कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल पराजित

कांग्रेसका युवा नेता पौडेलसँग ५ हजार ६२ मतान्तर

काठमाडौँ — एमालेको दोस्रो वरीयतामा रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग ५ हजार ६२ मतले पराजित भएका छन् । पौडेलले १५ हजार २ सय ३७ मत प्राप्त गर्दा पोखरेलले १० हजार १ सय ७५ मत मात्रै ल्याए । पौडेल काठमाडौं–५ बाट चुनाव लड्ने निर्णय मनोनयनको एक दिनअघि मात्रै कांग्रेसले गरेको थियो ।

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल पराजित

६ महिनाअघि मात्रै भएको स्थानीय तह चुनावमा सत्तारूढ दलहरूको गठबन्धनका बाबजुत एमालेले सो क्षेत्रमा राम्रो प्रदर्शन गरेको थियो । स्थानीय चुनावमा वडाध्यक्षहरूले पाएको मताधारमा पनि यो निर्वाचन क्षेत्रमा एमाले मजबुत अवस्थामा थियो ।

नतिजा घोषणालगत्तै पोखरेलले पौडेललाई बधाई दिएका छन् । निर्वाचन परिणामको औपचारिक घोषणा हुनुअघि नै उनले आफू विजयी नभए पनि भविष्यमा जनतासँगको सम्बन्धलाई थप जीवन्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘निर्वाचनमा विजयी बन्न नसके पनि भविष्यमा जनतासँगको सम्बन्ध/सम्पर्कलाई थप जीवन्त बनाउने, जनताका विकास निर्माणका चाहना र आवश्यकतालाई सधैं उच्च प्राथमिकतामा राख्ने, पारदर्शी जीवनशैली अपनाउने र निरन्तर देश हित र जनताका काममा क्रियाशील बन्ने मार्गमा पूर्ववत् लागिरहने प्रतिबद्धतासमेत व्यक्त गर्दछु,’ पोखरेलले भनेका छन् ।

उनी क्षेत्र नम्बर–५ का निवर्तमान सांसद हुन् । २०७४ को आमनिर्वाचनमा उनले कांग्रेस उम्मेदवार प्रकाशशरण महतलाई करिब १० हजार मतान्तरले हराएका थिए । २०७४ मा बनेको केपी शर्मा ओली नेतृत्वको सरकारमा पोखरेल उपप्रधान तथा रक्षामन्त्री थिए । उनी कोभिड–१९ नियन्त्रण सम्बन्धमा सरकारले बनाएको निकायको प्रमुखसमेत बने ।

अध्ययन सकेलगत्तै भूमिगत राजनीति सुरु गरेका पोखरेलले तत्कालीन कोअर्डिनेसन केन्द्र र नेकपा मालेको स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका थिए । भूूमिगतकालदेखि नै पार्टीभित्र शक्तिशाली नेताका रूपमा रहँदै आएका उनका लागि संसदीय राजनीति भने त्यति सुखद रहेन । २०६४ र २०७० सालको पहिलो तथा दोस्रो संविधानसभा निर्वाचनमा उनी सोही क्षेत्रबाट कांग्रेसका नरहरि आचार्यसँग पराजित भएका थिए । २०५६ को संसदीय निर्वाचनमा तत्कालीन काठमाडौं–३ बाट भने निर्वाचित भएका थिए ।

२०५१ सालमा एमालेको अल्पमतको सरकारका प्रधानमन्त्री मनमोहन अधिकारीका उनी प्रमुख राजनीतिक सल्लाहकार थिए । २०६५ सालमा भएको एमालेको आठौं महाधिवेशनबाट महासचिव बनेका पोखरेलले दुई कार्यकाल सो जिम्मेवारी सम्हाले । गत वर्ष भएको दसौं महाधिवेशनबाट उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । सो पद एमालेको वरीयतामा अध्यक्ष ओलीपछि दोस्रोमा रहने गरेको छ ।

प्रकाशित : मंसिर ७, २०७९ ००:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?