२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सवा २ लाख विद्यार्थीको भविष्यमाथि त्रिविको खेलबाड

गणेश राई

काठमाडौँ — भोजपुरकी युङनुमा राईले बीबीएस प्रथम वर्षको परीक्षा दिएर बसेको १५ महिना पुग्यो । नियमित तालिका लागू भएको भए यतिखेर उनी तेस्रो वर्ष पढ्ने सुरसारमा हुन्थिन् । तर, पहिलो वर्षकै नतिजा प्रकाशन भएको छैन ।

सवा २ लाख विद्यार्थीको भविष्यमाथि त्रिविको खेलबाड

‘नियमित पढाइ भएको भए यतिखेर बीबीएस तेस्रो वर्षमा पढ्दै गरेको हुन्थ्यौं,’ कोटेश्वरस्थित सिनास क्याम्पसकी छात्रा राईले भनिन्, ‘दोस्रो वर्ष पढेजस्तो मात्रै भएको छ । पहिलो वर्षको नतिजा त कहिले हो कहिले ?’

डोल्पाकी विष्णु शाहीलाई पनि १५ महिनासम्म नतिजा नआउँदा अत्यास लागेको छ । ‘तेस्रो वर्षमा पढ्नुपर्ने बेलामा पहिलो वर्षकै रिजल्ट आएको छैन, ब्याक लाग्यो भने साह्रै गाह्रो हुनेछ,’ बानेश्वरस्थित गोल्डेनगेट इन्टरनेसनल कलेजकी छात्रा शाही भन्छिन्, ‘सेमेस्टर सिस्टम पढ्नेको सरासरी जाँच र रिजल्ट हुन्छ । हामी वार्षिक प्रणालीमा पढ्नेको शैक्षिक भविष्यमाथि विश्वविद्यालयले खेलबाड गरिरहेको छ ।’

राई र शाही त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत चारवर्षे बीबीएस हाल दोस्रो वर्षका विद्यार्थी हुन् । परीक्षा नियन्त्रण कार्यालयले गत वर्ष साउनमा लिएको परीक्षामा १ लाख २५ हजारभन्दा बढी सामेल थिए । यसैगरी, शिक्षाशास्त्र बीएडमा ६४ हजार र मानविकीतर्फ तीनवर्षे बीएमा ३५ हजारभन्दा बढीले पन्ध्र महिना बितिसक्दासम्म नतिजा पाउन सकेका छैनन् ।

नियमित पठनपाठन गराउनु, परीक्षा लिनु र तोकिएकै समयमा नतिजा प्रकाशन गर्नु हरेक शैक्षिक संस्थाका दायित्व हो । तर, त्रिविले शैक्षिक क्यालेन्डर लागू गर्न नसक्दा लाखौं विद्यार्थीको शैक्षिक भविष्यमाथि खेलबाड भइरहेको छ । एकातर्फ त्रिविमा महिनौं तालाबन्दी हुन्छ, अर्कोतर्फ वर्ष बितिसक्दासमेत परीक्षाको नतिजा प्रकाशित नहुँदा विद्यार्थीमा नैरास्य छाएको छ ।

कलेज अफ नेसनल एकेडेमी स्क्वायरका प्रमुख परशुराम राई त्रिविले क्यालेन्डर लागू गर्न नसक्दा ३ वर्षे कोर्स सक्न ६ वर्ष लाग्ने गरेको बताए । ‘तीन महिनामा नतिजा आएको भए विद्यार्थी जोसजाँगर लगाएर पढ्थे,’ प्रमुख राईले भने, ‘वर्ष दिन बितिसक्दासमेत नतिजा नआउँदा विद्यार्थीलाई नकारात्मक असर पुगेको छ ।’ त्रिविले सस्तो शुल्कमा वार्षिक प्रणाली सञ्चालन गर्नुले ‘सस्तो बेसारले पखाला चलाएझैं’ भएको कलेजका उनको भनाइ छ ।

एक आंगिक क्याम्पसका प्रमुखले नतिजामात्र नभई विश्वविद्यालयको समग्र प्रणाली सुस्त हुँदा त्रिविको छविमा गिरावट आएको बताए । ‘देशको उच्च शिक्षामा ८० प्रतिशत भार त्रिविले धानेको छ,’ उनले कान्तिपुरसँग भने, ‘तर त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति नहुनेदेखि विश्वविद्यालय सेवा प्रवेशमा हुनुपर्ने शिक्षक र कर्मचारीको गुणस्तरदेखि समग्र प्रणालीमा सुस्तता छाएको छ । यसले विश्वविद्यालयको अन्तर्राष्ट्रिय छविमा आँच पुग्नेछ ।’

परीक्षा नियन्त्रण कार्यालयले भने कोरोनाकालमा भएको बन्दाबन्दीले नतिजा प्रकाशनमा ढिलो भएको बहाना बनाउँदै आएको छ । परीक्षा सहनियन्त्रक महेश ओझाका अनुसार कोरोना संकटमा दुर्गममा रहेका विद्यार्थीलाई आफू अनुकूलको परीक्षा केन्द्रबाट जाँच दिलाउँदा नतिजा प्रकाशनमा ढिलाइ भएको हो । ‘लकडाउनका बेला विद्यार्थी आ–आफ्नो गाउँघर फर्किएकाले पायक ठाउँबाट जाँच दिन लगायौं,’ उनले भने, ‘अहिले उत्तरपुस्तिका, सिम्बोल नम्बरका आधारमा छुट्याउन प्राविधिक समस्या भएकाले नतिजा ढिलो भएको छ । अर्कातर्फ दक्ष जनशक्तिको पनि अभाव छ ।’

नतिजा प्रकाशन प्रक्रियाअन्तर्गत उत्तरपुस्तिका परीक्षा, सम्परीक्षण र अंक प्रविष्टि महत्त्वपूर्ण कार्य हुन् । कम्प्युटर प्रणालीमा दक्ष जनशक्तिको अभाव रहेको नियन्त्रण कार्यालयका अधिकारीले समस्या दोहोर्‍याउँदै आएका छन् । आठ जना हुनुपर्नेमा दक्ष प्राविधिक कर्मचारी २ जना मात्र छन् । त्यसमा पनि जान्ने एक जना छन् । ती कर्मचारी २०५४ सालदेखि कार्यरत हुन् । उमेर हदका कारण अवकाश पाए पनि दक्ष प्राविधिक कर्मचारीको अभावमा पुनः करार नियुक्ति दिएर काम गराइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनाए ।

त्रिविमा उत्तरपुस्तिका परीक्षणमा पनि समस्या छ । देशभरका क्याम्पसबाट उत्तरपुस्तिका राजधानीको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा ल्याउने र त्यसपछि विषय शिक्षकलाई घर–घरमै पुर्‍याएर जाँच्न लगाउने गरिएको छ । त्रिविले हालसम्म क्षेत्रीय तहमा उत्तर पुस्तिका जाँच्ने व्यवस्था गर्न सकेको छैन ।

प्रकाशित : कार्तिक १६, २०७९ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?