१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

प्रत्यक्षतर्फको उम्मेदवार चयनमा प्रवेश गर्ने कांग्रेसको निर्णय

रासस

काठमाडौँ — नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार चयनमा प्रवेश गर्ने निर्णय गरेको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रत्यक्षतर्फको उम्मेदवार चयनमा प्रवेश गर्ने कांग्रेसको निर्णय

यही असोज ३ गते निर्वाचन आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूचीमा संसदीय समिति एवं कार्यसम्पादन समितिले सभापतिलाई अधिकार प्रत्यायोजन गरेबमोजिम सभापतिले नेतृत्व पङ्क्तिको परामर्श, सुझाव र सहमतिमा केही नाम हेरफेर गरेर असोज १५ गते बुझाएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले सर्वसम्मतिले पारित गरेको प्रस्तावमा उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधानबमोजिम उम्मेदवारका लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको सम्भावना समेतलाई आधार बनाउने निर्णय गरेको छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको उम्मेदवार नबनाउने निर्णय पनि कांग्रेसले गरेको छ । यसअघि कारबाहीमा परेकालाई आगामी निर्वाचनमा खेल्ने भूमिकाका आधारमा थप निर्णय गर्ने पनि कांगे्रस कार्यसम्पादन समितिको निर्णय छ ।

स्थानीय निर्वाचन क्रममा अनुशासन उल्लङ्घन गरेका र कारबाहीको प्रक्रियामा रहेका, कुनै पनि कारणवश निष्क्रिय बसेका पार्टीका जो कोही सदस्यलाई मङ्सिर ४ गतेको निर्वाचनमा पूर्ववत् सक्रिय भएर पार्टीको विजय अभियानमा सहभागी हुन पनि बैठकले अपिल गरेको छ ।

निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन पार्टीपङ्क्ति सम्पूर्णरूपले एकताबद्ध र अनुशासनका साथ दृढ ढङ्गले परिचालित हुने निर्णय पनि बैठकले गरेको मुख्यसचिव पौडेलले बताए । केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक २०७९ असोज २० गते बिहान ९ बजे बस्ने पनि जनाइएको छ ।

प्रकाशित : आश्विन १७, २०७९ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?