कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘कोभिड संक्रमणको जोखिम अझै छ’

तीन चौथाईभन्दा बढी नेपालीलाई पूर्ण मात्रा खोप
अतुल मिश्र

काठमाडौँ — कोरोनाको त्रास कम भइरहेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड संक्रमणका चार दिन अस्पताल भर्ना हुनु पर्‍यो । गत असार ९ गते सुरु भएको चौथो लहरका कारण ६ कात्तिक (शनिबार) सम्म करिब ४ महिनामा कोरोनाले ५८ जनाको ज्यान लिएको लिएको छ । र, अझै पनि केही संक्रमितको आईसीयूमा उपचार भइरहेको छ ।

‘कोभिड संक्रमणको जोखिम अझै छ’

हालसम्म चारवटै लहरमा १२ हजार १८ जनाको मृत्यु भइसकेको छ । पछिल्लो समय पछिल्लो २४ दिनयता भने कोभिडका कारण मृत्यु भएको छैन । नेपालमा कोभिड संक्रमण न्यून रहे पनि केस ‘शून्य’ मा नझरेसम्म जोखिम कायमै रहने विज्ञहरू औल्याउँछन् ।

मुलुकमा कोभिडको केस घटे पनि संक्रमणको जोखिम र महामारी समाप्त नभएको त्रिवि शिक्षण अस्पताल, कोभिड व्यवस्थापन समितिका संयोजक एवं छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासको भनाइ छ । ‘संक्रमणको जोखिम अझै छ, राष्ट्रपतिज्यूको केसमा कोभिड र इन लुएन्जाको शंका गरेर परीक्षण गर्दा कोरोनो पोजिटिभ देखियो, खोपको बुस्टर डोज लिइसकेकोले बढी जटिलता देखिएन ।’

राष्ट्रपति भण्डारीलाई १०० डिग्रीसम्म ज्वरो, जिउ दुखाइ, खाना नरुच्ने, वाकवाकी लाग्नेजस्ता लक्षण देखिएको थियो । भण्डारीलाई अस्पतालमा भर्ना गरेर चार दिनपछि डिस्चार्ज गरिएको थियो । डा. दासका अनुसार पूर्ण वा अतिरिक्त मात्रा कोभिड विरुद्धको खोप लगाएकाहरूमा समेत संक्रमण देखिएको छ । डा. दासले भने, ‘हाल सम्म खोपले ‘रिइन्फेक्सन (पुन: संक्रमण) बचाउँदैन, नयाँ–नयाँ भेरिएन्टको संक्रमण हुन दिनबाट रोक्दैन तर यसले कडा संक्रमण हुनबाट भने जोगाउँछ ।’

पछिल्लो समय मुलुकमा केही व्यक्तिमा कोभिड र डेंगुको संयुक्त संक्रमण समेत देखिएको छ । दुई प्रकारको भाइरसको एकै पटक संक्रमण भएका बिरामीहरूमा रोगको जटिलता झन् कडा देखिएको समेत डा. दास बताउँछन् । उनले हाल युरोपतिर कोभिडको फेरि नयाँ केस थालेको समेत औंल्याए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कअनुसार दसैंपछिका ३–४ दिनमा कोभिडको केसमा वृद्धि देखिएको थियो ।

संक्रमणको जोखिम कायमै रहेकाले खोप लगाएकाले समेत मास्को प्रयोग र हातको सरसफाइजस्ता स्वास्थ्य मापदण्ड पालनामा लापरबाही गर्न नहुने इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासको भनाई छ । ‘महामारी समाप्त भएको छैन, हामी जोखिम बाहिर छैनौं,’ उनले भने, ‘त्यही भएर नै सरकारले कोभिड संक्रमणबाट बचाउनको लागि मास्क, हातको सरसफाइ, व्यक्तिगत दुरी लगायत जनस्वास्थ्य नियमको पालना गर्नुपर्ने नीति कायमै राखेको छ ।’

तीन चौथाईभन्दा बढी नेपालीलाई पूर्ण मात्रा खोप

मुलुकमा हालसम्म कुल जनसंख्याको तीन चौथाईभन्दा बढीले कोभिड विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् भने एक चौथाईभन्दा बढी नेपालीले अतिरिक्त मात्रा खोप लिएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार हालसम्म कुल जनसंख्याको ७६.५ प्रतिशत अर्थात् २ करोड २३ लाख २४ हजार ९ सय ३३ जना नेपालीले पूर्ण मात्रा खोप लगाएका हुन् ।

त्यस्तै, कुल जनसंख्याको २७.३१ प्रतिशत अर्थात ७९ लाख ७२ हजार ७ सय ९१ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन । यस्तै, २ करोड ३२ लाख ८ हजार ४ सय ८३ जना अर्थात् कुल जनसंख्याको ७९.५ प्रतिशतले एक मात्रा खोप लगाएका छन् । मुलुकमा हालसम्म कुल ५ करोड, ३५ लाख ६ हजार २ सय ७ मात्रा खोप लगाइएको छ । हालसम्म नेपालमा अनुदान र खरिद गरी ६ करोड १७ लाख ७६ हजार ७ सय ७० मात्रा कोभिड विरुद्धको खोप भित्रिएको छ ।

प्रकाशित : कार्तिक ८, २०७९ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?