२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बकुमबहाःमा एउटा हुलाक टिकट

टाँचा लागेको तस्बिरसहितको हुलाक टिकट जीवित छँदै कुनै साधक स्रष्टाको सम्मानमा निस्किएको पहिलो थियो, टिकटमा ‘डा.’ फुर्कोसहित विवरण आएकोमा भने जोशी आफैं अचम्मित भए
देवेन्द्र भट्टराई

पाँचथर — अन्वेषण र प्राज्ञिक जगत्मा सत्यमोहन जोशीको नामकाम त्यसबेलै निकै छाइसकेको थियो । केही वर्षको अन्तरमा दुई पटक मदन पुरस्कार पाइसकेको रापतापमा अनेक योजना र अध्ययनका प्रस्तावमा हराइरहेका जोशीले एक दिन लिएर आए– कर्णाली लोक संस्कृतिको बनोट अध्ययन ।

बकुमबहाःमा एउटा हुलाक टिकट

यो २०२७ सालको कुरा थियो, जुनबेला जोशी राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य थिए । त्यसअघि ‘हाम्रो लोक संस्कृति’ (२०१३) र ‘नेपाली राष्ट्रिय मुद्रा’ (२०१७) कृतिमा मदन पुरस्कार पाइसकेका जोशी यस्तै अन्वेषणमा एकोहोरो तानिएका थिए, यताउता नहेरी । ‘म त त्रिभुवन विश्वविद्यालयमा भाषाविज्ञान पढाउँथे, एक दिन जोशीजीले प्रज्ञा प्रतिष्ठानमा बोलाएरै भन्नुभयो,’ प्राध्यापक डा. चूडामणि बन्धुले सुनाए, ‘लु, सारा कुरा छाड्नुहोस् । हामी ५/७ महिना कर्णाली जाऔं, तपाईं पर्वतेहरूकै भाषाको जन्मथलोमा जाऔं । हेर्नुस्, तपाईंले पढाएर वा मैले यहाँ जागिर खाएर उही दुई छाक जोहो गरिएला, अरू नामकाम, अनुसन्धान र मनखुस हुने काम हुनै सक्दैन ।’

नभन्दै त्यसबेला ‘केही नयाँ काम गरौं’ भन्ने मनसुवा रहेकै बेला प्राज्ञ सत्यमोहनको प्रस्तावले चूडामणि बन्धु तानिए नै । भाषा, भूगोल, लोकसंस्कृति, समाजशास्त्रसहितको विधामा अन्वेषण गर्न सत्यमोहनले अरू विषयविद्लाई पनि अनुरोध गरेका रहेछन् । सत्यमोहनले संयोजन गरेको त्यो टोलीमा प्रदीप रिमाल (लोकसंस्कृति), बिहारीकृष्ण श्रेष्ठ (समाजशास्त्र), स्थिरजंगबहादुर सिंह (भूगोल), चूडामणि बन्धु (भाषा) सहितको विज्ञ समूह थियो ।

‘जोशीजीले यसरी भन्नुभयो कि यो जीवनजगत्, परिवार वा अरू कुरा केही होइन । बरु यो समाज र समयको अध्ययन निकै अर्थपूर्ण हो जस्तो लाग्यो, अनि म पनि हाम फालें नि,’ विश्वविद्यालयको प्राध्यापन सेवाबाट अवकाश लिएर अहिले नवलपरासीको गैंडाकोटमा बसोबास गर्ने ८५ वर्षीय चूडामणि बन्धुले फोनमा सुनाए, ‘त्यसरी २०२७ सालमा ३ महिनाभन्दा बढी जुम्लाको सिँजा उपत्यकामा हामी सँगै बसेका थियौं । भाषा, लवज, संस्कृति र बसोबासमा कठिनाइ भए पनि सबै कुराको संयोजनमा जोशी आफैं सरिक हुनुहुन्थ्यो, कुनै कठिनाइ बेहोर्नै परेन ।’

कतिसम्म भने यो अध्ययन–अन्वेषणका क्रममा एक ठाउँ वा एक गाउँबाट अर्कोमा सरिरहनुपर्ने अवस्था रहन्थ्यो नै । सरकारी कर्मचारी आउँदाजाँदा स्थानीयले निःशुल्क भरियाको काम गरिरहेको अवस्थामा सजिलै भरिया पाउनै मुस्किल पर्थ्यो । ‘तर, हाम्रा संयोजक सत्यमोहन यति सिपालु कि ललितपुरको नेवार भए पनि नेपाली (पर्वते) भाषामै टाक्कटुक्क कुरो मिलाएर काम गराइहाल्ने,’ बन्धु सम्झन्छन् ।

त्योबेला जुम्ला जानै पनि मुस्किल थियो । तर, जोशीकै आइडिया र उपायमा सजिलै कर्णाली पुगिएको रहेछ । अमेरिकाको समर इन्स्टिच्युट अफ लिंग्विस्टिकले त्रिभुवन विश्वविद्यालयको सहकार्यमा नेपालका भाषा अध्ययनमा काम गरिरहेको समय थियो त्यो । ‘इन्स्टिच्युटका केही भाषाविद् अमेरिकाबाट सानो डकोटा लिएर नेपाल आएका थिए । त्यही ५ सिटे डकोटामा हामी काठमाडौंबाट सिधै जुम्ला उत्रिएका थियौं,’ बन्धुले सम्झिए, ‘तीन महिनापछि त्यही डकोटा मगाएर काठमाडौं आयौं, अनि तोकिएको समयमा आआफ्नो विधामा कर्णाली लोकसंस्कृतिको ५ खण्ड किताब निकाल्यौं ।’

प्रकाशित पुस्तकलाई मदन पुरस्कारको प्रतिस्पर्धामा बुझाउने र आफूसमेतलाई पुरस्कारको हकदार बनाउने उनै अन्वेषक जोशी रहेको प्राध्यापक बन्धुले सुनाए । यत्रो काम गर्दा र पुस्तक प्रकाशन हुँदा कहींकतैबाट आयआर्जन हुन नसकिरहेका बेला मदन पुरस्कार पाएपछि ५ जना लेखकले जनही २/२ हजार रुपैयाँ पाएका रहेछन् । ‘प्राज्ञिक र अन्वेषण तहको काममा सत्यमोहन नित्य–निरन्तर लागिरहने पात्र थिए,’ बन्धुले भने, ‘नेपाल–नेपाली पहिचानको राष्ट्रिय धारा ब्युँताउने र लोकसंस्कृति भनेको स्वच्छन्दतावादी लयको राष्ट्रिय प्रवृत्ति हो भनेर बुझाउने काम जोशीले गर्नुभएको छ । उहाँले गरेको लोकसंस्कृतिको अध्ययन–अनुसन्धान पछि मात्रै धर्मराज थापा जस्ता लोकगीत–संगीतका प्रयोक्ता उदाएका हुन् ।’

त्यसअघि, २०१३ सालमै पहिलो पटक मदन पुरस्कार पाइसकेको जोशीको ‘हाम्रो लोकसंस्कृति’ कृतिसँगै इतिहास विधामा पुरस्कृत हुने चित्तरन्जन नेपाली (९२) का बुझाइमा सत्यमोहनजत्तिको नेपाल–नेपाली संस्कृतिबारेमा बृहत् ज्ञान हुने अर्को अध्येता कोही पनि थिएन । ‘हामी नेपालीको पहिचानलाई उठाउने कलाकार अरनिकोदेखि नेपाल भाषा एकेडेमीसम्मको क्षेत्रमा आफ्नो चिन्तनले भ्याएसम्मको काम गर्ने अद्भुत मित्र हुनुहुन्थ्यो,’ प्राज्ञ एवं ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ कृतिका लागि इतिहास विधामा २०१३ सालमा मदन पुरस्कार प्राप्त गर्ने अन्वेषक नेपालीले कान्तिपुरसँग भने । अन्वेषक जोशीको निधनमा आफू दुःखी भएर बसिरहेको बताउँदै अन्वेषक नेपालीले नेपाल भाषा एकेडेमीमार्फत जोशीसँगै मिलेर आफूले सहकार्य गर्न पाएको स्मरण गरेका थिए ।

प्राध्यापक अभि सुवेदीका बुझाइमा नेपाली संस्कृति, सम्पदा र स्वाभिमानको चिनारी दिलाउनमा जोशीजत्तिको अर्को साधक पाउन मुस्किल छ । उनले भने ‘आखिरमा मैले कर्णालीमा गएर काम गरेकोमा म संस्कृतिविद् भनेर चिनिएँ, म यही कारणलाई सबैभन्दा बढी सम्झन्छु र, गौरवबोध गर्छु भनेर उहाँ भनिरहनुहुन्थ्यो ।’

पत्रकार कनक दीक्षितले जोशीलाई ‘पुनर्जागरणका सूत्रधार व्यक्तित्व’ भनेर टिप्प्णी गरेका छन् । ‘एउटा रेनासन्स व्यक्तित्व : सत्यमोहन जोशी’ शीर्षकमा दीक्षितले लेखेको एउटा लेखमा भनिएको छ, ‘तर्क, तथ्य, मानवीयता तथा लोकतान्त्रिक आस्था बोकेका व्यक्तिलाई ‘रेनासन्स म्यान’ – पुनर्जागरणका सूत्रधार व्यक्तित्व’ भन्ने गरिन्छ । बहुआयामिक सिर्जनशीलता बोकेका व्यक्तिलाई ‘पोलिम्याथ’ पनि भनिन्छ । हाम्रो आधुनिक युगका धेरै ‘पोलिम्याथ’ अथवा ‘रेनेसान्स व्यक्तित्व’ मध्येका एक उज्ज्वल उदाहरण हुन्– सत्यमोहन जोशी ।’

त्यो हुलाक टिकट

सधैंजसो सकारात्मक चिन्तनमा डुबिरहने सत्यमोहन एक पटक असमञ्जसमा परेका देखिन्थे । २०७७ माघ २० मा जारी उनको तस्बिर भएको हुलाक टिकट नेपालमा जीवित छँदै कुनै साधक स्रष्टाको सम्मानमा निस्किएको पहिलो थियो । तर, टिकटमा ‘डा.’ फुर्कोसहित आएकोमा अचम्ममा परेका थिए ।

‘काठमाडौं विश्वविद्यालयले सम्मानस्वरूप मलाई महाविद्यावारिधि उपाधि दिएको हो । यहाँ धेरै विद्वान्, राजनीतिक नेता र पात्रलाई पनि यस्तो सम्मान दिइएकै छ । कहिले त्यसमा अर्थ र महत्त्व रहन्छ, कहिले हाँसिमजाक मात्रै,’ हुलाक टिकट हात परेपछि उनले भनेका थिए, ‘तर, म डाक्टर सत्यमोहन होइन, यो डा. फुर्को भने ठीक लागेन ।’ उनले कहींकतै पूर्वराजदूत एवं उपकुलपति केदारभक्त माथेमाले आफूलाई सम्बोधनमा ‘प्रा. डा.’ भनिने गरेकोमा आपत्ति जनाएकोबारेमा पनि स्मरण गराएका थिए ।

अन्वेषक सत्यमोहन प्रज्ञापारमिताको प्रवचन सुन्न र त्यसको चुरो अरूलाई सुनाउनमा सधैं लालायित रहन्थे । धर्मकर्ममा समावेशी र उदार भाव राख्ने उनी श्रीमद्भागवत पुराण वाचन पनि बकुमबहाः निवासमै लगाउने गर्थे । ‘सापेक्षवाद हो सबै,

अस्तित्व केहीको पनि छैन,’ उनी भन्थे, ‘मृत्यु जहिल्यै तिमीसँगै छ ।’ नाट्य विधामा उत्तिकै रुचि राख्ने जोशीले ‘सिपाही र रैती’ (२०२७), ‘दैलाको बत्ती’ (२०२८), ‘फर्केर हेर्दा’ (२०३३), ‘जब घाम लाग्छ’ (२०३४), ‘सपना ब्युँझन्छ’ (२०३५), ‘बाघभैरव’ (२०६४), ‘सुनकेशरी मैंया’ (२०६९), ‘मजिपालाखे’ (२०७१), ‘महर्षी याज्ञवल्लभ’ (२०६९) जस्ता नाटकहरू लेखेका छन् ।

प्रकाशित : आश्विन ३१, २०७९ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?