निर्वाचन सञ्चालन गर्न नेपाललाई भारतले दियो २ सय सवारी साधन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वाचन सञ्चालन गर्न नेपाललाई भारतले दियो २ सय सवारी साधन

कान्तिपुर संवाददाता

काठमाडौँ — अगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सञ्चालनका लागि भारत सरकारले नेपाललाई सवारी साधन सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारी साधन हस्तान्तरण गरेका हुन् ।

यी सवारी साधनले नेपालका विभिन्न संस्थालाई निर्वाचनका लागि आवश्यक प्रबन्ध मिलाइ थप व्यवस्थित गर्न सघाउ पुर्‍याउने भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालले प्राप्त गरेको सवारी साधनमा १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् । यी सवारी साधनको हस्तान्तरणले नेपालभर रहेका विभिन्न संस्थाको ढुवानी एवम् सञ्चालन प्रबन्धलाई थप व्यवस्थित बनाई निर्वाचनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ ।

अर्थमन्त्री शर्माले यी सवारी साधन लगायत विकास साझेदारीको रुपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिएका थिए ।

नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरूमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारी साधन उपलब्ध गराउँदै आएको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २००० वटा तथा नेपाली सेना र निर्वाचन आयोगलाई ४०० वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४०० भन्दा बढी सवारी साधन सहयोग स्वरुप प्रदान गरेको भारतीय दूतावासले जनाएको छ ।

प्रकाशित : कार्तिक १५, २०७९ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्

अदालतको आदेशपछि धितोपत्र बोर्डले रोक्यो व्यापारिक लाइसेन्स प्रक्रिया

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र स्टक ब्रोकरको नयाँ लाइसेन्स वितरण प्रक्रिया रोकेको छ । बोर्डले मंगलबार सूचना प्रकाशित गरेर अर्को निर्णय नभएसम्मका लागि उक्त प्रक्रिया यथास्थितिमा राख्ने निर्णय भएको जनाएको छ ।


‘सर्वोच्च अदालतबाट यहीं कात्तिक ४ मा जारी भएको अल्पकालीन अन्तरिम आदेश अनुरुप बोर्डबाट गत असोज २ मा प्रकाशित सूचना बमोजिम आवेदन लिने लगायतका थप काम कारबाही अर्को निर्णय नभएसम्मका लागि यथास्थितिमा राख्ने निर्णय भएको व्यहोरा सम्बन्धित सरोकारवालाहरुका लागि जानकारी गराइन्छ,’ बोर्डद्वारा जारी सूचनामा भनिएको छ ।

सर्वोच्च अदालतले स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र स्टक ब्रोकरको नयाँ लाइसेन्स वितरण प्रक्रियाविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कात्तिक ४ मा अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अधिवक्ता दीपकविक्रम मिश्रले तत्काल स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र स्टक ब्रोकरको नयाँ लाइसेन्स दिने प्रक्रिया रोक्न माग गर्दै रिट निवेदन दिएका थिए । रिट निवेदनमा अदालतले अर्को सुनुवाइ नहुँदासम्म लागू हुने गरी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

धितोपत्र बोर्ड, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई प्रतिवादी बनाउँदै अधिवक्ता मिश्रले कात्तिक १ गते सर्वोच्चमा रिट दायर गरेका थिए । अदालतले सुनुवाइ गर्दै दुवै पक्षलाई छलफलका लागि उपस्थित गराउने र छलफलपछि मात्रै निष्कर्षमा पुग्ने भन्दै तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश दिएको हो । यस विषयमा छलफलका लागि अदालतले दुवै पक्षलाई कात्तिक २२ मा डाकेको छ ।

बोर्डले प्रकाशित गरेको सूचना अनुसार धितोपत्र ब्रोकरका लागि ४५ वटा आवेदन परेका छन् । ब्रोकरका लागि असोज ३१ सम्म आवेदन दिन सकिने म्याद थियो । स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्ज कम्पनीका लागि आवेदन दिने म्याद मंगलबार (कात्तिक १५ गते) सम्म थियो । सोमबारसम्म स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्ज कम्पनीका लागि आवेदन परेको छैन ।

प्रकाशित : कार्तिक १५, २०७९ १३:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×