१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
इतिहासमा चुनाव

मतदाता आकर्षित गर्ने ती गीतसंगीत

‘यो डिजिटल डिमोक्रेसीको युग हो । युवापुस्तालाई आकर्षित गर्न सामाजिक सञ्जालमा प्रचार–प्रसार नगरी तिनीहरुसम्म पुग्न सकिने छैन । आज धेरैको चिन्तनको चौतारी भनेकै सामाजिक सञ्जाल हो ।’
ध्रुव सिम्खडा

काठमाडौँ — आमनिर्वाचन नजिकिँदै छ । अर्को साताको सुरुमै विभिन्न दलले आफ्ना उम्मेदवारहरु चयन गरिसक्नेछन् । उम्मेदवारी टुंगो लाग्नासाथ देशभरका निर्वाचन क्षेत्रमा चुनावी रौनक छाउनेछ । 

मतदाता आकर्षित गर्ने ती गीतसंगीत

चुनाव घोषणापत्रका साथै उम्मेदवारहरूका ‘यो गरिदिन्छु र त्यो गरिदिन्छु’ भन्नेजस्ता आकाशका तारा खसालिदिने आश्वासनको भारले मतदाता थिचिनेछन् । तर, प्रचार–प्रसारको कोलाहलमा दलहरुले एकले अर्कोलाई आरोप, आक्षेप र गालीगलौज गर्नुसँगै सांस्कृतिक संयन्त्र पनि परिचालन गर्दै आएका छन् । यद्यपि, यसका विधि र शैली भने फेरिएका छन् । विगतमा चुनावमा प्रचारप्रसास रोचक हुने गरेको थियो ।

पहिलो महानिर्वाचनको रौनक

२०१५ फागुन ७ गते पहिलो महानिर्वाचन सम्पन्न भएको थियो । उक्त निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी, नेपाल राष्ट्रवादी गोरखा परिषद्, तराई कांग्रेस, संयुक्त प्रजातन्त्र पार्टी नेपाल, नेपला प्रजातान्त्रिक महासभालगायत राजनीतिक दलहरुले भाग लिएका थिए । त्यो पहिलो महानिर्वाचन भएकोले आममानिसमा निकै उत्साह र कुतूहल देखिन्थ्यो । दल र तिनका समर्थकहरु गाउँ, सहर जताततै प्रचार–प्रसारमा तन, मन र धनले लागेका थिए । यद्यपि, त्यसबेला यातायात र सञ्चार निकै कमजोर अवस्थामा थियो । रेडियो र सीमित पत्रपत्रिकाहरुले चुनावी प्रचार–प्रसारलाई सघाएका थिए । सायद् त्यतिबेला अहिलेजस्तो सामाजिक सञ्जाल अर्थात् ‘डिजिटल क्याम्पेन’ को कल्पनासम्म पनि कसैले गरेका थिएनन् ।

गाउँमा कट्वाल कराएर मानिसलाई खबर दिनुपर्ने त्यो बेला पनि राजनीतिक दलहरुले चुनावी माहोललाई रमाइलो पर्वजस्तै बनाएको दृष्टान्त ‘धानको बाला’ चुनाव चिह्न पाएको संयुक्त प्रजातन्त्र पार्टीका समर्थकहरुले गाउँघर, सहरतिर घन्काएको यो चुनावी गीतले प्रष्ट पार्छ-

धानको बाला झुल्यो हजुर

देशै रमाइलो ।

सेतो भात खान पाए

पेटै रमाइलो ...

सोही निर्वाचनमा होमिएको अर्को दल नेपाल प्रजातान्त्रिक महासभाले ‘हात’ चुनाव चिह्न पाएको थियो । प्रचारप्रसारका क्रममा उक्त दलका कार्यकर्ता/समर्थकहरुले गीतैबाट मत मागेका थिए ।

हातको भोट हातैमा खसाल

आफ्नो थिति आफैंले बसाल ।

एक सय चार वर्ष एकतन्त्र खप्यौ

आठ वर्ष नेताजीका जथाभावी देख्यौँ

तिम्रो पक्ष कसले लियो ?

खाली पायौ धोका

पोको लिई कुर्नुपर्‍यो

मन्त्रीज्यूका ढोका ...

प्रचार–प्रसारमा एमाले, कांग्रेस र माओवादीको होड

पछिल्ला ३० वर्षमा ६ वटा महानिर्वाचन सम्पन्न भइसकेका छन् । २०४८ सालको आमनिर्वाचनमा राजनीतिक दलका चुनाव प्रचार–प्रसारमा राष्ट्रिय स्तरका कलाकारहरु कमै देखिए । तीस वर्षपछि कांग्रेस र कम्युनिस्ट मिलेर लोकतन्त्र पुनःस्थापना गरेकाले सबै खुसी थिए । कांग्रेस र एमाले सशक्त रुपमा जनतामाझ पुगेका थिए । एमाले सभामा कलाकारहरुले प्रगतिशील गीत गाएर मतदातालाई आफूतिर आकर्षित गर्ने रणनीति लिए पनि कांग्रेस यस मामिलामा पछि नै देखिन्थ्यो ।

तर, २०६४, ०७० र ०७४ सालका चुनावहरुमा भने राष्ट्रिय स्तरका कलाकारहरुले आफूनिकट दलका कार्यक्रमहरुमा गीत गाएर भोट मागे । एमाले, कांग्रेस र माओवादीका चुनावी सभामा कलाकारहरुले गीत गाएर भोट मागे । एमालेको चुनावी सभामा बद्री पंगेनी र प्रिया भण्डारीले ‘सै पनि एमाले मै पनि एमाले...’ बोलको गीत गाएर मतदातालाई आकर्षित गर्ने प्रयास गरेका थिए ।

हजुरबाले भन्नुहुन्छ– सूर्यमा भोट हाल्ने

हजुरआमा भन्नुहुन्छ–एमाले हो पाल्ने

भोट हाल्न लाहुरबाट आउँछु भन्छन् दाइले

एमालेकै झन्डा बोकी हिँडेको छ भाइले

भोट केमा ?

सूर्यमा भन्छन् आमा–बाले

सै पनि एमाले मै पनि एमाले ...

०००

कांग्रेसको चुनावी सभामा रामजी खाँण र राधिका हमालको स्वर रहेको ‘लोकतान्त्रिक समाजवाद’ गुन्जने गर्छ ।

सबको सानो घर होस्

हल गोरु, दुहुनो गाई

बीपी दाइले भन्नुहुन्थ्यो

सबै मिलौँ दाजुभाइ

लोकतान्त्रिक समाजवाद

नेपाली कांग्रेस जिन्दावाद...

०००

माओवादी केन्द्रका चुनावी सभाहरुमा बज्ने यो गीत सागर परियार र निर्मला घिसिङले गाएका हुन् ।

देशैभरि एउटै हल्ला छ

माओवादी जिताउने सल्लाह छ

समावेशी समानुपातिक

यही हो हाम्रो पार्टीको पहिचान

गोलाकार भित्रको हँसिया–हथौडामा

गरौँ है मतदान

हो, गोलाकार भित्रको हँसिया–हथौडामा

गरौँ है मतदान

हो, सबै मिली गरौँ है मतदान...

यसबाहेक माओवादी र एमालेका चुनावी सभाहरुमा ‘गाउँ गाउँबाट उठ,

बस्ती बस्तीबाट उठ’ बोलको गीत धेरै बज्ने गर्छ ।

नयाँ युगका नयाँ शैली

तर अब भने उम्मेदवार स्वयंले प्रचारको नयाँ शैली नअपनाउने हो भने त्यस्ता उम्मेदवाहरू मतदाताको प्राथमिकतामा नपर्न सक्छन् । सबै उम्मेदवारले गीत गाउन जान्छन् भन्ने होइन, भाषण त राजनीति गर्छु भन्नेको नभई नहुने कला हो । उम्मेदवारले सुन्दर, संक्षेप र सटिक भाषण सामाजिक सञ्जालमा राख्न सक्ने हो भने पनि मतदाताको मन जित्न सक्लान् । शास्त्रीय शैलीको प्रचारप्रसार‚ जस्तै: ‘२००७ सालमा हाम्रो पार्टीले यस्तो गरेको थियो, नेता यस्ता थिए । ...’ ‘...गाँस, बास, कपासको व्यवस्था गर्छौं । सबै बराबर हुनुपर्छ...’ जस्ता नारा छाँटेर मत पाउन मुस्किल पर्नेछ ।

यदि कसैले यस्तो गर्ने सोच बनाएका छन् भने ‘हाम्रा बाजेले घिऊ खाएका थिए‚ मेरो हात सुँघ सुँघ’ भनेजस्तै हुनेछ । नयाँ युगमा चुनाव प्रचार-प्रसारमा पनि नयै शैली अपनाउनुपर्ने बताउँछन् २०४८ सालयताका प्रायः सबै चुनावको अनुगमनमा संलग्न रहँदै आएका राजनीतिशास्त्री कपील श्रेष्ठ । प्राध्यापक श्रेष्ठ भन्छन्, ‘यो डिजिटल डिमोक्रेसीको युग हो । युवापुस्तालाई आकर्षित गर्न सामाजिक सञ्जालमा प्रचार–प्रसार नगरी तिनीहरुसम्म पुग्न सकिने छैन । आजका युवापुस्ताको चिन्तनको चौतारी भनेकै सामाजिक सञ्जाल हो । तर यसमा अहिलेजस्तो जे पायो त्यही लेख्ने छुट हुनुहुँदैन ।’

चुनावी मैदानलाई स्टेज/रंगमञ्च र उम्मेदवारहरुलाई कलाकारको उपमा दिँदै अर्का एक चुनाव विश्लेषक भन्छन्, ‘उम्मेदवार भनेका कलाकार हुन् । तिनले चुनावी स्टेजमा सुन्दर प्रस्तुति दिन सक्नुपर्छ । जुन उम्मेदवारले चुनावी स्टेजमा आफूलाई सुन्दर ढंगले प्रस्तुत् गर्न सक्छन् तिनैको विजय अवश्यम्भावी हुन्छ ।’

प्रकाशित : आश्विन २०, २०७९ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?