कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

पार्टी प्यालेस हाउसफुल

मंसिरमा बिहे ब्रतबन्धका लागि अधिकांश पार्टी प्यालेस ‘बुकिङ’
देशभर ७ हजार बढी पार्टी प्यालेस तथा क्याटरिङ
१६ अर्ब रुपैयाँ लगानी, वार्षिक ३ अर्बभन्दा बढीको कारोबार
५० हजारभन्दा बढी रोजगार
विमल खतिवडा

काठमाडौँ — मंसिर महिना सुरु हुन अझै साता दिन बढी छ । तर, उपत्यकाका नाम चलेका र ठूला पार्टी प्यालेसहरू विवाह, व्रतबन्धको लगनका लागि भन्दै अग्रिम बुकिङ भइसकेका छन् । केही बुकिङ हुने क्रममा छन् । त्यस्तै चुनावले गर्दा पनि पार्टी प्यालेसमा चहलपहल बढेको छ ।

पार्टी प्यालेस हाउसफुल

हजुरबाको पालादेखि यो व्यवसाय गर्दै आएका शंखमूल र आम्रपाली ब्यांकेटका सञ्चालक आदित्य शर्मा दुवै मंसिरका लागि बुक भइसकेको सुनाउँछन् । उनका ब्यांकेटहरू शंखमूल र नक्सालमा छ । ‘मंसिरका लागि चार महिना अघिबाटै बुकिङ भएको हो,’ उनले भने, ‘विवाह र व्रतबन्धको लगनका दिनका लागि दुवै अहिल्यै हाउसफुल छन् ।’

कोभिडले गर्दा पार्टी प्यालेसको व्यवसायले पनि निकै मार खेप्यो । समूहमा भेला हुन नहुने, सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क र सेनिटाइजरको अनिवार्यताबीच सार्वजनिक सभा समारोह आयोजना ठप्प हुँदा केही पार्टी प्यालेस त सधंैका लागि बन्द नै भए । ‘कोभिडको समयमा व्यवसाय बन्द गरेर बस्दा निकै गाह्रो भयो,’ शर्माले भने, ‘जति बेला विवाह व्रतबन्धको लगन आउँथ्यो, त्यही–त्यही बेला लकडाउन हुन्थ्यो, अहिले बिस्तारै व्यवसाय चलायमान बन्दै गएको छ ।’ उनका अनुसार कोभिडले गर्दा डेढ वर्ष व्यवसायमा पूरै सुक्खा लाग्यो । ‘गत असारमा पनि केही राम्रो भएको थियो, अहिले मंसिरका लागि अग्रिम बुकिङ भएकाले व्यवसायले आशा जगाउने काम गरेको छ,’ उनले भने, ‘तैपनि व्यवसायमा कोभिडअघिको जस्तो लय अझै आइसकेको छैन ।’

कोभिड महामारीताका व्यवसाय सञ्चालन नै अनिश्चित बनेपछि कर्मचारी कटौती गरिए । केही कर्मचारी आफैं बुझेर बिदा बसे । दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारी बढी हुन्थे । केही कर्मचारी आधा तलबमा पनि बसे । ‘अहिले दुवैतिर गरेर २० जना स्थायी कर्मचारी छन्, वेटर होटल व्यवस्थापन संकाय पढिरहेकाहरू ल्याउने गरिएको छ,’ उनले भने, ‘कोभिडताका छाडेका कर्मचारीलाई पनि अहिले बोलाएर राखेका छौं ।’ कोभिडपछि सुस्ताएको व्यवसाय अहिले तंग्रिँदै गएको उनको भनाइ छ ।

घरआँगन र कार्यालयहरूमा सभा समारोह गर्न ठाउँ पर्याप्त नहुनेलाई पार्टी प्यालेसहरूले विकल्प दिएका छन् । तारे होटलका तुलनामा खर्चको हिसाब किफायत गर्नेहरूलाई विवाह, व्रतबन्ध, सार्वजनिक समारोहका लागि खानपानसहितको सेवा पार्टी प्यालेसले दिन्छन् । धेरै जना भेला हुने, सहज खानपानदेखि सवारी पार्किङ पनि व्यवस्था गर्ने पार्टी प्यालेस एक प्रकारले ठूला वाणिज्य बैंकका सेवा सहकारी संस्थाबाट पाइने जस्तै विकल्प हो । बढ्दो सहरीकरणसँगै फस्टाएको यो व्यवसायमाथि कोरोना महामारीले ठूलो संकट ल्याएको थियो ।

‘मंसिरका लागि हाम्रोमा सामान्य बुकिङ छ, पहिला–पहिला एकै दिन १५ सय जनासम्मलाई पार्टी गरिन्थ्यो, अहिले दुई/चार सयभन्दा हुँदैनन्,’ अनुपम फुडल्यान्डका प्रबन्ध निर्देशक माधव रिजालले भने, ‘मंसिर सिजन हो, त्यो बेला राम्रै होला भन्ने छ ।’ कोभिडअघि मंसिरमा १७ हजारसम्मलाई पार्टी खुवाए पनि कोभिडपछि ८ हजारसम्म मात्र हुने गरेको उनले बताए ।

कोरोना महामारीले भीडभाड हुने भएकाले संक्रमण बढ्न सक्ने त्रास थियो । त्यसले डेढ वर्ष व्यवसाय ठप्पजस्तै बन्यो । २०७८ भदौबाट मात्र पार्टी प्यालेस व्यवसाय पुन: सञ्चालनमा आएका हुन् । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका उपाध्यक्ष कृष्णप्रसाद पाण्डेका अनुसार उपत्यकाका अधिकांश ठूला पार्टी प्यालेस आगामी मंसिरका लागि बुकिङ भइसकेका छन् । ‘कुल संख्याको ५० प्रतिशत पार्टी प्यालेस बिहे र व्रतबन्धको लगनका दिनका लागि प्याक छन्,’ उनले भने, ‘व्यवसाय फेरि चलायमान भएको छ, रोजगारी गुमेकाहरूलाई फेरि रोजगारीको अवसर मिलेको छ ।’

उनका अनुसार उपत्यकामा मात्र ५ सय बढी पार्टी प्यालेस सञ्चालनमा छन् । मंसिरका लागि अग्रिम बुकिङ उपत्यका बाहिरका पार्टी प्यालेसमा पनि भइरहेको छ । महासंघमा देशभर ७ हजारभन्दा बढी पार्टी प्यालेस तथा क्याटरिङ आबद्ध छन् । एउटा पार्टी प्यालेस न्यूनतम लगानी ५० लाखदेखि १२ करोड रुपैयाँभन्दा माथिसम्म छ । जसमा ६० देखि ७० प्रतिशत बैंकको लगानी छ । ९५ प्रतिशत पार्टी प्यालेस जग्गा भाडामा लिएर चलाइएको छ । कोरोना महामारीका कारण कारोबार ठप्प बनेपछि केहीले पार्टी प्यालेस छाडेर अन्य व्यवसाय गर्न थालेका महासंघको भनाइ छ । उपाध्यक्ष पाण्डेका अनुसार कुल संख्याको ७ प्रतिशत व्यवसायीले उक्त अवधिमा पार्टी प्यालेस र क्याटरिङ पेसा छाडेका थिए ।

महासंघका अनुसार देशभर यो व्यवसायमा लगानी मात्रै १६ अर्ब रुपैयाँभन्दा बढी छ । महासंघका अध्यक्ष लीलाबहादुर जीसीका अनुसार शुक्र अस्त भएकाले मंसिर ६ बाट पार्टी प्यालेसमा भीडभाड सुरु हुनेछ । ‘हिजोआज पार्टीमा सहभागी हुनेको संख्या पहिले–पहिलेभन्दा कम हुने भए पनि पार्टी प्यालेसमा सार्वजनिक सभा समारोह र धार्मिक कर्मका कार्यक्रम आयोजना गर्ने फेरि बढे,’ अध्यक्ष जीसीले भने, ‘मंसिरमा अन्य महिनाभन्दा व्यवसाय बढी चल्छ, सबैतिरका पार्टी प्यालेसमा राम्रो चहलपहल छ ।’ कोभिडले गर्दा व्यवसाय सुस्ताए पनि अहिले फेरि पार्टी प्यालेस खोल्नेको प्रतिस्पर्धा रहेको उनले बताए । यो व्यवसाय राम्रोसँग सञ्चालन हुँदा स्वदेशी किसानका फलफूल, तरकारीदेखि माछा, मासु, दूध, दही, घिउलगायतका खाद्यवस्तु खपत हुने भएकाले चक्रीय रूपमा आर्थिक कारोबारलाई सबैसँग जोड्ने उनी बताउँछन् ।

उनका अनुसार यो व्यवसायमा ५० हजारभन्दा बढी प्रत्यक्ष रोजगार छन् । वैशाख, जेठ, असार, मंसिर, माघ, फागुनमा पार्टी प्यालेसको व्यवसाय बढी चल्छ । विवाह, व्रतबन्ध, कार्यक्रम र सभा गोष्ठीका बेला पार्टी प्यालेस खोज्ने धेरै हुन्छन् । यो क्षेत्रबाट वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढी राजस्व उठ्ने गरेको महासंघले जनाएको छ ।

प्रकाशित : कार्तिक २३, २०७९ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?