ओलीको छैटौं, शर्माको पहिलो जित
बिर्तामोड,काँकडभिट्टा — आफ्नो जित निकाल्न एमाले अध्यक्ष केपी शर्मा ओलीले यसपल्ट विगतभन्दा धेरै मिहिनेत गरे । पछिल्लो तीन महिना उनी दस दिनको समेत फरक नपारी गृहजिल्ला झापा आइरहे । अधिकांश समय दमकमा बिताए र झापा–५ को गौरादह, गौरीगन्ज, केर्खा, तोपगाछी, लखनपुरलगायतका स्थानका विभिन्न कार्यक्रम सहभागी भए ।
मिहिनेत गरेअनुसार नै ओलीले बुधबार बेलुकी निर्वाचनको नतिजा प्राप्त गरेका छन् । उनी सोचेभन्दा राम्रो २८ हजार ५ सय ७६ मतको भारी अन्तरले निर्वाचित भए । ओलीले ५२ हजार ३ सय १९ मत पाउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७ सय ४३ मत मात्र पाए । ओलीले ०७४ को निर्वाचनमा समेत अधिकारीलाई नै पराजित गरेका थिए । त्यतिबेला पनि उनी २८ हजार ८ सय ४२ मतको भारी अन्तरले निर्वाचित भएका थिए । उक्त निर्वाचनमा ओली माओवादी केन्द्रसहितको वाम गठबन्धनको उम्मेदवार थिए । ओलीलाई त्यसबेला पनि राप्रपाले सहयोग गरेको थियो । अघिल्लो चुनावमा कांग्रेस एक्लै प्रतिस्पर्धामा थियो । उसलाई यसपटक माओवादी र एकीकृत समाजवादीको पनि साथ थियो ।
वैशाखको स्थानीय निर्वाचनमा झापा–५ का चारवटा पालिकामध्ये एमालेले एउटा मात्रै पालिका जितेको थियो । एमालेको गढ मानिएको दमक नगरपालिकामै प्रमुख–उपप्रमुख गुमाएपछि दबाबमा रहेका ओलीले आफ्नो पक्षमा माहोल बनाउन निकै मिहिनेत गरेका थिए । ०७४ को चुनावमा भने ओलीले आफ्नो क्षेत्रका दुईटा चुनावीसभालाई मात्र सम्बोधन गरेका थिए । ओली ०६४ को पहिलो संविधानसभा चुनावबाहेक ०४८ यताका सबै चुनावमा निर्वाचित हुँदै आएका छन् । देशैभरि पुराना नेताहरूको विपक्षमा नतिजा आइरहँदा ओलीले भने उत्साहजनक मत पाएका छन् । दुईपटक प्रधानमन्त्री भइसकेकाले पनि गृहक्षेत्रमा ओलीप्रतिको लोकप्रियता नघटेको उनका चुनावी अभियानका कमान्डर एवं राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक देवेन्द्र दाहाल बताउँछन् ।
०७० को चुनावमा झापा–७ बाट ओली ८ हजार मतान्तरले विजयी भएका थिए । त्यतिबेला उनलाई निर्वाचन गौरीगन्ज र खजुरगाछी क्षेत्रका केहीबाहेक अन्य सबै मतदान केन्द्रबाट भारी मत खसेको थियो । उक्त क्रम ०७४ को निर्वाचनमा पनि जारी रह्यो । त्यसैले ओलीले यसपटक दक्षिणी क्षेत्रमा बढी मिहिनेत गरेका थिए । फलस्वरूप यसपटक उनी गौरीगन्ज क्षेत्रकै मतबाट सुरुआती अग्रता लिन सफल भए । ओलीले ०७२ र ०७४ मा प्रधानमन्त्री हुँदा आफ्नो क्षेत्रअन्तर्गत दमक नगरपालिकामा दर्जनौं योजना ल्याएका छन् । २५ तलाको दमक भ्यू टावर निर्माणाधीन छ । १ हजार ५ सय जना अट्ने दमक सभागृह निर्माणको अन्तिम चरणमा छ । विश्वकै अग्लो बुद्धमूर्ति, औद्योगिक पार्क, अन्तर्राष्ट्रिय रंगशालालगायतका योजना निर्माणको प्रक्रिया सुरु गरिएको छ । ‘दमकमा मात्र होइन, उहाँको नेतृत्वमा देशैभरि सयौं योजना सुरु गरिएका छन्, ती योजना पूरा गर्न फेरि पनि उहाँको नेतृत्व आवश्यक छ,’ दाहालले भने, ‘समग्रमा भन्नुपर्दा समृद्ध नेपाल, सुखी नेपालीको अभियान उहाँकै नेतृत्वमा पूरा गर्नुछ ।’
०२२ सालदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय बनेका ओली ०२८ को झापा विद्रोहका प्रमुखमध्येका हुन् । ओली तत्कालीन नेकपा (माले) को संस्थापकमध्येका पनि हुन् । पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा उनले ०२८ देखि ०४४ सम्म लगातार १४ वर्ष जेल जीवन बिताएका थिए । उनले गृहमन्त्री र उपप्रधान तथा परराष्ट्रमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । उनी ०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा झापा–६ बाट निर्वाचित भएका थिए । ०६४ को संविधानसभा निर्वाचनमा झापा–७ मा माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भएका थिए ।
...
करिब तीन दशक लामो राजनीतिक जीवनमा पटक–पटक पराजय भोगेका विश्वप्रकाश शर्मा यसपटक फराकिलो मतान्तरले विजयी भएका छन् ।
प्रतिनिधिसभा झापा–१ बाट तेस्रोपटक उम्मेदवार बनेका उनले एमाले स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेललाई १४ हजार २ सय ७५ मतान्तरले पराजित गर्दै रोमाञ्चक जित हासिल गरेका हुन् । उनले ३९ हजार ३ सय २४ मत पाउँदा खरेलले २५ हजार ३ सय ४९ मत पाए । नेपाल विद्यार्थी संघको स्कुल इकाइ समितिबाटै राजनीतिमा होमिएका शर्मा ०५७ मा नेविसंघको केन्द्रीय सभापति भएका थिए । त्यसअघि २०४५ सालताका झापाको मेची क्याम्पसमा स्ववियु सभापतिमा पराजित भएका उनले त्यही बेलादेखि हार स्विकार्ने राजनीतिक संस्कार सिकेको जनाएका छन् तर उनी कहिल्यै विचलित भएनन् । ‘हार स्विकार्ने सकारात्मक राजनीतिक संस्कारकै कारण शर्मा राजनीतिमा अहिले सफल बन्दै गएका हुन्,’ कांग्रेस झापाका नेता राम कट्टेलले भने, ‘यसखाले थितिलाई सबै दलका नेताले पछ्याउन जरुरी छ ।’
२०७० को दोस्रो संविधानसभा निर्वाचनताका जब अन्तिम नतिजा आउँदै थियो, प्रतिस्पर्धी एमालेका रविन कोइराला गणनास्थलमा थिएनन् । उनी पराजित हुने पक्का भएको भन्दै काँकडभिट्टास्थित घरतिर लागेका थिए । नतिजा कोइरालाको पक्षमा पल्टियो । शर्माले उनलाई फोन गरेर सुनाए, ‘तपाईंले चुनाव जित्नुभयो, चन्द्रगढीमा हामी पर्खिरहेका छांै, आउनुहोला ।’ नभन्दै कोइराला हतारिँदै आए । शर्माले उनलाई फूलमाला पहिर्याएर अंकमाल गर्दै शुभकामना दिए ।
लामो समय राजधानीमा केन्द्रित भएर राजनीति गतिविधिमा संलग्न शर्मा झापा सभापतिमा लड्न काठमाडौं छाडेर गृहजिल्ला आए २०६८ ताका । उनी उद्धव थापासँग पराजित भए । पराजयलाई नौलो कुरा नमान्ने शर्माले सभापति थापालाई माला पहिर्याए, शुभकामना दिए । अनि पुन: राजनीतिक कर्ममा सक्रिय बने । जिल्ला सभापतिमा पराजित भएको दुई वर्षपछि दोस्रो संविधानसभा निर्वाचनमा उनी झापा १ बाट उम्मेदवार भए । सधैं हार मात्रै व्यहोरेका शर्माले जित्ने कुरामा कार्यकर्ता पंक्ति ढुक्क थिएन । नभन्दै उनी थोरै मतान्तरले पराजित भए ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पुन: उम्मेदवार बने– झापा १ बाट । उनको हारको शृंखला तेस्रो पटक पनि जारी रह्यो । तत्कालीन वाम गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीसँग उनी पराजित भए । सधैझैं जिविस झापाको कार्यालय परिसरको मतगणनास्थल पुगेर उनले कार्कीलाई अबिर लगाएर अंकमाल गरी फर्किए । यसपटक भने उनले हार स्विकार्नुपरेन न कसैलाई अबिर–माला लगाएर शुभकामना नै दिनुपर्यो । बरु लामो धैर्य र मिहिनेतपछि उनले पहिलोपटक संसदीय यात्रा तय गरेका छन् । जितपछि उनी मतगणनास्थल रहेको मेचीनगर नगरपालिका भवनमा देखिएनन् । ‘पहिलो चुनाव परिचयको थियो, दोस्रो अनुभवको,’ जितपछि शर्माले पुरानै भनाइ दोहोर्याए, ‘यो परिणामको चुनाव थियो, त्यस्तै भयो ।’
प्रकाशित : मंसिर ८, २०७९ ०३:१३