कहाँ होला लक्ष्मीको घर ?

२६ वर्षीया लक्ष्मी भन्छिन् : ‘सानैमा एडप्ट भएर होला मलाई नेपालका बारेमा केही थाहा थिएन, म जहाँ हुर्के/बढें त्यहाँ यस्तो केही हुँदैनथ्यो ।’
जनकराज सापकोटा

काठमाडौँ — बाल मन्दिरले २०५६ असोज १४ मा राष्ट्रिय अखबारमा फोटोसहितको एउटा सूचना प्रकाशित गर्‍यो । जसमा लेखिएको थियो– ‘बेवारिस अवस्थामा फेला परेका ४ वर्षका राजकुमार ढकाल र २ वर्षकी लक्ष्मी ढकाल भन्ने दाजुबहिनीलाई जिल्ला प्रहरी कार्यालय काठमाडौंले बुझाएपछि बाल मन्दिर बालगृहमा आश्रित छन् ।निजका आमाबाबु या कुनै हक लाग्ने कोही नातेदार वा सो थाहा पाउने व्यक्ति, संस्था वा जोकोहीले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सप्रमाण सम्पर्क राख्न आउनुहोला । अन्यथा प्रचलित कानुनबमोजिम धर्मपुत्र/पुत्रीमा जान सक्ने व्यहोरा सूचित गरिन्छ ।’ 

कहाँ होला लक्ष्मीको घर ?

सूचना सार्वजनिक भएको २१ दिन बित्दा कोही पनि बाल मन्दिरको सम्पर्कमा आएनन् । केही सातापछि जर्मन नागरिक पिटर माइकल एन्जल र अन्के पेपेनबर्ग दम्पती नेपाल आइपुगेका थिए । पेसाले वकिल माइकल र गाइनोकोलोजिस्ट अन्के सन्तान नभएपछि धर्मपुत्र/पुत्रीको खोजीमा थिए । नेपाली छोरी ग्रहण गरेका एक जर्मन महिलाले धर्मपुत्र/पुत्री लिन सकिनेबारे सूचना दिएपछि उनीहरू सोध्दैखोज्दै आइपुगेका रहेछन् ।

प्रक्रिया पूरा गरेपछि परराष्ट्र मन्त्रालयले राजकुमार र लक्ष्मीका नाममा २०५६ असोजमा ट्राभल डकुमेन्ट बनाइदियो । सोही कागजातका आधारमा यी दाजुबहिनी जर्मनी पुगे । उतै पढे, बढे र उनीहरूको नेपाली नामका पछाडि ढकाल हटाएर एन्जलसहितको परिचय बनाए ।

बाल मन्दिरबाट प्राप्त कागजात केलाउँदा लक्ष्मी र राजकुमारका बाबुआमा नुवाकोटको सिल्लेबाट काठमाडौंको स्वयम्भू आएर डेरा बसेको देखिन्छ । सरकारी कागजातमा बाबुको नाम नारायण ढकाल र आमाको नाम बिना ढकाल छ । प्रहरी विवरणमा मागी खाने गरेका बाबुको मृत्यु २०५५ मा स्वयम्भूपाटीमा भएको र आमाले छाडेपछि अलपत्र अवस्थाका उनीहरूको उद्धार गरेर बाल मन्दिरमा बुझाएको उल्लेख छ । २०५१ वैशाख १ जन्ममिति भएका राजकुमार र २०५३ वैशाख ५ जन्ममिति उल्लेख भएकी लक्ष्मीलाई बाल मन्दिरका तत्कालीन प्रमुख सावित्री बस्न्यातले २०५५ कात्तिक २९ मा भर्ना गरेकी थिइन् ।

जर्मन बुबा माइकल एन्जल र आमा अन्के पेपेनबर्गका साथमा लक्ष्मी र राजकुमार ।

बाल्यकालमा लक्ष्मीलाई आफू को हुँ, किन अरूभन्दा फरक छु भन्ने खासै चासो थिएन । जब हुर्किंदै गइन्, आफ्नाबारेमा जान्ने उत्सुकता बढ्यो । पाटनको एक रेस्टुरेन्टमा भेटिएकी २६ वर्षीया लक्ष्मीले आफ्नो पहिचान नखुलेको पाटो जान्न मन लागेको बताइन् । बिजनेस साइकोलोजीमा स्नातकोत्तर गरिरहेकी उनलाई २ वर्षयता आफ्नो परिचय, पुस्ता र पृष्ठभूमि खोतल्ने ठूलो इच्छा छ ।

आफ्नो परिचयका पछाडि नेपाल जोडिएको छ भन्ने थाहा पाएपछि उनलाई निकै फरक अनुभूति भएको थियो । ‘मेरो दाइलाई यस्ता कुरामा उति चासो छैन । तर, म भने फरक छु,’ उनले सुनाइन्, ‘मेरो विगत के थियो भनेर खुल्दुलीले सताइरहेको छ ।’ धर्मपुत्र/पुत्री बनाएर नेपालबाट ल्याइएको थाहा पाएपछि आफ्नो ‘रुट’ पत्ता लगाउने चाहना बढ्दै गएको उनले बताइन् ।

सन् २०१४ मा उनी पहिलोपटक नेपाल आएकी थिइन् । त्यो भ्रमणले उनलाई यहाँको संस्कृति परम्पराबारे अझ जान्ने खुल्दुली बढेको थियो । ‘सानैमा एडप्ट भएर होला मलाई नेपालका बारेमा केही थाहा थिएन, म जहाँ हुर्के/बढें त्यहाँ यस्तो केही हुँदैनथ्यो,’ उनले भनिन् । सरकारी कागजातका आधारमा उनले नुवाकोटको सिल्ले गाउँ कहाँ पर्छ भनेर गुगलमा धेरै खोजिन् तर यथेष्ट जानकारी पाइनन् ।

दाजु राजकुमार र आमा अन्के एक साताअघि निर्धारित भ्रमण सकेर जर्मनी फर्किसकेका छन् । उनी भने आफ्नाबारे केही पत्ता लगाउन सकिन्छ कि भनेर यतै छिन् । छोरीसँगै रहेका ८० वर्षीय पिटरले उनको खोजी कसरी पूरा गर्न सकिएला भनेर गहिरो चासो देखाए ।

अपूरो जानकारी

अन्तर्देशीय धर्म सन्तानका नाममा अवैध कारोबार भएको भन्दै सरकारले चार वर्षयता यस्तो व्यवस्था निष्क्रिय पारेको छ । स्वदेशी धर्म सन्तानलाई भने मुलुकी देवानी संहिताले व्यवस्थित गरेको छ । जसअन्तर्गत अदालतमा गएर नेपाली निःसन्तान परिवारले त्यहाँ तोकिएको योग्यता पूरा गरेर धर्म सन्तान ग्रहणको प्रक्रिया अगाडि बढाउन सक्छन् ।

अन्तर्देशीय धर्म सन्तानका रूपमा कति नेपाली कुन–कुन देशमा छन् भन्नेबारे सरकारसँग यकिन विवरण छैन । बाल संगठनको लेखा परीक्षण प्रतिवेदनअनुसार २०६६ फागुनदेखि २०७५ साउनसम्म ४५ बालबालिकालाई धर्म सन्तानका रूपमा विदेश पठाइएको रेकर्ड छ ।

धर्म सन्तानलाई विदेश पठाउने प्रक्रिया अपारदर्शी भएको र त्यसमा बाल संगठनका अधिकारी नै संलग्न रहेका समाचार प्रकाशित भएपछि मन्त्रिपरिषद्को निर्णयअनुसार २०७६ कात्तिक १४ मा पुनरावेदन अदालतका पूर्वन्यायाधीश हरिबाबु भट्टराईको संयोजकत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन भएको थियो । जसले २०७७ जेठमा प्रतिवेदन बुझाए पनि त्यसमाथि टेकेर न थप अनुसन्धान भएको छ, न त उक्त प्रतिवेदन नै सरकारले सार्वजनिक गरेको छ ।

बाल मन्दिर आफैंले प्रक्रिया पुर्‍याएर पठाएको भनिएका धर्म सन्तानसँग सम्बन्धित विवरणहरू पनि दुरुस्त राखेको देखिन्न । जसको मारमा लक्ष्मीजस्तै धर्म सन्तान बनेर विदेश पुगेका तर परिपक्व भएपछि आफ्नो विगत खोज्दै आउनेहरूले यकिन विवरण पाउन सकिरहेका छैनन् ।

प्रकाशित : कार्तिक १८, २०७९ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?