । मधेस आन्दोलनबाट उदाएका यादव पृथकतावादी राजनीति छोडेर शान्तिपूर्ण राजनीतिमा आएका राउतसँग पराजित भएका हुन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवलाई पराजित गरेर संसद्को यात्रा तय गरेसँगै मधेस प्रदेशमा जनमत पार्टीको उदय भएको छ । जसपाकै नेता निवर्तमान सहरी विकासमन्त्री मो. इस्तियाक राई पनि पराजित भएका छन् । उनी बाँके–२ मा राप्रपाका धवलशमशेर राणासँग पराजित भएका हुन् ।

माओवादीका महासचिव देवप्रसाद गुरुङ लमजुङमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित भएका छन् । २०६४ मा मनाङ र कास्की–१ बाट सांसद बनेका महासचिव गुरुङले २०७४ मा लमजुङबाट जितेका थिए । ऊर्जामन्त्री रहेकी माओवादी नेतृ पम्फा भुसाल ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीसँग पराजित भएकी छन् । कार्कीले ३१ हजार १ सय ३६ मत ल्याउँदा एमालेका अमृत खड्काले १२ हजार ९ सय ६३ र भुसालले ८ हजार ७ सय ६९ मत ल्याइन् । पूर्वसभामुख ओनसरी घर्ती काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग पराजित भएकी छन् । उनी ९ हजार ४ सय ४९ मतसहित चौथो स्थानमा सीमित भइन् । गौतम १५ हजार २ सय २९ मत ल्याएर विजयी भएकी छन् । एमालेका मणिराम फुयाँल दोस्रो र राप्रपाकी कुन्तीदेवी पोखरेल तेस्रो भए ।

सत्ता गठबन्धनको साझेदार दल जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल प्यूठानमा एमालेका सूर्य थापासँग पराजित भएकी छन् । पौडेलले २०७४ मा वाम गठबन्धनका तर्फबाट प्यूठानमा कांग्रेसका गोविन्द पोखरेललाई पराजित गरेकी थिइन् ।

प्रकाशित : मंसिर ९, २०७९ ०६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?