कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गरिबको झुपडीमा छैन दसैंको रौनक

सुनीता बराल

महोत्तरी — रोग र अभावले छटपटाइरहेकी बर्दिबास–३ की ४७ वर्षीया हरिमाया दमैको घरमा दसैंको कुनै रौनक छैन । सानो दुई कोठे टालीको छाना भएको घर छ तर न झिकेर खान अन्न छ न किनेर खान पैसा । दसैं आओस् कि तिहार उनलाई कोही र केही नभएको पीडाले पोल्छ । एक छोरा र एक छोरी हरिमायाले गुमाइसकेकी छन् । 

गरिबको झुपडीमा छैन दसैंको रौनक

३४ वर्षका छोरा चित्रबहादुर हृदयाघातका कारण २ वर्षअघि बितेपछि उनी अझै शोकमै छिन् । गरिबीमा जकेडिएको उनको जीवन छोराको मृत्युपछि झनै दयनीय बनेको छ । छोरा बितेपछि र बुहारीले छोडेर हिँडेपछि उनको घरमा खाने अन्नको एक दाना जोगाड छैन ।

दसैं र तिहारजस्ता पर्व आएपछि अरूले मीठो मसिनो खाएको देख्दा आफ्लाई निकै पीडा हुने हरिमायाले सुनाइन् । छोरा बितेपछि काखका दुई छोरीलाई उनकै साथमा छाडेर बुहारीले अर्कर्सैँग हिँडेको हरिमायाले बताइन् । नातिनीहरूलाई खुवाउनसमेत घरमा केही नभएपछि कहिले आफन्तको सहारामा त कहिले मागेरै भए पनि नातिनीहरूको पेट पाल्दै आएको हरिमायाले बताइन् । छोराछोरी बाँचेको भए चाडबाडमाा कमाएर ल्याउँथे र रमाइलो हुन्थ्यो भन्दै भक्कानिन्छिन् हरिमाया । पर्व जब आउँछ, तब हरिमायालाई छोराछोरीको यादले मात्रै हैन, गरिबीले पनि उत्तिकै सताउँछ ।

बर्दिबास–३ गौरीडाँडाकी कमला परियार चाडपर्व आए पनि आफ्नो घरमा नआएको बताउँछिन् । ३ छोरा २ छोरीलाई चाडपर्वमा एक जोर कपडा किन्न र मीठो खुवाउनसमेत पैसा नभएकाले पर्व आएकोमा उनलाई खुसियाली छैन । बिहान खाए बेलुकी के खाने भन्ने चिन्तामा हुने गरिबलाई दसैं कहिल्यै नआउने कमलाले बताइन् ।

खानलाई कहिले ऋण लिएर त कहिले ज्यालामजदुरी गरेर दिन कटाएको भए पनि ऋण तिर्न नसक्दा भएको झुपडीसमेत छाडेर

हिँड्नुपर्ने स्थिति रहेको उनले सुनाइन् । ‘चाडपर्व अरूलाई लाग्छ,’ उनले भनिन्, ‘हामी गरिबलाई चाडपर्व लाग्दैन, भोक मात्रै लाग्छ ।’ उनका श्रीमान् ज्यालामजदुरी गर्छन् । १ जनाले कमाएकाले ६ जनाको परिवार धान्न नसकिरहेको उनले बताइन् । बच्चा सानै भएकाले अहिले आफूले काम गर्न नसकिरहेको उनले सुनाइन् । कमलाको परिवार ६ धुर ऐलानी जग्गामा जनता आवासअन्तर्गत सरकारले बनाइदिएको घरमा बस्छ । गौरीडाँडामा मात्रै जनता आवासका १५ घर सरकारले बनाइदिएको छ । कमला जस्तै गरिब परिवारका लागि ३ वर्ष पहिले नै सरकारले घर बनाएर जिम्मा दिएको बर्दिबास–३ का पूर्ववडाध्यक्ष राजन ढुंगानाले बताए ।

गौरीडाँडामा बिहान खाए बेलुका के खाने भन्ने परिवार धेरै भएकाले उनीहरूलाई राज्यले संरक्षण गर्नुपर्ने ढुंगानाले बताए । गरिब, दलित, जनजातिसहितको ५१ परिवार बर्दिबास–३ भित्रका अति विपन्नको सूचीमा छन् ।

प्रकाशित : आश्विन १७, २०७९ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?