लक्ष्मीले २४ वर्षपछि भेटिन् बाबु- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लक्ष्मीले २४ वर्षपछि भेटिन् बाबु

छुट्टिने बेलामा सोधिन्, ‘के नेपालमा छोरीले आफ्नो बाबुलाई छुन मिल्छ ? अँगालो हाल्न मिल्छ ?’ नेपाली परम्परामा पनि बाबुछोरीको अंकमाल माया र स्नेह साट्ने माध्यम हो भन्ने जवाफ पाएपछि कसेर अँगालो हालिन् 
जनकराज सापकोटा

काठमाडौं — लक्ष्मी एन्जलले आफूलाई थाम्नै सकिरहेकी थिइनन् । आँखाका डिलभरि आँसु छचल्किरहेको थियो । तर, त्यो खुसीको आँसु थियो । धर्मसन्तान बनेर जर्मनी पुगेको २४ वर्षपछि आफ्नो परिवार खोज्न नेपाल आइपुगेकी उनका बारेमा कान्तिपुरले गत शुक्रबार ‘कहाँ होला लक्ष्मीको घर ?’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

समाचार छापिएपछि प्राप्त सूचना र प्रमाण उनलाई सपना जस्तै लागिरहेका थिए ।

धर्मसन्तान बनाएर लक्ष्मीलाई जर्मनी पठाउने क्रममा तयार पारिएका सरकारी कागजातमा उनका बाबु नारायण ढकालको मृत्यु भएको र आमा बिना ढकाल सम्पर्कविहीन भएको उल्लेख थियो । जिल्ला प्रहरी कार्यालय काठमाडौंले यस्तो विवरणसहित २ वर्षीया लक्ष्मी र उनका ४ वर्षीय दाजु राजकुमारलाई राख्न बालमन्दिर पठाएको थियो ।


बालमन्दिरले ०५६ असोज १४ राष्ट्रिय अखबारमा यही विवरणको सूचना प्रकाशित गरेर उनीहरूको दायित्व स्विकार्न कोही नआएपछि धर्मसन्तानका रूपमा जर्मनी पठाइदिएको थियो । जर्मन दम्पती पिटर माइकल एन्जल र अन्के पेपेनबर्गले यी दाजुबहिनीलाई धर्मसन्तान बनाएर लगे । बालमन्दिरले तयार पारेको कागजातमा लक्ष्मीको गाउँ नुवाकोटको सिल्ले भएको पनि उल्लेख थियो ।

बाबुको मृत्यु भएकाले आमालाई भेट्न सकिन्छ कि भन्ने झिनो आशा लक्ष्मीसँग थियो । जर्मनीमा हुर्किएकी उनलाई आफ्नो अनुहार अन्य साथीहरूको भन्दा किन फरक छ, कपाल किन कालो छ र आफू किन जर्मन बाबुआमाभन्दा फरक छु भन्ने प्रश्नले छटपटी थियो । यही छटपटीको उत्तर खोज्न नेपाल आएकी उनले भनेकी थिइन्, ‘मेरो घर कहाँ हो ? आमा कहाँ छिन् भन्ने उत्तर भेटुँला ?’

बाबु नारायण ढकाल र धर्मबाबु पिटर माइकल एन्जलका साथमा लक्ष्मी एन्जल । तस्बिर : अंगद ढकाल/कान्तिपुर

समाचार प्रकाशित भएपछि लक्ष्मीको परिवारबारे अनेक सूचना प्राप्त भए । जसमा नुवाकोटमा सिल्ले गाउँ नभएको बरु सल्ले अथवा सिम्ले हुन सक्ने सम्भावना देखियो । नुवाकोट सदरमुकाम बिदुरमा कार्यरत सोही गाउँका पत्रकार नवदीप अजनवीले सिम्ले गाउँमा ०५५ सालतिर केही ढकाल परिवारको बसोबास रहेको र लक्ष्मीको कथा यही गाउँसँग जोडिएको हुन सक्ने सूचना दिए ।


यस्तो सूचनालाई पुष्टि हुने केही आधार पनि उनले खोजे । यस्तो सूचनालाई जिल्लास्थित कान्तिपुर संवाददाता कृष्ण थापाले पुष्टि गरे । सोही गाउँका शिक्षक भेषराज लामिछानेलाई नारायण ढकालबारे सूचना भएको विवरण प्राप्त भयो । दुई दशक पहिले नै सिम्लेबाट बसाइँ सरेर हाल काठमाडौंको मातातीर्थनजिकै बसोबास गर्दै आएका लामिछाने र नारायणका आफन्त अर्जुन ढकाल पनि सम्पर्कमा जोडिए ।

सानोमा जर्मन बुबा माइकलका साथ दाजु राजकुमार र लक्ष्मी ।

दुवैले दिएको सूचना थियो, १२ वर्षको उमेर छँदै बाबुको मृत्यु भएपछि गरिबी र अभावसँग जुध्दै हुर्किएका नारायण २० वर्षको उमेरतिर कामको खोजीमा काठमाडौं आएर स्वयम्भूतिर बसेका थिए । ज्यामी र मजदुरी गर्दागर्दै उनको मन बिनासँग साटिएको थियो । मन्दिरमा बिहे गरेर दुःखजिलो जीवन निर्वाह गर्दागर्दै उनका दुई छोरी र एक छोरा भए । अभाव र खटपटका दिनबीच उनी कामको खोजीमा भारततिर पसेका थिए । त्यसपछि उनका बारे भेषराज र अर्जुनसँग प्रस्ट सूचना थिएनन् । तर दुवै जनाको साझा अनुमान थियो, पोखरातिर छन् रे, ठेक्कापट्टाको काम गर्छन् रे ।

सम्बन्धित समाचार

पोखरास्थित कान्तिपुर संवाददाता दीपक परियारले अपुष्ट सूचनाका आधारमा नारायण ढकाल पोखराको महतगौडातिर बस्ने पत्ता लगाए । उनी सम्पर्क सूत्रहरूका आधारमा महतगौडास्थित घरधनीको सम्पर्कमा पुगे । यसरी सरकारी कागजातमा मृत भनिएका नारायण भेटिए । सुरुमा त उनले उनकी छोरीले खोज्दै आएको पत्याएनन् । कान्तिपुरमा प्रकाशित समाचार पढेपछि भने उनले भने, ‘हो, लक्ष्मी मेरै छोरी हो ।’

जर्मन बुबा माइकल एन्जल र आमा अन्के पेपेनबर्गका साथमा लक्ष्मी र राजकुमार ।

कामको खोजीमा भारत पसेका नारायण भनेजस्तो काम नभेटिएर एकाध महिनापछि फर्किएका रहेछन् । तर उनले श्रीमती र तीन छोराछोरी नभेटेका रहेछन् । घरायसी खटपटका कारण श्रीमती कतै बालबच्चा बोकेर गएको हुन सक्ने अड्कल भए पनि नभेटेपछि उनी कामको खोजीमा पोखरातिर हान्निएका रहेछन् । बेलाबेला उनलाई छोराछोरीको झल्को आउँथ्यो तर तिनीहरू कहाँ भन्ने थाहापत्तो थिएन । उनलाई कसैले सुनाइदियो, अलपत्र बालबालिका कहिलेकाहीं बालमन्दिरमा पनि भेटिन्छन् । एक पटक उनी काठमाडौं आएर बालमन्दिर पुगे पनि केही सूचना भेटेनन् ।

दुई वर्षकी लक्ष्मी र ४ वर्षका राजकुमारलाई जर्मन दम्पतीले धर्मसन्तान बनाएर लगे पनि जेठी छोरी कहाँ छिन् भन्नेबारे न नारायणले केही बताउन सके न सरकारी कागजपत्रमै सूचना भेटियो । नारायणले नै ससुराली गोरखातिर रहेको र पन्त थरको रहेकोसम्म सूचना आफूलाई भएको बताए । उनकै सूचनाका आधारमा कान्तिपुरका गोरखा संवाददाता हरिराम उप्रेतीले खोजबिन थाले । उनले नारायणकी श्रीमती छेपेटारकी पन्त हुन सक्ने सूचना सुनाए । धेरै स्थानीयसँग सोधपुछ गरेपछि थाहा भयो, बिनाको माइती छेपेटार रहेछ । नारायण खबरबिनै भारत हान्निएपछि बिनाका दाइ मीनबहादुर पन्तले ठूली भान्जी अर्थात् जेठी छोरीलाई ल्याएर पालेका रहेछन् ।

त्यसो भए जेठी छोरी कहाँ छिन् त ? स्थानीयबाट मामा मीनको दुई वर्षअघि नै मृत्यु भएको सूचना मात्रै मिलेन उनले पालेकी भान्जीको बिहे सिरानचोक गाउँपालिका साडीमुढेमा थापा परिवारमा भएको थाहा पाइयो । स्थानीयसँगको सोधपुछबाट जेठी छोरी तारा भनिने लक्ष्मीको सम्पर्क पत्ता लाग्यो । कान्तिपुरको कुराकानीमा ताराले भनिन्, ‘बा र आमा दुवै बेपत्ता भए । मेरो भाइ र बैनी छन् भन्ने सुनेको हो । तर कहाँ छन् थाहा छैन । मलाई भने मामाले ल्याएर पालेका हुन् ।’ उनले बाबुआमाको पहिचान नखुलेकै कारण आफ्नो नागरिकता पनि नबनेको दुखेसो मात्रै सुनाइनन्, माइती नभएकाले सधैं चाडबाडमा खल्लो हुने गरेको पनि सुनाइन् ।

०००

भारतबाट फर्किएपछि झन्डै ५ वर्ष एकल जीवन बिताएपछि नारायणले दोस्रो बिहे गरेछन् । महतगौडा बस्ने उनी हिजोआज दमौलीतिर ठेक्कापट्टाको काममा व्यस्त रहेछन् । छोरी भेटिएको खबर सुनेपछि काम चटक्कै छाडेर काठमाडौं हान्निए । कान्तिपुरको कार्यालयमा आइपुगेका उनले आफूले सपनामा पनि नचिताएको कुरा भेटेको बताए ।

२६ वर्षपछि उनले जेठी छोरीको बारेमा सूचना पाए । आफूहरूले जेठी छोरीको नाम लक्ष्मी, कान्छीको भगवती र छोराको नाम तिलक राखिदिए पनि धर्मसन्तान बनाएर लैजाँदा नाम फेरिएको कुरा चाल पाए । उनले साढे दुई दशकपछि छोरीसँग फोनमा बोले । गहभरि आँसु पार्दै भने, ‘समयको खेलले के के भयो छोरी । अब म तिमीलाई भेट्न तिम्रो घरै आउँछु ।’ नारायणले ज्वाइँका बारेमा सोधे, घरपरिवारका बारेमा सोधे, सन्तान भएका छन् कि छैनन् सोधे । तारा अर्थात् लक्ष्मीले तीन वर्षका जुम्ल्याहा छोरी भएको बताइन् । नारायणले भने, ‘अब नातिनी भेट्न आउँछु । नागरिकताको पीर नगर । त्यो पनि बनाइदिन्छु ।’

काठमाडौं आएको दोस्रो दिन नारायणले जर्मनी पुगेकी छोरी लक्ष्मीलाई भेटे । लक्ष्मीले सरकारी कागजातमा मरिसकेको भनिएका बाबुलाई आफ्नै आँखा अगाडि भेटिन् । लक्ष्मी र नारायणले एकअर्कालाई धेरैबेरसम्म हेरिरहे । उनीहरू दुवैका गहभरि आँसुले ढलपल थियो । बाबु–छोरीको यो मिलनलाई हेरिरहेका धर्मबाबु माइकलले रसाएका आफ्ना आँखा पुछे र भने, ‘यो सबै दृश्य देखेर मेरो मनमा खेलिरहेका कुरा बताउने कुनै शब्द नै छैन ।’ लक्ष्मीले धेरैबेरसम्म बाबुको अनुहारमा हेरिन् र जर्मन बाबु माइकलतिर फर्केर भनिन्, ‘हेर्नुस् त मेरो र बाबुको नाक कसरी ठ्याक्कै मिल्छ । अनुहार रङ पनि त उस्तै छ ।’

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

लक्ष्मीले आफ्नो परिवार कहाँबाट आएको हो ? बाबु र आमाको जीवनमा भएका घटनाबारे बेलीविस्तारले सोधिन् । लक्ष्मीले जर्मन भाषामा सोधेका जिज्ञासा अनुवादकले नेपालीमा उल्था गरिदिएका थिए । नारायणले बताएका कुरा पनि उनले उसैगरी अनुवादकमार्फत बुझिन् । यही कुराकानीमा थाहा पाइन्, उनकी दिदी पनि छन् । जोसँग बाबु नारायणको २६ वर्षपछि अघिल्लो दिनमात्रै कुराकानी भएको छ । लक्ष्मीले आफ्नो खास नाम भगवती रहेको र यो पनि हिन्दुहरूको भगवान्को एउटा नामबाट राखिएको थाहा पाउँदा मुसुक्क हाँसिन् ।

लक्ष्मीले कान्तिपुरसँग खुसी साट्दै वर्षौंदेखि मनभित्र आफू कहाँ र कस्तो परिवारबाट आएकी हुँ भन्ने प्रश्नको उत्तर भेटेको बताइन् । उनले आफूसँग यस्तो अनौठो खुसी व्यक्त गर्ने शब्द नै नभएको बताइन् । नारायणले जीवनमा पाएको सबैभन्दा ठूलो खुसी यही भएको बताउँदै भने, ‘कम्तीमा छोरी जिउँदै छिन्, उनले असल परिवार पाएकी छन् र उनी खुसी रैछिन् भन्ने थाहा पाएँ । अब छोरासँग पनि भेट होला भन्ने आशा लागेको छ ।’

नारायण र लक्ष्मीले धेरैबेरसम्म एकअर्कालाई हेरे । बाबु छोरीबीच आँखाको भाकाबाट कुरा भइरहेजस्तो देखिन्थ्यो । तर भाषाले उनीहरूको संवादलाई रोकिरहेको थियो । लक्ष्मीले आफ्नी आमाबारे पनि जिज्ञासा राखिन् । तर बिनाबारे कुनै खबर भेटिएन । बिनाको माइतीका बाबुआमा र उनका दाइ पनि बितिसकेकाले उनी कहाँ छिन् वा छैनन् भन्नेबारे कसैले सूचना दिन सकेनन् । जेठी छोरी ताराले पनि आफूले आमाबारे थाहा नपाएको दुई दशकभन्दा धेरै भइसकेको र मामाघरमा पनि कसैलाई थाहा नभएको बताइन् । छेपेटारबाट आएका बिनाका भदै मनोज पन्तले फुपूलाई आफूले वर्षौंदेखि नदेखेको र केही पत्तो नभएको बताए । उनले भने, ‘हामीले केटाकेटी छँदै फुपूबारे सुनेको हो । तर उहाँ कहाँ कस्तो अवस्थामा हुनुहुन्छ थाहा छैन ।’

लक्ष्मीको परिवारबारे भेटिएको समग्र सूचनामा उनकी आमा कहाँ गइन् भन्ने पाइएन । अनि लक्ष्मी र राजकुमारलाई कसले प्रहरीमा पुर्‍यायो ? प्रहरीले किन उनीहरूको परिवारको बारेमा विस्तृतमा नबुझी बाबुको मृत्यु भएको र आमा सम्पर्कमा नरहेको भन्दै बालमन्दिरमा बुझायो भन्ने सूचना पाउन सकिएन । नारायणले लक्ष्मी जहाँ भए पनि खुसी रहेको र असल परिवार पाएको भन्दै माइकललाई धेरै धन्यवाद दिए । उनले भने, ‘मैले जन्म दिए पनि उहाँहरूले असल कर्म दिनुभयो । अब छोरीको खुसी देखेपछि मलाई सबै पुगेजस्तो भयो ।’

छुट्टिने बेला लक्ष्मीले संवाददातालाई सोधिन्, ‘के नेपालमा छोरीले आफ्नो बाबुलाई छुन मिल्छ ? अँगालो हाल्न मिल्छ ?’ नेपाली परम्परामा पनि बाबुछोरीको अंकमाल माया र स्नेह साट्ने माध्यम हो भन्ने थाहा पाएपछि उनले बाबुलाई बलियोसँग अंकमाल गरिन् । अनि छेवैमा रहेको धर्मबाबु माइकललाई तानिन् । दुवै बाबुको हात समातेर भनिन्, ‘हामी तीनै जनाको एउटा फोटो खिच्दिन मिल्छ ?’

प्रकाशित : कार्तिक २२, २०७९ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्

कहाँ होला लक्ष्मीको घर ?

२६ वर्षीया लक्ष्मी भन्छिन् : ‘सानैमा एडप्ट भएर होला मलाई नेपालका बारेमा केही थाहा थिएन, म जहाँ हुर्के/बढें त्यहाँ यस्तो केही हुँदैनथ्यो ।’
जनकराज सापकोटा

काठमाडौँ — बाल मन्दिरले २०५६ असोज १४ मा राष्ट्रिय अखबारमा फोटोसहितको एउटा सूचना प्रकाशित गर्‍यो । जसमा लेखिएको थियो– ‘बेवारिस अवस्थामा फेला परेका ४ वर्षका राजकुमार ढकाल र २ वर्षकी लक्ष्मी ढकाल भन्ने दाजुबहिनीलाई जिल्ला प्रहरी कार्यालय काठमाडौंले बुझाएपछि बाल मन्दिर बालगृहमा आश्रित छन् ।निजका आमाबाबु या कुनै हक लाग्ने कोही नातेदार वा सो थाहा पाउने व्यक्ति, संस्था वा जोकोहीले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सप्रमाण सम्पर्क राख्न आउनुहोला । अन्यथा प्रचलित कानुनबमोजिम धर्मपुत्र/पुत्रीमा जान सक्ने व्यहोरा सूचित गरिन्छ ।’ 

सूचना सार्वजनिक भएको २१ दिन बित्दा कोही पनि बाल मन्दिरको सम्पर्कमा आएनन् । केही सातापछि जर्मन नागरिक पिटर माइकल एन्जल र अन्के पेपेनबर्ग दम्पती नेपाल आइपुगेका थिए । पेसाले वकिल माइकल र गाइनोकोलोजिस्ट अन्के सन्तान नभएपछि धर्मपुत्र/पुत्रीको खोजीमा थिए । नेपाली छोरी ग्रहण गरेका एक जर्मन महिलाले धर्मपुत्र/पुत्री लिन सकिनेबारे सूचना दिएपछि उनीहरू सोध्दैखोज्दै आइपुगेका रहेछन् ।

प्रक्रिया पूरा गरेपछि परराष्ट्र मन्त्रालयले राजकुमार र लक्ष्मीका नाममा २०५६ असोजमा ट्राभल डकुमेन्ट बनाइदियो । सोही कागजातका आधारमा यी दाजुबहिनी जर्मनी पुगे । उतै पढे, बढे र उनीहरूको नेपाली नामका पछाडि ढकाल हटाएर एन्जलसहितको परिचय बनाए ।

बाल मन्दिरबाट प्राप्त कागजात केलाउँदा लक्ष्मी र राजकुमारका बाबुआमा नुवाकोटको सिल्लेबाट काठमाडौंको स्वयम्भू आएर डेरा बसेको देखिन्छ । सरकारी कागजातमा बाबुको नाम नारायण ढकाल र आमाको नाम बिना ढकाल छ । प्रहरी विवरणमा मागी खाने गरेका बाबुको मृत्यु २०५५ मा स्वयम्भूपाटीमा भएको र आमाले छाडेपछि अलपत्र अवस्थाका उनीहरूको उद्धार गरेर बाल मन्दिरमा बुझाएको उल्लेख छ । २०५१ वैशाख १ जन्ममिति भएका राजकुमार र २०५३ वैशाख ५ जन्ममिति उल्लेख भएकी लक्ष्मीलाई बाल मन्दिरका तत्कालीन प्रमुख सावित्री बस्न्यातले २०५५ कात्तिक २९ मा भर्ना गरेकी थिइन् ।

जर्मन बुबा माइकल एन्जल र आमा अन्के पेपेनबर्गका साथमा लक्ष्मी र राजकुमार ।

बाल्यकालमा लक्ष्मीलाई आफू को हुँ, किन अरूभन्दा फरक छु भन्ने खासै चासो थिएन । जब हुर्किंदै गइन्, आफ्नाबारेमा जान्ने उत्सुकता बढ्यो । पाटनको एक रेस्टुरेन्टमा भेटिएकी २६ वर्षीया लक्ष्मीले आफ्नो पहिचान नखुलेको पाटो जान्न मन लागेको बताइन् । बिजनेस साइकोलोजीमा स्नातकोत्तर गरिरहेकी उनलाई २ वर्षयता आफ्नो परिचय, पुस्ता र पृष्ठभूमि खोतल्ने ठूलो इच्छा छ ।

आफ्नो परिचयका पछाडि नेपाल जोडिएको छ भन्ने थाहा पाएपछि उनलाई निकै फरक अनुभूति भएको थियो । ‘मेरो दाइलाई यस्ता कुरामा उति चासो छैन । तर, म भने फरक छु,’ उनले सुनाइन्, ‘मेरो विगत के थियो भनेर खुल्दुलीले सताइरहेको छ ।’ धर्मपुत्र/पुत्री बनाएर नेपालबाट ल्याइएको थाहा पाएपछि आफ्नो ‘रुट’ पत्ता लगाउने चाहना बढ्दै गएको उनले बताइन् ।

सन् २०१४ मा उनी पहिलोपटक नेपाल आएकी थिइन् । त्यो भ्रमणले उनलाई यहाँको संस्कृति परम्पराबारे अझ जान्ने खुल्दुली बढेको थियो । ‘सानैमा एडप्ट भएर होला मलाई नेपालका बारेमा केही थाहा थिएन, म जहाँ हुर्के/बढें त्यहाँ यस्तो केही हुँदैनथ्यो,’ उनले भनिन् । सरकारी कागजातका आधारमा उनले नुवाकोटको सिल्ले गाउँ कहाँ पर्छ भनेर गुगलमा धेरै खोजिन् तर यथेष्ट जानकारी पाइनन् ।

दाजु राजकुमार र आमा अन्के एक साताअघि निर्धारित भ्रमण सकेर जर्मनी फर्किसकेका छन् । उनी भने आफ्नाबारे केही पत्ता लगाउन सकिन्छ कि भनेर यतै छिन् । छोरीसँगै रहेका ८० वर्षीय पिटरले उनको खोजी कसरी पूरा गर्न सकिएला भनेर गहिरो चासो देखाए ।

अपूरो जानकारी

अन्तर्देशीय धर्म सन्तानका नाममा अवैध कारोबार भएको भन्दै सरकारले चार वर्षयता यस्तो व्यवस्था निष्क्रिय पारेको छ । स्वदेशी धर्म सन्तानलाई भने मुलुकी देवानी संहिताले व्यवस्थित गरेको छ । जसअन्तर्गत अदालतमा गएर नेपाली निःसन्तान परिवारले त्यहाँ तोकिएको योग्यता पूरा गरेर धर्म सन्तान ग्रहणको प्रक्रिया अगाडि बढाउन सक्छन् ।

अन्तर्देशीय धर्म सन्तानका रूपमा कति नेपाली कुन–कुन देशमा छन् भन्नेबारे सरकारसँग यकिन विवरण छैन । बाल संगठनको लेखा परीक्षण प्रतिवेदनअनुसार २०६६ फागुनदेखि २०७५ साउनसम्म ४५ बालबालिकालाई धर्म सन्तानका रूपमा विदेश पठाइएको रेकर्ड छ ।

धर्म सन्तानलाई विदेश पठाउने प्रक्रिया अपारदर्शी भएको र त्यसमा बाल संगठनका अधिकारी नै संलग्न रहेका समाचार प्रकाशित भएपछि मन्त्रिपरिषद्को निर्णयअनुसार २०७६ कात्तिक १४ मा पुनरावेदन अदालतका पूर्वन्यायाधीश हरिबाबु भट्टराईको संयोजकत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन भएको थियो । जसले २०७७ जेठमा प्रतिवेदन बुझाए पनि त्यसमाथि टेकेर न थप अनुसन्धान भएको छ, न त उक्त प्रतिवेदन नै सरकारले सार्वजनिक गरेको छ ।

बाल मन्दिर आफैंले प्रक्रिया पुर्‍याएर पठाएको भनिएका धर्म सन्तानसँग सम्बन्धित विवरणहरू पनि दुरुस्त राखेको देखिन्न । जसको मारमा लक्ष्मीजस्तै धर्म सन्तान बनेर विदेश पुगेका तर परिपक्व भएपछि आफ्नो विगत खोज्दै आउनेहरूले यकिन विवरण पाउन सकिरहेका छैनन् ।

प्रकाशित : कार्तिक १८, २०७९ ०७:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×