देउवा र दाहाल प्रतिगमनकारी हुन् : अध्यक्ष ओली- समाचार - कान्तिपुर समाचार

देउवा र दाहाल प्रतिगमनकारी हुन् : अध्यक्ष ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिधिनिसभा विघटनको प्रतिरक्षा गरेका छन् । कालिकोटमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सकिन लागेको माओवादीलाई साथ लिएर हिँडे पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावको विषयमा गरेको प्रतिबद्धताअनुसार अघि नबढेका कारण प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन् ।

नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र मा‌ओवादी केन्द्रका अध्यक्ष दाहालको आलोचना गर्दै अध्यक्ष ओलीले दुवै प्रतिगमनकारी भएको बताए । 'प्रतिनिधिसभा सधैँ बाँच्ने होइन । अहिले प्रतिनिधिसभा छ र ? यो समय समयमा चुनाव हुने हो‚' ओलीले भने, 'आफ्नो घरमा आगो लगाएर कांग्रेसको पालीमा बास बस्न प्रचण्ड गएका छन् ।'

उनले आफू सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीमा अल्पमतमा पर्ने जान्दा जान्दै पनि वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउन प्रयास गरेको बताए ।

'जोगीले मुसालाई सिंह बनाएपछि त्यो सिंहले जोगीलाई नै खान खोज्यो । जोगीले फेरि सिंहलाई मुसा नै बनाइदिए,' ओलीले भने, 'सिद्धिन लागेको माओवादीलाई औंलामा लिएर हिँडेको थिएँ ।’

उनले अदालतमा सेटिङ गरेर विकासको काम तीव्र बनाएको आफ्नो सरकारलाई हटाइएको आरोप लगाए ।

प्रकाशित : कार्तिक २७, २०७९ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्

पानी ल्याउने चुनावी आश्वासन मात्रै

राजकुमार कार्की

सिन्धुली — मदन भण्डारी राजमार्गको बलौटेबाट तीन घण्टाको उकालो चढेपछि गुराँसेको पुछार भेटिन्छ । खलखली पसिना छुटाएर उकालो सक्नासाथ आडैमा प्राथमिक विद्यालय छ । गुराँसेसम्म मोटरबाटो छ तर ठाडो उकालो भएकाले वर्षात्मा खोल्दा ट्याक्टरलाई समेत आउजाउ गर्न मुस्किल पर्छ । भर्खरै विद्युत् सेवा पुगेको छ । मिटरबक्स जडान नहुँदा गाउँ अन्धकार नै छ ।

कमलामाई नगरपालिका वडा नं. १ को गुराँसे हायू बस्तीको गाउँमा झुरुम्म घरहरू छन् । घरको दलान जतासुकै बोतलमा पानी भरेर राखिएको छ । लोपोन्मुख हायूहरूलाई सबैभन्दा बढी दु:ख नै पानीको छ । गाउँभन्दा तल झोरामा एउटा कुवा छ । त्यहि कुवाको पानी उनीहरूको प्राण धान्ने अमृत हो । गाउँमा २४ घरधुरी छ । पानीको स्रोत एउटा कुवा मात्र हो ।

बिहान झिसमिसेमा पानी भर्न गाग्री लिएर गयो भने ८–९ बजेयता कोही पनि आइपुग्दैनन्, गुराँसेका आमृत हायूले आफ्नो दु:खको पोको फुकाए । उनले भने, ‘एउटा गाग्री भरिन कम्तीमा २० मिनेट लाग्छ । जतिसुकै हतार भए पनि पालो मिच्न पाइँदैन । पिउने पानी नहुँदा काकाकुल नै भइयो ।’ ठाडो उकालो हिँडेर गाउँ आउने परपाहुनाले पानी पिउन खोज्छन् । यी हायूहरू पानी दिन पनि आनाकानी गर्छन् ।

आफ्नो परिवारलाई टुमटुम पुग्ने गरी मात्र पानी ल्याएको हुन्छ, बाँसको समाग्री बनाउँदै गरेकी कृष्णमाया हायूले बिलौना गरिन्,’ ‘अरुलाई पानी पिउन दिनु भनेको फेरि ४ घण्टाको समय खेर फाल्नु हो । पानीको ज्यादै दु:ख भयो ।’

०५५ सालतिर एउटा गैरसरकारी संस्थाले गाउँको सिरानमा रिजर्भ ट्यांकी बनाएर हायू गाउँलाई पानी व्यवस्था गरिदिएको र गाउँ नजिकैको खोल्साबाट ल्याएको त्यो पानी वर्षात्को ४ महिनाभन्दा अरु समय धारामा हावामात्र आउने गरेको उनीहरूको गुनासो छ । पानी, पानी भनेर माग गरेको तीन दशक बित्दा पनि कतैबाट सुनुवाइ नभएको सुनमान हायूले बताए ।

‘निर्वाचनका बेला मत माग्न आउने र अन्य समयमा पुग्ने जनप्रतिनिधिहरूलाई उनीहरूले पानीको समस्या राखेको राख्यै छन् । आश्वासनबाहेक पानीको व्यवस्था भएको छैन । पानी ओसार्ने समयमा अन्य काम गर्न पाएर हाम्रो पनि आयस्तर सुध्रिन्थ्यो कि भनेर माग गरेका हौं,’ उनले भने, ‘हुन्छ भन्छन् तर कहिल्यै हुँदैन । मत माग्न आउँदा नेताहरूले मोबाइल नम्बर छाडेर जान्छन्, जित भएपछि फोन गर्दा हुन्छ भन्छन्, तर पानीको सुविधा भने भएन,’ उनको कथन थियो । हायू गाउँमा सयको हाराहारीमा मत छ । निर्वाचनको समयमा मत माग्न आक्कलझुक्कल उम्मेदवार पुग्ने गर्छन् । अन्यथा उनीहरूलाई नै राजमार्ग छेउमा बोलाएर कुराकानी गर्छन् । हायू गाउँका ७० वर्षीय मनवीर हायू बारीमा लगाएको वर्षे धान झार्दै थिए । पानीको समस्या ०४८ सालदेखि ०७४ सालसम्मको निर्वाचनमा मत माग्न आउने उम्मेदवारलाई राखेको मनवीरले बताए ।

‘समस्या ज्युँका त्युँ छ, कसैले पानीको व्यवस्था गर्ने चासो नै देखाएनन्,’ उनले भने, ‘हामी घरघरै धारा झारिदिन्छौं भन्छन् । चुनाव सकिएको ५ वर्षसम्म देखा नै पर्दैनन् । निर्वाचनमा मत माग्न त नआउने उम्मेदवार यो उकालो हिँडेर किन आउँथे ।’ वर्षात्को पानी भएपछि पुग्ने बाली कोदोले हायू गाउँ छपक्कै ढाकेको थियो । वर्षे धान र कोदो हुन्छ, पानी नहुँदा यो पाखोबारीमा अरु केही हुँदैन, बेसाएर खाने नै हो, तीनै मनवीरले आफूहरूको अवस्था दर्साए । अति सीमान्तीकृत लोपोन्मुख हायू जातीलाई सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाहेक अरु उनीहरूको हातमुख जोड्ने कुनै उपाय छैन ।

पाखोबारीको उब्जनीले त ३ महिना पनि खान पुग्दैन, त्यहि भत्ताबाट गुजारा टारेका छौं,’ मनवीरले भने, ‘गाउँ वरिपरि बाँसघारी हुँदा मान्द्रा, डोका, डालोलगायतका सामग्री बनेर बिक्री गथ्र्यौं, अहिले त बाँस पनि सकिँदै गयो, बाँसका सामग्री खोज्ने पनि त्यति धेरै छैनन् ।’ गाउँमा त्यति धेरै चुनावी रौनक पनि छैन । युवाहरू राजमार्ग छेउछाउ झरेर प्रचारमा हिँड्छन्, हामी बुढाखाडा र केटाकेटी गाउँमै हुन्छौं,’ उनले भने ।

प्रकाशित : कार्तिक २७, २०७९ १३:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×