श्वासप्रश्वासमा समस्या भएपछि सीता दाहाल पुन: अस्पताल भर्ना

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थ्यमा समस्या आएपछि ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको छ । उनको अवस्था जटिल भए पनि हाललाई स्थिर रहेको अस्पताल उच्च स्रोतले जानकारी दिएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि सीता दाहाल पुन: अस्पताल भर्ना

स्रोतका अनुसार शनिबार अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउँदा उनको शरीरमा अक्सिजनको मात्रा निकै कम रहे पनि अहिले अवस्था स्थिर छ । उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा राखेर उपचार सुरु गरिएको बताइएको छ । अस्पताल स्रोतका अनुसार उनको शरीरमा अक्सिजनको मात्रा एक्कासी कम हुने र पुन: सामान्य हुने समस्या देखिएको छ ।

'शरीरमा अक्सिजनको मात्रा एकैनासले सामान्य नरहने समस्या देखिएका कारण हामीले उहाँलाई नन् इन्भेसिभ भेन्टिलेटरमा राखेर श्वासप्रश्वासलाई सहज बनाएका छौं,' स्रोतले भन्यो, 'आजलाई भेन्टिलेटरमा राख्छौं र भोलि अवस्था हेरेर पोर्टेबल मेसिनमा सार्न पनि सकिन्छ ।'

दाहालमा अहिले देखिएको यो समस्या नौलो भने होइन । उनलाई केही समय अघिदेखि नै यस खाले समस्या देखिन थालेको भए पनि पछिल्लो पटक भर्ना हुँदा भने श्वासप्रश्वासमा हुने उतारचढाव बढेको छ । यससँगै उनलाई स्नायू प्रणालीसम्बन्धी निकै दुर्लभ तर गम्भीर दीर्घरोगसमेत छ । उनलाई भारत, सिंगापुरलगायतका देशमा पनि उपचारका लागि लगिएको थियो ।

'तसर्थ उहाँको अवस्था गम्भीर भए पनि हाललाई स्थिर छ,' उनले भने, 'श्वासप्रश्वाससम्बन्धी पुरानो समस्याबाहेक अन्य केही समस्या देखिएको छैन । अन्य भाइटल्स पनि ठीक छ । छाती क्लियर छ । हाम्रो सम्पूर्ण ध्यान उहाँको श्वासप्रश्वासलाई सामान्य राख्न केन्द्रित छ ।'

गत सोमबार मात्रै दाहाललाई डिस्चार्ज गरी घर पठाएको थियो ।

प्रकाशित : कार्तिक २१, २०७९ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?