गरिबको झुपडीमा छैन दसैंको रौनक- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गरिबको झुपडीमा छैन दसैंको रौनक

सुनीता बराल

महोत्तरी — रोग र अभावले छटपटाइरहेकी बर्दिबास–३ की ४७ वर्षीया हरिमाया दमैको घरमा दसैंको कुनै रौनक छैन । सानो दुई कोठे टालीको छाना भएको घर छ तर न झिकेर खान अन्न छ न किनेर खान पैसा । दसैं आओस् कि तिहार उनलाई कोही र केही नभएको पीडाले पोल्छ । एक छोरा र एक छोरी हरिमायाले गुमाइसकेकी छन् । 

३४ वर्षका छोरा चित्रबहादुर हृदयाघातका कारण २ वर्षअघि बितेपछि उनी अझै शोकमै छिन् । गरिबीमा जकेडिएको उनको जीवन छोराको मृत्युपछि झनै दयनीय बनेको छ । छोरा बितेपछि र बुहारीले छोडेर हिँडेपछि उनको घरमा खाने अन्नको एक दाना जोगाड छैन ।

दसैं र तिहारजस्ता पर्व आएपछि अरूले मीठो मसिनो खाएको देख्दा आफ्लाई निकै पीडा हुने हरिमायाले सुनाइन् । छोरा बितेपछि काखका दुई छोरीलाई उनकै साथमा छाडेर बुहारीले अर्कर्सैँग हिँडेको हरिमायाले बताइन् । नातिनीहरूलाई खुवाउनसमेत घरमा केही नभएपछि कहिले आफन्तको सहारामा त कहिले मागेरै भए पनि नातिनीहरूको पेट पाल्दै आएको हरिमायाले बताइन् । छोराछोरी बाँचेको भए चाडबाडमाा कमाएर ल्याउँथे र रमाइलो हुन्थ्यो भन्दै भक्कानिन्छिन् हरिमाया । पर्व जब आउँछ, तब हरिमायालाई छोराछोरीको यादले मात्रै हैन, गरिबीले पनि उत्तिकै सताउँछ ।

बर्दिबास–३ गौरीडाँडाकी कमला परियार चाडपर्व आए पनि आफ्नो घरमा नआएको बताउँछिन् । ३ छोरा २ छोरीलाई चाडपर्वमा एक जोर कपडा किन्न र मीठो खुवाउनसमेत पैसा नभएकाले पर्व आएकोमा उनलाई खुसियाली छैन । बिहान खाए बेलुकी के खाने भन्ने चिन्तामा हुने गरिबलाई दसैं कहिल्यै नआउने कमलाले बताइन् ।

खानलाई कहिले ऋण लिएर त कहिले ज्यालामजदुरी गरेर दिन कटाएको भए पनि ऋण तिर्न नसक्दा भएको झुपडीसमेत छाडेर

हिँड्नुपर्ने स्थिति रहेको उनले सुनाइन् । ‘चाडपर्व अरूलाई लाग्छ,’ उनले भनिन्, ‘हामी गरिबलाई चाडपर्व लाग्दैन, भोक मात्रै लाग्छ ।’ उनका श्रीमान् ज्यालामजदुरी गर्छन् । १ जनाले कमाएकाले ६ जनाको परिवार धान्न नसकिरहेको उनले बताइन् । बच्चा सानै भएकाले अहिले आफूले काम गर्न नसकिरहेको उनले सुनाइन् । कमलाको परिवार ६ धुर ऐलानी जग्गामा जनता आवासअन्तर्गत सरकारले बनाइदिएको घरमा बस्छ । गौरीडाँडामा मात्रै जनता आवासका १५ घर सरकारले बनाइदिएको छ । कमला जस्तै गरिब परिवारका लागि ३ वर्ष पहिले नै सरकारले घर बनाएर जिम्मा दिएको बर्दिबास–३ का पूर्ववडाध्यक्ष राजन ढुंगानाले बताए ।

गौरीडाँडामा बिहान खाए बेलुका के खाने भन्ने परिवार धेरै भएकाले उनीहरूलाई राज्यले संरक्षण गर्नुपर्ने ढुंगानाले बताए । गरिब, दलित, जनजातिसहितको ५१ परिवार बर्दिबास–३ भित्रका अति विपन्नको सूचीमा छन् ।

प्रकाशित : आश्विन १७, २०७९ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्

१५५ वर्षदेखि रामलीला

रंगमञ्चीय दृष्टिले रामलीला तीन प्रकार छन्– सचल लीला, अचल लीला र स्टेज लीला
जे पाण्डे

नेपालगन्ज — ‘घरका भेदी लंका ढाए’ तराईमा यो उखान निकै चर्चित छ । कतिपय राजनेता, उच्चपदस्थ सरकारी अधिकारी र नागरिकका भेषमा गुप्तचरी गर्दै आएकाहरू, जसले आफैं मुलुक कमजोर तुल्याउन भित्रभित्रै अनेकौं भूमिका निभाउँदै आएका छन् । यो उनीहरूप्रति लक्षित भनाइ हो । 

राष्ट्रिय अखण्डता र राष्ट्रियता कमजोर गराउने भूमिकामा रहेका विभिषणहरू र रावणरूपी भ्रष्टहरूबाट समाजलाई जोगाउने उद्देश्यले नेपालगन्जमा दसैंमा रामलीला प्रदर्शन हुँदै आएको छ ।

लीला हेर्न आएका हजारौं दर्शक सामुन्ने विभिषणले भगवान् श्रीरामको भूमिका निभाइरहेका कलाकारसमक्ष रावणको मृत्युको रहस्य खोलिदिँदा धेरैको मनमा प्रश्न उठ्छ । ‘राम्रो मुलुकमा यस्ता विभिषण कति होलान् ? त्यस्ताको अन्त्य कसले र कहिले होला ?’ रामलीलाकी अन्जना थापाले भनिन् ।

यस्ता प्रश्न ३ करोड नेपालीको मनभित्र उर्लिन आवश्यक छ । दस टाउका भएको रावणलाई हरेक दसैं जलाइन्छ । तर एक टाउके रावणहरूको मृत्युको रहस्य खोलिदिने विभिषणहरू जन्मनुपर्छ । जसबाट मुलुक जोगाउन सकियोस् । रामलीला सञ्चालन समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले भने, ‘सस्कार गिर्दो छ । रावणरूपी भ्रटाचारीहरू बढ्दै छन् । त्यसैले वर्षका १२ दिन जनकल्याण र संस्कारयुक्त शिक्षा दिने राम्रो प्रयास रहँदै आएको छ ।’

दर्शको मनछुने गरी प्रदर्शन गरिँदै आएको रामलीला मञ्चन भइरहेका बेला लाग्छ, नेपालगन्जका सहरमा भगवान् श्रीराम बजारमै आएजस्तो भान हुन्छ । अब कुनै दानव जीवित रहने छैनन् । ‘भ्रष्टाचार मुक्ति समाज निर्माण दर्शकहरूमा त्यही भावना जगाउने प्रयासलाई निरन्तरता दिँदै आएका छौं,’ लीलाका प्रबन्धक भरतकिशोर वैश्यले भने, ‘हजारौं दर्शकमध्ये केहीले आफ्नो जीवनमा रामलीलाको अनुसरण गर्न सके भने पनि समाज परिवर्तन गर्न सकिनेछ ।’

भगवान् श्रीरामको चरित्रमा आधारित रामलीला हेरेर इस्लामिक र क्रिश्चयन धर्मका अनुयायीहरू पनि रमाइरहेका देखिन्थे । एक अर्काको धर्म र आस्थाप्रति गहिरो सम्मान गर्दै नगरमा सामाजिक सद्भावको अनुकरणीय उदाहरण देखाइरहेका छन् । रामलीलाका लागि भारतको बिन्द्रावनबाट आएका कलाकारहरू राम र रावणका पक्षधर बनेर सदाचार र चरित्र निर्माणको सन्देश छरिरहेका छन् । उनीहरू राजनीतिक संरक्षणमा हुँदै आएको भ्रष्टाचार माथि चोटिलो प्रहार गर्छन् । रामलीला प्रदर्शनको मुख्य उद्देश्य नै मानिस भित्रको अहंकार त्यग्न सन्देश दिनु थियो ।

नेपालगन्जमा १ सय ५५ वर्षदेखि प्रदर्शन हुँदै आएको सन्देशमूलक लीला हेर्न रामलीला मैदानमा हरेक रात मानिसको बाक्लो उपस्थिति देखिन्छ ।

रंगमञ्चीय दृष्टिले रामलीला तीन प्रकार छन् । सचल लीला, अचल लीला र स्टेज लीला । तर समयसँगै लीलामा परिवर्तन हुर्दै गएको छ । नटकीय लीला देखाउनुभन्दा शिक्षामूलक प्रदर्शनको खाँचो देखिएपछि परिवर्तन आवश्यक ठानिएको हो । पहिले स्थानीय कलाकारहरूको लोकल मण्डली थियो । नाटकीय प्रर्दशन मात्र गरिन्थ्यो । अहिले किशोरकिशोरी र युवाहरूलाई शिक्षा दिने ढंगले भारतबाट कलाकार ल्याएर लीला मञ्चन गरिएको छ ।

रामलीलाका स्थानीय अभिनेताहरू साधुराम वैश्य, सरजुप्रसाद खत्री, छेदिलाल बाहुन, कन्हैयालाल बाहुन, भोलानाथ वैश्य, रामदुलारे वैश्य र बर्दिया राजापुरका गुरुप्रसाद वैश्यको देहान्तपछि भारतबाट कलाकार मगाउने क्रम बढेको हो ।

भारतको काशीका चार स्थानमा अचल लीला प्रदर्शन हुन्छ । तर नेपालगन्जमा स्टेज लीला सञ्चालन हुँदै आएको छ । जनकपुर, अयोध्या, चित्रकुट र लंकामा पनि अलग–अलग लीला देखाइन्छ । लीलाका पात्रहरू किशोर, युवा, प्रौढ सबै हुन्छन् । तर सबै अभिनेता प्राय: ब्रमह्मण हुन्छ । अहिले कतैकतै अन्य जातिका मानिसले पनि अभिनय गर्न थालेका छन् ।

रामलीलाको पात्र चयन गर्दा रावणको कायिक विराटता, सीताको प्रकृतिगत कोमलता र वाणीगत मृदुता, शूर्पणखाको शारीरिक लम्बाइ जस्ता विशेषताप्रति ध्यान दिने गरिन्छ । समुद्री तहदेखि हिमालसम्म प्रख्यात रामलीलाका प्रवर्तकको हुन भन्ने विषय विवादास्पद भए पनि रामलीला प्रारम्भको निश्चित विधि छ । तर स्थान–काल–भेदका कारण विधि अन्तरलक्षित हुनेगर्छ । कहीं भगवान्को मुकुट पूजाबाट लीला सुरु गरिन्छन् भने कतै अन्य विधानबाट ।

लीलाका चरित्र नायक श्रीराम गम्भीर, वीर, धीर, शालीन भएकाले उक्त लीलाको नृत्यमा संगीत प्रधानता हुँदैन । काशी अयोध्या र बृन्दावन रामलीलाका प्रमुख स्थल हुन् । नेपालगन्जमा त्यहीको अनुसरण गरिँदै आएको छ । सुरुमा नेपालगन्जमा रामलीला देखाउने लखेर र वैश्य समुदायबीच प्रतिस्पर्धा हुन्थो । बढ्दो महँगीले पनि संस्कृति र परम्परामा निकै असर पार्‍यो । तीन वर्ष कोरोना भाइरस संक्रमणका कारण लीला प्रभावित भयो । ‘पहिले स्थानीय कलाकारहरूले अभिनय गर्थे । राति विशाल झाँकी (लाखे) निकालिन्थ्यो । हालका वर्षहरूमा गुन्डागर्दी र असुरक्षाका कारण झाँकी निलकाल्ने परम्पार नै हराएको छ । राम–भरत मिलाप र राजतिलक गरी लीला समापन गरिन्छ ।

प्रकाशित : आश्विन १७, २०७९ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×