१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सिटौलाको अन्तिम ‘इनिङ्स’

अन्तिम पटक उम्मेदवार बनेको सन्देश मतदातामाझ पठाएका सिटौलाले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बन्ने र विकास निर्माणका कामलाई तीव्रता दिने आश्वासन बाँडेका छन्
गठबन्धनको साथमा रहेका सिटौला एमालेका असन्तुष्ट मतदाता तान्ने कसरतमा, युवा मतदाताको रोजाइमा परेका लिङदेन स्थानीय निर्वाचनको परिणामले ढुक्क

झापा — सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलका संयोजकसमेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला झापा–३ मा उम्मेदवार छन् । ०७४ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग पराजित भएका उनी यस पटक पनि लिङदेनसँगै प्रतिस्पर्धा गर्दै छन् । यो क्षेत्रमा सिटौलालाई गठबन्धनको र लिङदेनलाई एमालेको साथ छ । 

सिटौलाको अन्तिम ‘इनिङ्स’

गठबन्धनमा रहेका माओवादी र एकीकृत समाजवादीको मत तथा राप्रपा–एमाले कार्यकर्ताको सुषुप्त द्वन्द्वका कारण परिणाम आफ्नो पक्षमा पार्न सकिने विश्लेषण सिटौलाले गरेका छन् । एमालेका बागी उम्मेदवारले पनि लिङदेनको केही मत काट्ने उनको आकलन छ । यद्यपि स्थानीय निर्वाचनमा वडाध्यक्ष उम्मेदवारले पाएको मतअनुसार लिङदेन अगाडि छन् ।

सिटौलाले आफू अन्तिम पटक उम्मेदवार बनेको सन्देश मतदातामाझ पठाएका छन् । निर्वाचनपछि गठबन्धनको सरकार बन्ने र विकास निर्माणका कामलाई तीव्रता दिने आश्वासन उनले बाँडेका छन् । ०७४ मा लिङदेनले जिते पनि ठूला विकासका काम गर्न नसकेको आरोप छ । प्रदेशसभा ३ (१) मा कांग्रेसका भूमि राजवंशी र ३ (२) मा माओवादीका पूर्णसिंह राजवंशी उम्मेदवार छन् । सिटौलालाई राजवंशी, मुस्लिम, बंगाली र मधेसी समुदायका मतको बढी भर छ ।

राप्रपाको बलियो उपस्थिति

रहेको कचनकवल गाउँपालिकामा स्थानीय निर्वाचनमा कांग्रेसले जितेकाले पनि सिटौला उत्साहित छन् । ‘कृष्णदाइको अवस्था मजबुत छ,’ स्थानीय कांग्रेस कार्यकर्ता प्रवीण घोषले भने । लिङदेनले पनि ०७४ मा भन्दा आफू बलियो भएको बताएका छन् । ‘यस पटक अझ राम्रो भएको छ, कचनकवलमा मत बढी आउँछ, स्थानीय तह निर्वाचनमा त्यहाँ केही त्रुटि भएको छ,’ उनले भने ।

०७४ मा लिङदेनले सिटौलालाई १३ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । उनले ४४ हजार ६ सय १४ मत ल्याउँदा सिटौलाले ३१ हजार १ सय ७१ मत पाएका थिए । लिङदेनलाई तत्कालीन वाम गठबन्धनको सहयोग थियो ।

युवा मतदाताको रोजाइमा रहेका लिङदेन जित दोहोर्‍याउने दाउमा छन् भने सिटौला बदला लिने सुरमा । कांग्रेसबाट जितेका भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोख्रेलका अनुसार यस पटक कांग्रेसले जित्ने दुई आधार छन्– राप्रपासँग तालमेलपछि एमाले कार्यकर्ता पंक्तिमा चुलिएको असन्तुष्टि र भद्रपुर, कचनकवलजस्ता पालिकामा कांग्रेसको नेतृत्व । ०७४ मा भद्रपुर नगरपालिका एमालेले जितेको थियो भने कचनकवल राप्रपाले । स्थानीय निर्वाचनमा भद्रपुरमा सत्ता गठबन्धन र एमाले–राप्रपाबीच प्रतिस्पर्धा भएको थियो । कांग्रेसले मेयर र राप्रपाले उपमेयर जितेका थिए । कचनकवलमा कांग्रेस–एमाले मिलेर राप्रपाका उम्मेदवारलाई पराजित गरेका थिए । कांग्रेसका राजेन्द्रप्रसाद सिंह राजवंशी पालिका प्रमुख छन् । झापा–३ मै पर्ने हल्दिबारीमा राप्रपा र बाह्रदशीमा एमालेले जितेका छन् ।

भद्रपुरका प्रमुख पोख्रेल पहिलाजस्तो लिङदेनका लागि परिस्थिति अनुकूल नरहेको दाबी गर्छन् । ‘यस पटक लिङदेनलाई सहज छैन,’ उनले भने, ‘हाम्रा उम्मेदवारको पल्ला भारी छ ।’

पछिल्लो पाँच वर्ष लिङदेनले संघीय सरकारसँग समन्वय नगरेको र विकासका ठूला आयोजना ल्याउन नसकेको आरोप कांग्रेसले लगाउने गरेको छ । सिटौलाको योजनामा तयार भएको ‘गिरिजाप्रसाद कोइराला सभा हल’ अलपत्र छाडेको, आदिवासीको पक्षमा काम नगरेको, सुकुम्बासी समस्या समाधान गर्न पहल नगरेको, नदी कटान र डुबानमा प्रभावकारी काम नगरेको आरोप लिङदेनमाथि छ ।

एमालेबाट बागी उम्मेदवारी दिएका डम्मरबहादुर गिरी हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष हुन् । हालै भएको स्थानीय निर्वाचनमा उनी राप्रपाका रवीन्द्र लिङदेनसँग पराजित भएका थिए । हल्दिबारीमा गिरीले एमालेको मत तान्ने सम्भावना छ ।

झापा–३ मा बाह्रदशी, हल्दिबारी र कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिकाको १, २, ३, ४, ५, ६, ७ र ८ वडा र बिर्तामोड नगरपालिकाको वडा १० पर्छन् । वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको मतलाई विश्लेषण गर्दा कांग्रेसले २६ हजार ९ सय २१, राप्रपाले २१ हजार १ सय ५९ र एमालेले २० हजार १ सय १३ मत प्राप्त गरेका छन् । माओवादीले ६ हजार ६ सय ८८ र स्वतन्त्रसहित अन्य दलले ३ हजार ३ सय ७३ मत पाएका छन् ।

झापा–२ : कम्युनिस्टबीचमै प्रतिस्पर्धा

झापा–२ मा माओवादीबाट प्रतिनिधिसभा उम्मेदवार रहेका हरि राना एमालेबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बन्न ‘लबिइङ’ मा थिए । निवर्तमान नगरप्रमुखसमेत रहेका उनले टिकटका लागि आफ्ना सबै बल लगाए तर पार्टीले टिकट दिएन । लगत्तै उनले एमाले परित्याग गरेको घोषणा गरे ।

पार्टी परित्यागको मनस्थितिमा रहेका रानाबारे जिल्लास्थित माओवादी नेता–कार्यकर्ताले गोप्य सूचना लिइरहेका थिए । एमालेले टिकट नदिने सूचना प्राप्त गरेपछि माओवादीका जिल्ला र प्रदेशस्तरीय नेताहरू रातारात अर्जुनधारास्थित रानाको घर पुगे र हँसियाहतौडा चिह्नबाट प्रतिनिधिसभा सदस्यमा उठ्न प्रस्ताव राखे । राना पनि सहमत भए । उक्त सहमतिले उम्मेदवार नभेटिरहेको माओवादी र टिकट नपाइरहेका राना दुवैलाई एकमुष्ट राहत मिल्यो ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीका साझा उम्मेदवारका रूपमा राना घरदैलोमा व्यस्त छन् । उनको प्रतिस्पर्धा पूर्वसहकर्मी एमाले स्थायी कमिटी सदस्य देवराज घिमिरेसँग छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र मानिने घिमिरे जिल्लाका पुरानामध्येका एक नेता हुन् तर संसदीय निर्वाचनमा उनी पहिलो पटक प्रतिस्पर्धा गर्दै छन् । पूर्वमन्त्री एवं महान्यायाधिवक्ता अग्नि खरेललाई उछिनेर झापा–२ मा टिकट हत्याउन घिमिरे सफल भएका हुन् । उनी एमालेको संगठनका बलमा चुनाव जित्नेमा विश्वस्त देखिन्छन् ।

संसदीय चुनाव रानाका लागि पनि पहिलो हो । उनी ०४९ र ०५४ मा साविक शनिश्चरे गाविसको अध्यक्ष तथा ०७४ मा अर्जुनधारा नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । दल बदलेर उम्मेदवार भए पनि आफू निर्वाचित हुनेमा विश्वस्त रहेको रानाले बताए । उनले आफ्नो जित्ने मुख्य आधार गठबन्धन भएको बताए । ‘मेरो जित्ने मुख्य आधार भनेको गठबन्धन हो, गठबन्धनको मत एकढिक्का छ,’ उनले भने, ‘म नयाँ अनुहार होइन । स्थानीय स्तरमा तीन कार्यकाल चुनाव जितिसकेको मान्छे हुँ । जनताको काम गरेको अनुभव छ । यो कुरा यहाँका मतदाताले समेत बुझेका छन् ।’

एमाले उम्मेदवार घिमिरेले विगतमा एमाले सरकारले यस क्षेत्रमा धेरै विकास निर्माणका काम गरेकाले आफू निर्वाचित हुनेमा शंका नरहेको बताए । उनले भने, ‘मेरो सारा जीवन जनताकै सेवामा बिताएको छु । पार्टी र जनताको विकास निर्माणमा निरन्तर खटिएको छु । मैले गरेका काम जनताले देखेका छन् । त्यसैले जनताको मत मलाई प्राप्त हुनेमा ढुक्क छु ।’ उनले आफू निर्वाचित भए झापा–२ मा विकास निर्माणका थप योजना ल्याउने दाबी गरे । ‘आमजनतासँग घुलमिल कम रहेकाले घिमिरेलाई चुनाव जित्न राम्रै मिहिनेत गर्नुपर्ने देखिन्छ,’ वरिष्ठ अधिवक्ता लीला उदासीले भने, ‘मनोनयन दर्ताको अघिल्लो दिन मात्र पार्टी परित्याग गरेर उम्मेदवार बनेकाले रानालाई पनि छोटो समयमा गठबन्धनको मत तान्न ठूलै चुनौती छ ।’

यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले गठबन्धनको मत ताने भने एमालेलाई फाइदा पुग्ने देखिन्छ । नेपालले राजनीतिलाई पेसा र व्यवसाय बनाउनेविरुद्ध आफ्नो उम्मेदवारी रहेको बताएका छन् । पार्टीको उम्मेदवार नभएको भन्दै स्वतन्त्रको नजर कांग्रेस मतदातामा छ । ‘तर, गठबन्धनअन्तर्गत कांग्रेस मतदाताले इमानदारिता देखाए भने गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुन्छ,’ कांग्रेसका एक नेताले भने ।

अर्जुनधारा नगरपालिकाका सबै ११ वडा, बिर्तामोड नगरपालिकाका ९, बुद्धशान्ति गाउँपालिकाका ३ र कन्काई नगरपालिकाका २ वडा यो क्षेत्रमा छन् । चार पालिकाका २५ वडामध्ये स्थानीय तह निर्वाचनमा एमाले र कांग्रेसले १२/१२ वटा वडा जितेका छन् । एउटा वडा राप्रपाले जितेको छ । यस क्षेत्रमा कम्युनिस्ट उम्मेदवारले नै जित्दै आएका छन् । यस पटक दुवै कम्युनिस्ट नेताबीच मुख्य प्रतिस्पर्धा छ । यस क्षेत्रमा १ लाख ३४ हजार ९१ मतदाता छन् ।

झापा–४ : प्रतिस्पर्धी पुरानै

मुख्य दलबाट झापा–४ मा अघिल्लो चुनावकै उम्मेदवार मैदानमा छन् । एमालेका एलपी साँवा र कांग्रेसका देउमान थेबेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । ०७४ मा साँवाले थेबेलाई १६ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । तर, यस पटक साँवालाई सहज छैन ।

दुई ठूला नदी कन्काई र बिरिङको कटान र डुबानग्रस्त यो क्षेत्रमा १५ हजारभन्दा बढी नदीपीडितको बसोबास छ । ‘नदी कटान र डुबानबाट बर्सेनि बिघौंबिघा जमिनमा क्षति पुगिरहेको छ, यो समस्या वर्षौं पुरानो हो, अहिलेसम्म कसैले केही गरेनन्,’ स्थानीय खड्ग कार्कीले भने ।

निर्वाचन जितेका नेताले मुख्य सडकसमेत बनाउन नसक्दा स्थानीय बासिन्दा हिउँदमा धुलाम्मे र वर्षात्मा हिलाम्मे सडकबाट आउजाउ गर्न बाध्य रहेको उनको भनाइ छ । यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच भए पनि पुराना कम्युनिस्ट नेता युक्त भेटवाल र खुश्बु ओलीको स्वतन्त्र उम्मेदवारीले मतदाता प्रभावित पार्ने स्थानीयको अनुमान छ । राप्रपाले टिकट नदिएपछि ओलीले प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएकी हुन् ।

साँवाले निर्वाचित जित्ने मुख्य चार आधार रहेको बताए । पहिलो– एमालेको बलियो संगठन रहेको । दोस्रो– ०७४ मा निर्वाचित भएपछि ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम लिएर आफ्नो क्षेत्रका गाउँगाउँ पुगेको । तेस्रो– क्षेत्रमा विभिन्न भौतिक विकासका काम गरेको । चौथो– आफू सामाजिक अभियन्ता भएको । ‘यी चारवटा आधारका कारण मेरो आवश्यकता यो क्षेत्रमा छ र मलाई जनताले खोजेका छन्,’ उनले भने, ‘चुनाव जित्नेमा कुनै शंका छैन ।’

गठबन्धनका उम्मेदवार थेबे पनि आफू सधैं जनतासँगै रहेकाले यस पटक जित्ने दाबी गर्छन् । ‘जित्नु/हार्नु ठूलो कुरा भएन तर म सधैं जनतासँगै छु, जनताले मलाई नजिकबाट चिनेका छन्, मेरो जित्ने आधार नै यही हो,’ उनले भने, ‘मेरो क्षेत्रका जनताले विकासको अनुभूति नै गर्न पाएका छैनन् । मैले चुनाव जितें भने जनतालाई चाहिने विकास गर्नेछु ।’

जिल्लाकै पछाडि परेको यो क्षेत्रमा पाँच पालिकाका २८ वडा छन् । स्थानीय निर्वाचनमा एमालेले १३, कांग्रेसले ११, माओवादीले २ र स्वतन्त्रले २ वडा जितेका छन् । यहाँ १ लाख २३ हजार १ सय २४ मतदाता छन् ।

प्रकाशित : कार्तिक २६, २०७९ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?