चुनावी रुझान : चुच्चे नक्सा कि संविधान रक्षा ?- समाचार - कान्तिपुर समाचार

चुनावी रुझान : चुच्चे नक्सा कि संविधान रक्षा ?

मतदातामा बढिरहेको 'तेस्रो मनोविज्ञान' चुनावको दिनसम्म बढ्यो र मतपत्रमा अभिव्यक्त भयो भने सत्ता र एमाले गठबन्धनले अहिले जुन नतिजाको परिकल्पना गरेका छन्, त्यो परिणामको रुपमा प्रकट नहुन सक्छ ।
दुर्गा खनाल

काठमाडौँ — निर्वाचन आयोगले दोस्रो चरणको प्रचार खुला गरेपछि प्रमुख दल र उम्मेदवारहरुले गत बिहीबारबाट चुनावी दौडाहा सुरु गरेका छन् । उम्मेदवारी दर्तापछि आफ्नो क्षेत्रमा सीमित रहेका प्रमुख पार्टीका शीर्ष नेताहरु देशव्यापी प्रचारमा निस्केका छन् । मंसिर १ गतेसम्म चल्ने यो चरण चुनावको निर्णायक प्रचार अवधि हो । जुन अवधिमा दलहरुको चुनाव प्रचारको मुख्य केन्द्रीय मुद्दा 'चुच्चे नक्सा कि संविधानको रक्षा' भन्नेतर्फ मोडिएको छ ।

जसको सुरुवात दार्चुलाबाट केपी शर्मा ओली र डडेलधुराबाट प्रधामन्त्री शेरबहादुर देउवाले आफ्ना चुनावी भाषणमार्फत सुरु गरेका छन् ।

कात्तिक १८ गते एमालेको चुनावी अभियानको सुरुवात अध्यक्ष ‌ओलीले दार्चुलाबाट गरे । झापाका उम्मेदवार ओलीले दार्चुलाबाट देशव्यापी चुनावी प्रचार अभियान थाल्नुको पछाडि भूगोलसँग गाँसिएको 'राष्ट्रवाद' को त्यही अन्तिम चुनावी अस्त्रलाई खोल्नु थियो, जसलाई एमालेले आफ्नो राष्ट्रवादी छवि उजिल्याउने मुख्य आधार मान्दै आएको छ ।

दार्चुलामा ठूलो जनउपस्थितिमा ओलीले गत शुक्रबार भारतसँग वर्षौंदेखिको सीमा विवादको कुरा पनि निकै जोडतोडकासाथ उठाए ।

'नेपालले आफ्नो एक इन्च जमिन पनि कसैलाई छाड्नेवाला छैन । हामी एक इन्च जमिन पनि मिचिन दिनेवाला छैनौं, 'खलंगा बजारमा आयोजित सभामा ओलीले भने, 'मिचिएको भए फिर्ता ल्याउँछ । हामीले नक्सा जारी गरेका छौं, संसद्ले‌ सर्वसम्मतीले पारित गरेको छ । आज फेरि ग्यारेन्टी गर्न चाहन्छौं ।'

'नदी वर सर्दैमा सीमा नसर्ने भन्दै ओलीले भारतलाई सानो चित्त नदेखाउन आग्रह गरेका छन् । ओली प्रधानमन्त्री हुँदा लिम्पियाधुरासहितको भूभाग समेटिएको नक्सा जारी गरेका थिए । जुन कुरा अहिले एमाले चुनावी अभियानको मुख्य नारा बनेको छ । अहिले ओली देश दौडाहामा छन् ।

ओलीको ट्विटर ह्याण्डलबाट सोमबार सार्वजनिक भएको चुच्चे नक्साहितको भिडियो प्रचार सामग्रीमा भनिएको छ, 'हामीले बदल्यौं देशको नक्सा, अब फर्काउनु छ भूमि ! आउनुहोस्- हातमा हात, साथमा साथ मिलाऔं !'

यो प्रचार सामग्री र ओलीको भाषणको मुख्य सन्देश नक्सा हामीले फेर्यौं, अब भूमि नै फिर्ता ल्याउने हो भन्ने छ । जब ओलीले दार्चुलाबाट सिमानाको कुरा उठाए । त्यसको जवाफ सत्ता गठबन्धनका मुख्य नेता रहेका प्रधानमन्त्री देउवाले कात्तिक १९ गते डलेलधुराबाट दिएका छन् । उनले ओलीलाई 'बन्दुक लिएर सीमामा लड्न जान' चुनौती दिए । ओलीले सीमा विवादलाई भोट माग्ने अस्त्र बनाएको भन्दै रुष्ट रहेका देउवाले भने, ‘भाषण गरेर फिर्ता हुने भए काठमाडौंमै भाषण गरे भइहाल्थ्यो नि, ‘यस्तो संवेदनशील विषयलाई भोट माग्ने माध्यम बनाउनु अनुचित हो ।'

देउवाले बन्दुक लिएर सीमानामा लड्न जान चुनौती दिएपछि ओलीले सोमबार कास्की पुगेर त्यसको जवाफ दिएका छन् । ‘दार्चुला गएर जमिन फिर्ता ल्याउने कुरा गरेको थिएँ,’ ओलीले कास्कीमा भने, ‘भोलिपल्टै प्रधानमन्त्री देउवाले बन्दुक लिएर सीमानामा जान भन्नुभएछ । बन्दुकले होइन भारतसँग वार्ता गरेर हामी हाम्रो भूमिको रक्षा गर्छौं ।’ ओलीले देउवाले 'प्रचण्ड'को संगत गर्न थालेपछि बन्दुकको कुरा गर्न लागेको भन्दै कटाक्ष गरेका थिए ।

ओलीले भूगोलसँग जोडिएको राष्ट्रियताको मुद्दा अघि सारेपछि त्यसको प्रतिवादमा सत्ता गठबन्धनका अर्का नेता नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई प्रखर रुप बाहिर आएका छन् ।

एमाले अध्यक्ष ‌ओलीले कात्तिक १८ मा दार्चुलाको सभाबाट सीमा विवादको कुरा झिकेपछि त्यही दिन भट्टराईले ओली लक्षित गर्दै राजा महेन्द्र र जर्मनीका तानाशाह हिटलरको राष्ट्रवादसँग तुलाना गरेर टिप्पणी गरे । 'देशको भौगोलिक अखण्डताको मुद्दा कुनै दल वा व्यक्ति विशेषको नभएर सबै नागरिक र दलको निर्विवाद मुद्दा हो र हुनुपर्छ ! यदि कसैले चुनावी स्वार्थका लागि त्यसलाई उछाल्छ भने बुझ्नुपर्छ दालमा कालो छ ! नेपालमा राजा महेन्द्रले र जर्मनीमा हिटलरले राष्ट्रवादकै खोल ओढेर उत्पात मच्चाएको नबिर्सौं !' भट्टराईले ट्विट गर्दै भनेका छन् ।

दार्चुलाको चुनावी सभा सकेर त्यही दिन कञ्चनपुर झरेका ओलीले संविधान जारी गरेपछि भारतले लगाएको नाकाबन्दीको स्मरण गरेका थिए । जसलाई उनले कास्की पुगेर सोमबार पनि स्मरण मात्र गरेनन् नाकाबन्दीका बेलामा देउवा भारतसामु घुँडा टेकेर चुँइक्क नबोलेको आरोप लगाए । 'घुँडा टेक्दा सुरुवाल मात्र होइन छाला नै फाट्ने गरि टेके' ओलीले देउवालाई भने ।

सोमबार स्याङ्जा र कास्कीका चुनावी सभामा फेरि सीमा विवाद र नाकाबन्दीसम्मको कुरा ‌ओलीले झिकेपछि सत्ता गठबन्धनका नेता भट्टराई चुप बसेनन् । फेरि टिप्पणी गर्दै 'भूराजनीतिक भुमरी' निम्त्याउन खोजेको उल्लेख गरे । 'यो चुनाव अन्तर्यमा अग्रगमन र पश्चगमनबीचको जनमतसंग्रह हो ! एकातिर शान्तिप्रक्रिया र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्ति छन् भने अर्कोतिर द्वन्द्व चर्काउने, संविधान च्यात्ने, भूराजनीतिक भूमरी निम्त्याउने शक्ति छन् । शान्ति र विधिको शासनमा बिनासुशासन र समृद्धि हुन्न । आफ्नो कित्ता रोजौं!' भट्टराईले भनेका छन् ।

एमाले, कांग्रेस र माओवादी केन्द्र तीनवटै दलले आफ्नो चुनावी घोषणापत्रमा सीमा विवादको कुरा उल्लेख गरेका छन् । एमाले र माओवादीले लिम्पियाधुरादेखि कालापानी क्षेत्रमा भारतसँगको सीमा विवादबारे उल्लेख गरेका छन् । यता कांग्रेसले भने चीनसँग पनि सीमा विवाद रहेको कुरा घोषणापत्रमै उल्लेख गरेको छ । तीनवटै दलले चुनावी घोषणापत्रमा सीमा विवाद समाधानलाई कूटनीतिक वार्ता माध्यमबाटै समाधान गर्ने प्रतिबद्धता गरेका छन् ।

घोषणा पत्रमा जुन शैलीमा यो मुद्दाको समाधानको कुरा गरिएको छ त्यो भन्दा चर्को आयतनमा एमालेले चुनावी सभामा यो विषय उठाउने गरेको छ । यता सत्ता गठबन्धनका नेता भने एमाले नेताहरुले अभिव्यक्तिको खण्डनमा बढ्ता जोड दिइरहेको देखिन्छ ।

एमालेले राष्ट्रियताको विषयमा सत्ता गठबन्धनको धरातल कमजोर रहेको देखाउन खोजिरहेको छ । तर सत्ता गठबन्धन भने यो विषयलाई भोट तान्ने एमालेको अस्त्रको रुपमा बुझिरहेको छ । त्यसैले सत्ता गठबन्धनका नेताहरुले 'संविधानको रक्षा' विषयलाई आफ्नो मूल चुनावी अस्त्र बनाएका छन् । जसरी ओली जहाँ पुग्दा पनि सीमाको कुरा गर्छन्, त्यसैगरी सत्ता गठबन्धनका नेता एमालेको विजय भए संविधान नै धरापमा पर्ने भन्दै मतदातालाई अपिल गरिरहेका छन् ।

मंगलबार चुनावी सभाका लागि कर्णाली प्रदेशको जुम्ला पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओलीले 'संविधान च्यातेर धुजाधुजा' पारेको टिप्पणी्मात्र गरेनन् एमाले अब पत्तासाफ हुने ठोकुवासमेत गरे ।

'७० वर्षसम्म लडेर ल्याएको संविधानलाई च्यात्ने दुस्साहस केपी ओलीले गरे । संविधान मिचेर लोकतन्त्रका आधारभूत मूल्यमान्यता भत्काए' दाहालले सत्ता गठबन्धनको औचित्य उल्लेख गर्दै भने, ‘एउटा गठबन्धन ७० वर्ष लडेर प्राप्त गरेको अधिकार रक्षा गर्न चाहने र अर्को संविधान तथा जनताले पाएको अधिकार उल्ट्याउन चाहने गठबन्धन छ ।'

जनताको अधिकारको रक्षा गर्ने कि यसलाई उल्ट्याउने भन्नेका बीचको लडाइँको रुपमा मंसिर ४ को निर्वाचन भएको उनको भनाइ थियो ।सत्ता गठबन्धनले एमालेले चुनाव जिते व्यवस्था नै परिवर्तन गर्ने दिशा जाने समेत आरोप लगाउन गरेका छन् । यसका लागि उनीहरुले राप्रपासँग एमाले गरेको चुनावी तालमेललाई त्यसको प्रारम्भिक प्रस्थानविन्दु भन्दै आएका छन् । राप्रपाले राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेको छ । धर्मनिरपेक्षताको खारेजी पनि उसको मुख्य माग छ । यस्तो शक्तिसँगको चुनावी तालमेल परिणाममुखी भए व्यवस्था नै बदल्ने दिशमा जाने र विगतमा जस्तै संसद्को पनि घाँटी निमोठ्ने सत्ता गठबन्धनका नेताहरुले उल्लेख गर्ने गरेका छन् ।

जसको प्रतिवाद एमालेले विदेशीसामु झुक्ने, राष्ट्रियता कमजोर पार्ने र विकास तथा समृद्धिको अवरोधक शक्ति भन्दै सत्ता गठबन्धनलाई चित्रण गर्दै आएको छ ।

तेस्रो मनोविज्ञान

सत्ता र एमाले गठबन्धन विगतको आफ्ना क्रियाकलापमाथि टेकेर एक अर्कालाई कमजोर सावित गर्ने प्रयासमा लागिरहँदा मतदाताहरुमा तेस्रो मनोविज्ञान विकास भइरहेको देखिन्छ । दुवै गठबन्धनले ‍ विगतमा गरेका गतिविधिलाई नराम्रो देख्ने एउटा पंक्ति छ । जुन पंक्तिलाई नयाँ बनेका पार्टी र स्वतन्त्र भनिने उम्मेदवारहरुले क्यास गर्ने प्रयास गरेका छन् ।

वर्षौंदेखि सत्तामा हालिमुहाली गरिरहेका कांग्रेस, एमाले र माओवादी केन्द्रले अघि सारेका एजेण्डा फगत उनीहरुले सत्तामा आफ्नो पुनरागमनका लागि मात्र हो भन्नेहरु पनी बढेका छन् । त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य स्वतन्त्र उम्मेदवारहरुको प्रचारका क्रममा केही स्थानमा मानिसहरुको बाक्लो उपस्थितिले नयाँ विकास भइरहेको मनोविज्ञानको प्रारम्भिक संकेत दिन्छ । यसपटक ४० वर्षमुनिका मतदाताको संख्या झण्डै ४८ प्रतिशत बढी छ । उम्मेदवार भने ४० वर्ष भन्दा बढीका ६८ प्रतिशत छ ।

विषेशगरी दुई गठबन्धनका उम्मेदवार बनेका व्यक्तिहरु पुराना छन् । त्यसैले युवा उमेर समूहमा रहेका मतदाता र दलीय खिचतानीलाई नजिकबाट नियाल्ने मतदाताहरुमा यो तेस्रो मनोविज्ञान झांगिँदो छ ।

गत स्थानीय तहको चुनावमा काठमाडौं, धरान लगायतका नगरमा जसरी स्वतन्त्र उम्मेदवारले दलका उम्मेदवारहरुलाई पछि पारे त्यसले पनि नयाँ धारप्रति मतदाताको प्रारम्भिक रुझान देखिन्छ । कुनै न कुनै रुपमा सत्ता गठबन्धन र एमालेले जुन मुद्दा उठाएका छन् त्यो फगत सत्ता प्राप्तिको औजारमात्र हो भन्ने बुझाई राख्ने मतदाताहरु बढेको चुनावी रिर्पोटिङहरुमा स्पष्ट झल्किन्छ ।

यदी मतदातामा बढीरहेको तेस्रो मनोविज्ञान चुनावको दिनसम्म बढ्यो र त्यो मतपत्रमा अभिव्यक्त भयो भने अहिले सत्ता र एमाले गठबन्धनले जुन प्रकारको नतिजाको परिकल्पना गरेका छन् त्यो परिणामको रुपमा प्रकट नहुन सक्छ ।

प्रकाशित : कार्तिक २२, २०७९ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्

नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएका ९ सवाल [विस्तृतमा]

१५ बुँदे सन्देशको पहिलो खण्डमा नागरिकताको ऐतिहासिक विकासक्रम र दोस्रो खण्डमा अहिलेको विधेयकमाथि रहेर ध्यानाकर्षण हुनुपर्ने विषय उल्लेख छ
दुर्गा खनाल

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्तासँगै संघीय संसद्मा १५ बुँदे सन्देश पठाएकी छन् । यी सन्देशमा ९ वटा विषयलाई गम्भीरतासाथ उठाइएको छ । सदनले साउन १५ मा  विधेयक प्रमाणीकरणका लागि शीतल निवास पठाएकोमा राष्ट्रपति भण्डारीले आइतबार सदनलाई नै सन्देशसहित फिर्ता पठाएकी हुन् ।

विधेयकमा आवश्यक सुधारका ठाउँहरू समेत औंल्याएर सोहीअनुरूप सार्वभौम संसदमा छलफल एवम् कानुनी सुधार गरी विधेयक पुन: प्रमाणीकरणका लागि पेस गर्न पनि राष्ट्रपतिले आफ्नो सन्देशमा प्रतिनिधिसभालाई आग्रह गरेकी छन् ।

विधेयक प्रमाणीकरणका लागि आएपछि विभिन्न समूहहरुले राष्ट्रपति भण्डारीलाई ध्यानाकर्षण गराएका थिए । विधेयकमा भएका प्रावधानमा केन्द्रित रहेर उनीहरुले दिएका सुझावलाई समेत मध्यनगर गरी राष्ट्रपति भण्डारीले यस्तो सन्देश पठाएकी हुन् । विधेयकबारे सरकारमै संलग्न कतिपय मन्त्री र प्रधानमन्त्रीसँग समेत उनले छलफल गरेकी थिइन् । छलफलका क्रममा सुझाव दिने समूहहरुले विधेयकमा भएका सम्पूर्ण बुँदालाई ध्यान दिन आग्रह गरेका थिए । यही पृष्ठभूमिमा राष्ट्रपतिले प्रतनिसिधिसभालाई पुनर्विचार गर्न आग्रह गरेकी हुन् ।

संविधानको धारा ११३ उपधारा ३ मा राष्ट्रपतिले सन्देशसहित कुनै पनि विधेयक फिर्ता पठाउन सक्ने व्यवस्था छ । विधेयक फिर्ता पठाउनु अघि राष्ट्रपतिले प्रधानमन्त्रीसँग परामर्श गर्नुका साथै विभिन्न दलका नेता एवं विधेयकको पक्ष र विपक्षमा रहेका समूहका कुरा सुनेकी थिइन ।

१‍. नागरिकता कानुन बनाउँदा ऐतिहासिक पक्षहरूको समग्र अध्ययन आवश्यक

राष्ट्रपति भण्डारीले पठाएको सन्देशमा नागरिकता सम्बन्धी कानुनी अभ्यास र परम्पराको छोटकरी विश्लेषण गर्दै यसबारे संसदमा अझ गहिरो गरी छलफल गर्न आग्रह गरिएको छ । २००९ सालमा जारी पहिलो नागरिकता ऐन,पुराना संविधान र तिनमा गरिएका विभिन्न संशोधनमा नागरिकता प्राप्तिको व्यवस्थाबारे भएका परिवर्तन र उतार चढाव, तत्कालीन राजा वीरेन्द्रले रोकेको भनिएको नागरिकता ऐन,बहुदलीय व्यवस्था स्थापना भएपछि गठन भएका नागरिकता समस्या सुझाव आयोगसमेतको चर्चा राष्ट्रपतिको सन्देशमा छ ।

त्यसैगरी, नागरिकता ऐन २०६३ तथा वर्तमान प्रतिनिधि सभामा तीन वर्षअघि पेश भई प्रतिवेदन समेत बनेको विधेयक समेतका पक्षहरूको अध्ययन गरेर मात्र नयाँ कानुन बनेको खण्डमा नागरिकताको विषय विवादित नहुने सुझाव दिंदै राष्ट्रपतिको सन्देशमा भनिएको छ- ‘सार्वभौम जनताका प्रतिनिधिहरू समक्ष नागरिकताबारे हाम्रो उतारचढावयुक्त इतिहासको वस्तुनिष्ठ समीक्षा गर्दै वर्तमानका लागि त्यसबाट उत्सर्जित शिक्षा एवं भविष्यका लागि मार्गदर्शन समेत स्थापित हुनेगरी कानुनको निर्माण गर्ने जनताको अपेक्षा एवं संवैधानिक दायित्व रहेकोतर्फ सम्मानित सदनको यथेष्ट ध्यान आकृष्ट हुनु आवश्यक छ।’

२. नागरिकताका सिद्धान्तहरूमा स्पष्टताको खोजी

नागरिकता प्राप्तिका सम्बन्धमा विगतदेखि नै कायम रहेका सवालहरूलाई सम्बोधन गर्नुपर्ने दायित्व कायम रहेको अवस्थामा नागरिकता सम्बन्धी व्यवस्थालाई कति उदार वा कठोर बनाउने? आमाको नामबाट सन्तानले सम्मानपूर्वक नागरिकता प्राप्त गर्नका लागि अझै कतिन्जेल पर्खिनुपर्ने? सन्तानले नागरिकता प्राप्त गर्ने प्रक्रियामा प्रजननसँग सम्बन्धित आमाको मौलिक हक, गोपनीयता, निजी जीवन, आत्मसम्मान र गरिमालाई कसरी रक्षा गर्ने? योग्य नेपाली नागरिकले नागरिकता प्राप्त गर्न असमर्थ भएकै कारण संविधानप्रदत्त अधिकारको उपयोग र कर्तव्यको पालना गर्नबाट कतिन्जेल बञ्चित हुनुपर्ने? संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नागरिक एकता नै पहिलो र अनिवार्य सर्त भएको हुनाले नागरिकताको माध्यमबाट राष्ट्रिय एकतामा प्राप्त हुने सामर्थ्यलाई मध्यनजर गरी यी प्रश्नहरूमाथि अत्यन्तै गम्भीरतापूर्वक चिन्तन र विमर्श हुन अत्यावश्यक छ भन्ने राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

३. अंगीकृत नागरिकताको विषयलाई स्थायी रूपमा समाधान गरिनुपर्ने

विश्वका विभिन्न मुलुकको व्यवस्था तथा असल अभ्यासको अध्ययन र अवलोकन गरी त्यसलाई नेपाली जनताको सापेक्षतामा, यहाँको सामाजिक यथार्थलाई सम्बोधन हुनेगरी लागू गर्नुपर्ने सुझाव दिँदै अंगीकृत नागरिकताको विषयलाई स्थायीरूपले समाधान गर्नुपर्ने राष्ट्रपतिले उल्लेख गरेकी छन् ।

नेपालको संविधानको भाग २ मा नागरिकता सम्बन्धी व्यवस्था छ । त्यस अनुसार नेपालमा चार प्रकारका अंगीकृत नागरिकता हुने प्रावधान देखिन्छ । पहिलो, नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलाले आफ्नो जन्म देशको नागरिकता त्याग्ने कारवाही चलाएपछि अंगीकृत नागरिकता प्राप्त गर्ने छ । दोस्रो, नेपालको नागरिक आमाबाट जन्म भई नेपालमा नै बसोबास गरेको व्यक्तिले निजको बाबुको ठेगान नभएसम्म प्राप्त गरेको वंशजको नागरिकता बाबु विदेशी देखिएमा अंगीकृतमा परिवर्तन हुने व्यवस्था छ । तेस्रो, नेपाली नागरिक आमा र विदेशी नागरिक बाबुबाट जन्मेको सन्तानले नेपालमा नै बसोवास गरेको र निजले बिदेशी नागरिकता प्राप्त नगरेको भए नेपालको अंगीकृत नागरिकता प्राप्त गर्नेछ।र चौथो, नेपालको संघीय कानुन बमोजिम प्रदान गर्न सकिने अन्य अंगीकृत नागरिकता भनी संविधानको धारा ११ मा व्यवस्था गरिएको छ ।

४. प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमा चासो

नागरिकतालाई समाजमा विभाजन ल्याउने माध्यम बनाइएको दु:ख प्रकट गर्दै राष्ट्रपतिले विवाद कम गर्न र विषयवस्तुमा केन्द्रित हुन संसद्लाई सुझाव दिएकी छन्। २०७५ सालमा प्रस्तुत भएको नागरिकता विधेयक उपर प्रतिनिधि सभामा राज्य व्यवस्था तथा सुशासन समितिले सहमति जुटाएको भनिएको प्रतिवेदनलाई पनि थाती राखी पुनः नयाँ विधेयक दर्ता गराउनुको विश्वसनीय र स्पष्ट कारण सम्मानित संसद्का माध्यमबाट सार्वभौम जनताका सामुन्ने राखिदिएको खण्डमा वर्तमान विधेयकका बारेमा यदाकदा उठेका प्रश्नहरू स्वतः निवारण हुँदै जाने विश्वास गर्न सकिन्छ भन्ने खालको सन्देश राष्ट्रपतिले पठाएकी छन् ।

. मधेसको भावना सम्बोधन

राष्ट्रपतिले नागरिकता विधेयक रोकेको भनेर उठेको विवादलाई सन्देशले सम्बोधन गरेको छ । यस विधेयकले समाधान गर्न खोजेको नागरिकता सम्बन्धी समस्या मधेसको मात्र होइन भन्ने सन्देशमा छ । आमाको नामबाट नागरिकता पाउने र जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउनुपर्ने समस्या देशभरि रहेको भएतापनि मूल रूपले यो समस्या ५३ वटा जिल्लामा रहेको गृह मन्त्रालयको तथ्यांक छ । गृह मन्त्रालयका अनुसार मधेसका ८ वटा जिल्लामा यो ऐन बाट लाभ लिन पाउने जनसंख्या ३५ देखि चालीस हजारको बीचमा मात्र छ भने देशभरी करिब सात लाखले यस ऐनबाट लाभ पाउने आकलन गरिँदै आएको छ ।

अंगीकृत नागरिकताको प्रावधानलाई मधेसीहरूले गम्भीरतापूर्वक हेरिरहेकोतर्फ विचार गर्दै राष्ट्रपतिले यससम्बन्धी विवादलाई स्थायी रुपले समाधान गर्न समेत ध्यानाकर्षण गराएकी छन् । सन्देशमा भनिएको छ- 'हाल अवलम्बन गरिँदै आएको अंगीकृत नागरिकता प्रणाली नै असल अभ्यास हो र हाम्रो अन्तिम यथार्थ हो भने यसका बारेमा सोही अनुरूपको साझा धारणा निर्माण गरी नागरिकताको सन्दर्भमा बारम्बार उठ्ने बहसलाई स्थायी रूपमा समाधान गर्न दृष्टि पुग्नुपर्दछ । यस्तो संवेदनशील मुद्दालाई तत्कालीन राजनीतिमा नाफा-घाटाको विषय बनाउन वा कुनै खास वर्ग वा समुदायका नागरिकको आत्मसम्मानमा ठेस पुग्नेगरी सधैं लम्ब्याइरहनु उपयुक्त हुँदैन ।

६. स्वघोषणाबारे गम्भीर ध्यानाकर्षण

आमाको नामबाट प्राप्त हुने नागरिकतामा बाबु नभएकोबारे आमाको स्वघोषणा प्रस्ताव गरिएकोप्रति राष्ट्रपतिको चासो र चिन्ता व्यक्त छ। स्वघोषणाको प्रावधानले बालबालिकाको मौलिक हक सम्बन्धी संविधानको धारा ३९ र महिलाको प्रजनन एवं मातृत्वको अधिकार सुनिश्चित गर्ने धारा ३८ सँग तादात्म्य राख्न नसकेको उल्लेख गर्दै त्यसलाई सच्याउन आग्रह गरिएको छ । महिलाको प्रजननसम्बन्धी गोपनीयतालाई सन्तान र राज्यका सामु अभिलेखीकरण गरिएको अवस्थामा महिलाको आत्मसम्मान र निजी जीवनको गोपनियता समेत नरहने र आमाले अझै अपमानित हुनुपर्ने अवस्था देखिएको भन्दै यसलाई सच्याएर मात्र ऐन बनाउनुपर्ने राष्ट्रपतिको सुझाव छ।

राष्ट्रपतिले भनेकी छन्- 'मातृत्व र प्रजननका लागि बाबुको अनिवार्यता नहुने पक्षलाई संविधानले नै आमाको मौलिक हक मानिसकेपछि नागरिकताका लागि ऐनद्वारा खोजी गरिने बाबु बारेको स्वघोषणाले एकातिर संविधानसँग तादात्म्य कायम गर्नुपर्दछ भने अर्कोतिर यसले आमाको आत्मसम्मानमाथि के कति न्याय गर्न सक्छ भन्ने प्रश्न झनै गम्भीर र विचारणीय हुन आउँछ । यो प्रश्न संविधानको धारा १६ लाई सँगै राखेर गरिएको खण्डमा अझ प्रासंगिक र स्पष्ट हुन सक्दछ । यस धाराले हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको छ । यसमा कुनै अपवाद लागू हुन नसक्नेतर्फ समेत सम्मानित संसद्को ध्यानाकर्षण हुनु आवश्यक छ ।'

७. प्रादेशिक पहिचानबारे संविधानको व्यवस्था ऐनमा नदेखिएको

संविधानको धारा १० (२) मा प्रादेशिक पहिचान सहितको एकल संघीय नागरिकता हुने व्यवस्था गरिएकोमा विधेयकले यसलाई समेट्न नसकेकोप्रति राष्ट्रपतिले संसदको ध्यानाकर्षण गराएकी छन् ।

८. केपी ओलीद्वारा जारी गरिएको नागरिकता अध्यादेशका सम्बन्धमा

केपी ओलीले जारी गरेको नागरिकता अध्यादेश र अहिलेको विधेयकको विषयमा राष्ट्रपतिले फरक भूमिका निर्वाह गरेको भन्ने टिकाटिप्पणीमाथी पनि राष्ट्रपतिको सन्देशले छुन खोजेको छ । यसबारेमा उनले अध्यादेशबाट कानुन निर्माण हुने प्रक्रिया र विधेयकबाट कानुन निर्माण हुने प्रक्रिया फरक रहेको तथ्यलाई स्मरण गराएकी छन् ।

प्रधानमन्त्रीले सिफारिस गरेको अध्यादेश रोक्ने वा अध्ययन गर्ने अधिकार राष्ट्रपतिलाई हुँदैन किनभने त्यसमाथि संसदले मात्र छलफल गर्न पाउँछ।त्यसैगरी, संसदले बनाएको कानुन अध्ययन गर्ने र आवश्यकताअनुसार सन्देशसहित फिर्ता गर्ने अधिकार संविधानले नै राष्ट्रपतिलाई दिएको भन्ने कुरा स्मरण गराउँदै राष्ट्रपतिले अध्यादेश उपर हुने संसदमा छलफलहरू सम्बोधन अनुकूल हुनुपर्ने आग्रह गरेकी छन् । तत्कालीन केपी ओली सरकारले जारी गरेको नागरिकता अध्यादेशले पनि नागरिकताबारे सबै प्रश्नको जवाफ दिन नसकेको राष्ट्रपतिको भनाई छ।

सन्देशमा भनिएको छ- 'प्रधानमन्त्रीद्वारा विधिवत प्रस्ताव गरिएको अध्यादेशलाई राष्ट्राध्यक्षले पुनरावलोकन वा अध्ययन गर्ने सीमा संविधानको धारा ११४ बाट निर्दिष्ट गरिदिएको हुनाले हुनाले त्यस प्रक्रियाका बारेमा सार्वभौम संसदमा हुने समीक्षा संविधान र लोकतान्त्रिक अभ्यास अनुकूल हुन आवश्यक छ ।' विषयवस्तुका आधारमा नभई प्रक्रियागत कारणहरू औँल्याउँदै सम्मानित सर्वोच्च अदालतबाट उक्त अध्यादेश निस्क्रिय भएको देखिन्छ । विधेयकका रूपमा प्रस्तुत र अध्यादेशका रूपमा जारी ती व्यवस्थाले पनि नागरिकता प्राप्तिका बारेमा उठेका केहि गम्भीर प्रश्नहरूलाई थाती नै राखेका थिए भन्ने राष्ट्रपतिको विश्लेषण छ ।

९. नागरिकता कानुन बनाउन ढिलो गर्नुहुँदैन

नागरिकताको प्रमाण पत्र पाउन नागरिकलाई नागरिकता दिन ढिलाई गर्न नहुने भन्दै राष्ट्रपतिले आफ्नो सन्देशमा तत्काल छलफल गरी पुन प्रमाणीकरणका लागि विधेयक पेश गर्न संसदलाई आग्रह गरेकी छन् ।

'प्रस्तुत विधेयकका सन्दर्भमा आवश्यक पुनर्विचार गरियोस् भन्ने उपर्युक्त सन्देशसहित नेपालको संविधानको धारा ११३ (३) बमोजिम प्रतिनिधि सभामा फिर्ता गरिदिएको छु । नागरिकता सम्बन्धी संघीय कानुन आवश्यक भएको पक्षलाई मनन् गर्दै उल्लिखित विषयउपर सम्मानित सदनमा छलफल गरी प्राप्त भएका निष्कर्षसहित विधेयकमा आवश्यक सुधार गरी पुनः प्रमाणीकरणका लागि पेश हुने अपेक्षा गर्दछुु' राष्ट्रपतिको सन्देशमा छ ।

प्रकाशित : श्रावण २९, २०७९ २१:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×