सरकार बनाउन कसरत सुरु

प्रधानमन्त्री देउवा गठबन्धन निरन्तरतालाई प्राथमिकता दिँदै साना दलहरुसँग पनि संवाद बढाउँदै
ओलीले दाहालसँग लामो अवधिको संवादहीनता तोड्दै सरकार बनाउन राखे सहकार्यको प्रस्ताव

काठमाडौँ — आमनिर्वाचनको परिणामले सत्ता गठबन्धन भत्किएला वा निरन्तर रहला भन्ने अड्कल भइरहेका बेला प्रमुख दुई राजनीतिक दल कांग्रेस र एमालेले आगामी सत्ता समीकरणका लागि पहल थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखिको संवादहीनता
तोड्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरेर सहकार्य गर्न सकिने सन्देश दिएका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले राज्य सत्ताका पद बाँडफाँट गरेर सँगै अघि बढ्न सकिने भन्दै माओवादी अध्यक्ष दाहाललाई आश्वस्त पार्न खोजिरहेका छन् ।

सरकार बनाउन कसरत सुरु

प्रत्यक्ष १ सय ६५ र समानुपातिक १ सय १० गरी २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ सांसद हुनुपर्छ । कांग्रेस र एमाले आपसमा मिल्दाबाहेक बहुमत पुर्‍याउन कम्तीमा तीन दलले सहकार्य गर्नुपर्ने अवस्था बन्दै छ । अहिलेसम्मको मतगणनाका आधारमा कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन बहुमतनजिक पुग्ने देखिएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले यही गठबन्धनलाई निरन्तरता दिने र अपुग भए अन्य दलबाट जुटाउने तयारी गरेका छन् । तर गठबन्धनबाट अपेक्षित परिणाम हासिल गर्न नसकेका दलहरू खासगरी माओवादी र एकीकृत समाजवादीले के निर्णय लिन्छन् भन्ने टुंगो छैन । दुवै दलका केही नेताले कांग्रेससँगको गठबन्धन प्रभावकारी नभएको र वाम एकता आवश्यक रहेको बताउन थालिसकेका छन् ।

एमाले अध्यक्ष ओलीले बधाई दिने बहानामा माओवादी अध्यक्ष दाहालसँग आगामी सहकार्यको कुरा निकालेका छन् । लामो समयको संवादहीनता तोड्दै ओलीले बिहीबार फोन गरेका हुन् । ओली र दाहालबीच सम्बन्ध बिग्रिएकै कारण तत्कालीन नेकपा एकतापूर्वको अवस्थामा पुगेको थियो । तत्कालीन नेकपामा सिर्जित आन्तरिक विवादले नै एमालेलाई समेत विभाजन गरेको थियो । संघ र ४ वटा प्रदेशमा सरकारको नेतृत्व गरिरहेको एमाले सत्ताबाट बाहिरिएको थियो । आमनिर्वाचनले शक्ति मठारिदिएपछि एमाले र माओवादीले सहकार्य र एकताको कुरा गर्न थालेका छन् । माओवादी महासचिव देवप्रसाद गुरुङले बिहीबार नै एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग ‘मिलेर वाम एकताको पहल गरौं’ भनेर प्रस्ताव राखेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि वाम एकता हुन सक्ने बताएका छन् । अहिले उनीहरूले छलफलमा ल्याएको ‘वाम एकता’ ले मूर्तरूप लियो भने सत्ता समीकरण बेग्लै बन्न सक्छ ।

माओवादी अध्यक्ष दाहालले पाँचदलीय गठबन्धनको निरन्तरता वा विकल्पबारे मुख खोलिसकेका छैनन् । २०७४ को निर्वाचनमा एमालेसँग तालमेल गर्दा प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादीलाई यसपालि पाँचदलीय गठबन्धन गर्दा त्यसको आधा सिट जित्न हम्मे परेको छ ।

पाँच वर्षअघि समानुपातिकमा तेस्रो स्थानमा रहेको माओवादी यसपटक जारी गणनामा चौथो स्थानमा छ । माओवादीले भने आगामी सत्ता समीकरणमा आफ्नो दललाई एक्लो निर्णायक शक्ति बनाउने लक्ष्य राखेको थियो । कांग्रेस र एमालेलाई आफ्नो नेतृत्वमा सरकार बनाउन माओवादीको सिट संख्याले मात्र नपुग्ने भएको छ ।

प्रधानमन्त्री देउवा भने माओवादी अध्यक्ष दाहाललाई मनाउने प्रयासमा छन् । देउवाले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मुख्यमन्त्रीसहितका पद एकमुष्ट भागबन्डा गरेरै सहकार्य गर्ने आशय व्यक्त गरेका छन् । दाहालले भने अन्तिम मतपरिणाम आएपछि मात्र सरकार गठनलगायतमा छलफल गर्ने जवाफ देउवालाई दिएका छन् । गठबन्धनलाई सरकार बनाउन केही सिट अपुग हुने अड्कल गरेर प्रधानमन्त्री देउवाले साना दलहरूसँग पनि सम्पर्क बढाउन थालेका छन् । बालुवाटार स्रोतका अनुसार उनले नागरिक उन्मुक्ति पार्टीका केही नेतासँग सम्पर्क बढाएका छन् । उनले केही स्वतन्त्र सांसदलाई पनि फकाएर संख्या पुर्‍याउने तयारी गरेका छन् । यी पहल कामयावी नभए राप्रपालाई सरकारमा ल्याउन पहल गर्ने स्रोतले जनाएको छ ।

दाहालले आफू प्रधानमन्त्री हुने अवस्थामा मात्र देउवासँग सहजै साझेदारी गर्न सक्ने अनुमान पनि हुन थालेको छ । माओवादीका एक नेताले आफूहरूको प्राथमिकता पाँचदलीय गठबन्धन नै हुने बताए । ‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मुख्यमन्त्री बाँडफाँटमा सहमति नभए माओवादी सत्ता बाहिर रहन सक्छ,’ उनले भने, ‘ओली र दाहालबीच संवाद भए पनि एमालेसँग तत्काल सहकार्यको सम्भावना छैन ।’ माओवादीका अर्का एक नेता भने अहिले नै वामपन्थी सरकार बनाउने कसरत नहोला भन्न नसकिने बताउँछन् । माओवादी र एकीकृत समाजवादीको एउटा समूह पहिलेदेखि नै वामपन्थी ध्रुवीकरणको प्रयत्नमा थियो ।

यसपटक प्रतिनिधिसभामा नयाँ राजनीतिक शक्तिसमेत थपिएकाले माओवादीले सीमित विकल्पका बीच गठबन्धन छाड्ने सम्भावना कम रहेको कांग्रेस नेताहरू बताउँछन् । कांग्रेस सभापति देउवासँगकै सहकार्य सहज हुने भएकाले दाहालले गठबन्धनको विकल्प खोज्ने विश्वास कांग्रेस नेताहरूले गरेका छैनन् । गठबन्धनकै बहुमत पुग्ने र यही गठबन्धनबाट नयाँ सरकार बन्ने उनीहरूको दाबी छ । ‘सबै पार्टीभित्र नेताहरूका व्यक्तिगत टिप्पणी हुन्छन् । कांग्रेस नेतृत्व तहले मत ट्रान्सफरका लागि हुनेसम्म बल गरेको हो । तर आममतदाता सबै हामीले भन्दैमा मान्दैनन् । सहरी क्षेत्रमा हाम्रै समानुपातिक भोट निकै घटेको छ, यसलाई माओवादी नेतृत्वले नबुझेजस्तो लाग्दैन,’ कांग्रेस नेता प्रकाशशरण महतले भने, ‘यसैका आधारमा गठबन्धन भत्किन्छ भन्ने कुरा मिथ्या हुन् । त्यस्तो कुरा माओवादी नेताहरू कसैले गर्नुभएको छैन ।’

उनले धेरै फराकिलो सिट नभए पनि गठबन्धन बहुमतमा आउने दाबी गरे । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल थालेको हो भन्ने प्रश्नमा नेता महतले भने, ‘यस विषयमा नेताहरूबीच अनौपचारिक कुराकानी सुरु भएको होला । कुराकानी नै नहुने भन्ने हुन्न । प्रचण्ड र माधवजी दुवैसँग कुराकानी भएको हुन सक्छ । गठबन्धन दायाँ–बायाँ हुन्न ।’ उनले अहिलेकै गठबन्धनबाट ठूलो पार्टीको हैसियतमा कांग्रेसले नै आगामी सरकारको नेतृत्व लिने पनि बताए ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवा ओली र दाहालबीच बिहीबार भएको संवाद बधाईको औपचारिकतामा मात्रै रहेको दाबी गर्छन् । ‘ओलीले देउवासँग पनि टेलिफोन संवाद गर्नुभएको थियो,’ उनले भने, ‘सरकार निर्माणको विषयमा नतिजा आइसकेपछि छलफल होला, अहिल्यै भएको छैन ।’ देउवा र ओलीबीच बुधबार भएको संवादमा बधाई आदानप्रदानका साथै राष्ट्रिय स्वतन्त्र पार्टीको उदयपछिका चुनौतीबारे पनि छलफल भएको प्रमुख स्वकीय सचिव देउवाले जानकारी दिए ।

कांग्रेस र एमालेले संयुक्त सरकार बनाउने विकल्प पनि छ तर यसलाई दुवै पार्टीका अधिकतर नेता प्राकृतिक ठान्दैनन् । केही अपवादबाहेक यी दुई दल सँगै सरकारमा छैनन् । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेसम्म सरकार निर्माणका विषयमा छलफल नभएको बताए । ‘कसरी अघि बढ्ने भन्नेबारेमा परिणाम आइसकेपछि छलफल हुन्छ,’ उनले भने, ‘अहिल्यै छलफल गर्नु हतारो हुन्छ ।’ दाहालका स्वकीय सचिवसमेत रहेका माओवादी केन्द्रीय समिति सदस्य रमेश मल्लले पनि बिहीबार ओली र दाहालबीच बधाई आदानप्रदान मात्र भएको बताए । ‘अध्यक्षज्यूले अरू कुरा पछि गरौंला भन्नुभएको छ,’ उनले भने ।

देउवाले आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन पहल थाले पनि कांग्रेसभित्र उनको विकल्प खोज्नुपर्ने मत पनि सशक्त बन्दै गएको छ । ठूला दलको नेतृत्वकै कार्यशैलीका कारण रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आमनिर्वाचनमा उल्लेख्य मत प्राप्त गरेकाले नेतृत्व बदल्नुपर्ने अभिव्यक्ति कांग्रेस नेताहरूले राखिरहेका छन् । एमाले र माओवादीमा नेतृत्व बदल्ने सम्भावना नभएकाले कांग्रेसभित्रै त्यस्तो सम्भावना बोकेर आफू अघि बढेको महामन्त्री गगन थापाले बताउँदै आएका छन् । थापालाई बलियो साथ अर्का महामन्त्री विश्वप्रकाश शर्माले दिइरहेका छन् । ‘पहिला त सभापतिज्यूले नै जनादेशको सन्देशलाई बुझेर आफैंले नेतृत्व सुम्पने विकल्प छ,’ शर्माले कान्तिपुरसँग भने, ‘नभए मतदाताको भावनालाई बुझेर सांसदहरूले निर्णय लिनुपर्छ ।’

संविधानको धारा ७६(२) अनुसार सरकारको नेतृत्व लिन पार्टीको संसदीय दलको नेता बन्नु पर्दैन । तर कांग्रेसमा संसदीय दलको नेताले सरकारको नेतृत्व लिने अभ्यास रहेकाले महामन्त्री थापाले त्यसका लागि तयारी अघि बढाएका छन् । उनले निर्वाचित भएर आएका सांसदहरूसँग सरकारको नेतृत्वका विषयमा छलफल गरिरहेका छन् ।

कांग्रेस नेता मीनेन्द्र रिजाल एउटै पार्टीको सरकार बन्ने स्थिति नभएपछि धेरै दल जोडजाड पारेर सरकार बनाउने खुबी पार्टी सभापति देउवामा जति अरू नेतामा नभएको बताउँछन् । ‘संख्या पुर्‍याउने कलामा हाम्रो पार्टी सभापतिसँग अरू कसैको तुलना हुन सक्दैन,’ उनले भने, ‘रवि लामिछानेको पार्टी र राप्रपासँग पनि कुराकानी गर्नुपर्ने होला । रवि लामिछानेले प्रदेशमा उम्मेदवार दिएनन्, भोट पनि हालेनन् । राप्रपाले संवैधानिक राजतन्त्र, हिन्दु राज्यको माग गरिरहेको छ । उनीहरू र माओवादीसहितको सरकार बनाउन सभापतिसँगै बढी क्षमता छ ।’

नेता रिजालले महामन्त्री थापासहितका युवा नेता जोडजाडबाटै सरकार बनाएर जानेभन्दा पार्टीलाई पुनर्जागरण गर्नतिर लाग्नुपर्ने बताए । ‘गठबन्धनका कारण स्थानीय तहदेखि नै नेतृत्व विकास गर्ने क्रम रोकिएको छ । धेरैले अवसर पाएका छैनन् । यसपटक पाँच प्रतिशत मत कांग्रेसले गुमाउँदै छ । पार्टीले आशा गरेका गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले सरकार बनाउने जिम्मा सभापतिलाई छाडिदिनु उचित हुन्छ । केही वर्षमा अर्को रंगको सरकार बन्ने स्थिति पनि फेरि आउन सक्छ,’ उनले भने ।

प्रकाशित : मंसिर ९, २०७९ ०५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?