१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

दाहाल निवासमा चितवन नछोड्न र गोरखा आउन आग्रह गर्नेहरूको 'डेलिगेसन'

जयसिंह महरा

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कताबाट चुनाव लड्ने भन्ने निश्चित भइसकेको छैन । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका दाहाल यसपटक कहाँबाट उम्मेदवार बन्ने भन्ने टुंगो लागि नसकेको उनको सचिवालयले जानकारी दिएको छ । 

दाहाल निवासमा चितवन नछोड्न र गोरखा आउन आग्रह गर्नेहरूको 'डेलिगेसन'

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा उम्मेदवार नबन्ने घोषणा गरेसँगै माओवादी केन्द्रका अध्यक्ष दाहाल गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने चर्चा चलिरहेको छ । भट्टराईले ई-कान्तिपुरसँगको कुराकानीमा दाहाललाई गोरखाबाट उम्मेदवार बन्न आग्रह गरेको बताएका थिए । 'प्रचण्डजीलाई तपाईं गोरखामै आउनुस्, गोरखामा विकास निर्माणको पूर्वाधार पनि तयार भएको छ । तपाईं त्यहाँ गइदिइसकेपछि त्यसमा सहयोग पुग्छ र तपाईं धेरै अन्त अल्झिनु पर्दैन, राम्रो सन्देश पनि जान्छ भन्ने आग्रह गरेको छु । उहाँले सकारात्मक छु र सोच्छु भनिराख्नुभएको छ । मेरो आग्रह- उहाँ गोरखा जानुभयो भने हाम्रो अभियानलाई राम्रै हुन्छ भन्ने मलाई लाग्छ,' प्रतिनिधिसभा उम्मेदवार नबन्ने घोषणा गरेपछि भट्टराईले भनेका थिए, 'मैले छोड्दा मभन्दा राम्रो मान्छे ल्याउँछु भनेर उहाँहरू (मतदाता) को चित्त बुझाइरहेको छु ।'

भट्टराईको यो अभिव्यक्तिले दाहाल निवासमा चितवनका नेताहरूको डेलिगेसन गएको छ । चितवनका गठबन्धनमा रहेका पार्टीका नेताहरूले सामूहिक रूपमा पत्र बुझाएर चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवार बन्न दाहाललाई आग्रह गरेका छन् ।

कांग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनालको नेतृत्वमा बसेको बैठकले दाहाललाई जिताउने प्रतिबद्धतासहित निर्णय गरेको र त्यो निर्यण खुमलटारमा बुझाइएको छ । जसमा कांग्रेसका खनाल, माओवादी केन्द्रका रामचन्द्र अधिकारी, एकीकृत समाजवादीका कृष्णराज न्यौपाने, जनमोर्चाका विष्णु पौडेल, जसपाका प्रेमराज भुजेलले हस्ताक्षर गरेका छन् । 'गठबन्धन दलका शीर्ष नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र चितवन क्षेत्र नम्बर- ३ परिवर्तन गरी अन्य जिल्लाबाट उम्मेदवार बन्ने समाचार सुन्नमा आएकोप्रति गम्भीर ध्यानाकर्षण हुँदै मुलुक, संविधान, लोकतन्त्र, शान्ति तथा विकासका खातिरसमेत उहाँले निर्वाचन क्षेत्र परिवर्तन गर्नु असान्दर्भिक ठहर गर्दै मंसिर ४ गते सम्पन्न हुन गइरहेको संघीय निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन नगर्न र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिनुहुन अपील गर्ने निर्णय गरिन्छ,' उक्त बैठकले गरेको निर्णयमा उल्लेख छ ।

पत्र बुझाउन पनि पाँचवटै दलका नेताहरू खुमलटार पुगेका थिए । उक्त टोलीमा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल पनि उपस्थित थिए ।

पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले निरन्तर दाहाललाई गोरखाबाट उम्मेदवार बन्न आग्रह गरिरहेको जानकारी दिए । 'उहाँलाई पहिल्यैदेखि गोरखा आउनुस् भनेका थियौं । उहाँले अहिल्यै निर्णयमा पुगेको छैन भन्नुभएको छ । अध्यक्ष यहाँ आउनुभए ८० प्रतिशतभन्दा बढी मत दिन्छौं । प्रचण्ड आउने भनेपछि कांग्रेसका नेताहरू पनि खुसी छन्,' उनले भने ।

चितवनबाट निर्वाचित भएपछि दाहाल पटकपटक त्यहाँ जाने गरेका थिए । स्थानीय तह निर्वाचनका क्रममा पनि उनी लामो समय चितवन आउजाउ गरेका थिए । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन घोषणा भएपछि पनि उनको चितवन-काठमाडौं गर्ने क्रम बाक्लो थियो । उनले आफू चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट नै उम्मेदवार बन्ने अभिव्यक्ति दिइरहेका थिए । पछिल्लो समय चितवनमा सत्तारुढ कांग्रेसको एक खेमाले दाहालविरुद्ध उम्मेदवारी दिने घोषणा गरेको थियो । स्थानीय तहमा मेयर रेणु दाहालविरुद्ध उम्मेदवार बनेका कांग्रेसका जगन्नाथ पौडेलले प्रतिनिधिसभा निर्वचनमा चितवन-३ बाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

चितवन कांग्रेसको एक पक्ष असन्तुष्ट भएर उम्मेदवार बन्यो र एमालेले राप्रपासँग गठबन्धन गरी विक्रम पाण्डेलाई उम्मेदवार बनायो भने चितवनमा बढी समय दिनुपर्ने र अन्य क्षेत्रमा प्रचारप्रसार गर्न समय दिन नसकिने हो कि भन्नेमा दाहाल रहेको उनको सचिवालयले जानकारी दिएको छ । चितवनबाटै उम्मेदवार बन्ने कि गोरखा जाने भन्ने विषयमा पार्टी र गठबन्धनका नेताहरूसँग दाहाल छलफलमा रहेको बताइएको छ । 'प्रस्ताव गोरखा लगायत अन्य ठाउँबाट पनि आएको छ । तपाईं गोरखाबाट उम्मेदवार बन्नुस् र देशभरी प्रचारमा लाग्नुस् भन्ने सुझावहरू आइरहेका छन् । निर्णय गरिसक्नुभएको छैन,' दाहालका स्वकीय सचिव रमेश मल्लले भने, 'चितवन र गोरखाका नेताहरू डेलिगेसन आइरहेका छन् । गोरखाका स्थानीय तहका जनप्रतिनिधि आउनुस् भनेर खुमलटार पुग्नुभएको थियो । चितवनबाट माओवादी, कांग्रेससहित गठबन्धनका सबै नेताहरू आएर नछोड्नुस् भनिराख्नुभएको थियो ।'

प्रकाशित : आश्विन १८, २०७९ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?