मनास्लु हिमपहिरोमा परी बेपत्ता भएका शेर्पाको शव फेला- समाचार - कान्तिपुर समाचार

मनास्लु हिमपहिरोमा परी बेपत्ता भएका शेर्पाको शव फेला

कान्तिपुर संवाददाता

काठमाडौँ — मनास्लु हिमपहिरोमा परी बेपत्ता भएका एक जनाको शव फेला परेको छ । आइतबार दिउँसो करिब साढे ३ बजेतिर दोस्रो र पहिलो आधार शिविरको बीचमा पहिरो खसेपछि बेपत्ता भएका ताप्लेजुङका दावा छिरिङ शेर्पाको शव सोमबार दिउँसो ११ बजे फेला परेको पर्यटन विभागले जनाएको छ ।

मनास्लुको दोस्रो शिविरबाट फर्किँदै गर्दा आइतबार उनी बेपत्ता भएका थिए । उनी काठमाडौंको सेभेन समिट ट्रेक्स कम्पनीसँग आबद्ध थिए ।

उनको शव त्यहीँका स्थानीय शेर्षाहरूले भेटाएका हुन् । शरदयामको मनास्लु आरोहणका क्रममा उनीसहित ३ जनाको मृत्यु भइसकेको छ । यसअघि हेली एभरेस्ट र सिम्रिक एयरले खोजी गर्दा पनि शव फेला पार्न सकेका थिएनन् ।

गत सोमबार बिहान गएको हिमपहिरोमा पुरिएर हाई अल्टिच्युड गाइड अनूप राईको मृत्यु भएको थियो भने १० जनाको उद्धार गरिएको थियो ।


प्रकाशित : आश्विन १७, २०७९ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्

प्रत्यक्षमा चुनाव नलड्ने भट्टराईको घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रत्यक्षतर्फ चुनाव नलड्ने घोषणा गरेका छन् । भट्टराईले सोमबार फेसबुकमार्फत आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएका हुन् ।

'२०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा,दिदीबहिनी,दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार व्यक्त गर्दछु,' भट्टराईले लेखेका छन्,'आगामी २०७९ मंसिर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।'उनले प्रत्यक्ष चुनाव नलडे पनि पार्टीको काम र जनसेवामा निरन्तर खटिरहने प्रतिबद्धता पनि जनाएका छन् । 'चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन। तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो।म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु,' भट्ट्रराईले जनाएका छन् । भट्टराई गत २०७४ को निर्वाचनमा गोरखाको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । नेकपा माओवादी केन्द्रको चुनाव चिह्‍न गोलाकार भित्रको हँसिया हथौडाबाट चुनावी प्रतिस्पर्धा गर्ने निर्णय लिएको नेसपाका अध्यक्ष भट्टराई गोरखा २ का आकांक्षी थिए ।

प्रकाशित : आश्विन १७, २०७९ १६:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×