१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एउटा सुषुप्त द्वन्द्व

खासमा यो ठाउँ मान्छेको हो कि हात्तीको ? सायद हात्ती ठान्छन्– यो त आफ्नो सयौं वर्ष पुरानो बासस्थान हो, हाम्रो ठाउँमा यी मान्छे कहाँबाट आए ? मान्छे पनि हैरान छन्– आफ्नो घरखेतमा यी हात्ती बारम्बार किन आउँछन् ?

काँकडभिट्टा — नेपालको नक्सा पल्टायो भने सुदूरपूर्वी कुनामा काँकडभिट्टा नाका भेटिन्छ, जसलाई भर्खरै ६ लेनको फराकिलो एसियन हाइवेले जोडेको छ । यहाँबाट मेची नदी तरेर अगाडि बढ्दा भारतको सिलिगुडी, असम हुँदै म्यान्मार र थाइल्यान्डसम्म पुगिन्छ । २०–२२ किलोमिटर पूर्वतर्फ बंगलादेश पर्छ, अलि माथि भुटान । तर हामी त्यता जाँदै छैनौं, काँकडभिट्टा बजारबाट मेचीको डिलैडिल उत्तरतिर लाग्दै छौं ।

एउटा सुषुप्त द्वन्द्व

थोरै माथि पुग्नासाथ भारतसँगको सीमामा झन्डै १८ किमि लामो विद्युतीय तारबार लगाइएको अनपेक्षित दृश्य देखिन्छ । यो तारबार मान्छेलाई रोक्न भने होइन, जोगाउन गरिएको हो ।

नेपालमा सशस्त्र राजनीतिक द्वन्द्व इतिहासको विषय बनिसके पनि यो यस्तो क्षेत्र हो, जहाँ त्यसअघिबाटै अर्कै प्रकृतिको द्वन्द्व चलिरहेको छ । अर्थात् जंगली हात्ती र मान्छेबीचको द्वन्द्व, जसमा परेर विगत अढाई दशकमा ५५ भन्दा बढी मान्छे र १५ हात्तीको ज्यान गइसकेको छ, दर्जनौं घाइते भएका छन् ।

नेपालतर्फ आउँदै गरेको हात्तीको हूल ।

यहाँ द्वन्द्व मान्छे र हात्तीबीच मात्र छैन, मान्छे–मान्छेबीच पनि छ– यी हात्तीको व्यवस्थापन कसरी गर्ने भन्ने सवाललाई लिएर । एउटा उपायस्वरूप यो विद्युतीय पर्खाल लगाइएको हो, तर यसपालि यसले पनि काम गरेन– सयौं हात्तीहरू तारबार तोडेर आए, जसले स्थानीय बासिन्दाको बालीनाली मात्र सखाप पारेन, थप मानवीय क्षतिसमेत गर्‍यो । अघिल्लो महिना मात्र दुइटा घटना भए– मेचीनगर नगरपालिका–९ थोप्लेविरान सामुदायिक वनको बाटो भएर स्कुटरमा घर फर्कंदै गरेकी एक ३४ वर्षीया महिला हात्तीबाट मारिइन् भने बाह्रदशी गाउँपालिकाका ८० वर्षीय वृद्धको पनि ज्यान गयो ।

‘पहिले–पहिले त हात्ती आउँदाखेरी धूप बालिदियो, शंख बजाइदियो भने जान्थे । त्यसबाट नभएपछि पुल्ठो बाल्न थालियो । अहिले त पुल्ठो जता बाल्यो, हात्ती त्यतै–त्यतै आउँछन् । यति थेत्तरो भइसके कि पटाका पड्काउँदा पनि भाग्दैनन्,’ बाहुनडाँगीका सुकुमार प्रधानका अनुभवमा, ‘अब त फेन्सिङ राखेर करेन्ट छाड्दासमेत टेर्न छाडे ।’

भयग्रस्त दैनिकी

हात्ती–आतंक यहाँका बासिन्दाको नियतिझैं बनेको छ । काँकडभिट्टाबाट अलिकति उत्तर लाग्नासाथ यसको आभास भइहाल्छ । पूर्व–पश्चिम राजमार्ग नबन्दाको पूर्वी नाका नकलबन्दा र त्यसमास्तिरका बाहुनडाँगी, आलडाँगी, भोर्लेनीलगायत झापा क्षेत्र नम्बर १ मा पर्ने मेचीनगर नगरपालिकाको उपल्लो भेगका बासिन्दाका निम्ति जंगली हात्तीको समस्या आसन्न निर्वाचनको एउटा मुख्य मुद्दा पनि हो ।

यो ठाउँको ठीक पूर्वपट्टि, मेचीपारि भारतको नक्सलबारी क्षेत्र पर्छ, जहाँ विसं २०२० को दशकमा चर्केको चारु मजुम्दारको वामपन्थी विद्रोहको बाछिटा वारिसम्मै आइपुगेको थियो । पहिले ‘क्रान्ति’ आउने त्यही बाटोबाट अहिले हूलका हूल हात्ती आउने गरेका छन् । ‘स्थिति कस्तो छ भने– दसैंतिहार आयो, मान्छेहरू चाडबाडमा समेत घरमा बस्न पाउँदैनन् । साँझ पर्नासाथ कुम्लो बोकेर खेततिर जानु परिहाल्छ, त्यहीं प्लास्टिकको पाल बनाएर रातभरि हात्ती रुँगेर बस्नुपर्छ,’ भोर्लेनीका राजन दाहालले सुनाए, ‘हात्ती आइहाल्यो भने हाहु गरेर रोक्न खोज्यो, सकिएन भने भाग्यो । त्यसभन्दा अरू उपाय नै छैन ।’ राजन स्वयंका बुवा त्यसैगरी खेत रुँग्न जाँदा २०६० सालमा हात्तीबाट मारिएका थिए । छोराको पालामा पनि भय उस्तै छ ।

हात्ती निगरानी गर्न सीमा क्षेत्रमा बनाइएको टुङ ।

सीमा क्षेत्रमा हात्ती हेर्न १६ वटा अग्ला टुङहरू बनाइएका छन् । सशस्त्र प्रहरी पोस्टमा एउटा साइरन पनि राखिएको छ । स्थानीय अग्रसरतामै ‘हात्ती आयो’ भन्ने एप पनि बनाइएको छ । कसैले हात्ती आएको थाहा पाउनासाथ मोबाइलबाट एपमा लेख्छ, अनि साइरन बजाइन्छ, आवाज एक किमि परसम्म सुनिन्छ । हरेकजसो घरवरिपरि तारबार लगाएको देखिन्छ । ‘हात्ती आएको सुनेपछि भ्याइयो भने त्यसमा करेन्ट छाड्छौं । के गर्नु त्यसै मर्नुभन्दा त कुनै उपाय लगाउनैपर्‍यो,’ आलडाँगीकी वृद्धा चन्द्रकुमारी थापाले भनिन्, ‘देखी–देखी ज्यान माया मार्न सकिँदो रहेनछ ।’

यति गर्दा पनि दुर्घटना र क्षति रोकिएको छैन । हात्तीबाट मारिएका ५५ जनाको पृष्ठभूमि हेर्दा अधिकांश निमुखाहरू परेका छन् । किनभने खेती–किसानी गर्ने उनीहरू नै हुन्छन् । हात्तीलाई रोक्न जाने पनि धेरैजसो उनीहरू नै हो । हात्तीले पनि प्रायः उनीहरूकै साना, कच्ची घरमा ज्यादा क्षति पुर्‍याउँछ । यद्यपि यहाँ अन्नबाली नष्ट नभएको या घरमा क्षति नपुगेको चाहिँ लगभग कोही बाँकी छैनन् ।

मेचीनगर–४का वडाध्यक्ष अर्जुन कार्की ।

खासगरी हूलमा आउने हात्तीले बालीनाली खाइदिएर तहसनहस पार्छन् । केही रैथाने हात्ती पनि छन्, तीचाहिँ जहाँ अन्नपात राखेको छ, त्यहीं पस्छन् । ‘कुन घरमा कहाँ के राखेको छ, तिनलाई सब थाहा हुन्छ,’ मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुभवमा, ‘जहाँ धान राखेको ढुकुटी हुन्छ, त्यहीँ भत्काउँछन् र खान्छन् । भनेजस्तो खानेकुरा पाएनन् भनेचाहिँ घरमा जे–जे छ, सब ध्वस्त पारिदिन्छन् ।’

घरमा जाँड–रक्सी बनाउने गरेको छ भने त हात्तीका निम्ति त्यो प्रिय पदार्थ भइहाल्यो । ‘हात्तीले रक्सी मन पराउँदो रहेछ । भट्टीभित्रै पसेर खाएको घटना पनि छ । त्यही भएर अचेल यहाँ रक्सी पारेर बेच्ने चलनै घटिसक्यो,’ कार्कीका अनुसार, ‘रक्सी पिएपछि हात्ती पनि मान्छेजस्तै मात्दो रहेछ । त्यसरी नै मातेको एउटा हात्तीले २०६० सालमा आलडाँगीमा एकैदिन तीन जनालाई मारेको थियो ।’

हात्ती आक्रमणबाट मारिएका छोराबुहारीको तस्बिर देखाउँदै मेचीनगर–४ आलडाँगीकी जगमाया थापा ।

तीमध्ये दुई जना त भर्खरै विवाह भएका दुलाहादुलही थिए– शम्भु र दुर्गा । आमा जगमाया थापालाई त्यो कालरात्रि सम्झँदा अहिले पनि कहाली लाग्छ । उनका २२ वर्षे छोराबुहारीलाई हात्तीले राति १२ बजे सुतेकै खाटबाट तानेर लगेको थियो । ‘मैले उठ मात्र भन्न भ्याएँ, त्यसभन्दा बढी केही गर्न सकिनँ, हात्तीले भित्रै पसेर लगिहाल्यो,’ पिँढीमा बसेर पुराना कुरा सुनाउँदा जगमायाका आँखा रसाए, ‘अहिले पनि राति भएपछि डर लाग्छ, आउँछ कि मार्छ कि जस्तो भइरहन्छ ।’

हात्तीको राष्ट्र न राष्ट्रियता

बाहुनडाँगीका शंकर लुइँटेलको दिनचर्या भनेकै— साँझ–बिहान मेची किनार जाने र हात्तीको गतिविधि नियाल्ने जस्तो भएको छ । किन हो उनलाई प्रकृतिको यो अजंगको जीवले अनायसै तान्यो । हात्तीको रहनसहन बुझ्ने, संख्या गन्ने, फोटो खिच्ने काम उनले वर्षौंदेखि गर्दै आएका छन् । यही अभिरुचिले उनलाई बर्दिया, चितवन, उत्तर बंगाल र असमका वन–जंगल पनि पुर्‍यायो । हात्तीका अनेक अनुसन्धातासँग काम गरे । लुइँटेलको बुझाइमा, असमको काजीरंगा नेसनल पार्कदेखि यता कोसीटप्पु वन्यजन्तु आरक्षसम्म हात्ती आवतजावत गर्ने पुरानो रुट हो । ब्रह्मपुत्रदेखि कोसीसम्मको यो सात सय किमिभन्दा लामो इलाकामा हात्तीहरू सयौं वर्षदेखि विचरण गर्दै आएका छन् । हात्तीको स्मरण शक्ति तीक्ष्ण हुनाले उनीहरूले आफ्नो पुरानो रुट भुल्दैनन् ।

‘असमसम्म पुगेर बुझ्दा के थाहा भयो काजीरंगा र छेउछाउका जंगलबाट हात्तीहरू चैत–वैशाख लागेपछि निस्कँदा रहेछन् । दुई–अढाई महिनामा सिलिगुडी छेउको महानन्दा स्यान्चुरीमा आइपुग्छन्, अनि नेपालतिर छिर्छन् । केही महिनापछि उतै फर्कन्छन्,’ लुइँटेलले भने, ‘तर अब यो रुट बिथोलियो ।’ उनी दुई कारण औंल्याउँछन् । पहिलो, यो रुटमा घनाबस्तीहरू बसे, जंगलको व्यापक फँडानी भयो, हात्ती चर्ने ठाउँ मासियो र उसको बाटो पनि बिथोलियो । दोस्रो, असमका जंगलमा जब सशस्त्र समूहहरूले क्याम्प राखे र सुरक्षाकर्मीले सन् ९० को दशकमा उनीहरूविरुद्ध कारबाही चलाए, हात्तीको बासस्थान अरू खल्बलियो । त्यसैले उताबाट आएका हात्ती बंगाल र नेपालकै जंगलमा बस्न थाले ।

शंकर लुइँटेल

‘अहिले तिनै हात्ती सीमा वारपार गरिरहने हुन्,’ लुइँटेलका भनाइमा, ‘सन् ९० को दशकमा नर्थ बंगालमा डेढ सय हात्ती मात्र थिए, अहिले बढेर सात सय भइसके । थोरै हुँदा आहारा पनि कम चाहिन्थ्यो, सानै जंगलले पुग्थ्यो । तर अहिले हात्ती र मान्छे दुवैको संख्या बढ्यो, द्वन्द्व पनि स्वाभाविक रूपमा चर्कियो ।’ यो द्वन्द्वले एउटा प्रश्न जन्माउँछ– खासमा यो ठाउँ मान्छेको हो कि हात्तीको ? सायद हात्ती ठान्छन्– यो त आफ्नो सयौं वर्ष पुरानो बासस्थान हो, हाम्रो ठाउँमा यी मान्छे कहाँबाट आए ? मान्छे पनि हैरान छन्– आफ्नो घरखेतमा यी हात्ती बारम्बार किन आउँछन् ? ‘हामी मान्छेको सोचाइ– यो ठाउँ हाम्रो हो, हामीले बाँच्न पाउनुपर्छ भन्ने हुन्छ । त्यसैले अजंगको जनावर देखे पनि धपाउन खोजिहाल्छौं, धपाउन खोज्दा हात्ती बिच्किन्छ । त्यसैले द्वन्द्व निम्त्याइरहेको छ,’ वडाध्यक्ष अर्जुन कार्कीले बताए । उज्यालो टोल विकास संस्थाका अध्यक्ष भानु परियारका अनुसार, भारतपट्टि सुरक्षा क्याम्पहरू बढेको, सहरीकरण फैलिएको र ठूल्ठूला चिया बगानहरू रहेको कारणले हात्ती बालीनाली खान नेपालतर्फ आउने गर्छन् । ‘अचेल भारतीय सुरक्षाकर्मीले पनि बेकारमा आफ्नो टाउको किन दुखाउनु, लोकलको गुनासो किन सुन्नु भन्दै साँझ परेपछि आफ्ना हात्तीलाई नेपालतिर धपाइदिन्छन्,’ परियारले बताए ।

यहाँनेर द्वन्द्वको दोस्रो पाटो देखिन्छ– आखिर यी हात्ती नेपालका हुन् कि भारतका ? नेपालपट्टिका बासिन्दाहरू यिनलाई भारतीय मान्छन्, भारतीयचाहिँ नेपालको दाबी गर्छन् । यथार्थमा हात्तीको न नागरिकता हुन्छ, न त राष्ट्रियता । नेपाल वा भारतको साँध–सिमाना कोरिनुभन्दा धेरै पहिलेदेखि उनीहरू यहाँ आउजाउ गर्दै आएका हुन् । त्यसैले राजनीतिक भूगोलको परिभाषाले उनीहरूलाई समेट्न सकिरहेको छैन ।

सहअस्तित्व कि प्रतिशोध ?

द्वन्द्वको तेस्रो पाटो पनि छ, हात्ती–प्रकोपको सामना कसरी गर्ने ? यसमा स्थानीय जनमत विभक्त छ । एकथरी हात्तीसँग प्रतिशोध लिनुपर्ने ठान्छन्, अर्कोथरी सहअस्तित्वका उपाय खोज्नुपर्ने मत राख्छन् । स्थानीय बूढापाकाका अनुसार बाहुनडाँगी क्षेत्रमा मान्छेहरू जंगल फाँडेर बस्न थालेको विसं १९८२ ताकाबाट हो । त्यतिखेर जंगलभित्रै भैंसी पालेर बसे पनि सायद वन क्षेत्र फराकिलो भएकाले हात्तीको प्रकोप खासै थिएन । तर, वन मासिँदै गएपछि हात्ती र मान्छे आमनेसामने हुँदै गए । सबभन्दा पहिले २०३४ सालमा तिरिङ गाउँकी सावित्रा विकलाई हात्तीले मार्‍यो । २०५१–५२ सालतिरबाट हात्तीको प्रकोप अरू बढ्न थाल्यो, २०६४–६५ बाट त स्थिति भयावह नै भयो ।

हूलबाट छुटेको छावालाई जिस्क्याउँदै मेची किनारमा स्थानीय युवा ।

हात्तीको आक्रमण बढेपछि गाउँलेहरूमा स्वभावतः वैमनस्य उत्पन्न भयो । हात्ती देख्नासाथ पिट्ने, खेदाउने, सके मार्न खोज्ने प्रवृत्ति बढ्यो । ‘हामीले के देख्यौं भने बिच्क्यायो भने हात्ती सबभन्दा रिसाउँदो रहेछ । हात्ती एउटा आएको हुन्छ, खेद्न जाने सयौं हुन्छन् । अनि त्यो तर्सिन्छ र जथाभावी आक्रमण गर्न थाल्छ । हात्ती खेदाउने नाममा जम्मा भएको भीडले उल्टै बालीनाली सखाप पारिदिन्छ,’ यस्तो देखेपछि अर्जुन कार्कीलाई लाग्यो, ‘यसरी त समस्या समाधान हुँदैन ।’ उनीहरूले प्रकृति संरक्षण समाज बनाएर सबभन्दा सुरुमा हात्तीप्रति मान्छेको आक्रोश घटाउन खोजे । पीडितले क्षतिपूर्ति र राहत पाउनुपर्छ भन्ने माग राखेर आन्दोलन गर्न थाले । अर्को समूह हात्तीपीडित संघर्ष समिति बनाएर क्रियाशील भयो । चौतर्फी दबाब बढ्न थालेपछि अन्ततः काठमाडौंले सुन्यो, मन्त्रिपरिषद्बाट ‘वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका–२०६९’ पारित भयो ।

गत असार पहिलो साता मेची तरेर बाहुनडाँगी पसेको हात्तीको हूलबाट छुटेको छावालाई धपाउँदै स्थानीय ।

झापाका तत्कालीन डीएफओ विष्णु भण्डारीले समस्याको चुरो बुझेका थिए । उनकै पहलमा विश्व बैंकले हात्तीलाई रोक्न सीमा क्षेत्रमा तारबार लगाउन सघाउने भयो । तर २०६८ सालमा स्थलगत निरीक्षणमा आएको विश्व बैंकको टोली अनपेक्षित ढंगले गाउँलेबाट घेरियो, उनीहरूको गाडीमाथि ढुंगामुढा गरियो । स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्दा दर्जनौं घाइते भए ।

त्यो घटना हात्तीसँग सहअस्तित्व खोज्ने कि वैरभाव राख्ने भन्ने परस्परविरोधी सोचको टकराव पनि थियो । ‘त्यसबेला हामीले हात्ती पाल्ने कुरा गर्‍यौं भन्दै ढुंगामुढा गरिएको थियो । हामीमाथि डलरखेती गरेको आरोप पनि लगाइयो,’ अर्जुन कार्कीले भने, ‘१२ वर्षपछि आएर अहिले गाउँलेले कुरा बुझे । यही मान्छेले हामीलाई हात्तीको प्रकोपबाट बचाउन सक्छ भनेर मलाई वडाध्यक्षमा जिताए ।’

हात्तीको प्रवेश रोक्न लगाइएको विद्युतीय तारबार ।

तारबारको सोच स्थानीयस्तरमै जन्मेको थियो । भारतको महानन्दा वाइल्डलाइफ स्यान्चुरी र डुअर्स इलाकामा गएर फेन्सिङको मोडल हेरेर आएका शंकर लुइँटेल र मनोज थापाले यहाँ पनि गर्न सकिने प्रस्ताव २०६४ मै राखेका थिए । जिविसको बजेटबाट १४ किमि तारबारसमेत गरिएको थियो, तर रेखदेख नभएपछि त्यो प्रभावकारी भएन ।

विश्व बैंकले त्यो अनुभवसहित नयाँ शिराबाट काम थाल्यो । उसको आर्थिक सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोषले १७.१४ किमि तारबार लगाउने कार्य २०७२ सालमा पूरा भयो, जो मेचीनगर–६ देखि इलामको रोङ गाउँपालिकासम्म फैलिएको छ । त्यसमा एक–एक किमिको दूरीमा सोलार प्यानल राखेर चौबीसै घण्टा बिजुली छाड्ने गरिएको छ । त्यसका पोल र तार भारतपट्टि ढल्काएर राखेको देखिन्छ, ताकि हात्ती उताबाट आउन नसकून्, यताबाट चाहिँ सजिलै नाघेर जान सकून् । सुरुवाती वर्षहरूमा फेन्सिङले राम्रै काम गरेको थियो । हूलमा हात्ती आउने क्रम घट्यो पनि, तापनि रैथाने हात्तीचाहिँ छिर्दै थिए । यस वर्ष भने एकसाथ सयौं हात्तीहरू भित्रिएपछि तारबारले अब काम नगर्नेजस्तो देखियो ।

तारबारको रेखदेख र मर्मत गर्ने जिम्मा मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चलाई दिइएको छ, जससँग तारबार गर्दा बचेको ३० लाखको अक्षयकोष पनि छ । तर हिजोआज ठाउँ–ठाउँमा तारहरू खुस्केको र मर्मतसम्भार राम्रोसँग नगरिएको गुनासो आम रूपमा सुनिने गरिएको छ । यो तारबार गरिएको क्षेत्रमा मान्छे आउजाउ गर्न सजिलो होस् भनेर १५ वटा गेट पनि राखिएका छन्, तर संस्थाका प्राविधिकले त्यसलाई राति लगाउन बिर्सिदिँदा वा हेल्चेक्र्याइँ गर्दा त्यहीँबाट हात्ती पसेका घटनासमेत छन् । सीमा वारिपारि मालसामान तस्करी गर्नेहरूले गेट खोलेर छाडिदिने अर्को समस्या पनि छ ।

सबभन्दा चिन्ताको कुराचाहिँ– हात्तीहरू आफैंले पनि तारबार तोड्न थालेका छन् । स्थानीय हिक्मत थापाले सुनाए, ‘एकरात हामी खेत रुँगेर बसिरहेका थियौं, बिहानको ३ बजे टह–टह जून लागेको थियो, हामीले देख्यौं– हात्तीले फेन्सिङको तारमा एकापट्टिको दाह्रा मात्र अड्कायो, अनि त्यसलाई माथितिर तन्काएर ड्याम्म छाड्यो । तीन–चारचोटि त्यसो गरेपछि तार झिरिरी गर्दै सर्ट भयो । हात्तीको दाह्रामा करेन्ट लाग्दैन रै’छ, अनि उनीहरू पोल नाघेर पसे ।’ त्यो देखेपछि थापालाई लाग्यो– यो फेन्सिङले अब हात्तीलाई रोक्न सक्दैन । मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीले पनि स्विकारे, ‘फेन्सिङले मात्र अब हात्ती नरोकिने भयो ।’

हात्तीको प्रवेश रोक्न लगाइएको विद्युतीय तारबार ।

विज्ञहरूका भनाइमा यसै गर्दा समस्या रोकिन्छ भन्ने हुँदैन । मान्छेले जे गर्‍यो, समयक्रममा हात्तीले त्यसलाई बुझ्दै र पचाउँदै जान्छ । अनि मान्छेले फेरि नयाँ उपाय पहिल्याउनुपर्ने हुन्छ । अबको उपाय के त ? मैले स्थानीयवासीलाई सोधें । अधिकांशको जवाफ एउटै थियो– सबभन्दा पहिले विद्युतीय तारबार नै राम्रोसँग लगाउनुपर्छ, त्यससँगै तटबन्ध बनाउनुपर्छ र त्यसमुन्तिर हात्तीले खान मन पराउने रूखबिरुवा रोप्नुपर्छ । यी तीन उपाय गर्‍यो भने हात्तीहरू त्यतै भुलिन्छन्, नाघेर आउन खोज्दैनन् । यति गर्न सक्दा केही हदसम्म हात्ती रोकिएलान् । ‘दिगो समाधान खोज्ने हो भने त हामीले मान्छे र हात्ती दुवै बाँच्ने सहअस्तित्वकै उपायहरू खोज्नुपर्छ,’ शंकर लुइँटेलका शब्दमा, ‘नत्र त मेरो बुवाले पनि पुल्ठो बालेर हात्ती धपाउनु हुन्थ्यो, म पनि धपाइरहेकै छु, भोलि मेरो छोराले पनि त्यही गरिरहनुपर्ने हुन्छ ।’

...

सुन्दै–सुन्दैन सरकार

सोलार फेन्सिङको रेखदेख गर्न खटाइएका १२ प्राविधिकमध्ये हुन्, यामबहादुर सुवेदी । पोहोर, मंसिरको एक बिहान तारबार हेरेर फर्कंदै गर्दा उनको हात्तीसँग अचानक जम्काभेट भयो, ‘एक्लै थिएँ, भाग्नै भ्याइनँ । हात्तीले लछारपछार पारेर फ्याँक्यो । धन्न मार्नचाहिँ मारेन, गाउँलेले देखेकाले बचियो ।’

ज्यान जोगिए पनि करङका ११ वटा हड्डी भाँचिए । २३ दिन अस्पताल बस्नुपर्‍यो, साढे ६ लाखजति खर्च भयो । १० महिनापछि अहिले बल्ल २ लाख रुपैयाँ सरकारी राहत पाए । ‘बाँकी सबै आफ्नै थाप्लोमा साहूको ऋण छ । यसरी दुर्घटनामा पर्दा न संस्थाले हेर्दो रहेछ, न सरकारले । यस्तोमा हामीले कसरी हात्ती रोक्ने काम गर्नु ?’ उनको प्रश्नको जवाफ दिने कोही छैन ।

सरकारले २०६९ सालमा जारी गरेको राहत निर्देशिकाअनुसार, सख्त घाइतेले बढीमा २ लाखसम्म मात्र क्षतिपूर्ति पाउँछन् । हात्तीको आक्रमणमा परेर कसैको मृत्यु भएमा १० लाखसम्म राहत पाउने व्यवस्था छ । हात्तीले खाद्यान्न बाली, घरगोठ या भकारीमा क्षति पुर्‍याए अधिकतम १० हजारसम्म दिइन्छ । क्षतिपूर्तिको रकम त न्यून छँदै छ, त्यसका लागि अनेक निकायबाट कागजात तयार पार्नुपर्छ, त्यो बुझाएपछि पनि समयमा पैसा पाइन्न । क्षतिपूर्तिको पैसा त सदरमुकाम धाउँदैमा सकिन्छ । यस्तो हैरानीले गर्दा हात्तीप्रति मान्छेको प्रतिशोध भावना अरू बढ्ने गरेको छ ।

मेची तरेर नेपाल पस्दै हात्तीका हूल ।

झन्डै ४० किमि दक्षिणमा रहेको जिल्ला सदरमुकामलाई उत्तरी झापाको हात्ती प्रकोपले खासै छोएको देखिन्न । मैले प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई उनको प्राथमिकतामा हात्तीको प्रकोप कहाँ पर्छ भनेर सोधें । त्यो शान्ति सुरक्षा र सीमा मामिलापछि तेस्रोमा मात्र पर्दो रहेछ । ‘त्यसलाई ध्यान दिएर हेर्न हामीसँग पर्याप्त रिसोर्स पनि छैन,’ उनले भने । सरोकारवाला ठानिएको डिभिजन वन कार्यालयले पनि यसको पूर्ण स्वामित्व लिएको छैन ।

डीएफओ जीवन पाठकले झापामा वन्यजन्तु संरक्षण विभागको कार्यालय नभएकाले मात्र आफूहरूले यो काम हेरिदिएको बताए । ‘हामीकहाँ हात्तीले अन्नबाली नष्ट पारेको दैनिक पचासौं उजुरी आउँछन् । ती सबै फाइल जम्मा पारेर हामी मासिक रूपमा कोसीटप्पु वन्यजन्तु आरक्ष पठाइदिन्छौं, रकम त्यहीँबाट निकासा हुन्छ,’ उनले बताए । मान्छेले राहत रकम घटना भएको प्रायः ८/१० महिनापछि मात्र पाउँछन् । यसको निकासा सम्बन्धित पालिकाबाटै गर्ने हो भने प्रक्रिया अलि सजिलो हुन सक्छ । स्थानीय बासिन्दाको माग वन कार्यालयको एउटा टुकडी फिल्डमै बसोस् भन्ने पनि छ, ताकि हात्ती आउँदा चाँडै उद्धार होस् र राहत वितरण पनि सहज बनोस् ।

घाइते हात्तीको उपचार गरिँदै ।

हात्तीले धान धेरै खाइदिने गरेकाले मान्छेले अचेल चिया खेती लगाउन थालेका छन्, सुपारी खेती गर्नेहरू पनि उत्तिकै छन् । तर सुपारी, चिया, अदुवा, अम्लिसो आदिबारे राहत निर्देशिकामा उल्लेख नभएकाले हात्तीले त्यस्ता बाली नष्ट पार्दा क्षतिपूर्ति दिइन्न । त्यसैले राहत निर्देशिका संशोधन गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ ।

...

‘यस्तो दुःख अरुले भोग्नु नपरोस्’

२०६० असार २४ गते— मेचीनगर–१, भोर्लेनीकी कौशिला दाहाललाई पुरानो पीडा कोट्याउनु त मन लाग्दैन, तर त्यो दिन बिर्सन पनि सक्दिनन् । हात्ती आउला कि भनेर रातभरि खेतको ग्वालीमा बसेर घर फर्कंदै गरेका उनका श्रीमान् त्यही बिहान सबेरै हात्तीबाट मारिएका थिए । झमझम छड्के पानी पर्दैथ्यो, ढल्काएर छाता ओढेका उनले माथिबाट आइरहेको हात्तीको हुल देखेनन्, एक्कासि जम्काभेट हुँदा हात्तीले हानिहाल्यो । पछि उनी बाँसको झ्याँङमा लडिरहेको भेटिए ।

हात्तीको आक्रमणमा पति गुमाएकी मेचीनगर–१ की कौशिला दाहाल घटना सम्झदा भावुक हुँदै।

‘हामी स–साना थियौं, जेठो दाइ नै १३ वर्षको मात्र हुनुहुन्थ्यो । हाम्रो बिजोग भएपछि राहत पाइन्छ भन्ने सुनेर चन्द्रगढी (जिल्ला सदरमुकाम) धेरैचोटी धायौं,’ कान्छा छोरा राजन दाहालले प्रशासनिक सास्ती सुनाए, ‘चारजना मान्छे लिएर आउनु भन्थे, भाडा पिटाएर गयो, खाजा खुवाउनै पर्‍यो, तर काम कहिल्यै हुन्थेन । आज गयो, भोलि बोलाउँथे, भोलि जाँदा पर्सि । अन्तिममा राहत भनेर १५ सय रुपैयाँ दिए, अनि हामीले त्यो हाकिमलाई तपाईंको कोठामा पंखा रहेनछ, सिलिङ फ्यान लगाउनु होस् भनेर त्यो पैसा त्यहीं छाडेर हिँड्यौं ।’ त्यतिबेला सरकारले राहत निर्देशिका जारी गरिसकेको थिएन ।

आर्थिक अभावले गर्दा राजनका दाजुले ८ कक्षामै पढाइ छाड्नु पर्‍यो । ‘३५ सय रुपैयाँ तिर्न नसक्दा बोर्डिङ स्कुलले जेठी दिदीलाई ९ कक्षाबाट निकालिदियो,’ राजनले आफ्नो कथा सुनाए, ‘मैले पनि ५ भन्दा माथि पढ्न पाइनँ । पैसा नै थिएन । केही पार नलागेपछि म दुबई काम गर्न गएँ, दुई बर्ष बसेर आएँ तर दुःख अहिले पनि उस्तै छ ।’

हात्तीले पछि उनीहरुको घरमा पनि हान्यो । ‘यी अहिलेसम्म बनाउन सकिएको छैन,’ भत्केको भित्ता देखाउँदै कौशिलाले भनिन्, ‘मैले त आफ्नो श्रीमान् नै गुमाउनु पर्‍यो । अरुलेचाहिँ यस्तो दुःख भोग्नु नपरोस् भन्ने लाग्छ । तर भोग्नु नपरोस् भनेर के गर्ने हात्ती त आइरहेकै छ ।’

मैले सोधें, ‘कहिलेकाहीँ यो ठाउँ नै छाडेर हिँडौँ जस्तो लाग्दैन ?’

‘आफ्नो जेजति छ, यहीं छ । २०३९ सालमा बिहा भएर आएपछि जीवन यतै बित्यो, अब छोडेर कहाँ जानु?’ फिसिक्क हाँस्दै उनले भनिन्, ‘हात्ती त फेरि पनि आउँछ, जे त होला, यहीँ बस्ने हो ।’

प्रकाशित : कार्तिक ५, २०७९ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?