कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

पूर्वसांसद गंगा चौधरीद्वारा एमाले छाडेर स्वतन्त्र उठ्ने घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)की केन्द्रीय सदस्य तथा पूर्वसांसद गंगा चौधरी सत्गौवाले दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन् । एमालेले दाङ १ बाट शान्ता चौधरीलाई उम्मेदवार बनाउने तय भएपछि गंगा चौधरी सत्गौवाले असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन् । 

पूर्वसांसद गंगा चौधरीद्वारा एमाले छाडेर स्वतन्त्र उठ्ने घोषणा

दाङ- १ बाट आफ्नो नाम पनि सिफारिस भएको तर पार्टीले अर्को निर्वाचन क्षेत्रकी शान्तालाई ल्याएकाले स्वतन्त्र उम्मेदवार बन्न लागेको गंगाले बताइन् । 'मैले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छु । दाङ- १ बाट म स्वतन्त्र उम्मेदारी दिने हो,' उनले भनिन्, 'पार्टीले बाहिरको मान्छेलाई उम्मेदवार बनाउने भएकाले मान्दैनौं । उहाँ (शान्ता चौधरी)को क्षेत्र पनि यो भएको भए र उहाँलाई नै दिएको भए त मान्थ्यौं तर बाहिरको मान्छेलाई यहाँ उम्मेदवार बनाएपछि कसको मनले मान्छ ?'

असोज २३ मा उम्मेदवारी दर्ता गरेर पार्टीबाट राजीनामा दिने गंगा चौधरीले बताइन् ।

शान्ता चौधरीको स्थायी बसोबास दाङ क्षेत्र नम्बर २ मा पर्छ । दाङ- २ बाट एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने भएका छन् । दाङ- १ बाट गंगासँगै शान्ता चौधरीलगायतको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो ।

गंगाले पार्टीका नेताहरूसामू आफ्ना कुरा राख्दा पनि सुनुवाइ नभएको र उम्मेदवारीबाट वञ्चित गराएको बताइन् । 'नेताहरूलाई कति कुरा भने । भन्दाभन्दै पनि मेरो काम देखेका छैनन्, मैले आवाज उठाएको देखेका छैनन् ? पार्टीका लागि गरेको काम देखेका छैनन्,' उनले भनिन्, 'मेरो स्थान देखाइदिनुपर्‍यो । बस्नुस् पनि भनेका छैनन् । यो ठाउँमा राख्छु पनि भनेका छैनन् ।'

गंगा चौधरीले २०४९ सालमा एमालेको क्रियाशील सदस्यता लिएर पार्टीमा आबद्ध भएकी थिइन् । उनले २०६४ सालमा एमाले परित्याग गरी थरुहट तराई पार्टीमा लागेकी थिइन् । २०७० मा संविधानसभा सदस्य बनेकी उनी २०७४ सालको निर्वाचनअघि एमालेमै फर्किएकी थिइन् । २०७४ सालमा प्रतिनिधिसभामा समानुपातिक सांसद बनेकी उनले अहिले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी हुन् । एमालेको चितवनमा भएको १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य भएकी थिइन् ।

प्रकाशित : आश्विन २१, २०७९ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?