चितवनमा बढे डेंगी संक्रमित- समाचार - कान्तिपुर समाचार

चितवनमा बढे डेंगी संक्रमित

रासस

भरतपुर — चितवनमा डेंगी संक्रमितको संख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेंगु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

कार्यालयको तथ्यांकअनुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवन जिल्लाभित्रका छन् । जसमा आठ सय २२ पुरुष र छ सय २९ महिला छन् । चार सय ५४ संक्रमित अन्य जिल्लाका हुन् भने दुई सय ५९ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ । चितवनमा यो अवधिमा डेंगी संक्रमणबाट तीन जनाको ज्यान गएको कार्यालयले जानकारी दिएको छ ।

चितवनका सात पालिकामध्ये सबैभन्दा धेरै डेंगी संक्रमित भरतपुर महानगरपालिकाका रहेका छन् । भरतपुरमा हालसम्म पाँच सय ५९ पुरुष र चार सय १९ महिला गरी नौ सय ७८ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ ।

खैरहनी नगरपालिकामा एक सय २४, माडीमा २८, रत्ननगरमा एक सय ९७, राप्तीमा ७९ र कालिकामा ३७ जनामा डेंगी देखिएको कार्यालयको तथ्यांकमा उल्लेख छ । इच्छाकामना गाउँपालिकामा हालसम्म आठ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

अझै केही समय डेंगी संक्रमण हुनसक्ने भन्दै कार्यालयले सचेत बन्न सबैलाई आह्वान गरेको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीले बताए । उनले जाडो बढेसँगै डेंगी कम हुँदै जाने अनुमान गरिएको बताए ।

प्रकाशित : कार्तिक ११, २०७९ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्

राजकुमार ह्यारीको संस्मरण ‘स्पेयर’ आउँदै

एपी

न्युयोर्क — राजकीय उत्तरदायित्वबाट अलग भएका बेलायती राजकुमार ह्यारीको संस्मरण ‘स्पेयर’ आगामी पुस अन्तिम साता बजारमा आउने भएको छ ।

पेन्गुइन र्‍यान्डम हाउसले छाप्ने स्पेयरमा ह्यारीको अटल इमानदारी, अन्तर्दृष्टि, आत्म–परीक्षण, असीमित शक्ति, विजय–पराजय, दुःख, प्रेमगायत विषय समेटिने छन् । प्रकाशनगृह पेन्गुइन र्‍यान्डम हाउसले बिहीबार एक वक्तव्य जारी गर्दै पुस्तक प्रकाशनको जानकारी दिएको हो । सन् १९९७ मा आफ्नी आमा डायनाको अकल्पनीय मृत्यु, आमा र भाइ विलियमसँगका सम्झना पुस्तकमा पढ्न पाइनेछ ।

उक्त प्रकाशनगृहले राजकुमार ह्यारीलाई एक पति, पिता, मानवीयकर्मी, सैन्य दिग्गज, मानसिक स्वास्थ्य अभियन्ता एवम् वातावरणविद्का रूपमा परिचय गराएको छ । चार सय १६ पृष्ठको उक्त पुस्तक डच एवम् पोर्चुगितलगायत १६ भाषामा छापिने छ ।

पुस्तक बिक्रीबाट प्राप्त हुने रकम बेलायतका परोपकारी संस्थाहरूलाई दान गरिनेछ । लेखक ह्यारीले लेसोथो र बोत्सवानामा एचआईभी/एड्सबाट प्रभावित बालबालिका र युवाहरूलाई मद्दत गर्न लेसोथोका राजकुमार सेइसोसँग मिलेर स्थापना गरेको संस्था सेन्टेबालेलाई १५ लाख अमेरिकी डलर दिएका छन् ।

अमेरिकामा जन्मेकी श्रीमती मेघनसँग विवाह गरेका 'ससेक्सका ड्यूक'ले सन् २०२० मा आफ्नो शाही कर्तव्यबाट बिदा लिएर अमेरिका सरेका सरेका थिए । बेलायतको राजपरिबारबाट आफूलाई आर्थिक सहयोग नभएको तथा आफ्नी आमाले छाडेको रकमबाट गुजारा गरिरहेको गत वर्ष एउटा रेडियो अन्तर्वार्तामा उनले बताएका थिए ।

प्रकाशित : कार्तिक ११, २०७९ ०७:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×