नारायणी नदीले खतराको सूचक पार गर्‍यो, तटीय क्षेत्र बाढीको उच्च जोखिममा 

नवीन पौडेल

परासी — लगातारको वर्षाको कारण नारायणी नदीले खतराको सूचक पार गरेको छ । पूर्वी नवलपरासीको गण्डक बाँधमा ३ लाख क्यूसेक पानी पुगेपछि खतराको सूचक मानिन्छ । अहिले गण्डक ब्यारेजमा तीन लाख ४ सय क्यूसेक पानी बगिरहेको छ ।

नारायणी नदीले खतराको सूचक पार गर्‍यो, तटीय क्षेत्र बाढीको उच्च जोखिममा 

जसकारण बाढीको उच्च जोखिम बढेको गण्डक ब्यारेजका भुआर्जन अधिकारी अमित खड्काले बताए ।

पानीको बहाब बढेपछि बिहीबार बिहान १० बजे नै ब्यारेजको ३६ वटै ढोका खोलिएका थिए । पानीको सतह बढ्दोक्रममा रहेको र पानी पर्न नरोकिएकोले सम्भावित खतरालाई मध्यनजर गरेर जिल्लाका सबै सुरक्षा युनिटलाई तयारी अवस्थामा राखिएको र जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बोलाइएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ । नारायणी नदीमा बाढीको कारण क्षति पुग्नसक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको पानी पस्ने खतरा भएकाले सुरक्षा निकायले सुरक्षित स्थानमा बस्न माईकिङ गरिरहेको छ ।

प्रकाशित : आश्विन २०, २०७९ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?