१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

गण्डकीमा मुख्यमन्त्री आकांक्षीको लर्को

कांग्रेसमा आधा दर्जन आकांक्षी, एमालेमा पृथ्वीसुब्बा र खगराज
दीपक परियार

पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ‘च्याप्टर क्लोज’हुँदा निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेरि प्रदेशसभा प्रवेशको जमर्को गरेका छन् । अघिल्लोपल्ट पूर्वी नवलपुरबाट निर्वाचित भएका पोखरेललाई यसपल्ट कांग्रेसको प्रदेश समितिले प्रतिनिधिसभामा समानुपातिकका लागि सिफारिस गरेको थियो तर उनी बन्दसूचीमा परेका छैनन् ।

गण्डकीमा मुख्यमन्त्री आकांक्षीको लर्को

लमजुङ प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बाट निर्वाचित भएर मुख्यमन्त्रीको यात्रा गरेका गुरुङले आफूलाई फेरि भावी मुख्यमन्त्रीका रूपमा उभ्याएका छन् । उनको नाम एमालेले साविककै क्षेत्रबाट सिफारिस गरेको छ ।

अघिल्लोपल्ट मुख्यमन्त्रीमा दाबी गरेका एमाले नेता किरण गुरुङले यसपल्ट प्रतिनिधिसभामा आकांक्षा देखाएका छन् । तर संगठन विभाग प्रमुख खगराज अधिकारीको नाम कास्कीको प्रतिनिधिसभा क्षेत्र १ र प्रदेशसभा क्षेत्र १ (क) बाट पार्टीले सिफारिस गरेकाले पृथ्वीसुब्बा गुरुङको टाउको दुखाइ बनेको छ । स्थानीय तहको चुनावमा गुरुङ र अधिकारी खेमाको गुटबन्दी प्रस्टै देखिएको थियो । एमाले नेतृत्व कास्कीबाट प्रतिनिधिसभामा अघिल्लो ‘सेट’ नै दोहोर्‍याउने मुडमा देखिन्छ । त्यसो हुँदा कास्की १ मा अधिकारी, २ मा विद्या भट्टराई र ३ मा जगत विश्वकर्मा दोहोरिने छन् ।

अधिकारी प्रतिनिधिसभाको उम्मेदवार बन्ने, गुरुङले प्रदेशसभामा चुनाव जित्ने र प्रदेशमा एमाले नेतृत्वमा बहुमतको सरकार बन्ने अवस्थामा गुरुङ एमालेबाट निर्विकल्प मुख्यमन्त्रीको दाबेदार हुनेछन् । अधिकारीले शुक्रबार केही सञ्चारकर्मीसँगको अनौपचारिक भेटघाटमा प्रदेशमा लड्ने आफ्ने चाहना नरहेको बताएका छन् ।

यता कांग्रेसमा टिकटमै किचलो छ । गण्डकीमा मुख्यमन्त्रीका आकांक्षी आधा दर्जन पुगेका छन् । सबैभन्दा बढी चर्चा कुमार खड्का र विन्दुकुमार थापाको छ । दुवैले चाहेको क्षेत्र हो– कास्की २ (ख) । अखण्ड नेपाल पार्टीको अध्यक्ष हुँदा संघ सरकारको मन्त्री बनेका उनी पछि कांग्रेसमा मिसिएर प्रदेशसभामा आएका हुन् । व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका विन्दुकुमार थापा २ (ख) बाट प्रत्यक्ष निर्वाचित हुन् । यसपल्ट पनि त्यही क्षेत्रबाट चुनाव जितेर मुख्यमन्त्री बन्ने उनको दाउ छ । खड्का र थापा दुवैको नाम एकै क्षेत्रबाट प्रत्यक्षतर्फ सिफारिस भएको छ । कुमार खड्का यसअघि आफू समानुपातिकबाट निर्वाचित भएकाले यसपल्ट प्रत्यक्ष चुनाव लड्ने चाहना राखेका छन् । उता विन्दुकुमार थापाले अन्तिमपल्ट प्रदेशसभामा चुनाव लड्ने बताएका छन् ।

पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माको तीर पनि मुख्यमन्त्रीको कुर्सीमा सोझिएको छ । अघिल्लोपल्ट समानुपातिक सांसद बनेका उनी यसपल्ट बागलुङको १(क) बाट सिफारिसमा परेका छन् । प्रदेशसभामा निर्वाचित हुँदा आफू स्वत: मुख्यमन्त्रीको दाबेदार भएको उनले बताए । कांग्रेसका प्रदेश सभापति शुक्रबार शर्मा स्वयं प्रदेश सांसदको दौडमा छन् । उनलाई पार्टीले प्रदेशको समानुपातिकतर्फ सिफारिस गरेको छ । प्रदेश सभापतिमा शर्मासँग पराजित भएका पर्वतका अर्जुनप्रसाद जोशी पनि मुख्यमन्त्री सुनिश्चित भए प्रदेशका उम्मेदवार बन्ने मनस्थितिमा छन् । उनको नाम भने पर्वतबाट प्रतिनिधिसभातर्फ नै सिफारिस भएको छ ।

मुख्यमन्त्री सुनिश्चित हुँदा प्रदेशमा झर्न तयार अर्का केन्द्रीय नेता हुन्– शंकर भण्डारी । उनको नाम तनहुँ १ बाट संघीय सांसदको उम्मेदवारमा सिफारिसमा परेको छ । तर उक्त क्षेत्रबाट नेता रामचन्द्र पौडेलसमेत सिफारिस भएका छन् । भावी मुख्यमन्त्रीका रूपमा आफ्ना उम्मेदवार उभ्याउनेमा माओवादी केन्द्रको स्वर झिनो छ ।


प्रकाशित : आश्विन १७, २०७९ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?