डेंगीको जोखिम कायमै

चिकित्सक भन्छन्– ‘जाडो आयो भन्दैमा डेंगी हुँदैन भनेर लापरबाही गर्नु हुँदैन’ 
अतुल मिश्र

काठमाडौँ — जाडो सुरु भए पनि लामखुट्टेले सार्ने डेंगीलगायतका रोगको जोखिम कायमै रहेको चिकित्सकहरूले बताएका छन् । पछिल्लो साता उपत्यकालगायतका ठाउँमा डेंगीका बिरामीको संख्यामा कमी देखिए पनि यसको संक्रमण हुने क्रम रोकिएको छैन । बुधबारसम्म डेंगी संक्रमणले ५७ जनाको ज्यान लिइसकेको छ । 

डेंगीको जोखिम कायमै

पछिल्ला ९ दिनमा काठमाडौंमा २ सय २१, भक्तपुरमा ४२ र ललितपुरमा ३९ गरी उपत्यकामा ३ सय २ जनामा संक्रमण देखिएको छ । सोही अवधिमा मुलुकभर ६७ जिल्लामा १ हजार १ सय ६६ जनामा डेंगीको संक्रमण देखिएको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. चुमनलाल दासले बताए ।

डेंगीबाट १० जिल्ला बढी प्रभावित छन् । यी जिल्लामा मात्रै ८४ प्रतिशत संक्रमित छन् । काठमाडौंमा १३ हजार ७ सय ८७, ललितपुरमा ९ हजार ५ सय २२, भक्तपुरमा ५ हजार ४ सय ८९, मकवानपुरमा ५ हजार ३ सय ४७, चितवनमा २ हजार ६ सय २७, दाङमा २ हजार ३ सय ८८, धादिङमा १ हजार ४ सय ११, रूपन्देहीमा १ हजार १ सय ९५, काभ्रेपलाञ्चोकमा ५ सय ३६ र सुर्खेतमा ४ सय ७७ जनामा संक्रमण देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आईसीयूमा ३ जना डेंगी संक्रमित भर्ना छन् । त्यहाँ दिनहुँ पुग्ने ज्वरोका ५० बिरामीमध्ये बहुसंख्यक डेंगीबाट संक्रमित छन् । ‘जाडो आयो भन्दैमा डेंगी हुँदै हुँदैन भनेर ढुक्क हुनु भएन, लापरबाही गर्नु भएन,’ शुक्रराज अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. बिमल चालिसेले भने । उनका अनुसार घरबाहिर तापक्रम कम भए पनि घरभित्रै वा कुनाकाप्चामा बस्ने लामखुट्टेले अझै डेंगीलगायत संक्रमण गराउन सक्छ । पछिल्ला दिन संक्रमण ओरालो लाग्नुमा तीन प्रमुख कारण रहेको डा. चालिसे बताउँछन् । उनका अनुसार चिसो बढेसँगै लामखुट्टेको सक्रियता कम हुनु, जाडोले गर्दा शरीर ढाक्ने गरी कपडा लगाउनु र जाडोमा बाहिर हिँड्ने क्रम घट्दै जानुले संक्रमणमा कमी आएको हो ।

ईडीसीडीको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहाल अब बिस्तारै डेंगी कम हुनुपर्ने बताउँछन् । ‘पछिल्ला वर्षको तथ्यांक हेर्दा अक्टोबरमा डेंगी संक्रमण उच्चस्तरमा देखिने गरिएको छ । मुलुकमा एन्डेमिक (कुनै खास ठाउँ वा समुदायमा आइरहने प्रकोप) मा रूपमा डेंगी देखा पर्न लागिसकेको छ । यो प्रत्येक वर्ष देखिन्छ, पूर्ण रूपमा हट्यो भन्ने हुँदैन,’ उनले भने ।

ईडीसीडीका अनुसार गत जनवरीयता बुधबारसम्म ७७ वटै जिल्लामा ५१ हजार १ सय ७७ जनामा डेंगी संक्रमण देखिएको छ । जुनमा ९३, जुलाईमा ७ सय २०, अगस्टमा ३ हजार ७ सय ८, सेप्टेम्बरमा २७ हजार ५ सय २९ र अक्टोबरमा १७ हजार ५ सय १७ जनामा डेंगी देखिएको हो । सय जना संक्रमित हुँदा करिब ९० जनालाई एक साताभित्र आफैं निकै हुन्छ भने १० देखि १५ प्रतिशतलाई अस्पताल भर्ना गर्नुपर्ने अध्ययनहरूले देखाएका छन् ।

प्रकाशित : कार्तिक २४, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?