आक्रोशको मतलाई आशामा बदल्ने परीक्षा- समाचार - कान्तिपुर समाचार

आक्रोशको मतलाई आशामा बदल्ने परीक्षा

सीमा र सामथ्र्यसहित स्वतन्त्र पार्टी राजनीतिमा हस्तक्षेपकारी भूमिकामा आएको छ, पार्टीको आफ्नै सैद्धान्तिक दृष्टिकोण भने स्पष्ट भइसकेको छैन, सांगठनिक संरचना अपूरै छ
जनकराज सापकोटा

काठमाडौँ — पाँच महिनाअघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय राजनीतिमा नयाँ खेलाडीका रूपमा प्रकट भएको छ । आम निर्वाचनमा देखिएको विकेन्द्रित रुझानबीच परम्परागत दल वा गठबन्धनले सरकार बनाउन नसक्ने अवस्थामा नयाँ सहयोगीहरूको खोजी सुरु हुँदै छ । योबीचमा स्वतन्त्र पार्टी सरकारमा सहभागी हुन्छ या प्रतिपक्षमै बस्छ भन्ने चासो पनि बढेको छ ।

मंगलबार मध्यरातिसम्म स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ काठमाडौं, ललितपुर, चितवन र सुनसरीका ८ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ भने अन्य केही क्षेत्रमा कडा टक्करमा छ । त्यस्तै समानुपातिकतर्फ करिब १४ प्रतिशत मतका साथ तेस्रो स्थानमा छ ।

केही सीमा र सामथ्र्यसहित स्वतन्त्र पार्टी राजनीतिमा हस्तक्षेपकारी भूमिकामा आएको छ । मौलाउँदो भ्रष्टाचार, कमजोर पूर्वाधार र दोहोरिँदा उम्मेदवारले तयार पारेको निराशालाई स्वतन्त्र पार्टीले चुनावी उत्साहमा परिणत गरेको छ । अब प्राप्त जनमतलाई विश्वासमा परिणत गर्ने चुनौती अगाडि आएको छ ।

पार्टीको आफ्नै सैद्धान्तिक दृष्टिकोण भने स्पष्ट भइसकेको छैन, सांगठनिक संरचना पनि अपूरै छ । सभापति रवि लामिछानेकै भनाइमा पनि तत्कालका लागि संगठन निर्माण नै सबैभन्दा ठूलो चुनौती हो । ‘पार्टी गठनलगत्तै चुनावमा जानुपरेकाले चुस्त संगठन बनाउन पाइसकेका छैनौं,’ उनले कान्तिपुरसित भने । असार पहिलो साता गठन भएको पार्टीले ६४ जिल्लामा संगठन पुर्‍याएको छ, तर सबै समिति पूर्ण छैनन् । केही जिल्लामा नगर र वडा समिति बनाए पनि ती कहाँ–कहाँ छन् भन्ने यकिन विवरण केन्द्रसँग छैन ।

खासमा, पार्टीको सांगठिनक संरचना कस्तो हुने, कस्ता मान्छे, कुन पदमा, के योग्यताका आधारमा बस्ने भन्ने मापदण्ड पनि बनिसकेको छैन । लामिछाने भन्छन्, ‘१५१ सदस्यीय केन्द्रीय समिति बनाउने व्यवस्था विधानमा गरिएको छ, तर अहिले २४ जनाको मात्रै समिति छ ।’

पार्टीले उठाएका अधिकांश उम्मेदवार विभिन्न पृष्ठभूमिका छन् । ललितपुर–३ की प्रत्याशी डा. तोसिमा कार्की चिकित्सक हुन् भने काठमाडौं–२ की सोविता गौतम टेलिभिजन कार्यक्रम प्रस्तोता र कानुन व्यवसायी हुन् । काठमाडौं–६ बाट प्रतिस्पर्धा गरेका शिशिर खनालले शैक्षिक उन्नयनमा लागिपरेको संस्था ‘टिच फर नेपाल’ को नेतृत्वमा रहेर लामो समय काम गरेका थिए ।

चितवन–१ बाट उठेका हरि ढकाल कुनै समय अनेरास्ववियुको राजनीतिमा थिए । सेयर कारोबारी उनी स्थानीय निर्वाचनमा बालेन्द्र शाहको पक्षमा देखिएका थिए । गोरखा–२ बाट प्रतिस्पर्धामा रहेका कविन्द्र बुर्लाकोटी पार्टीका सहमहामन्त्री हुन् । उनी आफूलाई उद्यमी र सूचनाको हकका लागि युवा अभियन्ताका रूपमा चिनाउँछन् ।

नेताहरूको पेसागत पृष्ठभूमि दलको बल बन्न सक्ने सम्भावना पनि छ । ‘विभिन्न पृष्ठभूमिका मानिसलाई मिलाएर लैजान चुनौती पनि हो,’ लामिछाने भन्छन् ।

पार्टी गठनलगत्तै ‘आरएसपी’ नाममा एप खोलेर सदस्यता वितरण अभियान सुरु गरिएको थियो । त्यसबाट करिब एक लाखले सदस्यता लिएको प्रेस संयोजक गणेश खनालले जानकारी दिए । तर, यी कार्यकर्तालाई जोगाउने, संगठन बनाउने र देश परिवर्तनको प्रतिबद्धता पूरा गर्ने जिम्मेवारीमा स्वतन्त्र पार्टीको भूमिका पनि अब परीक्षणमा गएको छ । खासमा स्वतन्त्र पार्टी कुनै गठबन्धनको सरकारमा गएर भूमिका खेल्छ कि प्रतिपक्षमा बसेर कसरी प्रस्तुत हुन्छ भन्नेले पनि दलको भूमिका खुल्दै जाने देखिन्छ ।

विद्रोह, सामाजिक आन्दोलन वा निरन्तर सांगठनिक अभ्यासबाट मात्र दल उदाउने इतिहास रहेका बेला फरक तरिकाले सतहमा आएको स्वतन्त्र पार्टीको आगामी यात्रा चुनौतीपूर्ण हुने आकलन गर्छन्, राजनीतिशास्त्री जीवन बानियाँ । ‘पुराना दलहरूप्रतिको वितृष्णा र निराशाबाटै यो दल प्रकट भएको छ । तर यतिबाट मात्रै समाजको अपेक्षा पूरा हुने देखिँदैन,’ उनी भन्छन्, ‘दलभित्र आबद्ध भएकाहरूबीच नै कुरा मिल्छ कि मिल्दैन, उनीहरूले समाज र अर्थतन्त्र विकासका निम्ति कस्ता सैद्धान्तिक अवधारणा बनाउँछन्, संसद्मा कस्तो भूमिका खेल्छन् भन्ने महत्त्वपूर्ण हुन्छ ।’

राजनीतिशास्त्रका प्राध्यापक खड्ग केसी स्वतन्त्र पार्टीले पाएको मतलाई कुनै सिद्धान्त, दृष्टिकोण र विचारभन्दा पनि पुराना दलबाट सार्वजनिक सेवाप्रवाहमा भएको अव्यवस्थाप्रति नयाँ पुस्ताले प्रकट गरेको असन्तुष्टिका रूपमा अथ्र्याउँछन् । ‘स्वतन्त्र पार्टीले पुराना दलको नेतृत्व सच्चिनुपर्‍यो, नत्र विकल्प छ भनेर देखाइदिएको छ,’ उनले भने, ‘पुराना दलको अकर्मण्यताको जगमा उभिएको यो दलले सुशासन र सार्वजनिक सेवा प्रवाहमा कस्तो भूमिका खेल्छ, अब हेर्नु छ ।’

स्वतन्त्र पार्टीको वैचारिक आधार स्पष्ट नभएको र यसले संघीयता र धर्मनिरपेक्षता जस्ता विषयमा असन्तुष्टि व्यक्त गर्ने सम्भावना रहेको प्राध्यापक केसीको विश्लेषण छ । ‘यसले सरकार र संसद् दुवैतिर निर्णायक भूमिका खेल्ने प्रस्टै देखिएको छ, अहिलेको प्रणाली र राजनीति नेतृत्वलाई गम्भीर प्रश्न उठाएर संसद्लाई उपयोग गर्न सक्छ । त्योभन्दा अघि सरेर संघीयता र धर्मनिरपेक्षतामाथि पनि फरक मत राख्न सक्छ ।’

स्वतन्त्र पार्टीको समानुपातिकतर्फका उम्मेदवार मनीष झा आफ्ना केही उम्मेदवारले लोकप्रियताको मत ल्याए पनि ठूलो मत पुराना दलहरूप्रतिको वितृष्णाका कारण पाएको टिप्पणी गर्छन् । ‘अब यिनीहरूले गर्लान् कि भन्ने जुन आशा राखेर हामीले मत पाएका छौं, त्यो नै चुनौती हो । हामीले पनि काम गर्न सकेनौं भने मधेसका राजेन्द्र महतो र उपेन्द्र यादव जस्तो अवस्थामा पुग्छौं,’ उनी भन्छन् ।

भ्रष्टाचार अन्त गरी सुशासन बहाल गर्न तथा सेवा प्रवाह सहज बनाउने दल सरकारमा जाने अपेक्षा गरिन्छ । तर, स्वतन्त्र पार्टी पनि सरकारमा सामेल हुन्छ कि प्रतिपक्षमै बस्छ भन्ने स्पष्ट भइसकेको छैन । सभापति लामिछाने यस विषयमा पार्टीभित्र छलफल भइनसकेको बताउँछन्, तर मूलधारका शीर्ष नेताको नेतृत्वमा भने सरकारमा नजाने स्पष्ट पार्छन् । ‘पुरानै अनुहारमा पुरानै शैलीको हिस्सा बन्ने गरी हामी सरकारमा जाँदैनौं, तर मन्त्रिपरिषद्को पूरै सेट कस्तो हुने भन्ने प्रस्ट भए र एजेन्डामा पनि सहमति जुटे सरकारमा जाने विषयमा सोच्न सकिन्छ,’ उनी भन्छन् ।

समानुपातिक उम्मेदवार झा पनि पुरानै संरचना, आचरण र चरित्रको सरकारमा जानै नहुने बताउँछन् । ‘लोकतन्त्रका लागि गतिलो प्रतिपक्ष चाहिन्छ,’ भन्छन्, ‘अहिले त प्रतिपक्ष नै छैन जस्तो छ । भएको प्रतिपक्षसँग सरकारकै साँठगाँठ छ । त्योभन्दा फरक तरिकाले प्रतिपक्षी बन्न सकिन्छ ।’

पूर्वसञ्चारकर्मी लामिछानेको हुटहुटीले नै यो दल जन्मिएको मात्र होइन, यति धेरै मतको ठूलो कारण पनि उनी नै हुन् । तर लामिछानको महत्त्वाकांक्षा नै यो दलको कमजोरी हुन सक्ने सम्भावना पनि छ । ‘राजनीतिक रूपमा उहाँ र हामी धेरै नयाँ छौं, संगठनमा बहस गर्ने, लोकतन्त्र विकास गर्ने र सामूहिक जस/अपजस लिने संस्कार बनाउन सकिन्छ कि सकिँदैन भन्नेमा बाहिरबाट प्रश्न छ, त्यसमा हामी पनि सचेत छौं,’ केन्द्रीय समितिमा भएका एक नेता भन्छन् ।

प्रकाशित : मंसिर ७, २०७९ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्

क्यारेबियन सागरमा डुंगा दुर्घटना, ३ नेपालीसहित ७ को मृत्यु 

अवैधरूपमा अमेरिका छिर्ने भन्दै संगठित मानव तस्करको भर परेर हिँडेका नेपालीहरूको मृत्यु शृंखला
जनकराज सापकोटा

काठमाडौँ — २०७८ असारको पहिलो साता अवैधरूपमा कोलम्बियाबाट ब्राजिल छिर्ने क्रममा भएको डुंगा दुर्घटनामा सात नेपालीको मृत्यु भएको घटना बिर्सिन नपाउँदै सोही क्षेत्रमा उस्तै प्रकृतिको घटना भएको छ ।

डुंगा दुर्घटना हुँदा केही नेपालीको मृत्यु भएको अपुष्ट खबर सार्वजनिक भएको हो ।

प्राप्त विवरणहरूअनुसार गत आइतबार भएको दुर्घटनामा ३ नेपाली, २ बंगालादेशी र १ भारतीयको मृत्यु भएको छ ।

दुर्घटनाबारे नेपाल सरकारको आधिकारिक निकाय भने बेखबर देखिएको छ । कान्तिपुरको सम्पर्कमा आएका स्रोतहरूका अनुसार दुर्घटनामा रुकुम पश्चिमका २ र प्यूठानका एक जना परेका छन् । कोलम्बियाबाट अवैध रूपमा ब्राजिल छिर्न भन्दै उक्त डुंगामा एक दर्जनभन्दा धेरै यात्रु सवार थिए । दुर्घटनामा बाँचेका एक नेपालीले बताएअनुसार पानामाका जलसेनाले डुंगा रोक्न खोजेपछि भाग्ने क्रममा अर्को डुंगामा ठोक्किएर घटना भएको हो ।

उक्त दुर्घटनामा परी रुकुम पश्चिमको बाँफिकोट–७ का २५ वर्षीय प्रदीप खत्री, मुसीकोट–५ का अन्दाजी ४० वर्षका रमेश गौतम र प्यूठानका काले गिरी बेपत्ता भएका छन् । रमेशकी पत्नी लीला बोहराले कान्तिपुरसँगको कुराकानीमा श्रीमान्‌सँगै डुंगामा सवार एक जनाले डुंगा दुर्घटना भएको खबर भ्वाइस म्यासेजमार्फत पठाइदिएको र श्रीमान्‌को अवस्थाबारे आफूहरू जानकार नरहेको बताइन् । उनका श्रीमान् गत वैशाख ९ मा अवैध रूपमा अमेरिका छिर्ने भन्दै घरबाट हिँडेका थिए । रमेशको परिवारका एक सदस्यले उनले कोलम्बियासम्म पुग्ने क्रममा मात्रै अनुमानित ३६ लाख खर्चिसकेको बताए । ती सदस्यले भने, ‘परिवारको एजेन्टसँग कुराकानी भइरहेको देखिन्छ । तर दुर्घटनामा रमेश मरे वा बाँचेको यकिन खबर एजेन्टले सुनाइरहेका छैनन् ।’

डुंगा दुर्घटनामा परेका प्रदीप खत्रीका भाइ सुदर्शन खत्रीले दुर्घटित डुंगामा सवार अन्य नेपालीबाट आफूहरुले घटनाबारे थाह पाएको बताए । उनले डुंगा मध्यरातमा दुर्घटना भएको, घटनापछि ३ जना बेपत्ता भएको र त्यसमध्ये दाइ पनि परेको सूचना पाएको बताए । सुदर्शनका अनुसार गत वर्षको असोजतिरै दाइ अवैधरुपमा संगठित मानव तस्करको सहयोगमा अमेरिका जान भनेर हिँडेका थिए ।

कान्तिपुरको सम्पर्कमा आएका प्रदीपका एक नातेदारका अनुसार उक्त डुंगामा २५ जना सवार रहेको र तीमध्ये आधाभन्दा धेरै रुकुम पश्चिम, प्युठान र बर्दियाका भएको दाबी सुनाए । उनले बाँफिकोटकै टिकाराम पुन: पनि उक्त दुर्घटनामा परेको तर सेनाले समयमै उद्धार गरेकाले केही नभएको सुनाए । स्रोतका अनुसार अमेरिका जान भनेर हिडेको धेरैजसोले नेपालमै रहेको एजेन्टलाई किस्ता किस्तामा रकम बुझाएको र धेरैजसोले २० देखि २५ लाख खर्चिसकेको देखिन्छ ।

२०७८ असारमा अवैध रूपमा अमेरिका छिर्ने यात्रामा कोलम्बिया हुँदै अगाडि बढ्ने क्रममा भएको दुर्घटनामा मृत्यु भएकाहरूको परिवारले संगठित मानव तस्करका एजेन्ट भन्दै टोपबहादुर जीसीविरुद्ध प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी गरेका थिए ।

ब्युरोले २०७६ जेठ २७ मा पनि मानव बेचबिखन तथा ओसारपसार र संगठित अपराधमा मुद्दा चलाएपछि जीसी पक्राउ परेका थिए । २०७६ असार ५ मा काठमाडौं जिल्ला अदालतबाट १५ लाख रुपैयाँ धरौटीमा छुटेपछि जीसी पुन: मानव बेचबिखनमा सक्रिय भएका थिए । ब्युरो स्रोतका अनुसार दोस्रो घटनामा पनि अनुसन्धानमा तानिएका जीसी महिनौं विदेशमा फरार रहेपछि प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) को सहायतामा पक्राउ गर्ने प्रयास गरेको थियो । उनले दुई महिनाअघि नेपाल आएर आत्मसमर्पण गरेका थिए । जीसी अहिले केन्द्रीय कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले पनि पानामाको पछिल्लो दुर्घटनाबारे केही सूचनाहरू पाएको देखिन्छ । तर पीडित परिवारका सदस्यहरू प्रहरीमा नआएकाले थप अनुसन्धान नबढाएको देखिन्छ ।

प्रकाशित : कार्तिक २९, २०७९ २१:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×