१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कहिले खुल्छन् कर्णालीका उत्तरी नाका ?

कोरोना महामारीका कारण चीनले नाका बन्द गरेपछि हुम्ला, मुगु र डोल्पाका सीमावर्ती क्षेत्रका स्थानीयको रोजगारी गुम्यो, चिनियाँ बाटो हुँदै आउने खाद्यान्न रोकियो, जडीबुटी र कृषिउपजको व्यापार पनि ठप्प

सुर्खेत‚ मुगु‚ कालीकोट — हुम्लाको सर्केगाड गाउँपालिकाका रोशन विश्वकर्मा ४ वर्षअघिसम्म वैशाखदेखि साउन अन्तिम सातासम्म तिब्बतको ताक्लाकोट पुग्थे । त्यहाँ ऊन केलाउने, इँटा बोक्ने, भारी बोक्ने, गाडीमा सामान लोड–अनलोड गर्ने उनको कमाइ महिनामै एक लाख रुपैयाँसम्म हुन्थ्यो । ‘अहिले त परिवारै पाल्न मुस्किल भयो,’ उनले भने, ‘ताक्लाकोट जान नपाइएपछि कर्जा लिएर जीविका चलाउनुपरेको छ ।’

कहिले खुल्छन् कर्णालीका उत्तरी नाका ?

मुगुको मुगमकार्मारोङ गाउँपालिका–७ का कर्मा तामाङ पनि वैशाख लागेसँगै गलैंचा, बाँस, छाला, विभिन्न हस्तकलाका सामानसँगै मह, घिउ, छुर्पी, खुर्सानीलगायत कृषिउपज बेच्न ताक्लाकोट पुग्थे । ‘सामान बेचेर १/२ दिनमै सकिन्थ्यो, अनि ३ महिनाजति मजदुरी गर्थ्यौं,’ उनले भने, ‘उताबाट फर्कंदा वर्षभरि पुग्ने खाद्यान्न, लत्ताकपडा पनि ल्याएर आइन्थ्यो ।’ उनले ४ वर्षअघि ताक्लाकोटमा ५ लाख ५० हजार रुपैयाँ कमाएका थिए ।

कोरोना महामारीका कारण चीनले नाका बन्द गरेपछि हुम्ला, मुगु र डोल्पाका सीमावर्ती क्षेत्रका स्थानीयको रोजगारी गुमेको छ । हुम्लाका व्यवसायी विजय लामाका अनुसार तिब्बतमा मजदुरी गर्दा हुम्लीहरूले दैनिक १ सय ५० देखि २ सय ५० युआन (करिब २ हजार ५ सयदेखि ४ हजार रुपैयाँ) कमाइ गर्थे । ताक्लाकोटमा मजदुरी गर्न जानेहरूका लागि जिल्ला प्रशासन कार्यालयले ३ महिनाका लागि रोजगार अनुमतिपत्र दिइरहेको थियो । ताक्लाकोटमा झन्डै २ सय नेपाली व्यवसायी छन्, जसका कारण पनि नेपालीहरूलाई त्यहाँ काम गर्न सहज भएको उनले बताए । ‘सीमाका बासिन्दा त वर्षौर्देंखि तिब्बतमै निर्भर छन्,’ उनले भने, ‘तर कोरोना महामारीले हुम्लीको रोजगारी त गुम्यो नै, नाका बन्द हुँदा जडीबुटी र कृषिउपज पनि बेच्न पाएका छैनन् ।’ उनका अनुसार नाम्खा गाउँपालिकाबाट मात्रै कम्तीमा दुई हजार युवा ताक्लाकोटमा रोजगारीका लागि जाने गर्थे । हुम्लाबाट बर्सेनि झन्डै ५ हजार युवा मजदुरीका लागि ताक्लाकोट जाने गरेको उनको अनुमान छ ।

नाका बन्द हुँदा सीमा क्षेत्रमा कारोबार शून्य बनेको नाम्खा गाउँपालिका–३ का अर्कोनतन्डुप लामाले बताए । ‘३/४ महिना दुःख गरी टिपेको एक क्विन्टल जडीबुटी घरमै थन्किएको छ, केही त कुहेरै गयो,’ उनले टेलिफोनमा भने, ‘नाका बन्द भएपछि हिमाली बस्तीको जनजीवन अस्तव्यस्त भएको छ, सबैको आर्थिक संकट चुलिँदै गयो ।’ उनी अहिलेसम्म मजदुरीका लागि १४ पल्ट ताक्लाकोट गएका छन् । उनले त्यहाँ जाँदा काठका भाँडाकुँडा, जडीबुटी, मह, भेडाको ऊनलगायत स्थानीय उत्पादन लैजान्थे । ती सामान बिक्री गर्दा नै १ देखि डेढ लाखसम्म कमाउने उनले ४ वर्षअघि मजदुरी गरेर ३ लाख ९० हजार रुपैयाँ ल्याएका थिए ।

ताक्लाकोट र मुगु–चीन सीमास्थित ह्याजिमारमा पनि बर्सेनि लाग्दै आएको तिब्बती अस्थायी हाटबजार पनि कोरोना महामारीकै कारण ३ वर्षदेखि लाग्न सकेको छैन । ‘आफ्ना उत्पादन बेच्ने र वर्षभरि चाहिने खाद्यान्न, लत्ताकपडा र उपभोग्य सामान ल्याउने थलो नै हाटबजार थियो,’ मुगुको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले भने, ‘सदरमुकाम जान ५/६ दिन लाग्छ, त्यसैले स्थानीयहरू गाउँमा जे छ त्यही खाएर बसिरहेका छन् ।’

उत्पादन न्यून हुने नाम्खाका बासिन्दा वर्षौंदेखि तिब्बती खाद्यान्नमा निर्भर छन् । सरकारी अनुदानको चामल नआउँदा पनि उनीहरूलाई चिनियाँ खाद्यान्नको भर पर्नुपरेको हो । ‘वर्षमा १ बाली उवा मात्र फल्छ, त्यो पनि ३ महिना खान पुग्दैन, सदरमुकामबाट चामल ल्याउँदा चामलभन्दा ढुवानी खर्च ५ गुणा महँगो पर्छ,’ लिमीका पाल्जोर तामाङले भने, ‘एक दिनमै हिल्सा पुगिने भए पनि नाका नखुल्दा केही सामान ल्याउन पाएका छैनौं ।‘ अर्का युवा गिरमेत लामाका अनुसार चिनियाँ नाका बन्द भएपछि नाम्खा गाउँपालिकाका बासिन्दाको आम्दानी शून्यजस्तै छ । ‘मजदुरी गर्नेदेखि जडीबुटीको व्यापार गर्नेहरू सबै गाउँमै छन्,’ उनले भने, ‘परिवारको खर्च जुटाउने जिम्मा सबै युवाकै हुन्छ, तर ताक्लाकोटको रोजगारी गुम्दा बेखर्ची भएर बसेका छौं ।’ उनले ४ वर्षअघि ताक्लाकोटमा मजदुरी गरी ८ लाख रुपैयाँ कमाएका थिए ।

नाका बन्द हुँदा हिल्साका ३५ पर्यटकीय होटल बन्द भएका छन् । मानसरोवर–कैलाश जाने भारतीय तीर्थयात्रीले हिल्सा नाका प्रयोग गर्न थालेपछि हुम्लाका व्यवसायीले होटलमा लगानी बढाएका थिए । त्यहाँ ५० लाखदेखि २ करोड रुपैयाँसम्म लगानीका होटल छन् । ‘कोरोनाले सबै लगानी डुब्यो,’ हुम्ला रिसोर्ट एन्ड स्पाका सञ्चालक पेमा ग्लाल्जेन लामाले भने, ‘कुरुवाको भरमा होटल छाडेर सबै कोठामा ताला लगाएका छौं ।’ उनले झन्डै डेढ करोड रुपैयाँमा १५ कोठासहितको रिसोर्ट हुम्लामा खोलेका छन् । उनका अनुसार अहिले हिल्सामा केही होटल कुरुवा र सशस्त्र प्रहरीको टोली मात्र छ । हिल्सामा होटल व्यवसायमा झन्डै २५ करोड रुपैयाँ लगानी भएको उनको अनुमान छ ।

हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नामग्याल तामाङले तिब्बती नाका बन्द हुँदा हुम्लाको अर्थतन्त्र नै संकटमा परेको बताए । ‘नाका नखुल्दा हजारौंको रोजगारी गुम्यो, स्थानीय उत्पादनले बजार पाएन, पर्यटन व्यवसाय पनि धराशायी भएको छ,’ उनले भने, ‘कोरोना महामारीअघि हुम्ला र चीनबीच बर्सेनि कम्तीमा ५ अर्बको कारोबार हुन्थ्यो, हिल्साका होटल व्यवसायीले पनि कारोबार शून्य भएपछि बैंकलाई करोडौं ब्याज सित्तैमा बुझाइरहेका छन् ।’

उनका अनुसार ताक्लाकोटमा व्यापारका लागि जाने व्यापारीले पनि ४० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबार गर्ने गरेका थिए । केरुङ र तातोपानी नाका खुले पनि सरकारले ताक्लाकोट नाका खुलाउन पहल नगरेको उनले गुनासो गरे । ‘सरकारले तत्काल कूटनीतिक पहल थाली नाका खोल्न जरुरी छ,’ उनले भने, ‘सरकारलाई विभिन्न माध्यमबाट दबाब दिइरहे पनि बेवास्ता भइरहेको छ ।’

सरकारले लागत कम पर्ने भन्दै हुम्लाको यलबाङ र डोल्पाको धो डिपोमा २०७३ सालदेखि चिनियाँ मार्ग हुँदै चामल पठाउने गरेको थियो । उक्त चामल काठमाडौं–केरुङ हुँदै चीनको छाङ्दुबाट सीमावर्ती डिपोमा पुग्ने गरेको भए पनि नाका बन्द हुँदा स्थानीयले खाद्यान्न अभाव र महँगीको समस्या भोगिरहेका छन् । ढुवानी अनुदानको मोटो चामल खाद्य डिपोमा ५८ रुपैयाँमा पाइने भए पनि बजारबाट २ सय ५० रुपैयाँ प्रतिकिलोसम्ममा किन्नुपरेको धोका अजिरग्याम्लो लामाले बताए । ‘हाम्रा लागि त अनुदानको चामल आकाशको फलजस्तै भयो,’ उनले भने, ‘कहिले के बहाना बनाउँछन् कहिले के, कहिल्यै गाउँमा आउँदैन ।’

कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका अनुसार दुवै डिपोमा यो वर्ष १/१ हजार क्विन्टल खाद्यान्न कोटा तोकिएको छ । ‘नाका बन्द छ, त्यसैले केन्द्रीय कार्यालयले बर्सेनि ठेक्का खोले पनि बदर गर्दै आइरहेको छ,’ प्रादेशिक कार्यालयका प्रमुख माधव मिश्रले भने, ‘यो वर्ष यहीबाटै सडक मार्ग भएर दुनै र सिमकोटसम्म चामल पुर्‍याउने गरी टेन्डर प्रक्रिया सुरु गरेका छौं ।’ उनका अनुसार सुर्खेतबाट डोल्पा र हुम्ला सदरमुकामसम्म पुर्‍याइएको चामल घोडाखच्चडमार्फत यालबाङ र धो डिपोमा पुर्‍याइने छ । गत वर्ष घोडाखच्चडमार्फत माथिल्लो डोल्पाको धोमा २ सय १० र माथिल्लो हुम्लाको यलबाङमा १ सय ५० क्विन्टल चामल पठाइएको थियो । यो वर्ष ५/५ सय क्विन्टल चामल पठाउने तयारी गरिएको उनले जानकारी दिए ।

चीनको बाटो भएर आउँदा झन्डै एक हजार किलोमिटर दूरी पार गरी १२ देखि १५ दिनमा चामल यालबाङ पुग्ने गरेको थियो । जहाजबाट आउँदा भने नेपालगन्ज र नेपालगन्जदेखि १ सय १२ प्रतिकिलो ढुवानी भाडा पर्छ तर चीनबाट आउँदा प्रतिकिलो ४२ रुपैयाँ सस्तो पर्ने कम्पनीको दाबी छ । नाम्खाका बासिन्दाका लागि साल्ट ट्रेडिङले पनि २०६२ सालदेखि चिनियाँ नाका हुँदै हिल्सा भएर अनुदानको नुन पठाउँथ्यो । नाका बन्द भएका कारण स्थानीयले चिनियाँ बजार ताक्लाकोटबाट पनि नुन खरिद गर्न सकेका छैनन् । नाम्खाका अधिकांश गाउँबाट सदरमुकाम सिमकोट आउन कम्तीमा ५ दिन लाग्छ । ‘अनुदानको नुन गाउँमा कहिल्यै आउँदैन,’ नाम्खा–७ का नुटुप लामाले टेलिफोनमा भने, ‘बजारको ढिकेनुन ७५ रुपैयाँ हालेर किन्छौं, सडक सुविधा नभएकाले त्यही नुन पनि चाहेको बेला किन्न पाइँदैन ।’ साल्ट ट्रेडिङको नेपालगन्जस्थित क्षेत्रीय कार्यालयका प्रमुख मनोज चौधरीले गत वर्ष असारमा सिमकोटबाट स्थलमार्ग हुँदै ६ सय क्विन्टल नुन यालबाङ पठाइएको र अहिलेसम्म त्यसैले धानिरहेको बताए ।

स्थानीयले वर्षौंदेखि चामल र नुनका लागि सास्ती भोगिरहेको नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा बताउँछन् । ‘स्थानीयले पहिले तिब्बतबाट ढिकेनुन र चामल ल्याएर जीविका चलाउँथे,’ उनले भने, ‘चीनले कोरोनाका कारण नाका बन्द गरेपछि अब नुन र चामल ल्याउन सिमकोट नपुगी सुखै छैन ।’ सिमकोट आउँदा होटलमा बाससहित प्रतिव्यक्ति ५ देखि ७ हजार रुपैयाँसम्म खर्च हुने गरेको उनले बताए । उनका अनुसार गाउँपालिकाको माथिल्लो बस्तीका स्थानीयवासी नुन प्रतिकिलो ७५ र चामल ३ सय ५० रुपैयाँसम्ममा किन्न बाध्य छन् ।

नाका बन्दले चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सामा पर्यटन व्यवसाय ठप्प छ । उत्पादन न्यून हुने भएकाले हुम्ला र मुगुस्थित सीमा क्षेत्रका बासिन्दा चीनबाटै खाद्यान्न र दैनिक उपभोग्य सामग्री खरिद गर्न बाध्य छन् । कोरोनाका कारण दुई वर्षदेखि नाका बन्द हुँदा व्यापार व्यवसाय ठप्प भएको व्यवसायी रिन्जिन लामाले बताए । उनका अनुसार गाउँपालिकाका बासिन्दा काम र व्यापारका लागि अन्यत्र गए पनि नाम्खाका स्थानीयको रोजगारी र व्यापार चीनको ताक्लाकोटमै निर्भर छ । स्थानीयहरू हिल्सा नाका हुँदै ताक्लाकोट जान्छन् । ‘नाका बन्द भएपछि अधिकांश बासिन्दालाई जीविकोपार्जनमा समस्या छ,’ उनले भने, ‘नाका नखुल्दा सैयौं युवा बेरोजगार बनेका छन्, जडीबुटीको व्यापार ठप्प छ ।’

गाउँमा रोजगारी नपाइएपछि अधिकांश युवालाई घरखर्च धान्न समस्या भएको लामाले बताए । ‘पर्यटन व्यवसाय पनि चौपट छ,’ उनले भने, ‘चीन हुँदै हुम्ला आउने पर्यटकको संख्या दुई वर्षयता शून्य छ ।’ प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममा टाढाबाठा र दलका कार्यकर्ताले मात्र अवसर पाएका कारण अधिकांश युवाहरू बेरोजगार बन्नुपरेको उनले गुनासो गरे ।

सीमा नाका खोल्न विभिन्न निकायलाई पटकपटक आग्रह गरिए पनि बेवास्ता भएको उद्योग वाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङले बताए । ‘हुम्लाका बासिन्दा अधिकांश कुरामा चीनसँगै निर्भर छौं,’ उनले भने, ‘नाका बन्द हुँदा ताक्लाकोट र हिल्सामा आर्थिक कारोबार शून्य छ ।’

वैशाखदेखि असोजसम्मको समय हुम्लामा पर्यटक आउने र ताक्लाकोटमा व्यापार गर्ने सिजन हो । मानसरोवर कैलाशको दर्शन गर्ने समय यही भए पनि नाका नखुल्दा भारतीय पर्यटक आउन नसकेको स्थानीय कर्मातुन्डुप लामाले बताए । ‘हरेक वर्ष ताक्लाकोटमा हुम्लाका बेरोजगार युवायुवती रोजगारीका लागि जाने गर्थे,’ उनले भने, ‘दुई वर्षदेखि नाका बन्द हुँदा युवाको आम्दानीमा असर परेको छ ।’

दुई देशको मित्रता कायम गर्न पनि नाका खुलाउनुको विकल्प नभएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् । उनका अनुसार नाका बन्द हुँदा दुई देशका प्रतिनिधिबीच दुई वर्षयता सीमा वार्ता हुन सकेको छैन । नाका बन्द हुँदा बर्सेनि झन्डै चार हजार हुम्ली युवाको रोजगार खोसिएको उनको भनाइ छ । ताक्लाकोट गएका युवाले बर्सेनि करिब १५ देखि २० करोड रुपियाँ भित्र्याउने गरेका थिए । ताक्लाकोटमा एक दशकदेखि मजदुरी गर्न जाने गरेको भए पनि दुई वर्षयता जान नपाएको नाम्खाका निमा लामाले बताए । उनका अनुसार २०७६ मा ताक्लाकोटमा काम र व्यापार गर्न गएका १ सय ४७ जना युवा भने उतै छन् । ‘सरकारले अझै उनीहरूलाई उद्धार गर्न सकेको छैन,’ उनले भने, ‘सुरुमा हिमपातका कारण गाउँ फर्कन नसकेका युवाहरू कोरोना महामारी भएपछि उतै बस्न बाध्य भएका हुन् ।’

नाका बन्द हुँदा हिल्सामा स्थापना गरिएका भन्सार तथा अध्यागमन कार्यालयसमेत बन्द भएको प्रमुख जिल्ला अधिकारी परियारले बताइन् । उनका अनुसार हिल्सामा अहिले सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी मात्र छन् । अहिले हुम्ला, मुगु र डोल्पाका सबै उम्मेदवारले नाका खोल्ने एजेन्डा अघि सारेका छन् ।

त्रिदेशीय सडक चुनावी नारा मात्रै

कर्णालीलाई भारत र चीनसँग जोड्न नेपाल सरकारले अवधारणा ल्याएको छ । जसमा नेपालगन्ज–सुर्खेत–हुम्ला–हिल्सा–तिब्बत जोड्ने गरी कर्णाली करिडोर र नेपालगन्ज–छिन्चु–जाजरकोट–डोल्पा–धो–मोरिम्ला–तिब्बत जोड्ने भेरी करिडोर हो । संघ सरकारले जाजरकोट खलंगादेखि २ सय ६५ किलोमिटरको भेरी करिडोरमा २०६५ र सुर्खेतदेखि ४ सय ९६ किमिको कर्णाली करिडोरमा २०६९ सालदेखि काम थालियो । तर, कहिले पूरा हुने भन्ने अझै टुंगो छैन ।

चिनियाँ सीमा हिल्सादेखि सिमकोटसम्मको ९५ किमि सडकमा २२ वर्षअघिदेखि निर्माणको काम सुरु गरिएको थियो । चीनतिरको पूरै सडक खुले पनि कर्णाली करिडोरअन्तर्गतको खुलालु–सिमकोट खण्ड २ सय ८१ किमिमध्ये अझै साढे ७ किमिमा काम बाँकी छ । दुवै करिडोरको विकल्पमा सुर्खेत–जुम्ला–सिञ्जा–मुगु–नाक्चेनाग्ला–तिब्बत सडकको काम भने २०६७ मा थालियो । सुर्खेतबाट सबैभन्दा छोटो नाका मानिएको ३ सय ३२ किमिमा ६७ किलोमिटर सडक खोल्न अझै बाँकी छ । ‘सधैं चुनावमा उत्तर–दक्षिण नाका जोडेर समृद्धिको ढोका खोल्ने नारासहित नेताहरू भोट माग्न आउँछन्,’ सुर्खेतका विष्णु बुढाले भने, ‘कामको गति भने जहिल्यै सुस्त छ ।’

तिब्बतसम्म सडक जोडिने आसैआसमा धेरै वर्ष बितेको मुगुको मुगमकार्मारोङ पुवाका छोक्यालडोप्लुप लामाले बताए । ‘यस्तै अवस्था रहे हाम्रो पालामा पनि गाउँमा मोटर आउँदैन,’ उनले भने, ‘मर्नुअघि एकपल्ट गाडी चढेर तिब्बतसम्म जाने धोको छ ।’

मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले नाक्चेनाङ्ला कर्णालीबाट चीन र भारत जोडिने सबैभन्दा छोटो नाका भए पनि सरकारले वर्षौंदेखि बेवास्ता गरिरहेको बताए । गमगढीदेखि चीन सीमासम्मको दूरी ८५ किलोमिटर मात्र भए पनि सरकारले अहिलेसम्म १८ किलोमिटर मात्र सडक पूरा गरेको उनको गुनासो छ । अहिले उक्त सडकमा छाइलसम्म मात्र गाडी चल्छ । ८० करोड लागत अनुमान गरिएको सडकमा अहिलेसम्म १२ करोड रुपैयाँ खर्च भएको सडक डिभिजन कार्यालयका इन्जिनियर लीला भण्डारीले बताए । उनका अनुसार गत वर्ष यो सडकमा संघीय सरकारले बजेट नै छुट्याएन भने यो वर्ष पनि रकम विनियोजनको जानकारी पठाएको छैन । ‘सडकमा एक त बजेट नै पर्दैन, परे पनि एकदमै न्यून,’ उनले भने, ‘थोरै बजेटमा पनि ठेकेदारले घटेर टेन्डर हाल्छन्, कसरी गुणस्तरीय काम हुनु ?’ बर्सेनि असारमा मात्र काम हुने भएकाले सडकमा आएका बजेट फ्रिज हुने समस्या पनि छ । मुगु कर्णाली नदीको तीरैतीर भएकाले सडक निर्माणमा कुनै अप्ठेरो नभएको उनको भनाइ छ ।

उत्तरी नाका खुलेपछि कर्णाली मात्र होइन, सिंगो मुलुकले लाभ लिन सक्ने नागरिक अगुवा रूपबहादुर मल्ल बताउँछन् । ‘सडक खुले उत्तरसँगको व्यापार बढ्छ,’ उनले भने, ‘रोजगारी पनि पाइने भएकाले गरिबी घटाउन मद्दत पुग्छ ।’ अहिले मुगु गमगढीदेखि तिब्बती नाका पुग्न पैदल पाँच दिन हिँड्नुपर्छ । ‘ह्याजीमारबाट गाडीमा ल्हासा जान सकिन्छ,’ मुगु गाउँका कार्मानोर्बुल लामाले भने, ‘नाकासम्म मोटरबाटो खुले व्यापार वृद्धि हुन सक्छ ।’ उनका अनुसार सन् १९१५ देखि सीमावर्ती मुगुगाउँका बासिन्दा र तिब्बतीबीच व्यापारिक सम्बन्ध छ । तर, सडक नहुँदा व्यावसायिक सम्बन्ध वैध बन्न सकेको छैन ।

डोल्पाको मरिम्ला नाकाबाट धो हुँदै दुनै जोड्ने मोटरबाटो निर्माण सुरु भएको पनि १४ वर्ष भयो । २०६५ ५० लाख बजेट आउदा उपभोक्ता समितिमार्फत काम थालिएको थियो । त्यसयता बर्सेनि बजेट छुट्याइए पनि काम सुस्त छ । ‘बर्सेनि १५/२० लाख बजेट आउँथ्यो । धेरै वर्ष कामको गति शून्यझैं भयो,’ पूर्वसबइन्जिनियर कमल महताराले भने । २०७२/७३ मा सबैभन्दा धेरै १५ करोड बजेट आएको थियो ।

सडक डिभिजन चौरजहारीका अनुसार अहिलेसम्म सडकमा झन्डै ५५ करोड दुनैभन्दा माथिको खण्डमा खर्च भइरहेको छ । सेनाले ३ वर्षअघि जाजरकोट–दुनै १ सय १८ किलोमिटर ट्रयाक खोलेको थियो । त्यसपछि दुनै–मरिम्ला सडकलाई तीव्रता दिइएको डिभिजन सडक चौरजहारीका सिनियर डिभिजनल इन्जिनियर ध्रुवकुमार झाले बताए । उनका अनुसार दुनैउताको झन्डै ८५ किमिमध्ये काइकेको लसीक्याम्पसम्म झन्डै २२ किमि खन्न बाँकी छ । धो–सिसोल खण्डको १५ किलोमिटरमा साना गाडी सञ्चालन भइरहेका छन् भने धो–मरिम्लासम्मको ४५ किलोमिटर सडकमा पनि ट्र्याक खोलिसकिएको छ ।

प्रकाशित : मंसिर ७, २०७९ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?