प्रतिनिधिसभाको कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउने ? [सूचीसहित]- समाचार - कान्तिपुर समाचार

प्रतिनिधिसभाको कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउने ? [सूचीसहित]

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि आइतबार राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोकेको छ । आयोगले  निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई निर्वाचनका लागि खर्चको अधिकतम हद तोकेको प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको निर्वाचनको हकमा ५ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद २५ लाख रुपैयाँ तोकिएको छ । १७ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद २७ लाख रुपैयाँ कायम गरिएको छ भने ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवार वा दलले चुनावी खर्चस्वरुप २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

५२ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद ३१ लाख रुपैयाँ कायम गरिएको छ भने २६ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद ३३ लाख रुपैयाँ कायम गरिएको छ । सबैभन्दा बढी खर्चको सीमा ३३ लाख रुपैयाँ कायम गरिएको छ भने सबैभन्दा कम २५ लाख । यसअघि सबै क्षेत्रका उम्मेदवार वा दलहरूले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था थियो ।

समानुपातिकतर्फका उम्मेदवारले गर्ने खर्चको सीमा छुट्टै तोकिएको छ । समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले गर्ने निर्वाचन खर्चको हद प्रत्येक राजनीतिक दलले पेस गरेको बन्दसूचीमा सूचीकृत उम्मेदवारको संख्या अनुसार प्रति उम्मेदवार २ लाख रुपैयाँको सीमा तोकिएको छ ।

त्यस्तो निर्वाचन खर्च रकम प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक दल वा उम्मेदवारले मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय क्षेत्रमा खर्च गर्न पाउने आयोगले जनाएको छ ।

निर्वाचन क्षेत्र र खर्चको सीमा सूची :

प्रकाशित : आश्विन १६, २०७९ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्

नुवाकोटको तुलजा भवानी मन्दिरमा फूलपाती भित्र्याइयो

कृष्ण थापा

नुवाकोट — विदुर नगरपालिका २ स्थित पुरानो सदरमुकाम नुवाकोटको तुलजा भवानीको मन्दिरमा ३ बजेको साइत गरेर फूलपाती भित्र्याइएको छ । विनपा २ धोवीखोला नजिक रहेको सुल्डाँडाबाट शनिबार राति तान्त्रिक विधिद्वारा तयार पारिएको फूलपाती आइतबार ब्यान्ड बाजासहित बढाइँ गरेर भित्र्याइएको हो । 

शनिबार राति सुल्डाँडामा फूलपाती ल्याउन अर्याल थरका ब्राह्मण, क्षत्री थरका बस्नेत, मगर थरका उपासे छ जनाले उक्त फूलपाती अघिल्लो दिन राति केरा, अशोका, जयन्ती, हलेदो, बेलपत्र, धान, सामा, दारिम्लगायत नौथरी वनस्पति पूजा गरी बलि दिएर बेलको रुखमुनि राख्ने चलन छ । फूलपाती लिन आइतबार साततले दरबारमा पूजा गरेर कलशसहित लावालस्कर बाटोमा बढाइँ गर्दै सुल्डाँडा गएका थिए ।

राजा पृथ्वीनारायण शाहको शासनकालपूर्वदेखि यहाँ फूलपाती भित्र्याइँदै आएको बताइएको छ । सुल्डाँडाबाट फूलपाती ल्याउन राजप्रतिनिधिले साततले दरबारमा ब्राह्मणसहित विधिविधान गरी कलस बोकेर, जबरजंगमा गणको निशान, भैरवी निशानलाई बोकेर, पन्चेबाजा, नेपाली सेनाको ब्यान्ड बाजासहित प्रमुख जिल्ला अधिकारी, सरकारी पदाधिकारी, राजप्रतिनिधि, भैरवी मन्दिरका धामी, समाजसेवी र स्थानीयवासी, नेपाली सेना, प्रहरी सुल्डाँडावारि पुगेका थिए ।

मंगलवाचनका साथ फूलपाती लिएर आएपछि तुलजा भवानीको ठूलो मौलामा एउटा कुभिन्डो र बोकाको बलि दिएपछि फूलपाती भित्र्याइएको थियो । तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोट विजयपछि दसैंका लागि तुलजा भवानीको दरबारमा जमरा राख्दै आएका थिए ।

सोही परम्पराअनुसार अहिले पनि भूकम्पले भत्किएरपछि जस्ताले छोपिएको तुलजा दरबार छेउको अस्थायी टहरामा जमरा राखिने गरेको छ । जमरा राखिएको स्थानमा आइतबार फूलपाती भित्र्याइएको नुवाकोट मौलाअमालका प्रमुख तथा राजप्रतिनिधि महेन्द्रकुमार शाहीले बताए । सुल्डाँडा साततले दरबारदेखि दुई किलोमिटर पूर्वमा पर्छ ।

त्यसैगरी तुलजा भवानीलाई नेवार (डंगोल थर)काले छुट्टै पूजा गर्ने चलन पनि छ । उनीहरुले पनि छुट्टाछुटै बलि दिएर पूजा गर्छन् । अष्टमी र नवमीमा बोका, हाँसको बलि दिइन्छ । टीकाको दिन यहाँ राखिएको जमरा राजप्रतिनिधि महेन्द्रकुमार शाहीले स्थानीयवासीलाई टीका लगाइदिने चलन छ ।

साततले दरबारको उत्तरको डाँडामा रहेको कालिका, मालिका, तुलजा भवनीको प्रसादसहित टीकाको दिन नसके हनुमान ढोकामा कार्यालय खुलेपछि प्रसाद पठाउने राजप्रतिनिधि शाहीले बताए ।

प्रकाशित : आश्विन १६, २०७९ १७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×