कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

बाढीले सयौं घर डुबानमा, सडक अवरुद्ध 

पहिरोमा एकै परिवारका तीन जनाको मृत्यु
नदी तटीय क्षेत्र उच्च जोखिममा
कर्णालीमा हवाई सेवासमेत ठप्प
कान्तिपुर टिम

काठमाडौँ — तीन दिनयताको मौसमी विपद्का कारण ५ जनाको मृत्यु भएको छ । तराईका विभिन्न ठाउँ जलमग्न छन् भने हिमाली क्षेत्रमा हिमपात भएको छ । काठमाडौंमा एकै परिवारका तीन जनाको पहिरोमा परी मृत्यु भएको हो । लमजुङ र पाल्पामा पनि दुई जनाले ज्यान गुमाएका छन् ।

बाढीले सयौं घर डुबानमा, सडक अवरुद्ध 

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ देउराली नजिकै बिहीबार रातिको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे धुलिखेल–१२ का ५१ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा र छोरी डेढ वर्षीया सारथी रहेका छन् । चन्द्रागिरि–२ देउराली नजिकै मसिनी जाने बाटोमा वर्षाका कारण पहिरो खस्दा रेकी ध्यान केन्द्रमा सुतिरहेका उनीहरूको मृत्यु भएको चन्द्रागिरि–२ का वडाध्यक्ष भाइकृष्ण तामाङले बताए । केही समयदेखि बिरामी भएकाले उनीहरू ध्यान केन्द्रमा उपचारका लागि बस्दै आएका थिए ।

उता, लमजुङको दोर्दी र दूधपोखरी गाउँपालिकाको सिरानमा रहेको पर्यटकीय क्षेत्र मेमेपोखरी घुम्न गएका एक युवकको मृत्यु भएको छ । सर्लाही लालबन्दी नगरपालिका–१२, पत्थरकोटका २७ वर्षीय बुद्धिमान योञ्जनको मृत्यु भएको हो । उनीसँगै यात्रामा रहेकी लमजुङ बेंसीसहर नगरपालिका–१० माइत भएकी शर्मिला तामाङ सम्पर्कविहीन छन् । उनीहरूको खोजीमा जुटेका प्रहरी निरीक्षक विष्णु विकका अनुसार शर्मिलाका बुबा, भाइ र काका करिब ४ हजार मिटर उचाइको च्यार्बो भन्ने ठाउँको भेडी गोठमा आएर बसेका छन् । ‘श्रीमान्–श्रीमती पछि आउँदै गर्ने र अन्य ३ जनाले अगाडि बास खोज्न जाने सल्लाहबमोजिम अरू अघि बढे, त्यही बेला श्रीमान्लाई लेक लागेछ,’ विकले भने, ‘श्रीमान्लाई भएको समस्याबारे जानकारी गराउन डाँडाकाँडा खोज्दै मोबाइल सम्पर्क गर्न आएकी श्रीमती रातको समयमा बाटो पहिल्याउन नसक्दा सम्पर्कविहीन भएकी हुन् ।’

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले ४ हजार ८ सय मिटर उचाइमा रहेको मेमेपोखरी घुम्न गएका युवकलाई लेक लागेको जानकारी आएपछि प्रहरीलाई खबर गरेको र टाप गाउँका युवालाई उद्धारका लागि पठाएको बताए । शुक्रबार बराहपोखरीबाट २ घण्टा माथि गएर खोजी गरे पनि नभेटेको डीएसपी प्रकाश श्रीमलले बताए । उनका अनुसार खोजी कार्यमा दोर्दी–८ टापगाउँका ५ युवा पनि जुटेका छन् । लेकमा भीषण वर्षा भएपछि खोज्न नसकी उनीहरू बराहपोखरी फर्केका छन् । शुक्रबार नेपाली सेनाको उदिपुरस्थित चण्डीप्रसाद गणबाट ५ सैनिक उद्धारका लागि गएको उनले बताए ।

पाल्पामा खोलाले बगाएर बालिकाको ज्यान गएको छ । खोलाले बगाएर दुई र पहिरोमा पुरिएर दुई जना घाइते छन् । रिब्दीकोटको ठिमुरेस्थित मन्दी खोलाले बगाएर पाँच वर्षकी प्रिन्सु पचभैयाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले बताए । प्रिन्सुसँगै उनकी आमा ३४ वर्षीया कविता र स्थानीय ३२ वर्षीय मीना रानालाई पनि सँगै खोला तर्ने क्रममा बगाएको थियो । उद्धार गरिएका उनीहरूको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार गराइएको छ । पाल्पाको तिनाउ गाउँपालिका–६ मस्यामस्थित चिदिसमा पहिरोले घर पुरिँदा २१ वर्षीया विष्णुमाया सारू र डेढ वर्षकी अरुषी खासु घाइते भएका छन् ।

यस्तै, प्यूठानमा पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका छन् । माण्डवी गाउँपालिका–४ फरिन्डेमा बमबहादुर राहु मगरको घर शुक्रबार पहिरोमा पुरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक सुशील थापा मगरका अनुसार पहिरोमा पुरिएर ६० वर्षीय बमबहादुर राहु मगर र उनकी श्रीमती, १८ वर्षीया मौसमी थापा, ६० वर्षीय हीराबहादुर थापा, चार वर्षीय सुशान थापा र २१ वर्षीय टेकी राहु मगर बेपत्ता भएका हुन् । उद्धारका लागि गएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी नायब उपरीक्षक सुवास खड्कासहितको टोली सडक अवरुद्ध भएका कारण बाटोमै रोकिएको छ ।

पूर्वी नवलपरासीमा भने दुई सयभन्दा बढी घर डुबानमा परेका छन् । सयौं हेक्टर धान बालीमा क्षति पुगेको छ । गैंडाकोट नगरपालिका–१ र २ मा ८० घर डुबानमा परेका हुन् । विनयत्रिवेणी–१ बगुवनमा पनि शुक्रबार ७५ घर डुबानमा परेका छन् । त्रिवेणी जान दाउन्ने सडक भएर पश्चिम नवलपरासीको बर्दघाट हुँदै जानुपर्ने भएकाले उद्धारमा कठिनाइ भएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । नारायणी नदीको पानी बस्ती पसेपछि मध्यबिन्दु नगरपालिका–१० को सेहरी, नन्दपुर क्षेत्रमा पनि २० भन्दा बढी डुबानमा परेका छन् । नारायणी नदी र खहरे खोलामा आएको बाढीको क्षति न्यूनीकरण र डुबान प्रभावितका लागि उद्धार र राहत टोली तयारी अवस्थामा राखिएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

पहिरोले कालीगण्डकी करिडोरअन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोटदेखि पाल्पा जोड्ने सडक पनि अवरुद्ध भएको छ । बुलिङटार गाउँपालिका–६ मा पर्ने फूलमती खोला नजिकै पहिरो खसेको र अन्य स्थानमा पनि साना पहिरो खस्दा बिहीबारदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरीका सूचना अधिकारी सन्तोष पाठकले बताए । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीका अनुसार वालिङ–१३ बायाँटारीमा पहिरोले, गल्याङ–५ पिँडीखोलामा डुबान र भीरकोट–९ मा पहिरोका कारण उच्च जोखिममा परेका १६ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।

यस्तै, वर्षाका कारण म्याग्दीका सबै सडक अवरुद्ध छन् । पहिरोले बेनी–जोमसोम सडकको जलेश्वर, चमेरे, बैंसरी, बेगखोला, तातोपानी, दाना, काप्रेमा यातायात अवरुद्ध छ । बैसरीमा भीर काटेर बनाएको करिब ५० मिटर लामो सडकमा निरन्तर पहिरो झरेकाले पैदल यात्रु खरबारी, धानखोल र झाडी हुँदै २ घण्टासम्म हिँड्नुपरेको छ । ‘बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पर्ने बेनीदेखि घाँसासम्मको सडक पहिरोले छियाछिया भएको छ । हिँड्न पनि समस्या भएको छ,’ बेनी–जोमसोम सडकका नागरिक सुपरभाइजर इन्द्रसिं शेरचनले भने । सदरमुकाम बेनीदेखि पश्चिम मालिका गाउँपालिका केन्द्र रहेको दरबाङ हुँदै धवलागिरि गाउँपालिका केन्द्र मुना जोड्ने सडक पनि दर्जनौं स्थानमा पहिरो झर्दा यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । बेनी–बागलुङ जोड्ने सडक पनि ८ किलोमिटर दक्षिण बेनी–१ रत्नेचौरमा भासिएकाले साना सवारीबाहेक आवागमन बन्द छ ।

गण्डकमा तीन वर्षयताकै उच्च बहाव

पूर्वी नवलपरासीको गण्डक ब्यारेजमा पानीको बहाव उच्च भएको छ । बाँधमा पानीले खतराको सूचक पार गरेपछि नेपाल र भारततर्फका सबै ३६ वटै ढोका बिहीबार खोलिएको गण्डक ब्यारेजका भू–आर्जन अधिकारी अमित खड्काले बताए । मंगलबारदेखि परेको वर्षाका कारण नारायणी नदीमा बाढी आएको हो । बुधबार राति ब्यारेजमा २ लाख ५४ हजार क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेकामा शुक्रबार दिउँसो ४ बजे ४ लाख ४० हजार क्युसेक पानी प्रवाह भएको रेकर्ड छ । यो बहाव तीन वर्षयताकै उच्च भएको खड्काले बताए ।

सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय र प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहितको टोलीले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेर स्थानीयलाई सुरक्षित स्थानमा राख्न र कुनै पनि समस्या परेमा प्रहरी र गाउँपालिकामा जानकारी गराउन आग्रह गरेका छन् । बाढीका कारण सरावल, पाल्हीनन्दन र सुस्तामा लगाएको सयौं बिघाको धान खेतीमा क्षति पुगेको छ । बबई नदीमा आएको बाढीले सय बढी घर डुबानमा परेका छन् । सदरमुकाम गुलरियाको वालापुर, इन्द्रपुर, मुक्तिनाथघाट, गंगापुर, राधाकृष्ण टोललगायत बारबर्दिया नगरपालिकाका केही ठाउँ डुबानमा परेको छ ।

बाढीको कटानले गुलरिया नगरपालिकाको वालापुर, थपुवालगायतका ठाउँ उच्च जोखिममा परेका छन् । सल्यान र दाङमा लगातार पानी परेकाले रातिसम्म सदरमुकामलगायत बबई तटीय क्षेत्र उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताए । गुलरिया–११ इन्द्रपुरका किसान सौखत अली गद्दीले यस क्षेत्रमा करिब ५ सय बिघा खेतमा पाकेको धान डुबानमा परेको ।

सहिद मार्गअन्तर्गत होलेरी–नुवागाउँ खण्डमा क्षति पुगेको छ । भांगोबारी नजिकैको सडक क्षेत्रमा पहिरो खसेपछि आवागमन अवरुद्ध भएको छ । रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले सहिद मार्ग आयोजना कार्यालयलाई सडक खुलाउन आग्रह गरिएको बताए । दाङको घोराहीदेखि रोल्पा हुँदै उक्त सडक रुकुमसम्म पुगेको छ । सडकमार्फत दैनिक सयौं यातायातका साधन आवतजावत गर्छन् । सहिद मार्गकै घोराही दुई खोली–होलेरी खण्डमा पनि पहिरो खसेको छ । यस्तै घर्तीगाउँ–दुईखोली–थवाङ खण्डमा पनि पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

नदी र खोलामा आएको बाढीले दाङको देउखुरी उपत्यकाका बस्ती डुबानमा परेका छन् । राप्ती गाउँपालिकाका कालापानी, पिपरखुट्टी, बगरापुर, सगरापुर, पहरूवा, लट्ठहवा, डोडही, सिसहनियालगायतका गाउँ डुबानमा परेको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए । लमहीको सतबरिया र राजपुर गाउँपालिकाका विभिन्न क्षेत्रमा राप्ती नदीको डुबानमा परेका नागरिकलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको प्रजिअ हीरालाल रेग्मीले बताए ।

वर्षाले बाँकेको जनजीवन पनि प्रभावित भएको छ । राप्ती नदी तटीय बस्ती डुडुवा गाउँपालिका–१ को चौफेरी बस्तीका ३ सयभन्दा बढी बासिन्दा डुबानमा परेका छन् । प्रजिअ सूर्यबहादुर खत्रीले चौफेरी गाउँका कम्तीमा ८० घरपरिवारका अढाई सय बासिन्दालाई नजिकैको एउटा आश्रयस्थलमा राखिएको बताए ।

यस्तै, कर्णालीभर हवाई तथा यातायात सेवा बन्द भएको छ । बुधबार अपराह्नदेखिको वर्षाले कर्णाली, राप्ती, मध्यपहाडीलगायत मुख्य राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा गाडी चल्न सकेनन् भने शुक्रबार नेपालगन्ज र सुर्खेतबाट कुनै पनि जहाजले हिमाली जिल्लामा उडान भरेनन् ।

कर्णाली राजमार्गअन्तर्गत दहीखोला, सुनुवारखोला, पादुका, कालेखोला, हुल्म, कर्णाली करिडोरको खुलालु, भैरेकुना, फुगाड, राप्ती राजमार्गको जलेखर्क, फलाटे, कपुरकोटलगायत ठाउँमा पहिरो खसेपछि यातायात सेवा ठप्प भएको हो । मध्यपहाडी राजमार्गमा पनि झन्डै आधा दर्जन ठाउँमा पहिरो गएपछि दर्जनौं मालवाहक तथा सार्वजनिक सवारीसाधन विभिन्न स्थानमा अलपत्र परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडक पनि अवरुद्ध भएको छ । मनाङका प्रजिअ रवीन्द्रप्रसाद आचार्यले वर्षा रोकिनासाथ प्रहरी, स्थानीय तहका साथै सरोकारवालालाई सडक मर्मतमा खटिन अनुरोध गरिएको बताए ।

- आश गुरुङ (लमजुङ), नवीन पौडेल (परासी), माधव अर्याल (पाल्पा), कमल पन्थी (बर्दिया), काशीराम डाँगी (रोल्पा), दुर्गालाल केसी (दाङ), रूपा गहतराज (नेपालगन्ज), शमशेरविक्रम जीसी (प्यूठान), हरिहरसिंह राठौर (सुर्खेत), प्रतीक्षा काफ्ले (कास्की) र घनश्याम खड्का (म्याग्दी)

प्रकाशित : आश्विन २२, २०७९ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?