ओलीले बुबा र ठूलीआमाको हातबाट लगाए टीका- समाचार - कान्तिपुर समाचार

ओलीले बुबा र ठूलीआमाको हातबाट लगाए टीका

कान्तिपुर संवाददाता

काठमाडौं — नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बडा दसैंको टीका ग्रहण गरेका छन् । गृहजिल्ला झापमा रहेका ओलीले दमकस्थित आफ्नै निवासमा दसैंको टीका ग्रहण गरेका हुन् । 

झापाको दमकस्थित आफ्नै निवासमा रहेका ओलीले विजया दशमीको दिन बुधबार बुबा मोहनप्रसाद ओली र ठूली आमा हरीमाया ओलीको हातबाट बडा दसैंको टीका लगाएका हुन् । उनले पत्नी राधिका शाक्यलाई पनि बडा दसैंको टीका लगाइदिएका थिए ।

सोहीक्रममा ओलीले आफन्त र सर्वसाधारणलाई पनि टीका लगाएका थिए ।

टीका लगाउन पार्टीका स्थानीय नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक दमकस्थित ओली निवास पुगेका थिए । ओलीले उनीहरूलाई टीका र प्रसाद प्रदान गरेका थिए ।

ओली बुधबार नै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित : आश्विन १९, २०७९ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्

लगातारको झरीपछि पहिरोले म्याग्दीका सडक अवरुद्ध

घनश्याम खड्का

म्याग्दी — मंगलवार साँझदेखिको लगातारको वर्षापछि पहिरोले मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक र पश्चिम तर्फको बेनी–दरवाङ सडकमा यातायात अवरुद्ध भएको छ । 

बेनी–जोमसोम सडक अन्तर्गत रघुगंगा गाउँपालिकाको चमेरे, बैसरी र अन्नपूर्ण गापा, ३ दानाको गुईठे र रुप्से झरना नजिक पहिरो झरेपछि यातायात अवरुद्ध छ ।

त्यसैगरी सदरमुकामबाट पश्चिम जाने बेनी–दरवाङ्ग सडकको बेनी नगरपालिका, ४ तातोपानीस्थित फापरखेत र मालिका गाउँपालिका, ६ को बाङ्गेपहिरोमा पहिरोले सडक पुरेपछि यातायात अवरुद्ध भएको हो ।

यी बाहेक पनि जिल्लाका ग्रामिण सडकहरु पनि स–साना पहिरोले अवरुद्ध भएका छन् ।

‘लगातारको वर्षापछि जिल्लाका मुख्य सडक बेनी–जोमसोम र बेनी–दरवाङ–मुना सडकका विभिन्न खण्डमा पहिरोले यातायात अवरुद्ध छन्’ जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीले भने, ‘ग्रामीण भेगका सडकमा पहिरोले धेरै स–साना अवरोध छन । ठूला बाढीपहिरो र विपतको खबर छैन ।’

प्रकाशित : आश्विन १९, २०७९ १५:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×