२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

लोकतन्त्र जोगाउन गठबन्धनले जित्नुपर्छ : चित्रबहादुर केसी

प्रकाश बराल

बागलुङ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको लोकतन्त्र खतरामा परेको बताएका छन् । उनले धरापमा परेको लोकतन्त्र संस्थागत गर्नका लागि बुढ्यौलीमा पनि निर्वाचनमा होमिएको बताए ।

लोकतन्त्र जोगाउन गठबन्धनले जित्नुपर्छ : चित्रबहादुर केसी

सत्ता गठबन्धनको उम्मेदवारको रुपमा केसी बागलुङ निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार हुन् । उनले लोकतन्त्र जोगाउन कांग्रेससहितको गठबन्धन गरेर निर्वाचनमा जानुपरेको बताए । बुधबार साँझ गठबन्धनका उम्मेदवारले बागलुङ बजारमा गरेको पत्रकार सम्मेलनमा केसीले जसले संसद् पटक–पटक भत्कायो, उनीहरूबाटै लोकतन्त्र खतरामा परेको टिप्पणी गरे ।

एमाले अध्यक्ष केपी शर्मा समावेश गरेका दल र समूह व्यवस्थाविरोधी भएको पनि आरोप लगाए । ‘ओलीले राजावादी, धार्मिक अतिवादी र विखण्डनवादीको साथमा गठबन्धन गरेर व्यवस्था विरोधी गठबन्धन बनाएका छन्,’ केसीले भने, ‘फेरि लोकतन्त्र र संसद् नै विघटन गर्नेलाई मत दिने कि रक्षा गर्नेलाई दिने भन्ने फैसला जनताले गर्नेछन् ।’ गणतन्त्र आइसक्यो, अब आर्थिक सामाजिक क्रान्ति गर्ने र स्थायी सरकार दिने भनेर वाम गठबन्धनमा लाग्दा ओलीले धोका दिएपछि वर्तमान गठबन्धन बनेको उनले बताए ।

उनले लोकतन्त्रलाई खतरामा लैजान विदेशी शक्ति र छिमेकी राष्ट्र पनि लागेको टिप्प्णी गरे । ‘नेपालमा लोकतन्त्र देख्न नचाहने छिमेकीले पनि उनको अभियानलाई साथ दिएका छन्,’ केसीले भने, ‘यो उमेरमा सांसद हुन मन थिएन, एकपटक राष्ट्रियताविरोधी, संसद्विरोधी र लोकतन्त्र विरोधीको कुकृत्यविरुद्ध संसद्मा बोल्न मन लागेपछि उम्मेदवार भएँ । उनले संसद्मा पुगेर षड्यन्त्रकारीविरुद्ध आवाज उठाउने बताए । पाँचदलीय गठबन्धनले पनि आफूलाई उठ्न आग्रह गरेको भन्दै निर्वाचनमा गठबन्धनकै बहुमत आउने बताए ।

लोकतन्त्र र गणतन्त्र जोगाउन राजनीतिक दल, सञ्चार क्षेत्र र जनता पनि सचेत बन्नुपर्ने केसीको सुझाव थियो । ‘दलहरू व्यपारी बन्नुभएन, सच्चा सेवामा लाग्नुपर्छ, मिडियाले लोकतन्त्रको पक्षमा लेख्नुपर्छ,’ केसीले भने, ‘जनता पनि अब जागरुक बनेर सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्छ ।’ नेपालमा अझै पनि दल, मिडिया र आमनागरिकमा परिपक्वता नभएको उनले बताए । संसद् भंग गर्ने, संसद् चल्न नदिने अनि उनीहरू नै संसद्मा जान खोज्नेलाई जनताले चिन्नुपर्ने भन्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरे ।

प्रकाशित : मंसिर १, २०७९ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?