१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बाजुरामा उच्चस्तरीय छानबिन माग

अर्जुन शाह

धनगढी — बाजुरामा मतदानका दिन भएका झडप र दुुई जनाको मृत्यु घटनाको उच्चस्तरीय छानबिन हुनुुपर्ने माग नेपाली कांग्रेस बाजुराले गरेको छ । मार्तडीमा बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीले पछिल्लो असहज अवस्थाबारे धारणा सार्वजनिक गरेको हो । ‘मतदानका दिन भएका घटनाको छानबिन उच्चस्तरीय समिति गठन गरेर हुनुपर्छ,’ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले भने, ‘जिल्लाको अवस्था सहज बनाउन हामी जस्तोसुकै पहल गर्न तत्पर छौं ।’

बाजुरामा उच्चस्तरीय छानबिन माग

मतदानका दिन एउटा मतदान केन्द्रमा भएको झडपमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए । सोही दिन दिउँसो एक समूहको कुटपिटमा परेका युवकलाई राति घर पुगेपछि बाहिर निकालेर कुटपिट गर्दा मृत्यु भएको थियो । मतदानका दिन भएका घटनाले आफूलाई खिन्नता र लज्जाबोध भएको पाण्डेले बताए । ‘हामीलाई मात्रै होइन, सबै दलका नेता र बाजुरावासीको शिर निहुरिएको अवस्था छ,’ उनले भने, ‘अब अवस्था सामान्यतर्फ फर्काउन प्रयास गर्नु सबैको दायित्व हो । चुनाव त पाँच वर्षमा एक पटक आउने हो, हाम्रो सामाजिक सद्भाव बिग्रन दिनु हुँदैन ।’

पाण्डेले एमालेका प्रतिनिधिसभाका उम्मेदवार कर्णबहादुर थापाका कार्यकर्ताले सुुरुमै बुुथकब्जा गरेर विपक्षी मतदातालाई मतै हाल्न नदिएपछि जिल्लाको वातावरण बिग्रेको आरोप लगाएका छन् । जिल्लाभरका ८ वटा मतदानस्थलमा एमालेले कब्जा गरेको कांग्रेसको आरोप छ । ती मतदान केन्द्रमा पुन: मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अनुरोध गरिएको पनि पाण्डेले बताए । ‘आयोगले जे निर्णय गर्छ, त्यो हाम्रा लागि स्विकार्य हुन्छ,’ उनले भने । एमाले बाजुराले भने १६ वटा केन्द्रमा पुन: मतदान हुनुपर्ने धारणा मंगलबार नै सार्वजनिक गरिसकेको छ ।

त्रिवेणी–७ को मतदानस्थलमा मतदान सकिनै लाग्दा विवाद भएपछि प्रहरीले चलाएको गोली लागेर कांग्रेस समर्थित युवा सञ्जीव अयडीको मृत्यु भएको थियो । सोही दिन अर्को केन्द्रमा विवाद हुँदा कांग्रेस समर्थित समूहले स्थानीय अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीलाई कुटपिट गरी घाइते बनाएका थिए । पछि राति उनको घरमै गएर कुटपिट गरी हत्या गरेको दाबी एमालेको छ । उक्त घटनालाई लिएर स्थिति तनावपूर्ण भएपछि सदरमुकाम मार्तडीमा बजार र विद्यालय ठप्प छन् । गाडी चलेको छैन । सदरमुकाममा सुरक्षाकर्मी तैनाथी बढाइएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जिल्लाको अवस्था सामान्य बनाउने प्रयास भइरहेको बताएका छन् । ‘अवस्थालाई सामान्य बनाउन प्रयास गरिरहेकै छौं,’ उनले भने ‘सबै पक्षको सहयोग चाहियो ।’

मृतक दुुवैको शव मंगलबार जिल्ला अस्पतालमा ल्याइएको छ । निर्वाचन आयोगले स्थगित भएको बुढीनन्दा–५ को मतदान पुन: गराउन आगामी शनिबारको मिति तोकिसकेको छ । तर पुन: मतदान कसरी गराउने भन्नेमा मुुख्य निर्वाचन अधिकृतको कार्यालय र सुरक्षा निकायले समेत चुनौती देखेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीले आयोगले तोकेको मितिमै निर्वाचन गराउने तयारी भइरहेको बताए ।

प्रकाशित : मंसिर ८, २०७९ ०६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?