जन्मकुण्डलीलाई दागबत्ती, शव विद्यार्थीलाई

आफू सय वर्षसम्म बाँचिरहँदा शरीरका अंगहरुले कसरी काम गरिरहे भन्ने चिकित्सा क्षेत्रका लागि अनुसन्धानको विषय होस् भन्ने जोशीले चाहेका थिए
गोविन्द पोखरेल

काठमाडौँ — सद्गतमा हिन्दु परम्पराअनुसार पार्थिव शरीरलाई सन्तानले दागबत्ती दिन्छन् । तर, आइतबार दिवंगत शताब्दी पुरुष सत्यमोहन जोशीको अन्त्येष्टिमा दृश्य भिन्न थियो । छोराहरू अनुराज र पूर्णराजले शंखमूल घाटमा जोशीको शरीर होइन, जन्मकुण्डलीलाई दागबत्ती दिए । त्यसको खरानीसँगै उनका लुगाफाटा वाग्मतीमा सेलाइयो ।

जन्मकुण्डलीलाई दागबत्ती, शव विद्यार्थीलाई

जोशीले मरणोपरान्त आफ्नो शरीर अध्ययन/अनुसन्धानका लागि किस्ट मेडिकल कलेजलाई दान दिने घोषणा गरेका थिए । घोषणाको केही महिनापछि छोराले मेडिकल कलेजमा गएर जोशीको मन्जुरीनामा गरेका थिए । त्यसैले उनको शव कलेजमा राखिएको छ ।

उक्त मेडिकल कलेजका डा. सुरज बज्राचार्यले भने, ‘उहाँको पहिलो इच्छा अध्ययन/अनुसन्धानका लागि आफ्नो शरीर दान दिनुभयो, यो नेक काम हो ।’ आफ्नो शरीर दान दिएर मेडिकल अध्ययन गर्नेहरूको अध्ययनमा सघाउ पुर्‍याएको उनले बताए । आफू सय वर्षसम्म बाँचिरहँदा शरीरका अंगहरूले कसरी काम गरिरहे भन्ने सम्बन्धमा चिकित्सा शिक्षा अध्ययन गर्नेहरूका लागि अनुसन्धानको विषय होस् भन्ने जोशीले चाहेका थिए । त्यहीबमोजिम उनले शरीर दान गरेको अस्पतालले जनाएको छ ।

संस्कृतिविद् सत्यमोहन जोशीप्रति आइतबार राष्ट्रिय सम्मान अर्पण गरिँदै । तस्बिर : अनिश रेग्मी/कान्तिपुर

मेडिकल कलेजले पार्थिव शरीरलाई सुरक्षित गरेर अंगहरूको अध्ययन/अनुसन्धान गर्ने तयारी गरेको छ । ‘हामीले उहाँको शरीरका हरेक अंगहरूको अध्ययन गर्नेछौं । सबै अंगको स्लाइड बनाएर त्यहाँ पाइएका रसायन वा कुनै जानकारीले धेरै वर्षसम्म मानिस बाँच्न सक्ने कारण जान्न मद्दत गर्छ,’ डा. बज्राचार्यले भने ।

शव डी–फ्रिजमा राखिएको छ । शरीरका कोषिकाहरू कुहिन नदिनका लागि केमिकल इन्जेक्ट गरिएको डा. बज्राचार्यले जानकारी दिए । ‘केमिकल इन्जेक्ट गर्दा शरीर कुहिने प्रक्रिया ढिलो हुने गर्छ । मेडिकल भाषामा यसलाई इम्बाल्मिङ प्रक्रिया भनिन्छ,’ उनले भने । रासायनिक रूपमा शरीरका अंगहरूलाई सुरक्षित रूपमा राख्ने प्रक्रिया इम्बाल्मिङ हो । मृत शरीरमा फर्मालिनलगायत अन्य रसायनहरू हालिन्छ ।

के हो इम्बाल्मिङ ?

रसायनिक रुपमा शरीरका अंगहरुलाई सुरक्षित रुपमा राख्ने प्रक्रिया नै इम्बाल्मिक हो । मृत शरीरमा फर्मालिन लगायत अन्य रसायनहरु हालिन्छ । विभिन्न रसायनको समिश्रण गरेर एउटा फ्ल्यड बनाइन्छ जसलाई 'इम्बाल्मिङ फ्ल्युड' भनिन्छ ।

सन् २०१४मा न्युयोर्कस्थित चिफ मेडिकल एक्जामिनर अफिसकी फोरेन्सिक टक्सिकोलोजी विभागकी प्रमुख मारिना स्टाजिकको इम्बाल्मिङ फ्ल्युडमा प्राय: फर्मालडिहाइड र मिथानोलहरुका प्रयोग भएको पाइएको थियो । बायोमेडिकल साइन्समा प्रकाशित उनको वैज्ञानिक आलेख अनुसार इम्बाल्बिङ फ्ल्यूडस् फार्मलडिहाइड, मिथानोल, सोडियम बोरेट, सोडियम नाइट्रेट, ग्लिसिरिन, कलरिङ रसायन र पानी हालेर बनाइन्छ ।

के गर्छन् मेडिकल कलेजले शव ?

मेडिकल कलेजहरूलाई अध्ययन–अनुसन्धानका लागि मानव शरीर जरुरी भए पनि आफूखुसी शव व्यवस्था गर्न पाउँदैनन् । कसैले दान दिन जीवित छँदै मन्जुरीनामा दिएको हुनुपर्छ ।

मुलुकी देवानीसंहितामा कुनै पनि व्यक्तिले लिखित रूपमा इच्छा व्यक्त गरी मृत्युपछि आफ्नो शव, कुनै अंग वा त्यसको कुनै अंश कसैलाई दिन सक्ने व्यवस्था छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको फोरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपाल चौधरी मेडिकल कलेजहरूले कानुनमा भएको यही व्यवस्थाबमोजिम अध्ययन प्रयोजनका लागि शव पाउने गरेका छन् । १२ वर्षदेखि यस क्षेत्रमा संलग्न डा. चौधरीले ६ हजारभन्दा बढी शवको चिरफार गरेका छन् ।

शिक्षण अस्पतालमा रेडक्रस सोसाइटीले २०७२ को भूकम्पपछि निर्माण गरेको ‘कोल्ड च्याम्बर’ छ, जहाँ डेढ सयवटा बेवारिसे शव राख्न सक्ने क्षमता छ । ‘भूकम्प अगाडि पहिला एक/एकवटा फ्रिज थियो । ६ वटा मात्रै शव राख्न सक्थ्यौं,’ चौधरीले कान्तिपुरसित भने, ‘शव व्यवस्थापन निर्देशिकाअनुसार नै त्यहाँ राखिएका बेवारिसे बडी (शव) शिक्षण अस्पतालमा माग गरेको खण्डमा उपलब्ध गराउने गरेका छौं ।’

शिक्षण अस्पतालहरूले अध्ययन प्रयोजनका लागि शवको डाइसेक्सन (चिरफार) गर्छन् । कुहिएपछि त्यहाँबाट हड्डी संकलन गरेर कलेजको संग्रहालयमा अस्थिपञ्जर अध्ययनका लागि प्रयोग हुने डा. चौधरीले जानकारी दिए ।

एमबीबीएस पहिलो र दोस्रो वर्षका विद्यार्थीहरूलाई विभिन्न अंगको अध्ययन तथा डाइसेक्सनका लागि शवको आवश्यकता पर्छ । उनीहरूले शरीरका विभिन्न प्रणालीहरूको अध्ययन गर्नेदेखि लिएर दिमाग, हाड, छाला, कोषिक, भित्री अंगहरू मुटु, कलेजो र फोक्सो लगायतको अध्ययन गर्छन् ।

सामान्य शिक्षण अस्पतालमा हरेक १५ जना विद्यार्थीहरूका अध्ययनका लागि एक वर्षमा एउटा शव आवश्यक पर्ने चिकित्सकहरू बताउँछन् । सय जना विद्यार्थी भएको शिक्षण अस्पतालमा वार्षिक रूपमा ५ वटा शव आवश्यक मानिन्छ ।

मृत्युपर्यन्त शरीर दानको सम्झौता गरेकाको शव शिक्षण संस्थाले लैजान्छन् । आफन्तको रोहबरमा लगिने शव सुरक्षित गरेर डी–फ्रिजमा हालेर वा ‘इम्बाल्मिङ फ्ल्युड’ शवमा हालेर सुरक्षित स्थानमा राख्ने प्रक्रिया छ । मेडिकलका विद्यार्थीहरूले उक्त शवलाई कम्तीमा वर्ष दिनसम्म अध्ययन प्रयोजनका लागि प्रयोग गर्छन् । एक पटक डाआइसेक्सनका लागि निकालिएको शवलाई ल्याबमा प्रायः फर्मालिनमा डुबाएर राखिने डा. चौधरीले बताए । ‘चिर्नुअघि डी–फ्रिजबाट निकालिएको शवलाई फेरि त्यहाँ राखिँदैन, चिरेपछि फर्मालिनमा डुबाएर राखिन्छ,’ उनले भने ।

नेपालमा शरीर दान गर्ने मानिसहरूको संख्या उल्लेख्य छ । हाल शिक्षण अस्पतालमा ६० भन्दा बढीले शरीर दानको मन्जुरीनामा गरेको उनले जानकारी दिए । नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्यसचिव डा. प्रदीप ज्ञवाली शवसम्बन्धी वैज्ञानिक अनुसन्धान नेपालमा कम भएको बताउँछन् । भन्छन्, ‘यो क्षेत्रमा नेपालमा रिसर्च निकै कम भएको छ । जनशक्ति र विषयविज्ञ कमीका बाबजुद पनि केही काम भने हुँदै छ ।

प्रकाशित : आश्विन ३१, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?