एमालेले प्रतिनिधिसभामा टिकट दिएपछि पूर्वमुख्यमन्त्री गुरुङ असन्तुष्ट

लालप्रसाद शर्मा

पोखरा — एमालेले प्रदेशसभामा मात्र सिफारिस भएका गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रतिनिधिसभा लगेपछि गण्डकी एमालेमा असन्तुष्टी बढेको छ । पार्टीले गुरुङको सट्टा संगठन विभाग प्रमुख खगराज अधिकारीलाई प्रदेशसभामा टिकट दिएको छ ।

गुरुङ एकपटक प्रदेशमै बसेर पुन: मुख्यमन्त्री बन्न चाहन्थे । तर अधिकारीलाई भावी मुख्यमन्त्रीको रुपमा अघि सार्ने गरी एमाले उनलाई प्रदेश सभामा टिकट दिएपछि असन्तुष्टि बढेको हो । दुबै अध्यक्ष केपी शर्मा ओली निकट नेता हुन् । तर एउटै समूहभित्र पनि गुरुङ र अधिकारीको राम्रो मेलमिलाप छैन । गत स्थानीय तह चुनावमा पनि दुई नेताबीचको रस्साकस्सीले गण्डकीमा टिकट वितरणमा समस्या देखिएको थियो ।

एमाले स्रोतका अनुसार यो उम्मेदवारीप्रति गुरुङ असन्तुष्ट छन् । उनलाई प्रदेशमै टिकट दिलाउन केही दिन अघि लमजुङबाट स्थानीय नेताहरु पार्टी केन्द्रमा समेत गएका थिए । असन्तुष्टीकै बीच टिकट दिएकाले गुरुङले आइतबार प्रतिनिधि सभामा उम्मेदवारी दिन्छन् कि दिन्नन् भन्ने निर्क्यौल नभइ सकेको एक नेताले जनाकारी दिए । यसैगरी प्रदेशसभामा उम्मेदवारको टुंगो लागेका लमजुङकै जमीन्द्रमान घलेले पनि उम्मेदवार चयनमा पक्षपात भएको भन्दै असन्तुष्टि जनाएका छन् । पृथ्वीसुब्बा गुरुङ चुनाव नलड्ने भए आफू पनि कुनैपनि सभामा चुनाव नलड्ने घलेले बताएको एमाले स्रोतको भनाइ छ ।

यसैगरी मुस्ताङबाट प्रतिनिधिसभामा उम्मेदवारको टुंगो लागेका यसअघिका पनि सांसद प्रेमप्रसाद तुलाचन पनि निर्वाचन नलड्ने नलड्ने अझै दोधारमा छन् । पछि मन्त्री बनाइदिने आश्वसन पाए निर्वाचन लड्नसक्ने एक एमाले नेताले बताए । यस्तै मनाङको प्रदेशसभा खमा गण्डकी प्रदेशका हालका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दिपक मनाङे) लाई सहयोग गर्ने मनस्थितिमा एमाले रहेकाले हाललाई खाली राखिएको छ । ‘दिपक मनाङेसंँग उम्मेदवारीका विषयमा छलफल भइरहेको छ’ एमाले स्रोतले भन्यो ।

त्यस्तै बाग्लुङ –२ को क मा माओवादी छाडेर स्वतन्त्रबाट उठ्ने तयारी गरेका प्रकाश घर्तिलाई एमालेले समर्थन गर्ने भएको छ । ताराखोला गाउँपालिकाका पूर्व अध्यक्ष घर्तिलाई पार्टीले फेरि अध्यक्षको उम्मेदवार नबनाएपछि उनी स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका थिए । घर्तिले अहिले स्वतन्त्रबाट उठ्ने र पछि एमाले प्रवेश गर्ने बताएका तर एमालेले भने सूर्य चिन्हबाटै निर्वाचन लड्नु पर्ने भन्दै आएको बागलुङ एमालेका एक नेताले कान्तिपुरलाई बताए । एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले निर्वाचन लड्ने नलड्नेबारे आधिकारीकरुपमा केही जानकारी नआएको बताए ।

प्रकाशित : आश्विन २२, २०७९ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्

अन्ततः देउवासँगै भिड्न आए कर्ण मल्ल

प्रकाश धौलाकोटी

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट सातौँ पटक चुनाव लड्दैछन् । ०४८ को चुनाव जितेपछि एकैपटक गृहमन्त्रीको जिम्मेवारी पाएका देउवाले त्यसपछि राजनीतिकरुपमा कहिल्यैपछि फर्किएर हेर्नुपरेको छैन । डडेल्धुराबाट निरन्तर छ पटक चुनाव जित्दा उनी पाँच पटक त प्रधानमन्त्री नै भइसकेका छन् । तर, यसपटकको चुनावमा भने देउवाका लागि नयाँ स्वाद मिल्ने देखिएको छ ।

चुनावी परिणाम कसको पक्षमा पर्छ ? अनुमान लगाउनु हतारो हुन्छ । तर, यसपटकको चुनावी दृश्य भने विगतको भन्दा निकै फरक बनेको छ ।

विगतका निर्वाचनमा तीन पटकसम्म देउवाको निकटतम प्रतिस्पर्धी रहेका नेकपा माओवादी केन्द्रका नेता खगराज भट्ट यसपटक देउवाको लागि भोट माग्ने भएका छन् भने दुई दशकसम्म देउवाकै चुनावी कमाण्डर बनेर काम गरेका कर्णबहादुर मल्ल प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् ।

हाल बीपी कांग्रेसको वरिष्ठ उपाध्यक्ष रहेका मल्लले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने उनलाई नेकपा एमालेले पनि समर्थन दिएको छ । डडेलधुरामा स्थानीय तहको निर्वाचनमा पनि बीपी कांग्रेस र एमालेको चुनावी तालमेल भएको थियो । लामो समयसम्म देउवाको सहयोगी भएर राजनीति गरेका मल्ल कांग्रेस डडेलधुराको दुई पटक सभापति भइसकेका नेता हुन् ।

पार्टीको १४ औँ महाधिवेशनमा डडेलधुराको क्रियाशील सदस्यता नवीकरण र वितरणमा देउवासँग विवाद भएपछि देउवा पक्षले मल्ललाई बाहिर राखेर अधिवेशन गरेको थियो । मल्लले विधिविपरीत भएको अधिवेशन सच्याउन माग गर्दै डडेलधुरादेखि केन्द्रीय कार्यालयसम्म समेत गरी महिनौँसम्म आन्दोलन, धर्ना र अनसन गरे । तर, उनको माग सुनुवाइ भएन ।

स्थानीय तह निर्वाचनमा मल्ल कांग्रेसविरोधी गतिविधिमा संलग्न भए । उनकै निर्देशनमा उनीनिकट नेताहरूले डडेलधुरामा बीपी कांग्रेसलाई सक्रिय बनाएर एमालेसँग तालमेल गरेर उम्मेदवारी दिए । तर, कुनै पनि स्थानीय तहमा एमाले–बीपी कांग्रेस गठबन्धनले जित्न सकेन । बरू कांग्रेस एक्लैले डडेलधुराका सातमध्ये पाँच स्थानीय तहको प्रमुख र उपप्रमुख जितेको थियो । देउवाकै वडामा भने बीपी कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार विजयी भएका थिए ।

स्थानीय तहमा कांग्रेसविरोधी गतिविधि गरेपछि मल्ललाई देउवाले कांग्रेसको साधारण सदस्यबाट समेत निष्कासित गरे । त्यसपछि मल्ल बीपी कांग्रेसको केन्द्रीय वरिष्ठ उपाध्यक्ष मनोनीत भएका हुन् । स्थानीय निर्वाचनमा देउवाविरुद्व गतिविधि गरेका मल्ल कांग्रेसबाट निकालिएपछि अन्ततः प्रतिनिधिसभा सदस्यकालागि देउवाविरुद्व उम्मेदवारकै रुपमा उभिने भएका छन् । देउवालाई कमजोर पार्न एमालेले पनि मल्ललाई समर्थन दिएको छ ।

डडेलधुराको राजनीतिमा ०४८ सालपछि देउवाको एकलौटी छ । उनले ०४८ देखि हालसम्मका सबै चुनाव जितेका छन् । तर, यसपटक देउवा र उनकै पूर्व चुनावी कमाण्डरबीचको प्रतिस्पर्धा विगतको भन्दा रोचक बन्न सक्ने देखिएको छ ।

देउवा र मल्लको चुनावी आधार एउटै हो । मल्ल आफैँले विगतमा बनाएको संगठनको साथ पाउने अपेक्षामा छन् भने देउवा पनि उही कांग्रेसको संगठनको । यद्यपि यसपटक देउवालाई विगतका प्रतिस्पर्धीको भने साथ छ । विगतको आफ्नै विश्वासपात्र आफूविरुद्व खडा हुँदा देउवालाई प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रको भने साथ छ ।

डडेलधुरामा कांग्रेसपछि ठूलो दल नेकपा माओवादी केन्द्र नै हो । देउवासँग निरन्तर तीन पटक चुनाव हारेका माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका नेता भट्ट गठबन्धनबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिँदैछन् । उनी ०६४ पछि देउवासँग निरन्तर पराजित हुँदै आएका छन् ।

भट्टले ०७४ मा एमालेसँग तालमेल हुँदा सबैभन्दा धेरै भोट २१ हजार ४९८ ल्याए । तर, त्यति हुँदा पनि देउवाले ६ हजार ९४८ मतान्तरले जिते । देउवाले २८ हजार ४४६ मत ल्याएका थिए । देउवाले भट्टलाई ०७० मा ११ हजार ५८८ र ०६४ मा एक हजार ३६२ मतान्तरले चुनाव जितेका थिए ।

जिल्ला सभापति भइसकेका मल्लसहित नेताहरू कांग्रेसबाट निकालिएपनि स्थानीय तह निर्वाचनको परिणाम कांग्रेसलाई खासै असर परेको छैन । वडाध्यक्षको मतको आधारमा डडेलधुरामा कांग्रेसको मत २१ हजार ७३५ छ भने माओवादी केन्द्रको मत १२ हजार ८७८ छ ।

जिल्लामा तेस्रो शक्ति रहेको नेकपा एमालेको मत १० हजार ४४९ मात्रै छ । एमाले विभाजित भएर गठित नेकपा एकीकृत समाजवादीको ५ हजार ४१ मत पाएको छ भने बीपी कांग्रेसले ३ हजार ६०४ मत पाएको छ । यो परिणाम हेर्दा सत्ता गठबन्धनको साझा उम्मेदवार देउवाको पक्षमा ३९ हजार ८१० मत देखिन्छ भने एमाले–बीपी कांग्रेस गठबन्धनको १४ हजार ५३ मत छ । मल्लनिकट नेताहरू भने देउवाविरुद्वको विद्रोहलाई महत्व दिनुपर्ने बताउँछन् । मल्ल आफैँ उम्मेदवार भएका कारण यो चुनावको परिणाम फरक हुने दाबीसमेत उनीहरूको छ ।

‘उहाँले डडेलधुरामा देउवाको उत्तराधिकारकोरुपमा काम गर्नुभएको हो, उहाँ आफैँ मैदानमा हुँदा परिणाम फरक पर्छ,’ मल्लनिकट एक नेताले भने, ‘डडेलधुरामा देउवाको पक्षमा पहिलेजस्तो जनलहर छैन ।’

अहिले चुनावी मैदानमा प्रतिस्पर्धी बनेका देउवा र मल्लबीच गुरू र शिष्यको सम्बन्ध छ । मल्ल देउवालाई राजनीतिक गुरूको रुपमा मान्छन् । युवा उमेरका मल्लको क्षमता देखेपछि ०४८ को निर्वाचनताका देउवाको नजर परेको थियो । त्यहीबेला देखि देउवा–मल्ल दुरी नजिकियो ।

मल्लले देउवा गृहमन्त्री हुँदा सचिवालयमा नियुक्ति पाए । देउवा दोस्रो कार्यकाल प्रधानमन्त्री हुँदा उनी निजी सचिव नै भए । त्यसयता निरन्तर मल्लले देउवाको राजनीतिक सहयोगी र विश्वासपात्रका रूपमा काम गरे । ०६७ सालमा पार्टीको १२ औं महाधिवेशनबाट सभापति देउवाकै समर्थनमा जिल्ला सभापति बनेका मल्ल ०७२ मा भएको १३ औं महाधिवेशनबाट पुनः सभापतिमा दोहोरिए ।

१२ औं महाधिवेशनमा सर्वसम्मत जिल्ला सभापति बनेका उनीविरुद्ध डडेलधुरामा देउवा समूहकै अर्को गुट खडा भएको थियो । १३ औँ महाधिवेशनमा उनले २ भोटले सभापति जितेका थिए ।

प्रकाशित : आश्विन २२, २०७९ २०:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×