कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गर्दै
काठमाडौँ — सत्तारूढ दल नेपाली कांग्रेसको चुनावी घोषणापत्र आइतबार सार्वजनिक गरिँदैछ । साँझ ५ बजे भर्चुअल कार्यक्रममार्फत घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र लेखिएको हो । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको ४१ सदस्यीय समितिले घोषणापत्र तयार पारेको छ ।
घोषणापत्र लेखन समितिका संयोजक शर्मा हाल झापामा छन् । उनी झापाबाटै कार्यक्रममा सहभागी हुने बताइएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टीका सभापति शेरबहादुर देउवा बालुवाटार तथा महामन्त्री गगन थापा र सहमहामन्त्री जीवन परियार पार्टी केन्द्रीय कार्यालयबाट कार्यक्रममा सहभागी हुनेछन् ।
समितिले विषयगत समिति बनाएर घोषणापत्रमाथि छलफल गरिएको थियो । यस्तै, सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट सुझाव मागिएको थियो । सबै विषयलाई समेटेर घोषणापत्र लेखिएको सहमहामन्त्री परियारले जानकारी दिए ।
प्रकाशित : कार्तिक ६, २०७९ १६:३०