विचारभन्दा माथि उम्मेदवार- समाचार - कान्तिपुर समाचार

विचारभन्दा माथि उम्मेदवार

मधेसका सबैजसो निर्वाचन क्षेत्रका मुख्य उम्मेदवारको दलबदल । जुन दलबाट टिकट पाइन्छ, त्यही दल छानेका उम्मेदवारबीच केका आधारमा फरक छुट्याउने हो, मतदाता अन्योलमा ।
उमेश चौहान, अजित तिवारी, सन्तोष सिंह

जनकपुर — यसपालिको संसदीय निर्वाचनमा मधेसका सबैजसो निर्वाचन क्षेत्रका उम्मेदवारले दल परिवर्तन गरेर मतदातालाई नै आश्चर्यमा पारेका छन् । कुन विचारधारा, कुन पृष्ठभूमि र कुन दल भन्नेमा यसपालि उम्मेदवारले पर्वाह नै गरेका छैनन् । जुन दलबाट टिकट पाइन्छ, त्यही दल छानेका उम्मेदवारबीच केका आधारमा फरक छुट्याउने ? मतदाता अन्योलमा छन् ।


दलबदल प्रवृत्ति कांग्रेस, एमाले, माओवादी, जसपा र लोसपामा एकनास छ । माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अशोककुमार मण्डल पार्टी परित्याग गरी सप्तरी–१ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । विद्रोहकालदेखि नै माओवादीमा सक्रिय उनी दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ निर्वाचित पनि भएका थिए । सत्ता गठबन्धनबाट कांग्रेस जिल्ला सभापति रामदेव साहले टिकट पाएपछि माओवादीका मण्डलले उम्मेदवारी दर्ताको अघिल्लो राति पार्टीका सबै पदबाट राजीनामा दिएका हुन् ।

अघिल्लो निर्वाचनमा राजपाबाट निर्वाचित मधेसका सामाजिक विकासमन्त्री नवलकिशोर साह यसपालि यही निर्वाचन क्षेत्रमा जसपाबाट उम्मेदवार बनेका छन् । उनी एमालेसहितको गठबन्धनका उम्मेदवार हुन् । अघिल्लो निर्वाचनमा जसपाबाट निर्वाचित सूर्यनारायण यादवले टिकट नपाएपछि भाइ चन्द्रनारायण यादव उम्मेदवार बनेका छन् । दोस्रो संविधानसभामा पनि उनी पार्टीका आधिकारिक उम्मेदवार बनेर दोस्रो भएका थिए । माओवादीका महेश यादव पनि एक रातअघि माओवादी परित्याग गरी जनमत पार्टीबाट सप्तरी–२ (२) मा प्रदेशसभा सदस्यका उम्मेदवार छन् ।

सप्तरी–२ मा उम्मेदवार बनेका उपेन्द्र यादवलाई अघिल्लो निर्वाचनमा महन्थ ठाकुर नेतृत्वको राजपाले सघाएपछि जयप्रकाश ठाकुर पार्टी छाडेर स्वतन्त्र उम्मेदवार बनेका थिए । यसपालि भने उनी लोसपाबाट प्रतिस्पर्धा गर्दै छन् । उनलाई सत्ता गठबन्धनको साथ छ । एमालेको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् भने जनमत अध्यक्ष चन्द्रकान्त (सीके) राउत पनि यही क्षेत्रबाट प्रतिस्पर्धामा छन् ।

सप्तरी–३ मा गठबन्धनका तर्फबाट कांग्रेसका दिनेशकुमार यादव उम्मेदवार भए पनि लोसपाका लक्ष्मीकान्त मण्डल प्रतिस्पर्धामा छन् । पार्टीको टिकट फोटोकपी गरेर आफ्नो नाम लेखेर उम्मेदवारी दिएको आरोप लगाउँदै लोसपाले उनीविरुद्ध विज्ञप्ति जारी गरेको छ । तर, मण्डलको चुनाव चिह्न भने साइकल नै छ । यो निर्वाचन क्षेत्रमा एमालेका ताराकान्त चौधरी जसपाको समर्थनमा उम्मेदवार छन् ।

सप्तरी–४ (२) मा जसपाबाट रेणु यादवका छोरा अभिषेक यादवले टिकट पाएपछि पार्टी केन्द्रीय सदस्य अनिरुद्धप्रसाद सिंह यादव स्वतन्त्र उम्मेदवार बनेका छन् । उनका छोरा आदेशकुमार सिंह यादव बोदेबरसाइन नगरपालिकाको प्रमुखमा जसपाबाट निर्वाचित भएका छन् । उनी राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंहका भाइ हुन् । मृगेन्द्रकुमार पनि शाहीकालमा क्षेत्रीय प्रशासक भएका थिए, मधेस आन्दोलनपछि जसपामा आबद्ध उनी पार्टी विभाजन हुँदा विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरममा लागेर कृषिमन्त्री पनि भए । २०७४ को निर्वाचनमा राजपाबाट सप्तरी–४ मा उनी उम्मेदवार बन्दा भाइ अनिरुद्धले संघीय समाजवादी फोरमबाट प्रतिस्पर्धा गरेका थिए । तर दुवै भाइ कांग्रेसका तेजुलाल चौधरीसँग पराजित भए । त्यसपछि भएको राष्ट्रिय सभा निर्वाचनमा एमालेको समर्थनमा राजपाबाट उम्मेदवार थिए, भाइ अनिरुद्ध यसपालि पनि प्रतिस्पर्धी थिए । तर भाइलाई पराजित गरेर उनी राष्ट्रिय सभा सदस्य हुँदै मन्त्री पनि भए । त्यसयता उनी जसपाको केन्द्रीय कार्यकारिणी समितिमा छन् ।

सिरहा–१ मा जसपाकी पूर्वसांसद सरिता गिरीले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । जसपाले भने एमालेका रामशंकर यादवलाई समर्थन गरेको छ । सत्ता गठबन्धनबाट कांग्रेसका पद्मनारायण चौधरी प्रतिस्पर्धामा छन् ।

सिरहा–२ मा सत्ता गठबन्धनबाट कांग्रेसकी चित्रलेखा यादव र एमाले नेतृत्वको गठबन्धनबाट जसपाका राजकिशोर यादव उम्मेदवार छन् । पूर्वमाओवादी नेता रामरिझन यादव स्वतन्त्र उम्मेदवार बनेका छन् । जनमोर्चाबाट २०५१ र २०५६ मा उम्मेदवार बनेका उनी माओवादीबाट नयाँ शक्ति हुँदै पछिल्लो समय जसपामा थिए ।

सिरहा–३ मा सत्ता गठबन्धनबाट माओवादीका विश्वनाथ साह र प्रतिपक्षी गठबन्धनबाट एमालेका लीलानाथ श्रेष्ठ उम्मेदवार छन् । प्रदेशसभातर्फ सिरहा–३ (१) जसपाको समर्थनमा एमालेका तर्फबाट मनोजकुमार सिंह उम्मेदवार बनेका छन् । २०७४ मा जसपाबाट प्रतिस्पर्धा गरेका उनी यसपालि पनि टिकटका आकांक्षी थिए । तर, यो निर्वाचन क्षेत्र एमालेलाई परेपछि मनोनयन दर्ता गर्नुअघि मात्र एमाले प्रवेश गरेका हुन् ।

त्यस्तै प्रदेशसभाको निर्वाचन क्षेत्रमा गठबन्धनबाट एकीकृत समाजवादीका प्रमोदकुमार यादवले उम्मेदवारी पाएका छन् । तर, उनका विरुद्ध कांग्रेसका सञ्जयप्रकाश यादव उम्मेदवार बनेका छन् । त्यस्तै गत ३१ भदौमा केपी शर्मा ओली सिरहाको चोहर्वामा आएर जसपाका गोपाल यादवलाई एमालेमा प्रवेश गराएका थिए, तर प्रदेशसभाको निर्वाचन क्षेत्र जसपाको भागमा परेपछि रेनु यादव उम्मेदवार बनिन् । तीन महिनाअघि मात्र एमाले प्रवेश गरेका गोपाल यादव अहिले स्वतन्त्र उम्मेदवार बनेका छन् । त्यस्तै सिरहा नगरपालिकाको प्रमुखमा एमालेबाट निर्वाचित नवीनकुमार यादवका भाइ प्रवीनकुमार यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

२०५६ मै एमालेबाट निर्वाचित, २०६४ मा पराजित र २०७० मा समानुपातिकबाट सांसद बनेका धर्मनाथ साह यसपालि एकीकृत समाजवादीबाट उम्मेदवार छन् । उनको प्रतिस्पर्धामा एमालेको समर्थनमा जसपाका वीरेन्द्रकुमार महतो छन् ।

धनुषा–१ मा सत्ता गठबन्धनबाट माओवादीका मातृका यादव र प्रतिपक्षी गठबन्धनबाट जसपाका दीपक कार्की प्रतिस्पर्धामा छन् । एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित किशोरी साह (कमल) यसपालि सीके राउत नेतृत्वको जनमत पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवार छन् । त्यस्तै माओवादीबाट प्रदेशसभा (२) मा अघिल्लो पटक माओवादीबाट निर्वाचित रामचन्द्र मण्डल यसपालि एमाले उम्मेदवार छन् ।

धनुषा–२ मा जसपाका पूर्वसांसद उमाशंकर अरगरिया यसपालि पनि उम्मेदवार छन्, तर एमालेबाट । यो निर्वाचन क्षेत्रमा एमाले र जसपाबीच तालमेल छैन । अरगरियालाई एमालेले लगेपछि जसपाले पनि एमालेका आनन्द यादव (गंगाराम) लाई पार्टी प्रवेश गराएको छ । उनी पनि प्रतिस्पर्धामा छन् ।

जनकपुरको रामसागर रामस्वरूप बहुमुखी क्याम्पसमा कांग्रेसनिकट नेविसंघको अध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका अरगरिया २०६२/०६३ को आन्दोलनपछि मधेसी जनअधिकार फोरममा आबद्ध भएका थिए । फोरमबाट विभाजन हुँदा उनी लोकतान्त्रिकको धनुषा जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र विदेश विभाग प्रमुख भएका थिए । पछि संघीय समाजवादी फोरममा फर्किएर गत निर्वाचनमा निर्वाचित भएका थिए । जसपा विभाजनका बेला लोसपामा आबद्ध भएर ओली नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उडड्यनमन्त्री पनि भएका थिए ।

त्यस्तै यो निर्वाचन क्षेत्रबाट रामचन्द्र झा पनि उम्मेदवार छन् । उनी पछिल्ला हरेक निर्वाचनमा फरक–फरक दलबाट उम्मेदवार बनेका छन् । २०६४ मा एमाले, २०७० मा माओवादी र २०७४ मा नयाँ शक्तिबाट प्रतिस्पर्धा गरेका उनी यसपालि एकीकृत समाजवादीका उम्मेदवार छन् । तर गठबन्धनका तर्फबाट माओवादी समर्थनमा कांग्रेसका रामकृष्ण यादव उम्मेदवार छन् ।

धनुषा–३ मा सत्ता गठबन्धनबाट लोसपाका अनिल झा र प्रतिपक्षी गठबन्धनबाट एमालेकी जुली महतो उम्मेदवार छन् । यो निर्वाचन क्षेत्रमा नयाँ शक्तिबाट जसपामा समाहित भएका उमेश साह अहिले स्वतन्त्र उम्मेदवार छन् ।

धनुषा–४ मा एमालेका रघुवीर महासेठसँग कांग्रेसका महेन्द्र यादव मात्र होइन, जसपाका महाजन यादव पनि प्रतिस्पर्धामा छन् । उनीहरू तीनै जना अघिल्लो निर्वाचनमा पनि प्रतिस्पर्धी थिए जसमा वाम गठबन्धनका महासेठ विजयी भएका थिए ।

यो निर्वाचन क्षेत्रको प्रदेशसभा (१) मा कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका सन्तोष यादव उम्मेदवार बनेका छन् । उनीसँग जसपाका ज्ञानेन्द्रकुमार यादव र कांग्रेसका शेषनारायण यादवले प्रतिस्पर्धा गर्दै छन् । पार्टीका पूर्वजिल्ला उपसभापति सन्तोष एमालेमा प्रवेश गरेपछि कांग्रेसले पनि जसपाका शेषनारायणलाई भित्र्याएर उम्मेदवार बनाएको हो ।

२३ असोज बिहान जसपा परित्याग गरी एमाले प्रवेश गरेका लक्ष्मी महतोले दिउँसो महोत्तरी–१ बाट उम्मेदवारी दर्ता गराए । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न रहेको आरोपमा उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनी फरार छन् ।

उच्च अदालत जनकपुरका न्यायाधीश पुष्पराज कोइराला र प्रभा बस्नेतको संयुक्त इजलासले महतोलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामै राखी पुर्पक्ष गर्न २०७७ मंसिर १९ गते आदेश दिएको थियो । उनले उम्मेदवारी पनि वारेसमार्फत दर्ता गराएका हुन् । गत संविधान दिवसमा राष्ट्रपतिबाट प्रबल जनसेवाश्री पाउनेमा उनको पनि नाम थियो ।

रौतहट–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार फिरदोस आलमका समर्थक । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर ।

एमाले र जसपा गठबन्धनमा महोत्तरी–१ एमालेको भागमा परेपछि महतो जसपा छाडेर एमाले प्रवेश गरेका हुन् । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा सद्भावना पार्टीबाट उम्मेदवार भएका महतो ०७४ मा संघीय समाजवादी फोरमबाट उठेका थिए । उनका छोरा दीपेन्द्र महतो गौशाला नगरमा जसपाबाट निर्वाचित मेयर हुन् ।

यहाँको प्रदेशसभा (२) मा सत्ता गठबन्धनबाट माओवादीका भरत साह उम्मेदवार छन् । मधेसका आन्तरिक मामिलामन्त्रीसमेत रहेका साहविरुद्ध माओवादीकै विष्णुबहादुर योञ्जनले उम्मेदवारी दिएका छन् । त्यस्तै एमालेको समर्थनमा जसपाका राम श्रेष्ठ महतो उम्मेदवार बनेका छन् भने उनकै दलका विनोदकुमार महतोले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

महोत्तरी–२ मा एमालेबाट रामपरीक्षण यादव र लोसपाका शरतसिंह भण्डारी उम्मेदवार छन् । उनीहरू दुवैलाई आ–आफ्नो गठबन्धनको साथ छ । प्रदेशसभातर्फ भने (२) बाट लोसपाकी निवर्तमान प्रदेशसभा सदस्य सुरिता साह यसपालि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेकी छन् ।

महोत्तरी–३ मा सत्ता गठबन्धनबाट लोसपाका महन्थ ठाकुर र प्रतिपक्षी गठबन्धनबाट जसपाका हरिनारायण यादव उम्मेदवार छन् । गठबन्धनमा जसपाले उम्मेदवारी पाएपछि एमालेका रामआधार कापर स्वतन्त्र उम्मेदवार बनेका छन् ।

महोत्तरी–४ मा पनि सत्ता गठबन्धनबाट कांग्रेसका महेन्द्रकुमार राय र जसपाका सुरेन्द्र यादव उम्मेदवार छन् । आफूलाई एमालेका तत्कालीन सांसदहरू महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वआईजीपी सर्वेन्द्र खनालले अपहरण गरेको भनेर काठमाडौं प्रहरीमा उजुरी दिएका यादवलाई यसपालि एमालेकै भरोसा छ ।

प्रदेशसभा (१) मा जसपाले एमालेका सरोजकुमार यादवलाई समर्थन गरेपछि जसपाका कौशलकिशोर यादव लोसपाबाट उम्मेदवार बनेका छन् । गत निर्वाचनमा प्रदेशसभामा विजयी उनी संविधानसभामा पनि निर्वाचित भएका थिए ।

लालबन्दी नगरका पूर्वप्रमुख मानबहादुर खड्का एमाले परित्याग गरी सर्लाही–१ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । यो निर्वाचन क्षेत्रमा एमालेले जसपाका प्रमोद साहलाई समर्थन गरेको छ । अघिल्लो निर्वाचनमा उनी राजपाबाट निर्वाचित भएका थिए । यसपालि लोसपाबाट रामप्रकाश चौधरी उम्मेदवार छन्, उनलाई सत्ता गठबन्धनको साथ छ ।

अघिल्लो पटक राजपाबाट निर्वाचित नेता राजेन्द्र महतो र महिन्द्र राय यादव यसपालि सर्लाही–२ मा आमनेसामने छन्, यद्यपि उनीहरू दुवैको दल सत्ता गठबन्धनमा छन् । एमालेका पूर्वसांसद महिन्द्र संविधानसभा निर्वाचनपछि २०६४ मा तमलोपा, २०७० मा तमसपा, २०७४ मा राजपाबाट उम्मेदवार थिए भने यसपालि माओवादी उम्मेदवार छन् ।

लोसपा सत्ता गठबन्धनमा भए पनि सर्लाही–२ मा कांग्रेस र एकीकृत समाजवादीले माओवादी उम्मेदवार महिन्द्रलाई समर्थन गरेका छन्, महतो आफ्नै दलको बलबुतामा मात्र उम्मेदवार छन् । यो निर्वाचन क्षेत्रमा एमालेका राजनारायण साह प्रतिस्पर्धामा छन् ।

सर्लाही–३ मा सत्ता गठबन्धनका तर्फबाट माओवादीका नरेन्द्र साह र प्रतिपक्षी गठबन्धनबाट एमालेका हरिप्रसाद उप्रेती उम्मेदवार छन् । २०७० मा राजेन्द्र महतोको सद्भावनाबाट समानुपातिक सांसद बनेका साह २०७४ मा स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्दा माओवादीका रामेश्वर राय यादवसँग पराजित भएका थिए । यसपालि भने उनी आफैं माओवादी उम्मेदवार बनेका छन् ।


सर्लाही–४ मा पूर्वसांसद अमरेश सिंह स्वतन्त्र उम्मेदवार छन् । यो क्षेत्रबाट कांग्रेसले नागेन्द्र कुमारलाई प्रतिस्पर्धी बनाएको छ । त्यस्तै एमाले गठबन्धनबाट जसपाका राकेशकुमार मिश्र उम्मेदवार छन् । २०६४ मा माओवादीबाट निर्वाचित भएर रातो पासपोर्ट बेचेको अभियोग लागेका शिवपुजन राय यादवको उम्मेदवारी गत निर्वाचनमा खारेज भएको थियो । यसपालि उनले छोरी मधुमालाकुमारी यादवलाई स्वतन्त्र उम्मेदवार बनाएका छन् । मधुमालाको पोस्टरमा बाबुको पनि फोटो छापिएको छ जबकि उनकी आमा माओवादीको समानुपातिकतर्फ उम्मेदवार छिन् । त्यस्तै छोरा राजाबाबु रामनगर गाउँपालिकाका अध्यक्ष छन् ।

रौतहट–१ मा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल सत्ता गठबन्धनबाट उम्मेदवार छन् । उनीसँगको प्रतिस्पर्धामा एमालेले अजयकुमार गुप्तालाई उतारेको छ । उनी एमालेमा नयाँ हुन् । गत स्थानीय निर्वाचनमा गौर नगरको प्रमुखमा लोसपाबाट प्रतिस्पर्धा गरेका उनी एकीकृत समाजवादीका शम्भु साहसँग पराजित भएपछि बालकोट पुगेर एमाले प्रवेश गरेका थिए । उनी २०७० को निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिकबाट एमालेका तत्कालीन उम्मेदवार नेपालसँगै प्रतिस्पर्धा गरेका थिए । २०७४ मा लोकतान्त्रिक फोरम छाडी उनी राजपा प्रवेश गरेर गौर नगरपालिकाको प्रमुखमा विजयी भएका थिए । त्यस्तै शाहीकालमा पनि उनी नगर प्रमुख बनेका थिए ।

रौतहट–२ मा सत्ता गठबन्धनले पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमका छोरा फिरदोस आलमलाई उम्मेदवार बनाएको छ । आफ्नै घाइते कार्यकर्तालाई जिउँदै इँटाभट्टामा हालेको अभियोगको पुर्पक्षका लागि नख्खु कारागारमा रहेका आलमका छोरा फिरदोसलाई कांग्रेस र गठबन्धनले उम्मेदवार बनाएका हुन् । उनीसँगको प्रतिस्पर्धामा एमालेका प्रदेश कमिटी सदस्य शैलेन्द्र साह छन्, तर एमालेबाट होइन जसपाबाट । गठबन्धन गर्दा यो क्षेत्र जसपाको भागमा परेपछि साह जसपातिरै लागेर उम्मेदवार बनेका हुन् । उनी २०६४ मा स्वतन्त्र उम्मेदवार थिए ।

रौतहट–३ मा एमालेका तत्कालीन पोलिटब्युरो सदस्य प्रभु साह नै स्वतन्त्र उम्मेदवार बनेका छन् । माओवादी छाडेर एमाले प्रवेश गरेका साहले पार्टीको टिकट खल्तीमा राखेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनले अन्तिम घडीमा धोका दिएपछि एमालेले उम्मेदवारी दिन पाएन । प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गरेको छ तर माओवादीका तर्फबाट उम्मेदवार बनेका रवीन्द्र पटेलले आफ्नो उम्मेदवारी फिर्ता लिन मानेनन् । उनी पनि सक्रियतापूर्वक मैदानमा छन् । साह माओवादीबाट २०६४ र २०७० को संविधानसभा तथा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा रौतहट–३ बाट निर्वाचित भएका थिए । तत्कालीन नेकपा विभाजित भएपछि एमालेतर्फ लागेका साहको सांसद पद खारेज भएको थियो ।

प्रभु साहले आफूसँगै एमालेमा प्रवेश गरेका किरण साह रौतहट–२ बाट र प्रदीप साहलाई रौतहट–४ बाट स्वतन्त्र उम्मेदवार बनाएका छन् । रौतहट–४ मा सत्ता गठबन्धनबाट कांग्रेसका देव तिमिल्सिना र प्रतिपक्षी गठबन्धनमा उद्धव रेग्मी उम्मेदवार छन् । त्यस्तै कांग्रेसका पुराना नेता अजयकुमार साह पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवार छन् ।

बारा–१ मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उमाकान्त चौधरी र प्रतिपक्षी गठबन्धनबाट एमालेका अच्युत मैनाली प्रतिस्पर्धामा छन् । यो निर्वाचन क्षेत्रको (१) मा एमालेका त्रिलोकीप्रसाद चौधरी उम्मेदवार छन् भने एमालेकै नेता एकराज श्रेष्ठले स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्दै छन् । (२) बाट लोसपाका पूर्वसांसद तथा प्रदेशसभाका सभामुख सरोजकुमार यादव यसपालि जसपाबाट उम्मेदवार छन् । त्यस्तै यही क्षेत्रमा कांग्रेसका नागेन्द्र साह र एकीकृत समाजवादीका बतहु यादव पनि प्रतिस्पर्धामा छन् ।

त्यस्तै बारा–२ मा माओवादीका शिवचन्द्र कुशवाह सत्ता गठबन्धनका उम्मेदवार हुन् भने कांग्रेस जिल्ला सभापति राजेश राय यादवका भाइ रोशन यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसपाका रामसहाय यादव प्रतिपक्षी गठबन्धनबाट उम्मेदवार छन् । पूर्वमन्त्री यादवविरुद्ध जसपाकै केन्द्रीय सदस्य रामकिशोर यादव पनि उम्मेदवार छन् ।

बारा–३ मा सत्ता गठबन्धन, एमाले र जसपाका उम्मेदवार छन् । एमालेबाट ज्वालाकुमारी साह उम्मेदवार छिन् । उनी यसअघि माओवादीबाट प्रदेशसभामा निर्वाचित भएकी थिइन् भने संविधानसभामा समानुपातिक सांसद् बनेकी थिइन् । उनीविरुद्ध जसपाका प्रदेश कमिटी अध्यक्ष रामबाबु यादव उम्मेदवार छन् । सत्ता गठबन्धनमा भागबन्डा गर्दा यो क्षेत्र लोसपाले पाएपछि कांग्रेस नेता लालबाबु सिंह नै लोसपा प्रवेश गरेर उम्मेदवार बनेका हुन् । दुई कार्यकाल पार्टीको जिल्ला सभापति भएका उनी यसपालि बारा–४ बाट सिफारिसमा परेका थिए । तर यो क्षेत्र समाजवादीको भागमा परेपछि उनले कांग्रेस परित्याग गरेका हुन् ।

बारा–४ मा सत्ता गठबन्धनका कृष्णकुमार (किसन) श्रेष्ठ जिल्ला र पार्टी परिवर्तन गरेर मैदानमा छन् । अघिल्लो निर्वाचनमा एमालेबाट तनहुँ–१ मा निर्वाचित श्रेष्ठ यसपालि बारा आएर समाजवादीबाट प्रतिस्पर्धा गर्दै छन् । कांग्रेसका इच्छाबहादुर वाग्लेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यो क्षेत्रबाट एमालेले एकवाल मियाँलाई उठाएको छ, उनी २०७४ मा प्रतिनिधिसभा सदस्यमा राजपाबाट निर्वाचित भएर मन्त्री पनि भएका थिए । सत्ता गठबन्धनले बारा–४ एकीकृत समाजवादीलाई दिएपछि उनी लोसपा परित्याग गरी एमाले प्रवेश गरेका हुन् ।

पर्सा–१ मा सत्ता गठबन्धनका तर्फबाट लोसपाले उम्मेदवारी पाएपछि कांग्रेसका अजय द्विवेदी स्वतन्त्र उम्मेदवार बनेका छन् । यहाँ लोसपाका लक्ष्मणलाल कर्ण र प्रतिपक्षी गठबन्धनबाट जसपाका प्रदीप यादव प्रतिस्पर्धामा छन् ।

पर्सा–२ बाट कांग्रेसका अजयकुमार चौरसिया र जसपाका सुरेन्द्रप्रसाद कुर्मी उम्मेदवार छन् । उनीहरूलाई आ–आफ्नो गठबन्धनको सहयोग छ । त्यस्तै पर्सा–३ मा कांग्रेसका सुरेन्द्र चौधरी र एमालेका राजकुमार गुप्ता उम्मेदवार छन् । उनीहरूलाई पनि सहयोगी दलको समर्थन छ ।

पर्सा–४ मा सत्ता गठबन्धनका उम्मेदवार रमेश रिजालसँग प्रतिस्पर्धामा रहेका एमालेका जालिम मियाँको राजनीतिक यात्रा पनि अनौठो छ । गतवर्ष ८ पुसमा केपी ओलीलाई हेलिकोप्टरबाटै गाउँमा उतारेर एमाले प्रवेश गरेका जालिमले २०६५ मा पहिलो संविधानसभापछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाललाई हेलिकोप्टरबाट गाउँमा उतारेर माओवादीको टिका लगाएका थिए ।

उनी २०२९ सालमा वडाध्यक्ष र २०३५ मा जगरनाथपुर गाउँ पञ्चायतको प्रधानपञ्च भएका थिए । २०४६ मा बहुदल आएपछि कांग्रेस प्रवेश गरेर इलाका सदस्यमा निर्वाचित भएका थिए ।

२०६२/०६३ को जनआन्दोलनका क्रममा जालिम पनि पक्राउ परेका थिए । तर अरू नेता रिहा भए पनि जालिम भने थप २ महिना कारागारमा बसेका थिए, वन मुद्दाको फरार अभियुक्त रहेका जालिमलाई प्रहरीले यही बेला अदालतमा पेस गरी कारागार पठाएको थियो । जिल्ला अदालत हुँदै सर्वोच्चसम्म चलेको उक्त मुद्दामा जालिममाथि २ महिना कैदको सजाय तोकिएको थियो ।

माओवादी प्रवेश गरेपछि उनी केन्द्रीय सल्लाहकारसमेत बनाइए । २०७४ को स्थानीय तह निर्वाचनमा उनी माओवादीबाटै जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । तर भाइ मोसालिमलाई गाउँपालिका अध्यक्ष र आफू संसद्को उम्मेदवार बन्ने निश्चित गरेर उनी एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्दा गाउँपालिका अध्यक्ष भएकाले ओलीको कार्यक्रममा लागेको ३५ लाख खर्च पालिकाबाटै तिराएका थिए । भाइले टिकट पाए पनि गाउँपालिका अध्यक्षमा हारे भने दाजु अहिले प्रतिस्पर्धामा छन् ।

प्रदेश ब्युरोको सहयोगमा

प्रकाशित : कार्तिक २९, २०७९ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्

प्रतिदिन माग ५० किलो, आयात १० किलो मात्रै

गहना व्यवसायी भन्छन्– ‘काँचो सुन नहुँदा गहनाको अर्डर लिन सकेनौं, ग्राहक फर्काउनुपरेको छ, राष्ट्र बैंकले वैकल्पिक व्यवस्था गरिदिनुपर्‍यो ’
राजु चौधरी, सीमा तामाङ

काठमाडौँ — दसैं–तिहारलगत्तै प्रायः वर्षमा सुनका गरगहना देखाउन व्यवसायीलाई भ्याइनभ्याइ हुन्थ्यो । तर यस पटक त्यति धेरै चहलपहल छैन । ग्राहक नआएका पनि होइनन् । बरु व्यवसायी पछिल्लो एक सातायता पसल कुर्नेभन्दा पनि नेपाल सुनचाँदी व्यवसायी महासंघको कार्यालयमा धाउन व्यस्त छन् ।

उपत्यकासँगै रूपन्देही, चितवन, इटहरीलगायतका व्यवसायी महासंघका कार्यालयमा दिनहुँ धाइरहन्छन् । कारण हो, सुन अभाव । बिहेको सिजन सुरु भएसँगै सुनको प्रतिदिन माग ५० किलो छ । तर राष्ट्र बैंकले आयात गर्न पाउने कोटा १० किलो मात्रै तोकिदिएको छ । जसले गर्दा बजारमा चरम अभाव देखिएको व्यवसायी बताउँछन् । ‘मुलुकभर सुन अभाव छ । उपत्यकासँगै रूपन्देही, चितवन, इटहरीलगायतका व्यवसायी महासंघमा सधैं डेलिगेसन आइरहेका छन्,’ महासंघका अध्यक्ष माणिकरत्न शाक्यले भने, ‘व्यवसायीको माग सुनको कोटा बढाइदिनुपर्‍यो भन्ने नै हो । तर सरकारले सुन्दैन ।’

अभावकै कारण पर्याप्त अर्डरसमेत लिन नसकिएको महासंघको दाबी छ । व्यवसायीका अनुसार कोभिडलगायतका कारण गत वर्ष चहलपहल कम थियो । गहनाको माग कमै थियो । त्यति बेला राष्ट्र बैंकले दैनिक कोटा २५ किलो तोकेको थियो । ‘कोभिडपछि चहलपहल बढ्दो क्रममा छ, सर्वसाधारण धुमाधामसाथ बिहे गर्ने तयारीमा छन्,’ महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘जसले गर्दा सुनको माग बढ्दो छ । विडम्बना, अर्डर लिन नसकेर ग्राहक फर्काउनुपर्ने बाध्यता छ ।’

कतिपय व्यवसायीले भने ग्राहकअनुसार व्यवहार गर्ने गरेका छन् । चिनेकालाई दिन्छन्, नचिनेकालाई छैन भन्छन् । ‘बिहेकै लागि चुरा, सिक्री, औंठी, नेकलेस, तिलहरीसहित १०/१२ तोला चाहिन्छ । तर बजारमा सुन छैन,’ काठमाडौंको न्युरोडस्थित तेजमिन ज्वेलर्सका सञ्चालकसमेत रहेका पूर्वअध्यक्ष शाक्यले भने, ‘रेडिमेड गहनाका लागि पसलमा सर्वसाधारणको भीड देखिए पनि नयाँ गहनाको अर्डर लिन सकेका छैनौं ।’

असोज, कात्तिक र मंसिर सुनचाँदी कारोबारका लागि मुख्य सिजन मानिन्छ । यी तीन महिनामा दसैं, तिहार, छठजस्ता पर्व पर्ने र बिहेको सिजनसमेत सुरु हुने भएकाले गहनाको अर्डर आउने मुख्य सिजन मानिन्छ । तर यही बेला सुन अभाव भएको जेजे ज्वेलर्सका सञ्चालक पवनकुमार सोमानीले बताए । गत वर्षकै हाराहारीमा कोटा निर्धारण भए व्यवसायी, सरकार र उपभोक्तालाई केही राहत मिल्ने उनको भनाइ छ । ‘मागअनुसार कोटा नदिए पनि गत वर्षकै हाराहारीमा कोटा थपिदिए व्यवस्थापन गर्न केही सहज हुन्थ्यो,’ सोमानीले भने, ‘अहिले त डाँमाडोल छ । उपभोक्ताबाट फिर्ता आएको पुराना गहनाबाट मात्रै काम चलाउनुपरेको छ ।’

बजारमा सुन अभाव भएपछि देशभरका सुनचाँदी व्यवसायीले महासंघको ध्यानाकर्षण गराएका छन् । महासंघका प्रतिनिधिले पनि सरकारी निकायका अधिकारीसँग भेटी ज्ञापनपत्र बुझाइरहेका छन् । तर विदेशी विनिमय सञ्चितिमा कमी आएको भन्दै नेपाल राष्ट्र बैंकले सुनको आपूर्ति बढाउन चाहेको छैन । ‘जिल्लाका साथीहरू पकटपटक डेलिगेसन आइरहेका छन् । महासंघका तर्फबाट पनि पहल गरिरहेका छौं,’ महासंघका उपाध्यक्षसमेत रहेका सोमानीले भने, ‘सरकारबाट आश्वासन पाए पनि कोटा बढेको छैन । राष्ट्र बैंकले मुद्रा सञ्चितिको अवस्था देखाउँदै कोटा बढाइदिएको छैन ।’ नेपालमा विशेष गरी दुबई, स्विट्जरल्यान्ड, टर्की, अस्ट्रेलियालगायत मुलुकबाट सुन आयात हुन्छ । वाणिज्य बैंकहरूले मात्र सुन आयात गर्न पाउने व्यवस्था छ । केही वर्षयता सुन आयात र लगानी निरुत्साहित गर्न राष्ट्र बैंकले कार्यविधि बनाएर कोटा प्रणालीमा सुन आयात र वितरणको व्यवस्था गर्दै आएको छ । सिजनका बेला आयात कोटा बढाउने चलन भए पनि यस वर्ष मुद्रा सञ्चिति अवस्था देखाउँदै आयात कोटा बढाइएको छैन । जानकारका अनुसार चाडपर्वका हिसाबले दैनिक ५ किलो कोटा थप्दा ५ लाख डलरभन्दा बढी बिदेसिने देखिन्छ, जसले गर्दा सरकार र राष्ट्र बैंकले कोटा बढाउन चासो नदिएका हुन् ।

पूर्वअध्यक्ष शाक्य भने वाणिज्य बैंकले समयमै सुन नल्याउँदा थप समस्या भएको दाबी गर्छन् । ‘एक त बजारमा सुन अभाव छ । तिहारको एक साता वाणिज्य बैंकले सुन नै आयात गरिदिएनन् । निर्देशन नै ढिला ल्याऊ भनेर पनि हुन सक्छ,’ उनले भने । न्युरोड क्षेत्रमा रेडिमेट गहना किन्न भीड देखिए पनि अर्डरको समस्या भएको उनले बताए । शाक्यको भनाइजस्तै शुक्रबार न्युरोड क्षेत्रका गहना पसलमा भीडभाड नै थियो । सुन पसलेहरू तयारी गहना देखाउनमा व्यस्त देखिन्थे । समृद्धि ज्वेलर्सकी कर्मचारी बबिता बस्नेत पसलमा आएका उपभोक्तालाई तयारी गहना देखाउन व्यस्त थिइन् । सुन बेच्नेभन्दा किन्ने ग्राहक धेरै आइरहेको उनले बताइन् । गहना पसलमै भेटिएकी काभ्रेकी एलिसा सत्याल अर्डर गरेको गहना लिन न्युरोड आएको बताइन् । उनले मंसिरका लागि कात्तिकमै सुनको अर्डर गरेकी थिइन् । ‘लगनमा हतारहतार र भीडभाड पनि उत्तिकै हुन्छ, त्यही भएर कात्तिकमै अर्डर दिएकी थिएँ,’ उनले भनिन् । बाजुराकी कविता रावल पनि अर्डर गरेको सुन लिन न्युरोड आएकी थिइन् । ‘लगन मंसिर दोस्रो साता छ, नयाँ डिजाइन अनुसार सुन बनाउन केही दिन लााग्छ,’ उनले भनिन्, ‘दसैंअगावै अर्डर दिएकी थिएँ । अब गाउँ जाने तयारीमा छु ।’

सुन पसलले बेवास्ता गरेको भन्दै साँखुकी कमला श्रेष्ठ निराश थिइन् । बिहेका लागि तयारी गहना हेर्न न्युरोड आएकी श्रेष्ठले पसलमा गहनासमेत राम्रोसँग नदेखाएको गुनासो गरिन् । जय माता दी गोल्ड प्यालेसकी सुमित्रा बोहराले काँचो सुनबाहेक अन्य गरगहना बनाउन भने सुन रहेको बताइन् । ‘हामी काँचो सुन बेच्दैनौं । अरू गहना अर्डर ५ देखि ७ दिनभित्र तयार गर्छौं,’ उनले भनिन् ।

अभाव भएपछि तस्करीको केही सुन बजारमा देखिएको छ । यस्तो सुन विशेषगरी भारतबाट आउने पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् । गत वर्षको तुलनामा अहिले विदेशी मुद्रा सञ्चिति घट्ने क्रममा कमी आए पनि अपेक्षाकृत सुधार हुन नसकेकाले आयात घटाउन यसअघि गरिएको सुन आयात कोटा घटाउनेलगायत नीतिगत व्यवस्था कायमै राखिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जनाए ।

प्रकाशित : कार्तिक २९, २०७९ ०७:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×