२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

देउवालाई ओलीको प्रश्न- चुच्चे नक्सा जारी गर्दा सहमति जनाउने, अहिले चुप लागेर बस्ने ?

अर्जुन राजवंशी

बिर्तामोड — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतप्रतिको नीति स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । उनले प्रधानमन्त्री देउवाको भारतप्रतिको नीति स्पष्ट नभएको भन्दै आपत्ति जनाए । 

देउवालाई ओलीको प्रश्न- चुच्चे नक्सा जारी गर्दा सहमति जनाउने, अहिले चुप लागेर बस्ने ?

झापाको सुरुङ्गामा बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री देउवाप्रति कटाक्ष गर्दै अतिक्रमित नेपाली जमिनबारे भारतसँग माग्न नजाने बताए । अतिक्रमित जमिन भारतसँग वार्तामार्फत फिर्ता ल्याइने उनको भनाइ थियो ।

बुधबार दार्चुलाको चुनावीसभामा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले ‘अतिक्रमित जमिनबारे ओलीले दार्चुलामा नभई भारतसँग कुरा गर्नुपर्ने’ भनि टिप्पणी गरेका थिए । उक्त टिप्पणीप्रति आपत्ति जनाउँदै ओलीले देउवाको स्पष्ट नीति नहुँदा मुलुकका जनताले दु:ख पाएको बताए ।

चुच्चे नक्सा जारी गर्दा हस्ताक्षर गरेर सहमति जनाउने तर अहिले अतिक्रमित जमिनप्रति चुप लागेर बसेको भन्दै ओलीले प्रधानमन्त्री देउवाको नीति के हो ? भनेर प्रश्न गरेका थिए । ‘भारतप्रति तपाईंको नीति के हो ? चुच्चे नक्सा जारी गर्दा हस्ताक्षर गर्ने, हात उठाएर सहमति जनाउने अनि अहिले चुप लागेर बस्ने ?’उनको प्रश्न थियो । देउवाले विदेशीको नभई नेपाली जनताको आशीर्वाद लिनुपर्ने ओलीले बताए ।

विगतमा एकपक्षीय रुपमा भारतले राखेका चेकपोष्टहरु दुई देशबीच वार्तामार्फत हटाएको उदाहरण रहेको उनको भनाइ छ । ‘कुनै राष्ट्रले अर्को राष्ट्रको सहमतिबेगर चेकपोस्ट राख्न पाउँदैन/मिल्दैन । यदि यस्तो राखिएका छन् भने दुई मुलुकका प्रतिनिधि वार्तामार्फत भारतलाई फिर्ता गराउन सकिन्छ,’ उनले भने ।

उनले प्रधानमन्त्री पदबाट खसिन्छ कि भनेर काम नगर्न पनि देउवालाई सुझाव दिए । उनले भने,‘एक दिन खस्नु त छँदैछ । समय पुगेपछि सबै खस्नेछन् । तपाईं प्रधानमन्त्रीबाट खसिन्छ कि भनेर होइन । बाँचुन्जेल देशका लागि राम्रो गर्छु भनेर काम गर्नुहोस् ।’

प्रकाशित : कार्तिक २४, २०७९ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?