रतुवा पुल सधैं चुनावी एजेन्डा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रतुवा पुल सधैं चुनावी एजेन्डा

झापा–५ र मोरङ–२ जोड्ने पुल डेढ दशकदेखि बेवारिस, बर्खायाममा स्थानीयलाई सास्ती
पर्वत पाेर्तेल

रतुवामाई, मोरङ — रतुवा खोलापारि झापामा एउटा पार्टीको सर्वोच्च नेतृत्व र वारि मोरङमा अर्को पार्टीमा बिरादरी दाबी गर्ने नेता । यी दुई जिल्लाका दुई नेताको चुनावी रस्साकस्सीबीच हुलाकी राजमार्गमा पर्ने रतुवा खोलाको पुल भने डेढ दशकयता बेवारिस छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र झापा–५ र मोरङ–२ सीमाको यो पुल नबन्दा स्थानीयले दुःख भोग्दै आएका छन् ।

झापाको गौरीगन्ज र मोरङको आमवारीका बीचमा पर्ने यो पुल हरेक ५ वर्षमा उम्मेदवारहरूको चुनावी एजेन्डा बन्ने गरेको छ तर काम पूरा भने भएको छैन ।

पुल बन्न सुरु भएयता एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट लगातार जितिरहेका छन् । मोरङ–२ मा कांग्रेस नेता मिनेन्द्र रिजालले ०७४ को चुनाव जितेका थिए । त्यसअघि एमालेका ऋषिकेश पोखरेल (२०७०) र कांग्रेसका आमोदप्रसाद उपाध्याय (२०६४) सांसद बने । जितेर गएपछि कसैले पनि पुल निर्माण पूरा गर्न पहल नगरेको स्थानीयको आरोप छ । एमाले नेता पोखरेल यसपालि पुनः उम्मेदवार छन् । कांग्रेसले पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला लड्दै आएको यस क्षेत्रमा यसपटक उनकै छोरी सुजातालाई टिकट दिएको छ ।

रतुवाको पुललाई मुद्दा बनाएर स्थानीय तहको निर्वाचन जितेका रतुवामाई नगरपालिकाका प्रमुख नागेश्वरप्रसाद सिंह काम पूरा नहुनुमा ‘राजनीतिक चलखेल’ रहेको बताउछन् । आम निर्वाचनका क्रममा पुल पूरा गर्ने बाचा गर्दै पुल वारिपारिको क्षेत्रमा उम्मेदवारहरूको आउजाउ फेरि बाक्लिएको छ । तर, नेताहरूप्रति स्थानीय विश्वस्त देखिँदैनन् । ‘५ वर्षअघि पनि कांग्रेस नेता मिनेन्द्र रिजालले पुल बनाइदिहाल्छु भनेका थिए,’ स्थानीय कलावती यादवले सुनाइन्, ‘नेताहरू बोल्ने मात्रै रैछन् ।’

दक्षिण झापाको गौरीगञ्ज गाउँपालिका–६ चिल्लारा र मोरङको दक्षिण पूर्वी रतुवामाई नगरपालिका–३ आमबारी जोड्न बन्दाबन्दै छाडिएको पुलको तल्लो भागबाट बाँसको फड्के बनाइएको छ । ‘बर्खाका ६ महिना नदी वारपारका लागि डुंगा चल्छ’, स्थानीय बच्चुलाल सिंहले भने, ‘हिउँदमा बाँसको फड्केबाट तर्छौं ।’

बर्खामा डुंगा चढ्दा होस् या हिउँदमा फड्के तर्दा स्थानीयले कर बुझाउँछन् । सिंहका अनुसार फड्के तरे वापत मोटरसाइकलले एक सय रुपैयाँ, साइकलले ५० रुपैयाँ र व्यक्तिले १० रुपैयाँ तिर्नुपर्छ । पुलमुनी फड्के राख्न ठेक्का लिने विषयमा केही समयअघि वारिपारिका स्थानीय सरकारबीच विवाद नै भयो । अन्ततः यो वर्ष गौरीगन्जका व्यवसायीले फड्के सञ्चालनको ठेक्का पाएका छन् । गौरीगन्ज–६ का धीरजकुमार मान्झीले एमाले अध्यक्ष ओलीले पटकपटक पुलको एजेन्डा बनाएर भोट माग्न आउने र जिते पछि बिर्सिने गरेको आरोप लगाए । स्थानीय सञ्जय राजवंशीले २२ तले भ्यु टावर ठडिन समय नलागे पनि वर्षौंदेखि एउटा पुल पूरा हुन नसक्नुमा नेताहरूले बेवास्ता गरेको आरोप लगाए ।

मोरङको धनपाल ६ का मोहम्मद हुसेनले झापाको गौरीगन्जस्थित ससुराली जाँदा हिउँदमा फड्के र बर्खामा डुंगाबाट रतुवा खोला तर्नुपरिरहेको सुनाए । साइकलबाट बाँसको फड्के तरिरहेका बेला भेटिएका उनले भने, ‘१५ वर्षदेखि पुल अधुरै छ, पुलबाट कहिले हिँड्न पाइएला भन्ने भइसक्यो ।’

मधेसी समुदायको बसोबास रहेकाले राज्यले यस क्षेत्रको पुल निर्माणमा चासो नदिएको स्थानीय बच्चुलाल सिंहको आरोप छ । पुलसँगै आमबारीबाट रतुवा खोलासम्मको करिब दुई किलोमिटर बाटो बन्न सके गाउँकै मुहार फेरिने उनी बताउँछन् । उनका अनुसार अहिले झुर्कियाबाट करिब ७ किलोमिटर घुमेर आमबारी जानुपर्ने बाध्यता छ । यस बाटोमा वर्षायाममा बर्सेनि दुर्घटना हुन्छ । ‘पार्टीसँग हाम्रो सरोकार छैन, पुल र बाटो बनाउनेलाई मात्रै अब जनताले भोट हाल्छन्’, सिंहले भने ।

गंगादेवी सिंह र कलावती यादव खोला छेउछाउ गाई वस्तु चराउन जान्छन् । उनीहरूका अनुसार हिउँदमा त खास समस्या हुन्न । तर, झरी सुरु भएपछि जोखिम बढ्छ । ‘ठूलठूला खाल्डाहरू ताल बन्छन्, तर्नै सकिंदैन’, कलावतीले भनिन् । यहाँका बासिन्दा किनमेल र परिवार भेटघाटमा गौरीगन्ज पनि जान्छन् । पुल नहुँदा यात्रा जोखिमपूर्ण र सकसपूर्ण हुने गरेको छ ।

सडक विभागअन्तर्गतको तत्कालीन मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष ०६४/६५ मा कालिका–ओसीए जेभीलाई १० करोड ३२ लाख ९१ हजारमा ठेक्का दिएको थियो । २ सय ७५ मिटर बनाउनुपर्ने भए पनि २ सय ५ मिटर बनाएर ०७५ मा आयोजनाले ‘फाइनल’ भएको भन्दै हुलाकी सडक आयोजनालाई हस्तान्तरण गरेको थियो । हुलाकी सडक आयोजना इटहरीका इन्जिनियर प्रमोद खतिवडाले रतुवा पुल निर्माण पूरा गर्नका लागि पुनः ठेक्का खोल्नुपर्ने भएकाले डिजाइन, लागतको अनुमानको काम भइरहेको बताए । करिब २० करोड लागतमा पुल निर्माण सकिने उनको अनुमान छ ।

‘प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूको ध्यान खिचेको पुल हो यो,’ खतिवडाले भने, ‘अब चाँडै बन्ने आशा छ ।’ उक्त पुल खोलाको चौडाइभन्दा सानो बन्दा सञ्चालनमा आउन नसकेको हुलाकी सडक आयोजनाले जनाएको छ । आर्थिक वर्ष ०६४/६५ मा काठमाडौंको कालिका–ओसिए जेभीले निर्माण ठेक्का पाएको पुल २०५ मिटर लामो छ । १० करोड ३२ लाख ९१ हजारमा ठेक्का पाएको कम्पनीले सम्झौताअनुसार काम सम्पन्न गरे पनि पुलको लम्बाइ छोटो हुँदा पुललाई बीचमा पारेर खोला बगेको छ । ‘अब ७० मिटर थपिँदै छ,’ खतिवडाले भने, ‘मूल्यांकन प्रक्रिया सुरु भएको छ, चाँडै ठेक्का लाग्नेछ ।’

प्रकाशित : कार्तिक १९, २०७९ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्

दिवा खाजा खाँदा काँकडभिट्टा माविका ३२ जना विद्यार्थी बिरामी

पर्वत पाेर्तेल

काँकडभिट्टा — अखाद्य दिवा खाजा खाएका कारण स्थानीय काँकडभिट्टा माविका ३२ बालबालिकालाई बिहीबार दिउँसो ‘फुड पोइजन’ भएको छ । सरकारले सामुदायिक विद्यालयका शिशुदेखि कक्षा ६ सम्ममा अध्ययनरतलाई प्रति विद्यार्थी १५ रुपैयाँका दरले दिवा खाजा उपलब्ध गराउँदै आएको छ ।

माविकै चमेनागृहमा खाजा खाइसकेपछि विद्यार्थीलाई झाडाबान्ता र पेट दुख्ने समस्या भएको थियो । विद्यार्थी भकाभक बिरामी पर्न थालेपछि विद्यालय प्रशासनले तत्काल उनीहरूलाई उपचारका लागि करिब ३० किलो मिटर टाढाको मेची अञ्चल अस्पताल पुर्‍याएको थियो । उनीहरू सबै खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाए । ‘स्थिति सामान्य छ, घर पठाउँछौं’, ती चिकित्सकले भने ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले खाजाका रूपमा अखाद्य वस्तु दिइएकाले विद्यार्थी अस्वस्थ भएका हुन् । उनले भने, ‘सडेगलेका तरकारी खाजाको रूपमा प्रयोग गरिएको छ, पानीमा पनि फोहोर देखियो ।’ सरकारले विद्यालयलाई दिवा खाजाको मेन्यु नै बनाएर पठाएको छ । तर उक्त मेन्युको बेवास्ता गर्दै जे पायो त्यही ख्वाउँदै आएका छन् । पौष्टिक तत्त्वयुक्त वस्तु मात्रै खाजाको रूपमा बालबालिकालाई दिनुपर्ने भए पनि अधिकांश विद्यालयले अखाद्य वस्तु नै बढी दिइरहेको पाइएको छ ।

चाउचाउ, बिस्कुट, दालमोठलगायतका पत्रु खानाखाजाको रूपमा दिइएको पाइएको छ । ‘यहाँ पनि सरकारी मेन्युअनुसारको खाजा दिइएको पाइएन’, डीएसपी महतोले भने, ‘अखाद्य वस्तु खाएकै कारण विद्यार्थी बिरामी परेको पाइयो ।’ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको एक टोलीले पनि चमेनागृहको अनुगमन गर्नुका साथै विद्यार्थीलाई ख्वाइएको खाजाको नमुना जाँचका लागि लगेको छ ।

चमेना गृहका सञ्चालक विद्यालयकै चौकीदार नारायण विष्टलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ । बिहीबार उनी आफैंले खाजाको रूपमा मटर छोला पकाएका थिए । केही विद्यार्थीले चना–चटपटे पनि खाएका थिए । खाएलगत्तै बालबालिकालाई सन्चो भएन । ‘अरू बेला पनि यस्तै खाजा दिइन्थ्यो, केही हुन्न थियो’, बिष्टले सफाइ दिँदै भने, ‘आज के कारणले बिरामी भए छक्क परेको छु ।’

विद्यालयका एक शिक्षकले बालबालिकाको स्वास्थ्यमाथि खेलबाड गर्ने अधिकार कसैलाई नभएको भन्दै विद्यालय प्रशासनले जिम्मेवारी लिनुपर्ने जनाए । स्थानीय फणीन्द्र घिमिरेले चमेनागृहले नानीबाबुलाई खाजासँगै फोहोर पानी दिएको दाबी गरे । केही दिनदेखि बाल्टीमा भरेर राखेको पानीमा लार्भाहरू पौडिरहेको देखिन्थ्यो । ‘खाजा त अखाद्य थियो नै, पानी पनि पिउनै नमिल्ने थियो’, घिमिरेले भने, ‘क्यान्टिनको चरम लापरबाहीका कारण विद्यार्थी अस्वस्थ भएका हुन् ।’

बालअधिकारकर्मी मणिकुमार लिम्बूले बालबालिकालाई खाजा ख्वाउने कुरामा अधिकांश विद्यालयमा लापर्बाह भएको दाबी गर्छन् । ‘बच्चाबच्चीलाई पौष्टिक खाना ख्वाउँदा उसको मानसिक र शारिरीक विकासमा सघाउ पुग्छ’, उनी भन्छन्, ‘जसले सिकाइ प्रक्रियामा पनि मद्दत पुग्छ ।’ उनका अनुसार बालबालिकाले खाने, पढ्ने र उनीहरूको सिकाइ प्रक्रिया प्रतिअभिभावक एवं शिक्षकहरू खासै संवेदनशील छैनन् । ‘परिणामस्वरूप यस्ता घटनाहरू दोहोरिरहन्छन्,’ लिम्बूले भने ।

प्रकाशित : भाद्र ९, २०७९ १५:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×