२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

धिपधिप गाउँलेको बिजुली

२०७२ को भूकम्पले क्षतिग्रस्त धेरै लघु ऊर्जा अझै मर्मत नहुँदै राष्ट्रिय प्रसारण विस्तार भइरहँदा करोडौं लगानीका पूर्वाधार उपयोगविहीन
इकान्तिपुर टिम

काठमाडौँ — लोडसेडिङको मारले सहरबजार आक्रान्त भइरहने बेला स्थानीय खोलानदीबाट उत्पादित लघु जलविद्युत् आयोजनाको बिजुलीले पहाडी जिल्लाका दुर्गम गाउँ झलमल्ल हुन्थे । आफू अनुकूलको समयमा घर–घरमा बत्ती बाल्न मात्रै नभई इलेक्ट्रिकल उपकरणको प्रयोग सहज बनाएका आयोजना गाउँलेका लागि  कुटानीपिसानी मिल चलाएर दैनिकी सहज बनाउन सहज थिए ।

धिपधिप गाउँलेको बिजुली

राष्ट्रिय प्रसारणको विद्युतीयकरण हुन धेरै समय लाग्ने आकलन गरिएका धेरै जिल्लामा लघु जलविद्युत् स्थापनामा गाउँलेलाई सरकार, दातृ संस्था, स्थानीय तहले पनि सघाएका थिए । अनुदान, आपसी लगानी, ऋण र जनश्रमदानमा निर्मित करोडौं लागत यस्ता थुप्रै आयोजना पछिल्लो समय अलपत्र छन् ।

यसको कारण कतै राष्ट्रिय प्रसारणलाइन विस्तार भएको हो भने धेरै ठाउँ बाढीपहिरोले क्षति पुर्‍याएर । आयोजनाका पोल, तार, पावरहाउस, कुलो–पाइपलगायत मेसिन उपकरण जस्ता संरचनाको वैकल्पिक प्रयोग पनि नहुँदा करोडौंको लगानी माटोमा मिसिइरहेको छ । ओखलढुंगामा ५० भन्दा बढी लघु जलविद्युत्मध्ये अहिले ३० वटा मात्रै सञ्चालनमा छन् । ५ किलोवाटदेखि १ सय किलोवाटसम्मका यस्ता आयोजनाबाट झन्डै १ मेगावाट बिजुली निकाल्न एक अर्ब हाराहारी खर्च भएको थियो । राष्ट्रिय प्रसारण लाइन जोडिएपछि यो लगानी बालुवामा पानीसरह भइरहेको खिजिदेम्बा–५ का प्रदीप सुनुवार बताउँछन् । ‘उपभोक्ताले लगानी र श्रमदान दुवै गरेका छन्,’ उनले भने, ‘कम्तीमा यी आयोजनाको बिजुली राष्ट्रिय प्रसारणमा जोडेर उपभोक्तालाई लगानीअनुसार प्रतिफल दिइनुपर्छ ।’ विद्युत प्राधिकरणले उल्टै लघु आयोजनाकै पोल, ट्रान्सफर्मर र तार प्रयोग गरेर नाफा लिने गरेको उनले बताए ।

कृषि विकास बैंकमा जग्गा धितो राखेर ऋण लगानीमा निर्मित इलामको सन्दकपुर–४ मा ३ सय ९० उपभोक्ताले प्रयोग गर्दै आएको आयोजनामा केही वर्षमै समस्या आयो । अहिले ८० परिवारले त्यही विद्युत् उपभोग गरिरहे पनि स्थानीयस्तरबाटै मर्मत गर्नुपर्दा समस्या भइरहेको वडाध्यक्ष ढालबहादुर गुरुङले बताए । माइजोगमाई–२ का ७० वटा पेल्ट्रिक सेटमध्ये अहिले सबैजसो बन्द छन् । १० वर्षअघि ओखलढुंगाको खिजिदेम्बा–५ का बासिन्दाले गाउँमा बिजुली बाल्न १ सय १० दिनसम्म श्रमदान गरे । अहिले पनि एक घरले बिजुली जोड्न ३७ हजार तिर्नुपर्छ । अहिले गाउँपालिकाले राष्ट्रिय प्रसारणको लाइन जडान गरिरहेकाले उक्त लगानीबारे अन्योल भएको वडाध्यक्ष रामकुमार सुनुवारले बताए ।

खोटाङमा केन्द्रीय प्रसारण लाइन विस्तार भए पनि जिल्लाका धेरै ठाउँमा लघु जलविद्युत्कै भरमा छ । जन्तेढुंगामा तीन वटा साना आयोजना सञ्चालनमा छन् । देवीस्थानमा ३३, बोपुङमा १९ र डम्बर्ख शिवालयमा १७ किलोवाटको लघु जलविद्युत् सञ्चालनमा छन् । खोटेहाङ–३ साँवाकटहरेमा ४३ किलोवाटको आयोजनाको बिजुली २ सय ७० घरधुरीले उपभोग गरेका छन्, चार वटा मिल पनि चलाइएको स्थानीय श्यामराज राईले बताए ।

खोटेहाङ–१ लिकुवापोखरी, साकेला–३ खिदिमा, दिक्तेल रूपाकोट मझुवागढी–१० पाथेकाका बासिन्दाले पनि लघु जलविद्युत्को बिजुली उपभोग गरिरहेका छन् । जन्तेढुंगा–५ दोभाने खोलाको १० किलोवाटको पावरहाउस पहिरोले पुरिएपछि बन्द रहेको अध्यक्ष देवेन्द्र श्रेष्ठले बताए । २०६४ देखि ०७२ सम्म १ सय ४० परिवारले उपभोग गरिरहेको जन्तेढुंगा–३ काहुलेस्थित छिमावा खोलाबाट करिब ८० लाख खर्चमा उत्पादित १८ किलोवाटको जलविद्युत् कुलोमा पहिरो, पावरहाउसको मोटर बोर्डलगायतका मेसिनरी सामान हराएका कारण बन्द छ । जन्तेढुंगा–३ कै रुम्रुवा खोलामा १९ किलोवाटको आयोजना बन्दले १ सय ८० घर सोलार र टुकीका भरमा छन् । धनकुटाको महालक्ष्मी नगरको मारेककटहरेमा लक्ष्मीखोला लघु जलविद्युत् सहकारीका सदस्यबाट ७१ लाख रुपैयाँ संकलन गरी बनेको ४० किलोवाटको आयोजनाले ३ सय ६० घरमा उज्यालो छ ।

रामेछापको बिजुलीकोटमा २ करोड ५० लाखको लगानीमा ५ सय ३० घरमा उज्यालो पुगेको आयोजना ३ वर्ष नपुग्दै भूकम्पले बन्द गरायो । ‘ऋण तिर्न बाँकी भएकै बेला भुइँचालो आयो । फेरि पैसा जुटाएर योजना चलाउन हिम्मतै आएन,’ बिजुलीकोटका पूर्व गाविस अध्यक्ष कृष्णबहादुर महतले भने, ‘गाउँमा प्राधिकरणको लाइन पुगिसक्यो । हाम्रो आयोजनाका पोल, तार, ट्रान्सफर्मर, इन्सुलेटर, पावरहाउस, टर्बाइनलगायतमा खिया लागिसक्यो ।’ यी सामान लिलाम गरेर लगानी दामासाहीमा बाँड्ने योजना बनाइएको उनले बताए । १ सय ३० परिवारलाई उज्यालो दिएको १६ किलोवाटको तल्लो मिल्ती आयोजनाका सामान पनि अलपत्र छन् । ‘मर्मत गरिरहन नपर्ने, सस्तो बिजुली आएपछि लघु ऊर्जाको टर्बाइनमा पानी खसेको छैन,’ स्थानीय ताराबहादुर मोक्तानले भने । गाउँकै खोला–नदीबाट निकालेको बिजुली बालिरहेका गाउँमा केन्द्रीय प्रसारण पुगेपछि सबै योजनाको हालत यस्तै छ ।

राष्ट्रिय प्रसारण नपुगेको उत्तरी रामेछापको गुप्तेश्वरमा ब्रिटिस वेलफेयरले निर्माण गरेको लघु आयोजना अझै सञ्चालनमा छ । रामेछापमा वैकल्पिक ऊर्जा केन्द्रले बनाएका १३ आयोजनामध्ये एउटै चलेको छैन । आयोजनाका उपकरण असरल्ल छन् । ‘आफ्नै बिजुली बालेर उज्यालो बनाउने रहर अब गाउँमा छैन । खोलामा पानी सुक्दो छ, कुलो र आयोजना मर्मतमा जनशक्ति छैन,’ स्थानीय मानबहादुर सुनुवारले भने, ‘पहिले रहर र बाध्यता दुवै थियो । अब बाध्यता पनि छैन, स्थायी विकल्प भएकाले रहर पनि छैन ।’ २०५१ मा धादिङको त्रिपुरासुन्दरी–३ मूलपानीमा १ किलोवाटको सिउरेनी लघु जलविद्युत् बनाउँदा गाउँले उत्साहित थिए । त्यसैको कुलोले टारी खेतमा सिँचाइसमेत हुने भएपछि स्थानीयले श्रमदानसँगै नगद लगानी गरेका थिए । १७ घरमा बत्ती बाले, गाउँमै कुटानीपिसानी मिल चलाए ।

दशकपछि केन्द्रीय प्रसारणलाइन पुग्दा उक्त आयोजना बन्द भयो । धादिङका विभिन्न गाउँमा बनेका दुई सय बढी लघु आयोजनामध्ये २० प्रतिशत पनि सञ्चालनमा नरहेको ग्रामीण आपसी विकासका संयोजक शेरबहादुर भण्डारीले बताए । धादिङको उत्तरी क्षेत्रका केही आयोजना भने सञ्चालनमा छन् । सिन्धुपाल्चोकका दुर्गम गाउँमा बरदान मानिएका लघु आयोजनामध्ये अधिकांश बन्द छन् । कतै राष्ट्रिय प्रसारणलाइन विस्तार भएको छ भने कतै भूकम्पले क्षति पुर्‍याएपछि मर्मतमा गाउँलेले पैसा हाल्न नसकेर आयोजना बन्द भएका हुन् । जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठका अनुसार अझै पनि लघु ऊर्जाले दुर्गमका बस्ती उज्यालो छन् ।

नुवाकोटको शिवपुरी–४ मा स्याउरेभूमि लघु जलविद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ । स्थानीय सुदर्शन बुढाथोकीले ०५६ सालमा गाउँलेको सहयोग र दुई लाख रुपैयाँ लागतमा बिजुली निकालेर १ सय २० घरलाई उज्यालो बनाए । ०७० मा राष्ट्रिय प्रसारण आएपछि स्थानीयले गाउँको बिजुली बाल्न छाडे । बुढाथोकीले हिम्मत हारेनन् । प्राधिकरणले नीति संशोधन गरेपछि स्याउरेभूमि ०७४ पुस २७ मा राष्ट्रिय प्रसारणलाइनमा जोडिएको हो ।

पर्वत जिल्लाका गाउँहरूमा २०५६ देखि ०६३ सम्म स्थानीयको ५० प्रतिशत श्रमदानबाट १३ लघु जलविद्युत् आयोजना बने । राष्ट्रिय प्रसारण विस्तार भएपछि दुई सय किलोवाट विद्युत् उत्पादन भएर १५ सय घरमा उज्यालो पुगेका सबै लघु आयोजना बन्द छन् । लमजुङमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, कादुरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लगायतको सहयोगमा करोडौं खर्चेर निर्माण गरिएका ३० आयोजनामध्ये प्रायः सबै अलपत्र छन् । गोरखामा ०७२ को भूकम्पले क्षतविक्षत भएका धेरै आयोजना पुनर्निर्माण भएका छैनन् ।

०३३ सालमै काठेखोला साना जलविद्युत् आयोजनामार्फत बिजुली बलेको बागलुङको तमानखोला, निसीखोला र बडिगाड गाउँपालिकामा राष्ट्रिय प्रसारण नपुग्दा अझै लघु जलविद्युत्कै भर छ । ताराखोलामा निर्मित एउटा आयोजनालाई राष्ट्रिय प्रसारणमा जोडेपछि स्थानीयले नियमित बिजुली बाल्न थालेका छन् । ०३३ मा काठेखोलामा २ सय किलोवाट क्षमताको बिजुलीबाट सदरमुकामवासीले पहिलो पटक उज्यालो देख्न पाएको वरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठ बताउँछन् । पश्चिम बागलुङका कतिपय बस्तीमा अझै विद्युत् पुगेको छैन । बागलुङमा करिब डेढ सय आयोजनाबाट झन्डै २ मेगावाट विद्युत् उत्पादन भएको छ । राष्ट्रिय प्रसारण पुगेपछि ती आयोजना ठप्प हुने देखिएको छ ।

‘हामीले सबै साना आयोजना जोडेर राष्ट्रिय प्रसारणमा पठाउने भनेका छौं, तर प्राधिकरणले मिल्दैन भनेको छ,’ बडिगाड गाउँपालिकाका पूर्वअध्यक्ष मेहरसिंह पाइजाले भने, ‘पुराना संरचना ध्वस्त भए जनताको लगानी मात्र होइन दुःख पनि खेर जान्छ ।’ मिनीग्रिडमार्फत केन्द्रीय प्रसारणमा जोड्न सके पुरानो संरचनामा लगानी खेर नजाउने उनको भनाइ छ । बडिगाड, तमानखोला र निसीखोलामा सबैभन्दा धेरै लघुविद्युत् सञ्चालनमा छन् । ‘लघु जलविद्युत्ले बिजुली सबै घरमा पुगेको छ, तर उद्योग व्यवसाय गर्न भने सबै बस्तीमा राष्ट्रिय प्रसारणलाइन पुग्नुपर्छ,’ विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीले भने, ‘साना–साना आयोजना राष्ट्रिय प्रसारणमा जोड्न कठिन हुन्छ ।’ ताराखोला गाउँपालिकाको झन्डै २ मेगावाट विद्युत् भने प्राधिकरणकै पहलमा राष्ट्रिय प्रसारणमा जोडिएको छ ।

गण्डकी प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका अनुसार प्रदेशभर ४ सय १ लघु तथा साना आयोजना छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत ३६९ र कादुरी संस्थाबाट ३२ आयोजना बनेका हुन् । एक्यापले बनाएका कतिपय योजनाको तथ्यांक नभएको मन्त्रालयको ऊर्जा शाखाका इन्जिनियर दामोदर तिवारीले बताए । ‘कति सञ्चालनमा छन्, कति बिग्रिए भन्न सक्दैनौं,’ तिवारीले भने, ‘दुर्गम क्षेत्रमा लघु परियोजना टिकाउ हुने भएकाले अझै माग छ ।’ प्रदेश सरकारले हालसम्म ९० वटा आयोजना मर्मत गरेको जनाएको छ । जसमा ३ हजार २ सय ९५ किलोवाट विद्युत् उत्पादन भएको छ भने १५ हजार ४ सय ४० घरधुरी लाभान्वित भएका छन् ।

पाँच वर्षअघिसम्म लुम्बिनी प्रदेशका ६ पहाडी जिल्लाका दुर्गम गाउँ लघु जलविद्युत् र पेल्ट्रिक सेटबाट झिलिमिली थिए । राष्ट्रिय प्रसारण नपुगेकाले आफ्नै लगानीको बिजुली बल्दा स्थानीय खुसी थिए । तर, पछिल्ला वर्षमा भने केन्द्रीय प्रसारण विस्तारपछि लघु र पेल्ट्रिक सेट क्रमशः बन्द हुने अवस्थामा छन् । १० किलोवाट बढीका रोल्पामा २६ वटा योजना छन् । रुकुम पूर्वमा १५, पाल्पामा १०, प्यूठानमा नौ, गुल्मीमा ६ वटा लघु जलविद्युत् आयोजना छन् । यीमध्ये आठ योजना बन्द भइसकेका छन् । मर्मत सम्भारको समस्या, काठेपोल हटाउन नसक्नु, कुलो र बाँध बाढीले बगाउने मुख्य समस्या हुन् । ‘राष्ट्रिय प्रसारणलाइन विस्तारले पनि साना आयोजना सञ्चालनमा अन्योल छ,’ पाल्पाको माथागढी–७ रहवासस्थित अरुणखोला लघु जलविद्युतका अध्यक्ष छक्कलाल चौहानले भने,‘हामी के गर्ने भन्ने अन्योलमा छौं ।’

पाल्पामा ३६ वटा लघु ऊर्जा र पेल्ट्रिक सेट छन् । गुल्मी, रोल्पा, अर्घाखाँची, रुकुमपूर्व, प्यूठानमा पनि उत्तिकै छन् । लुम्बिनी प्रदेशभित्र १० किलोवाट बढी क्षमताका ६६ लघु जलविद्युत् छन् । त्यसबाहेक सयभन्दा बढी पेल्ट्रिक सेट छन् । केन्द्रीय प्रसारण गाउँमा विस्तार भएपछि केही आयोजना बन्द भएका छन् । गाउँलेले कुखुरा, खसीबोका, नगदे बाली बिक्री गरेर पनि दुर्गममा लघु जलविद्युत् र पेल्ट्रिक सेटमा लगानी गरेका छन् । ‘हाम्रो लघु ऊर्जामा नगद र श्रमदान धेरै लागेका छन्,’ अध्यक्ष विजय लामिछानेले लामिछानेले भने, ‘सरकार र जनताको लगानी भएकाले यसका विषयमा राज्यको स्पष्ट नीति आउनुपर्छ ।’

नेपाल इनर्जी फाउन्डेसनका सचिव दिल्ली घिमिरेले लघु जलविद्युत्को बिजुली केन्द्रीय प्रसारणमा जोडिनुपर्ने बताए । ‘यसले उपभोक्तालाई पनि फाइदा पुग्नेछ,’ उनले भने, ‘लघु जलविद्युत् आयोजना सञ्चालन गर्दा दुःख भए पनि बिस्तारै ऊर्जाको व्यवस्था तथा समूहलाई आर्थिक लाभ हुनेछ ।’ लघु जलविद्युत्मा भएका नीतिगत सवालहरूको सम्बोधन गर्नुपर्ने अवस्था देखिएको लुम्बिनी प्रदेश ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका इन्जिनियर झलकबहादुर थापाले बताए । ‘१० किलोवाटभन्दा माथिका योजनाका लागि मर्मतसम्भार र दिगोपनाका लागि योजना बनाइएको छ,’ उनले भने, ‘केन्द्रीय प्रसारण पुग्न नसकेका दुर्गम बस्तीका पेल्ट्रिक सेटका लागि अपग्रेड गर्ने सोच छ ।’ समुदायमा लघु जलविद्युत् आयोजनालाई प्रवेश विन्दुका रूपमा स्थापनामा सहयोग पुर्‍याए पनि अर्बौं लगानी खेर जान दिनु हुँदैन भन्नेमा प्रदेश सरकार रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले बताए ।

झन्डै डेढ करोड रुपैयाँ लगानीमा निर्मित दैलेखको महाबु–६ स्थित टाकुरीदोभान लघु आयोजना एक वर्षमै बन्द भयो । ‘३६ किलोवाट आयोजना बनेपछि ३ सय ८४ परिवारले बत्ती बाल्न पाएका थियौं,’ स्थानीय चित्रबहादुर थापाले भने, ‘अहिले पावरहाउस, पोल सबै लथालिंग छन्, त्यत्रो रकम खर्चिएको योजनाको लगानी बालुवामा पानी छ ।’ २ सय ५० घरमा उज्यालो पुर्‍याएको भगवतीमाई–३ को माथिल्लो रुमखोला जलविद्युत् पनि ६ वर्षयता बन्द छ । ‘यो मर्मत गर्न ठूलो लगानी चाहिँदैन,’ स्थानीय बुदबहादुर खड्काले भने, ‘सानो उपकरण फेरिदिए पुग्छ, तर १/२ लाख रुपैयाँको लोभमा झन्डै १ करोडको योजनाको लगानी खेर गयो ।’ अहिले यहाँ हुनेखानेले सोलार राखे पनि विपन्नका घरमा टुकी र सल्ले झरोको भर रहेको उनले बताए । दैलेखमा जनथान खोला, कट्टिखोला, टुडाखोला, तुर्सुखोलालगायत झन्डै एक दर्जन विद्युत् आयोजना लामो समयदेखि बन्द छन् ।

कालीकोटमा १२ मध्ये ७ वटा आयोजना सञ्चालनमा छन् । स्थानीय तहमा जनप्रतिनिधि आएपछि गाउँका लघुविद्युत् योजना सञ्चालनभन्दा पनि राष्ट्रिय प्रसारणमा जोड्न बढी चासो देखिएपछि ती योजनामा गरिएको लगानी खेर गएको छ । नरहरिनाथको धाचुखोला, शुभकालिकाको बालीगाड, महाबैको भ्याकुन्नेगाड, पलाताको दुर्सी र दाम्री खोलाको बत्ती मात्र बलेको छ । अन्य ७ ठाउँको लघु ऊर्जा योजना अलपत्र छ । झन्डै ५ करोड लगानी भएको तिलागुफा–१ नाग्मको १ किलोवाटको लघु जलविद्युत् आयोजना बन्द छ । नाग्मका राष्ट्रिय प्रसारण आएपछि लघु ऊर्जाको बेवास्ता भएको स्थानीय मायालाल महताराले बताइन् । तिलागुफा नगरको चिल्खायामा पनि बन्चुगाढ लघु जलविद्युत्मा करिब ५ करोड रुपैयाँ खर्च भए पनि ऊर्जा उत्पादन निरन्तर हुन सकेन । त्यस्तै अवस्था शुभकालिकाको भर्तागाड जलविद्युत्को छ । ‘चुनावको बेला मात्र नेताहरूले स्थानीय खोलाको विद्युत् सुचारु गर्ने वाचा गर्छन्,’ नागरिक समाजका अगुवा जयनन्द अधिकारीले भने, ‘ग्रामीण विद्युतीकरणका लागि सरकारको करोडौं लगानी बालुवामा पानी भएको छ ।’

सल्यानमा पनि ग्रामीण ऊर्जा विकास कार्यक्रमको सहयोगका ४ विद्युत् योजना तहसनहस हुँदा झन्डै २ सय परिवार बिजुलीविहीन छन् । सिद्धकुमाखको रोकाय गाउँ, बाग्चौर–१२ स्थित बाफुखोला, बन्गाडकुपिण्डे–१२ स्थित निगालचुला र छत्रेस्वरी–४ स्थित झिम्पेका लघु जलविद्युत् लामो समयदेखि अलपत्र छन् । ‘गाउँमा अझै पनि सल्लाको झर्रो बाल्नुपर्ने बाध्यता छ,’ बाग्चौरका राजेश पुनले भने, ‘हुनेखानेले मात्र सोलार जोड्न सकेका छन् ।’ मुगुमा १९ वटा लघु जलविद्युत् बन्द हुँदा ५ सय ६ परिवार बिजुलीविहीन छन् । छायानाथरारा नगरको सुम्ली, सालिम, नाके, खत्याडको हयाङलु, श्रीकोट केराइ, सोरुको धैनकोट, कालै, कम्फा, रुम, मुर्मालगायत साना जलविद्युत् बन्द भएका हुन् । सेरी, निगाले, सिमामुगु, गम्थालगायत ८ वटा गाउँमा मात्र माइक्रो हाइड्रो सञ्चालनमा छन् ।

अधिकांश बिग्रिएका आयोजना ३ देखि १३ किलोवाटसम्मका रहेको जिविसका पूर्व कर्मचारी रोशन शाहीले बताए । ‘बत्ती बलेपछि टुकी बाल्न छोडियो, बत्ती गयो, अहिले टुकीमै फर्किएका छौं,’ उनले भने, ‘मोबाइल चार्ज गर्न पनि एक घण्टा हिँड्नुपर्छ ।’ बझाङमा ४० र दार्चुलामा गरिबी निवारण कोषको लगानीमा बनेका ४२ लघु जलविद्युत् आयोजनामध्ये आधाभन्दा बढी बन्द छन् ।

प्रकाशित : कार्तिक २३, २०७९ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?