१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

डेंगी परीक्षणमा मनपरी शुल्क

पाँच सय रूपैयाँसम्ममा गर्न सकिने परीक्षणका लागि पाँच गुणाभन्दा बढी असुली
प्रशान्त माली

काठमाडौँ — डेंगी परीक्षणका नाममा अस्पतालहरूले मनपरी शुल्क असुलिरहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीका अनुसार परीक्षण किटको मूल्य र खर्च जोड्दा ५ सय रुपैयाँसम्ममा डेंगी परीक्षण गर्न सकिन्छ । यसका लागि छुट्टै जनशक्ति पनि आवश्यक पर्दैन तर निजी अस्पतालहरूले पाँच गुणाभन्दा बढी शुल्क लिइरहेका छन् ।

डेंगी परीक्षणमा मनपरी शुल्क

केही निजी प्रयोगशालाले भने फेसबुकलगायत सामाजिक सञ्जालमा डेंगी परीक्षणको शुल्क १२ सय भन्दै प्रचार गरिरहेका छन् । ग्रान्डीले २ हजार ६ सय २०, स्टारले १ हजार ८ सय, ह्याम्सले १ हजार ७ सय, नर्भिकले १ हजार २ सय र सुमेरु अस्पतालले १ हजार १ सय रुपैयाँमा डेंगी परीक्षण गर्ने गरेका छन् ।

वीर अस्पतालले भने ५ सय रुपैयाँमा परीक्षण गरिरहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले डेंगी परीक्षण शुल्क ८ सय रुपैयाँ लिने गरेको छ । डेंगी उपचारका लागि सबैभन्दा बढी बिरामी पुग्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा परीक्षण शुल्क ५ सय रुपैयाँ तोकिएको छ । त्रिवि शिक्षण, निजामती कर्मचारी र भक्तपुर अस्पतालको पनि छुट्टाछुट्टै दर छ ।

शिक्षणले १ हजार, भक्तपुर अस्पतालले ७ सय ५० र निजामती अस्पतालले ८ सय रुपैयाँमा परीक्षण गर्ने गरेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झाले किटको मूल्य नै बढी भएकाले परीक्षण शुल्क ८ सय रुपैयाँ लिने गरेको बताइन् । ‘सरकारले सित्तैमा गर्नु भनेर निर्देशन दिए निःशुल्क पनि गर्न सकिन्छ,’ उनले भनिन् ।

स्वास्थ्य मन्त्रालयले हालसम्म मूल्यको सीमा तोकेको छैन । मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले यसबारे अनुगमन महाशाखाले हेरिरहेको दाबी गरे । ‘निजी प्रयोगशालाले किटको मूल्यको पाँच गुणासम्म बढी लिनु अनैतिक हो,’ उनले भने, ‘संक्रमणको मौका छोपेर कालोबजारी हुनु भएन ।’

विज्ञहरूले कात्तिक मसान्तसम्म डेंगीको जोखिम कायमै रहने बताएका छन् । भाइरोलोजिस्ट डा. लुना भट्टले कात्तिक अन्तिमसम्म डेंगीको जोखिम रहन सक्ने बताइन् । लामखुट्टे नियन्त्रणका उपायहरू त्यति नअपनाइकाले पनि जोखिम कायम रहेको उनको भनाइ छ । परीक्षणलाई निःशुल्क गरेर व्यापक बनाइए मात्र डेंगी चाँडै नियन्त्रणमा आउने विज्ञहरूको भनाइ छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुरले परीक्षणको दायरा बढाउन पनि निःशुल्क गर्नुपर्ने बताए । ‘परीक्षण बढाउन सके डेंगी फैलिनबाट रोक्न सघाउ पुग्छ,’ उनले भने, ‘सम्बन्धित निकायले शुल्कबारे अनुगमन गरेर सर्वसाधारणलाई राहत दिनुपर्छ ।’

कोरोना महामारीका बेला पनि केही ल्याब र अस्पतालले पीसीआर परीक्षण शुल्क चार गुणासम्म बढी लिएका थिए । पछि सरकारले नै शुल्क निर्धारण गरेको थियो । ७७ जिल्लामा फैलिएको डेंगीबाट हालसम्म ४६ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ५२ जनाको मृत्यु भएको छ ।

२–३ वर्षको अन्तरालमा डेंगीले प्रकोपको रूप लिने गरेको छ । सन् २०१९ मा डेंगीबाट १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए । त्यतिबेला ६८ जिल्लामा फैलिएको डेंगीबाट ६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : कार्तिक १४, २०७९ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?