कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

'निहारिकाको बच्चा र आरोपी श्रेष्ठको डीएनए मिल्यो'

अजित तिवारी

जनकपुर — महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहको कोखबाट जन्मिएको शिशु र बलात्कार आरोपी शिव श्रेष्ठको डीएनए मिलेको छ । राजपुतले श्रेष्ठले आफूमाथि बलात्कार गरेपछि बच्चाको जन्म भएको दाबी गर्दै श्रेष्ठसँग बच्चाको डीएनए परीक्षणको माग गर्दै लामो समय संघर्ष गरेकी थिइन् । 

'निहारिकाको बच्चा र आरोपी श्रेष्ठको डीएनए मिल्यो'

उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीका अनुसार आरोपित श्रेष्ठ र राजपुतको कोखबाट जन्मेको बच्चाको डीएनए रिपोर्ट म्याच भएको नतिजा अदालतसम्म आइपुगेको छ ।

‘बच्चा र श्रेष्ठको डीएनए मिलेको रिपोर्ट शुक्रबार नै हामीलाई प्राप्त भएको छ,’ रजिष्ट्रार अधिकारीले भने, ‘म्याच गरेको रिपोर्टसहित अब यो मुद्दा फेरि इजलासमा पठाइनेछ ।’ उनका अनुसार कात्तिक २५ गते पेसी तोकिएको छ । त्यो दिन नै यो मामिला इजलासमा जान्छ । ‘तर, निर्वाचनमा धेरैजसो कर्मचारी खटिएकाले चुनावलगत्तै यो मुद्दामा सुनुवाइ हुनेछ ।’

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले आरोपित श्रेष्ठ र निहारिकाको कोखबाट जन्मिएको बच्चाको डीएनए परीक्षण गर्दा ९९.९९९ प्रतिशत डीएनएन मिलेको रिपोर्ट दिएको बताइएको छ । उच्च अदालत जनकपुरले निहारिकाकै मागअनुसार उनको कोखबाट जन्मेको शिशु र आरोपित श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको थियो ।

गत भदौ २४ गते दुवैको डीएनए परीक्षण भएको थियो । निहारिकाले जबर्जस्ती करणीमार्फत बच्चाको जन्म भएको भन्दै जाहेरी दिएकी थिइन् । श्रेष्ठले भने निहारिकाको आरोप निराधार रहेको भन्दै अदालतमा बयान दिएका थिए ।

जिल्ला अदालत धनुषाले जबर्जस्ती करणीको कसुरमा श्रेष्ठलाई सफाइ दिएपछि निहारिका उच्च अदालत पुगेकी थिइन् । उच्च अदालत पुग्न पनि उनले काठमाडौंमा गएर संघर्ष गर्नुपर्‍यो । काठमाडौंमा बालकसहित अनशनमा बसेपछि सरकारसँग भएको वार्तामा आरोपित श्रेष्ठको डीएनए परीक्षण गर्ने सहमति भएको थियो ।

प्रकाशित : कार्तिक १८, २०७९ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?