चितवनमा सत्ता गठबन्धनले शनिबार चुनावी सभा गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धनले शनिबार चितवनमा चुनावी सभा गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनले आसन्न निर्वाचन लक्षित संयुक्त आमसभा गर्न लागेको हो ।

चितवनमा सत्ता गठबन्धनले शनिबार चुनावी सभा गर्ने

भरतपुरमा हुने सभालाई सम्बोधन गर्न कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरू चितवन शनिबार जाने कार्यक्रम छ ।

चितवनका तीन वटै निर्वाचन क्षेत्रलाई लक्षित गरेर आयोजना हुने सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।

गठबन्धनबाट चितवन–१ मा कांग्रेसका विश्वराज पौडेल चितवन–२ मा कांग्रेसबाटै उमेश श्रेष्ठ र चितवन–३ मा माओवादी केन्द्रबाट भोजराज अधिकारी उम्मेदवार छन् । यहाँ ठूला दलहरूलाई पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चुनौती बनेको छ । लामिछाने आफैं चितवन–२ मा उम्मेदवार बनेका छन् भने त्यसको प्रभाव आसपासमा समेत परेको छ ।

यहाँ नेकपा एमालेबाट क्षेत्र नं. १ मा सुरेन्द्र पाण्डे, क्षेत्र नं. २ मा कृष्णभक्त पोखरेल उम्मेदवार छन् । क्षेत्र नं. ३ मा भने एमालेका उम्मेदवार छैनन् । कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बनेका छन् । राप्रपाका विक्रम पाण्डे पनि यही क्षेत्रबाट उम्मेदवार छन् ।

प्रकाशित : कार्तिक २५, २०७९ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?