कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

प्लटिङ र बस्ती विस्तारसँगै संकटमा भुँडीफोर गरुड

कार्तिक १३, २०७९
प्लटिङ र बस्ती विस्तारसँगै संकटमा भुँडीफोर गरुड

Highlights

  • खेतबारी प्लटिङ गर्दा मासिँदैछन् भुँडीफोर गरुड
  • तराईका ८ जिल्लामा भेटिए २ सय ६ वटा गुँड

उर्लाबारी,मोरङ — दश वर्षअघिसम्म मोरङ उर्लाबारी–३ मंगलबारेका रुद्रबहादुर तामाङ उर्लाबारी क्षेत्रमा भुँडीफोर गरुडको उल्लेख्य उपस्थितीलाई अधार मान्दै संरक्षण क्षेत्र बनाउन सकिने विषयमा छलफल गरिरहेका भेटिन्थे । यहाँमा पाइने अग्ला–अग्ला सिमल, सिमसार क्षेत्र र कृषियोग्य जमिन भुँडीफोर गरुडका धेरै गुँडहरु भेटिन्थे ।

गरुड संरक्षण र यसका गुँडहरुका अवलोकन तथा अध्ययन गर्नका लागि भनेर मानिसहरु आउने गर्थे । गरुडबारे धेरै जनचेतनामूलक कार्यहरु हुन्थे । अहिले तामाङलाई ती क्षण सपना जस्तै लागेको छ । ‘समुदायका लागि भने गरिएको सचेतना कार्यक्रम त राम्रो भयो तर अव्यस्थित घडेरी प्लटिङ र घना बस्ती बढेसँगै यो क्षेत्रमा गरुडको उपस्थिती कमी हुँदै छ,’ तामाङले भने ।

यहाँका खेतका फाँट, धिमाल जाति विकास केन्द्र, सालबारी सामुदायिक वन, राम नगर चोक, चन्दने चोकमा रहेका ठूला सिमल, बर्रा, कदमका रुखमा भुँडिफोर गरुडको धेरै गुँडहरु हुन्थे । अहिले गरुडका गुँडहरु सालबारी सामुदायिक वन क्षेत्रमा पर्ने धिमाल जाति विकास केन्द्रमा रहेका सिमलका रुखमा मात्रै सिमित भएका छन् ।

मोरङको उर्लावारी-३ मंगलबारेमा भुडिफोर गरुडको कोलोनी । तस्बिरः गोविन्द पोखरेल/कान्तिपुर

सामाजिक विकास कार्यमा करिब अढाइ दशकदेखि काम गर्दै आएका तामाङ भन्छन्,‘एउटै रुखमा धेरै गुँड हुन्थ्यो । रुखका हागाले थेग्न नसकेर गुँड झर्थे । अहिले यो सपना जस्तै छ ।’

यहाँका खेतियोग्य जमिनहरु अहिले घडेरीमा परिणत भएका छन् । अग्ला रुखहरु आसपास नयाँनयाँ संरचनाहरु बनेका छन् । ‘धान खेतमा घर बनिन थाले, जनघनत्व पनि धेरै भएकाले संख्या पनि घट्दै गएको हो कि ?, ’ उनले भने ।

नेपालमा गरुड, सारस प्रजाति खेतबारीमा आश्रित चरा प्रजातिभित्र पर्छन् । सारस प्रजाति चितवनदेखि पश्चिम नेपालसम्म पाइने गर्छ । भुँडीफोर गरुड भने पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मको तराई क्षेत्रमा पाइन्छ । दक्षिण एसिया र दक्षिण पूर्वी एसियामा पाइने यो प्रजाति आईसीएनको रातो किताबमा ‘संवेदनशील’ (भर्नलेबल) प्रजातिभित्र पर्छ । तराईको धान खेत, खोलाका किनार, बगर, ठूला सिमसार क्षेत्र, ठूला रुख भएका जंगल यसको मुख्य बासस्थान रहेको अध्ययनहरुले देखाएका छन् ।

भुँडिफोर गरुडको संख्या पूर्वी नेपालमा यसअघि गरिएको अनुसन्धानले पनि रुख कटान, जनचेतनाको कमीले गर्दा घट्दै गएको देखाएको थियो । सन् २०१३ मा त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक तेजबहादुर थापा र सन्तोष कार्कीले पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा अध्ययन गरेका थिए । उक्त अध्ययनले उर्लाबारी–३ मंगलबारे क्षेत्रमा ‘प्रि–ब्रिडिङ’ जुलाईको समयमा विभिन्न ९ वटा कोलोनीमा १८ वटा गरुड पाइएका थिए । यस्तै, ‘पोस्ट ब्रिडिङ’ अक्टुबरको समयमा सिजनमा १५ कोलोनीमा ५२ वटा गरुडहरु पाइएका थिए । अहिले यो क्षेत्रमा गरुडको कोलोनी मुस्किलले दुई वटा देखिन्छन् ।गुँडको सुरक्षामा खटिएको भुडिफोर गरुड ।

उक्त अनुसन्धानमा पूर्वी नेपाल (मोरङ, झापा र सुनसरी) मा अक्टोबर महिनामा २ सय ४० वटा गरुड भेटिएको उल्लेख छ । जसमा ९४ वटा चल्ला र १ सय ४६ वटा बयस्क थिए । धानखेत र ओसिलो क्षेत्रमा रहेका ३० मिटरभन्दा अग्ला रुखमा गरुडको गुँड भेटिएको उक्त अनुसन्धानमा उल्लेख छ ।

त्यस्तै, चरा अनुसन्धानकर्ता हेमबहादुर कट्वालको अघिल्लो महिना प्रकाशित एक अनुसन्धानात्मक आलेखले ८ वटा जिल्लामा भुँडिफोर गरुडका ६५ वटा कोलोनी भेटिएको छ जसमा २ सय ६ वटा गुँड छन् ।

गुँडमा गरुड ।

तराईका झापा, मोरङ, उदयपुर, सर्लाही, चितवन, बारा, कपिलस्तु, रुपन्देही क्षेत्रमा गरिएको उक्त सर्भेमा ती गुँडहरुमा २ सय ८० वटा बच्चा हुर्किएको देखाएको हो । सन् २०१९को जुलाई देखि फेब्रुअरी २०२० सम्म सर्भे गरिएको अनुसन्धानकर्ता कटवालले कान्तिपुरलाई बताए । उनले भने, ‘हामीले गरेको सर्भेमा ती जिल्लालाई ५ वटा कम्लेक्समा विभाजन गरेर अध्ययन गरेका थियौं । भेटिएका ६५ वटा कोलोनीमा कम्तिमा एउटादेखि १५ वटासम्म गुँड भेटिएका थिए ।’ बाँके, बर्दिया, दाङ, कैलालीमा भने यो प्रजातिको गुँड भने नभेटिएको उनले बताए ।

कटवालको अध्ययनले खेतबारीमा हुने अग्ला सिमलका रुखहरुमा भुँडिफोर गरुडका धेरै गुड पाइएका छन् । यस्तै,मानिसहरुको बस्तीमा २७ प्रतिशत, झाडी क्षेत्र भएको ठाउमा लगभग १७ प्रतिशत गुँड भेटिएको र करिब ५ प्रतशित चाही जंगल क्षेत्रमा पाइएको थियो ।

‘हामीले गरेको अनुसन्धानमा भुडिफोर गरुडका गुँडहरु ९ प्रजातिका रुखमा पाइएका थिए । सबैभन्दा बढी सिमलमा थियो,’ कटवालले भने ।

उनको अनुसन्धानले सिमल, करम, पिपल, पिठारी, कदम, आँप,साल, बर्रा, सिरिस प्रजातिको रुखमा यो प्रजातिको गुँड भेटिएको थियो ।

भुँडीफोर गरुडको उपस्थिती कपिलवस्तु र रुपन्देही जिल्लामा धेरै पाइएको छ । ती जिल्लामा २९ वटा कोलोनी भेटिएको कटवालले जानकारी दिए । मोरङ झापा क्षेत्रमा २० वटा मात्रै कोलोनी भेटिएको थियो, बारामा ८ र उदयपुर, सर्लाहीमा ४/४ वटा कोलोनी भेटिएको उनले बताए ।

उर्लावारी-३ मा गुँड बनाउनका लागि चाहिने सामग्री च्यापेर उड्दै एक भुडिँफोर गरुड । तस्बिरः गोविन्द पोखरेल/कान्तिपुर

सिमलको रुख धेरै झाँगिने र अग्लो हुने भएकाले गरुडको गुँड धेरै हुने गरेको पाइएको छ । यस्तै, भुँडीफोर गरुड बस्ने रुखमुनी सर्पको काँडा (हड्डि), लगायत अन्य जीवको हड्डी भेटिने कारणले किसानहरुले रुख काट्ने गरेको उनले बताए । त्यस्तै बाटो बनाउने र घडेरी प्लटिङ गर्दासमेत त्यस्ता रुखहरु काट्ने गरिएकाले गरुडको संख्या घट्दै गएको अनुसन्धानले देखाएको छ । अग्लो रुखमा गुँड बनाउँदा प्रजनन दर सफल हुने र सुरक्षा चुनौती पनि कम हुने गरेको पाइएको छ ।

भुँडीफोर गरुड प्रजातिले प्राकृतिक रुपमा कृषि बालीमा लाग्ने कीटलाई नियन्त्रण गर्ने काम गर्छ । यसले खेतबालीमा लाग्ने मुसा,सर्पलगायतका स–सना किराहरु खाने गर्छ ।

यिनीहरुले सामान्य अवस्थामा १ देखि ३ वटासम्म फुल पार्ने गर्छन् । कोलोनी(समूह)मा गुँड बनाउँदा एउटा प्रजातिले पूरा रुखको रेखदेख गर्ने र पालैपालो प्रजनन् गर्ने र बचेरा हुर्काउने गर्छन् ।

झापाको सुरुङामा बचेरा हुर्काइरहेको भुडिफोर गरुड । तस्बिर सौजन्य : संस्कार सुवेदी

हरेक वर्षको जुलाई तेस्रो सातादेखि अगस्टसम्म यिनीहरुले गुँड बनाइसक्छन् । अगस्टदेखि यिनीहरु फुल पार्न थाल्छन् । कोलोनीमा बस्नेले एकै पटक फुल पार्दैनन् पालैसग फुल पार्ने कट्वालले बताए । ‘एउटा कोलोनीमा बस्दा कुनैको हुर्किरहेको हुन्छ कुनैको फुल भर्खर पारेको हुन्छ र कसैले ओथारो बसिरहेको हुन्छ,’ उनले भने, ‘यसो हुँदा आहाराका लागि प्रतिस्पर्धा पनि हुदैन ।’

सेप्टेम्बर १५ देखि यी प्रजातिको बचेरा गुँडमा देखिन थाल्छन् । डिसेम्बर पहिला साता बचेरा उड्न थाल्छन् । डिसेम्बर पहिलो सातासम्म चाही एउटा हाँगाबाट अर्को हाँगासमम जान थाल्ने उनले बताए । ३० वर्षसम्म यी प्रजातिको आयु भनिएपछि प्राकृतिक अवस्थामा कति वर्षसम्म बाचेका छन् भन्ने त्यो टुंगो नभएको उनले बताए ।

प्रकाशित : कार्तिक १३, २०७९ १८:१४
x
×