१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ठूलो बन्न कांग्रेस–एमालेबीच प्रतिस्पर्धा

माओवादीसहित पाँच दलीय गठबन्धन बनाएर निर्वाचनमा होमिएको कांग्रेस बुधबार रातिसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फको नतिजा र समानुपातिकतर्फको मतको ‘ट्रेन्ड’ हेर्दा एमालेभन्दा केही सिटले अघि हुने सम्भावना छ

काठमाडौँ — यस पटक पनि कांग्रेस र एमालेबीच को पहिलो दल हुने भन्ने मुख्य प्रतिस्पर्धा देखिएको छ । ०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा पहिलो दल बनेको एमालेले यो आमनिर्वाचनमा त्यही स्थान कायम गर्ने निश्चित भइसकेको छैन ।

ठूलो बन्न कांग्रेस–एमालेबीच प्रतिस्पर्धा

माओवादीसहित पाँच दलीय गठबन्धन बनाएर निर्वाचनमा होमिएको कांग्रेस बुधबार रातिसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फको नतिजा र समानुपातिकतर्फको मतको ‘ट्रेन्ड’ हेर्दा एमालेभन्दा केही सिटले अघि हुने सम्भावना छ । समानुपातिकमा कांग्रेसलाई धेरै मतले पछि पारे एमाले पहिलो हुने सम्भावना पनि देखिन्छ । प्रतिनिधिसभामा समानुपातिकको बुधबार रातिसम्म करिब ११ प्रतिशत मतगणना भएको छ । मुख्यगरी प्रत्यक्षका सबै र समानुपातिकमा गणना गर्न बाँकी ८९ प्रतिशत मतले कांग्रेस र एमालेमध्ये को पहिलो हुने स्पष्ट गर्नेछ ।

कांग्रेसले २२ सिटमा जित निकालेको छ भने ३६ मा अग्रता लिएको छ । अग्रता लिएका सबै सिट जित्न सक्दा कांग्रेसले प्रत्यक्षतर्फ ५८ सिट पाउने देखिन्छ । समानुपातिकतर्फको ११ प्रतिशत मतगणना हुँदा एमाले अघिअघि र कांग्रेस पछिपछि छन् । बुधबार १० बजेसम्मको गणनाअनुसार एमालेले २८, कांग्रेसले २६, राष्ट्रिय स्वतन्त्र पार्टीले १४ र माओवादी केन्द्रले १३ प्रतिशत मत पाएका छन । एमाले र कांग्रेसबीच समानुपातिकमा मतान्तर फराकिलो बनेमा एमाले पहिलो दल बन्ने सम्भावना रहन्छ । एमालेले बुधबार रातिसम्म प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने ३७ सिटमा अग्रता लिएको छ । अग्रता लिएका सबै सिट जित्दा कांग्रेससँग १२–१३ सिटको अन्तर हुन्छ । प्रत्यक्षतर्फको अन्तरलाई समानुपातिकले कभर गर्न सक्दा मात्रै एमाले ठूलो दल बन्न सक्छ, जुन सम्भावना कमजोर देखिन्छ ।

कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले निर्वाचनबाट बहुमत ल्याउने सम्भावना अझै टरेको छैन । माओवादी र एकीकृत समाजवादीले अपेक्षाकृत नतिजा पाएका छैनन् । कांग्रेसको मत ट्रान्सफरमा समस्या देखिएको निष्कर्षमा रहेका माओवादी र एसका नेताहरूले प्रत्यक्षतर्फको नतिजा पूरा नआउँदासम्म औपचारिक प्रतिक्रिया दिन मानेका छैनन् । माओवादी र एकीकृत समाजवादी गठबन्धनमा रहने वा नरहने भन्ने विषयले सत्ता गठबन्धनको भविष्य र सरकार निर्माणको रेखा कोरिनेछ ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चासमेतको गठबन्धनले बहुमत ल्याउने दाबी कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको छ । उनले नतिजा प्रारम्भिक अवस्थामै रहेकाले सरकारको समीकरण र नयाँ दलसँगको गठजोडको विषयमा अहिल्यै बोल्नु परिपक्व नहुने बताए । शर्मा तेस्रो पटकको प्रयासमा संसद्मा आउन सफल भएका छन् । ०७० र ०७४ को निर्वाचनमा पराजित उनले यस पटक फराकिलो मतान्तरसहित जितेका छन् । उनको जितमा पार्टीको सांगठिनकभन्दा व्यक्तिगत प्रभाव र परिवर्तनको मुद्दा कारण बनेका छन् ।

कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र शर्मा, केन्द्रीय सदस्य प्रदीप पौडेलसहितका युवा नेताको संसद् यात्रालाई अर्थपूर्ण रूपमा हेरिएको छ । प्रधानमन्त्री बन्न खोजिरहेका शेरबहादुर देउवालाई रोकेर थापा अघि बढ्न खोजेका छन् भने शर्मा र पौडेलजस्ता युवा नेताले उनलाई बल दिइरहेका छन् । शर्माले गगनलाई संसदीय दलको नेता बनाउन प्रस्ताव गर्ने बताए । अहिलेको परिवर्तनको सन्देश बुझेर देउवा आफैंले सरकारको मोर्चा हस्तान्तरण गर्नु बढी उपयुक्त हुने उनको भनाइ छ । ‘सभापतिज्यूले नेतृत्व हस्तान्तरण गर्दा उहाँको ओज र उचाइ अझै बढेर जान्छ, बदलिएको परिवेश र परिस्थितिलाई आत्मसात् नगर्ने हो भने निर्वाचित सांसदहरूले निष्कर्ष निकाल्ने विकल्प छ,’ शर्माले कान्तिपुरसँग भने, ‘आफ्नो भूभाग र जनताको भावनालाई आत्मसात् गर्न राष्ट्रिय राजनीतिमा सांसदहरूले निर्णायक पहल गर्नुपर्छ । त्यसले मात्रै पार्टीलाई बदल्न सक्छौं ।’ ०७४ मा पराजित भएका कांग्रेसका रमेश लेखक, रामहरि खतिवडा, उदयशमशेर राणा, हृदयराम थानी, शंकर भण्डारी, रमेश रिजाल, अजयकुमार चौरासियालगायतले यस पटक जितेका छन् ।

एमाले अध्यक्ष केपी ओली ठूलो मतान्तरसहित झापा ५ बाट निर्वाचित भएका छन् । यस क्षेत्रमा उनले ०६४ बाहेक सबै निर्वाचन जितेका छन् । ओलीले यस पटक २८ हजार ५ सय ७६ मतान्तरमा कांग्रेसका पुरानै प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीलाई पराजित गरेका हुन् । ओलीले ५२ हजार ३ सय १९ मत ल्याएका छन् ।

एमाले सचिव गोकर्ण विष्टले आफ्नै पार्टीकी पूर्वनेतृ रामकुमार झाँक्रीलाई पराजित गरेका छन् । अर्का सचिव योगेश भट्टराई ताप्लेजुङबाट झिनो मतान्तरमा निर्वाचित भएका छन् । उनले गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका खेलप्रसाद बुडाक्षेत्रीलाई १ सय ९० मतान्तरले पराजित गरेका हुन् । भट्टराईले २१ हजार ९ सय ४३ मत ल्याउँदा बुडाक्षेत्रीले २१ हजार ७ सय ५३ मत ल्याएका थिए । इलाम १ मा एकीकृत समाजवादीका झलनाथ खनाललाई एमालेका महेश बस्नेतले पछि पारिरहेका छन् ।

३८ स्थानमा अग्रता लिइराख्दा अध्यक्ष ओलीका उत्तराधिकारी मानिएका महासचिव शंकर पोखरेल जोखिममा छन् । दाङ २ मा उनलाई माओवादीकी नेतृ रेखा शर्माले सुरुवातदेखि नै पछि पारिरहेकी छन् । ओली सरकारका मन्त्रीहरू प्रदीप ज्ञवाली, गोकुल बाँस्कोटा, भानुभक्त ढकाल, शेरबहादुर तामाङलगायत नेताहरू पनि जोखिममा परेका छन् । एमालेले जित्ने दाबी गरिएका क्षेत्रमध्ये गणना भएको भक्तपुर २ मा महेश बस्नेत जोखिममा छन् । एमालेका चर्चित अनुहारहरू लालबाबु पण्डित, शान्ता चौधरी, बसन्तकुमार नेम्वाङ, झपटबहादुर रावल, भीमप्रसाद आचार्य, शेरधन राईसमेत पछि परिरहेका छन् ।

माओवादीले बुधबार रातिसम्म ३ सिटमा जितेको छ, १३ मा अग्रता लिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल गोरखा २, वर्षमान पुन रोल्पा र जनार्दन शर्मा रुकुम पश्चिमबाट फराकिलो मतान्तरसहित अगाडि छन् । यीबाहेक माओवादीले सर्लाही २, ३, भोजपुर, सिन्धुपालञ्चोक १, कैलाली २, खोटाङ १, कालीकोट १, मोरङ ४, जाजरकोट १ मा अग्रता लिइरहेको छ । लमजुङमा माओवादी महासचिव देव गुरुङ र गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका एमाले नेता पृथ्वीसुब्बा गुरुङसँगको प्रतिस्पर्धा रोचक बनेको छ । अहिले एमाले नेता गुरुङले माओवादी महासचिव देव गुरुङलाई पछि पारेका छन् । माओवादी अध्यक्ष दाहालकी बुहारी बिना मगर, हितबहादुर तामाङ, मातृकाप्रसाद यादव, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल पछि परेका छन् । पूर्वसभामुखसमेत रहेकी ओनसरी घर्ती काठमाडौं २ मा पराजित भइसकेकी छन् भने अर्की नेतृ पम्फा भुसालको पराजय निश्चित छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले चार सिटमा जित निकालेको छ । पाँच सिटमा उसको अग्रता छ । शिशिर खनाल काठमाडौं ७, सोविता गौतम काठमाडौं २, विराजभक्त श्रेष्ठ काठमाडौं ८ र गणेश पराजुली काठमाडौं ७ बाट निर्वाचित भएका छन् । रवि लमिछाने चितवन २ मा फराकिलो मतान्तरले अघि छन् । ललितपुर ३ मा तोसिमा कार्की जितनजिक छिन् ।

राप्रपाले पाँचौं स्थान लिने अवस्था बन्दै छ । प्रत्यक्ष र समानुपातिकतर्फ उसले हासिल गरेको उपलब्धिले यस्तो संकेत देखाउँछ । प्रत्यक्षतर्फ रापप्राले एक सिटमा जित हासिल गरिसकेको छ भने ४ मा अग्रता छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन झापा ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाभन्दा धेरै अघि छन् । नवलपरासी बर्दघाट पश्चिम २ मा ध्रुवबहादुर प्रधानले कांग्रेसका पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेललाई, जुम्लामा ज्ञानेन्द्रबहादुर शाहीले माओवादीकी गोमा गौतमलाई फराकिलो अन्तरमा पछि पारेका छन् । चितवन ३ मा विक्रम पाण्डेले माओवादीका भोजराज अधिकारीलाई उछिनेका छन् ।

एकीकृत समाजवादीले दुई सिट जितेको छ, ७ मा अग्रता छ । बारा ४ बाट कृष्णकुमार श्रेष्ठ र अछाम १ बाट शेरबहादुर कुँवर विजयी भएका छन् । यसअघि तनहुँ २ बाट निर्वाचित श्रेष्ठ कांग्रेस नेता रामचन्द्र पौडेललाई उक्त निर्वाचन क्षेत्र छाडेर बारा ४ पुगेका थिए । अध्यक्ष माधवकुमार नेपालले रौतहट १ बाट जित्ने करिब निश्चित छ । धादिङ १ मा राजेन्द्रप्रसाद पाण्डे, दाङ १ मा मेटमणि चौधरी, सल्यान १ मा प्रकाश ज्वाला, दैलेख १ मा अम्मरबहादुर थापा, बझाङ १ मा भानुभक्त जोशी, डोल्पा १ मा धनबहादुर बुढा र डोटी १ बाट प्रेम आलेले अग्रता लिएका छन् । जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा पराजित भइसकेका छन् भने झलनाथ खनाल, सोमप्रसाद पाण्डे, रामचन्द्र झा, विरोध खतिवडालगायत नेता जोखिममा छन् । कुनै बेला वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको उपेन्द्र यादव नेतृत्वको पार्टी यस पटक अस्तित्वको संकटमा छ । जसपाबाट अहिलेसम्म पर्सा १ मा प्रदीप यादव मात्रै विजयी भएका छन्, ४ क्षेत्रमा उसको अग्रता छ । अन्तिम समयमा सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गरेको जसपाले ठूलो धक्का व्यहोरेको छ । उसलाई सत्ता गठबन्धन र मधेसमै नयाँ शक्तिका रूपमा उदाएको सीके राउत नेतृत्वको जनमत पार्टीले धक्का दिएको छ । अध्यक्ष यादव जनमत पार्टीका अध्यक्ष राउतसँग १८ हजार ६३ मतको अन्तरमा पराजित भएका छन् । सिराह २ मा जनमत पार्टीकै विनोदकुमार यादवले अग्रता लिएका छन् । मधेसलाई आधार मानेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि संकटमा छ । रूपन्देही–४ बाट सर्वेन्द्रनाथ शुक्लले जित निकालेका छन् । सर्लाही १ बाट रामप्रकाश चौधरी र महोत्तरी २ बाट शरतसिंह भण्डारीले अग्रता लिएका छन् । अध्यक्ष ठाकुर, राजेन्द्र महतो र अनिलकुमार झा जोखिममा छन् ।

अर्को क्षेत्रीय पार्टीका रूपमा उदाएको नागरिक उन्मुक्ति पार्टीले एक क्षेत्रमा जित निकालेको छ भने एक क्षेत्रमा अग्रता लिएको छ । कैलाली ३ बाट गंगाराम चौधरी विजयी भएका छन् भने कैलाली १ मा रन्जिता श्रेष्ठले अग्रता लिइरहेकी छन् ।

प्रकाशित : मंसिर ८, २०७९ ०६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?